Pages

Monday, June 9, 2014

पशुपतिमा विशेष पूजा दैनिक सय

गोपीकृष्ण ढुंगाना

काठमाडौं : पशुपतिनाथ मन्दिरमा अहिले दैनिक एक सय विशेष पूजा हुन थालेका छन्। गत चैत २६ गतेदेखि रोकिएको पूजा जेठ ८ गते खुलेको थियो। त्यसपछिका १८ दिनमा एक हजार आठ सय पूजा भएका छन्।
पशुपति क्षेत्र विकास कोषबाट मूलभट्ट र भट्टहरूले विशेष पूजाको कुल रकमको १८ प्रतिशत पाउने मौखिक सहमति भएपछि रोकिएको पूजा खुलेको हो। उनीहरूले २० प्रतिशत पाउनुपर्ने माग राखेर विशेष पूजा बन्द गरेका थिए। कोषका अनुसार विशेष पूजा रोकिएको अवधिमा झन्डै एक करोड रुपैयाँ नोक्सान भएको छ। चैतमा एक हजार तीन सय ३९ वटा विशेष पूजा भएका थिए। फागुनमा यो संख्या एक हजार आठ सय ४६ थियो।
कोषको पशुपतिनाथ मन्दिर हेर्ने प्रशासकीय अधिकृत ईश्वरमान भण्डारीका अनुसार जेठको १८ दिनमा मात्र एक हजार आठ सयवटा विशेष पूजा भएका छन्।
पशुपतिनाथमा नित्य पूजाबाहेक विशेष पूजा पनि गरिन्छ। पशुपतिनाथमा मूलभट्ट र भट्टहरूबाट एक हजार एक सयको पञ्चामृत पूजा, दुई हजार एक हजारको बालभोगसहित पञ्चामृत पूजा, पाँच हजार एक सयको रुद्रीसहित पञ्चामृत पूजा, ११ हजारको लघुरुद्रीसहित पञ्चामृत पूजा, २५ हजारको सबा लाख बत्तीसहित पञ्चामृत पूजा, ५६ हजारको हवनसहित पञ्चामृत पूजा र दुई लाख २१ हजारको महारुद्रीसहित पञ्चामृत पूजा हुने गरेका छन्। महारुद्रीमा एक सय ३३ जना ब्राह्मणले हवन पूजासहित पञ्चामृत पूजा गर्नेछन्। बढी हुने पूजामा पञ्चामृत र बालभोगसहितको पञ्चामृत पूजा पर्छन्। कोषका अनुसार विशेष पूजा १२ लाख ९९ हजार र २५ लाख रुपैयाँसम्मको पनि छ। कोषले भट्टहरूसँग सहमति भएपछि जेठ ८ गतेदेखि दुई सय ५१ को दुग्धाभिषेक र पाँच सय एक रूपैयाँको नैवेद्यसहित दुग्धस्नान नामका दुई विशेष पूजा पनि सुरु गरेको हो।
कोषले २०६८ सालमा मन्दिरको पूजा सञ्चालनसम्बन्धी नियमावली लागू गरेर मूलभट्ट र भट्टहरूलाई मासिक तलब र अन्य सुविधा दिन थालेको थियो। तर उनीहरूले आफूहरूलाई विशेष पूजा गरेबापत २० प्रतिशत दिनुपर्ने माग राख्दै आएका थिए। नियमावलीमा विशेष पूजाबापत कुनै सुविधा वा रकम दिने उल्लेख छैन। कोषका सदस्यसचिव डा. गोविन्द टन्डनले मूलभट्ट र भट्टहरूसँग विशेष पूजा गरेबापत उठेको रकमको १८ प्रतिशत दिने मौखिक सहमति भएपछि विशेष पूजा सञ्चालन भएको बताए। उनले भने, 'यसलाई अन्तिम रूप कोषको सञ्चालक परिषद्ले दिनेछ। संस्कृतिमन्त्री अध्यक्ष हुने भएकाले परिषद्को बैठक तत्काल बस्ने तयारी हुँदैछ।'

मिति : २०७१ जेठ, २६ सोमबार

No comments:

Post a Comment