बन्दीपुरमा साहित्यिक सूर
-गोपीकृष्ण ढुंगाना
बस्न मन लाग्दैन अन्त
बन्दीपुरमै रमाउँछ यो मन त...
साँझको चिसो वातावरणमा बन्दीपुर गेष्ट हाउसको कौसीमा दुई दर्जनजति स्रस्टामाझ भीष्मकुमार श्रेष्ठले छन्दवद्ध कवितामा बन्दीपुरको वर्णन गरे । बन्दीपुरको सेरोफेरो समेटेर बन्दीपुरनामक महाकाव्य लेख्ने उनका श्लोकहरुले चिसो वातावरण तताउँदै थिए । फूलमालाको स्वागत पायौं ।
बन्दीपुर पुगेकै दिन कात्तिक २६ गते बन्दीपुर बजारस्थित बन्दीपुर पद्म पुस्तकालय परिसरमा स्थानीय सर्जकले सिर्जना सुनाउने कार्यक्रम राखिएको रहेछ । भगवती चोकमा २००१ सालमा स्थापना गरिएको पुस्तकालयका पूर्वअध्यक्ष लक्ष्मीनाथ शर्माले राणा शासनकालमा पुस्तकालय खोल्न लाग्दा रामप्रसाद खनाल, सूर्यलाल प्रधानलगायत चारैजनालाई पक्रिएको र केही समयपछि पद्म शमशेरको नामबाट खोलेको जानकारी दिए । ऐतिहासिक पुस्तकालयको नाममा पछि बन्दीपुर थपेर नामाकरण गरिएको उनको भनाइ थियो ।
दर्जनबढीको कविता सुन्नेक्रममा कृष्णचरण उपाध्यायको यो देश नै स्वर्ग छ है मलाई शीर्षकको छन्दवद्ध कविताले सबैको मन छोयो । विना पारिश्रमिक रचना छपाउन बाध्य स्रस्टा पुस्तकमा हजारौं खर्चिए पनि त्यसको बिक्री गर्न असमर्थ भइरहेका छन् । सित्तै बाँड्दा पनि नपढिदिने समस्याले स्रस्टा झनै पिरोलिने गरेका छन् । सित्तै बाँड्नु परेपछि कम्तिमा कृति पढ्ने पाठक नै खोज्छन् स्रस्टाले । साथमा केही उपहार पनि हुने । यही अवसर मिल्यो अनेसासमार्फत् राजधानीका स्रस्टालाई । सबैका एक दुई गरी झन्डै ५० वटा कृति उपहार दियौं पुस्तकालयलाई ।
अन्तर्राष्टिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले आयोजना गरेको दुई दिने बन्दीपुर स्रस्टा यात्राका लागि राजधानीबाट करिब दुई दर्जन र बन्दीपुरबाट बसाई सरेर चितवन पुगेका तीनजना स्रस्टाको जमघट भएको थियो । अनेसास नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीको संयोजकत्वमा बन्दीपुर गएको साहित्यिक टोलीमा मोहनबहादुर कायस्थ, भीम उदास, रञ्जना उदास, जलेश्वरी श्रेष्ठ, पवन आलोक, शिवप्रकाश, प्रतिक ढकाल, गोपीकृष्ण ढुंगाना, कृष्ण जोशी, गोवद्र्धन पूजा, मणिराज सिंह, किशोर पहाडी, जयदेव भटराई, मणि लोहनी, भीष्मकुमार श्रेष्ठ, विजयध्वज थापा, प्रघुम्न जोशी, बाबा बस्नेत, सन्ध्या पहाडी, गीता कार्की, शान्ति रिसाल, बसन्त श्रेष्ठ, राजु दाहाल, नरेश श्रेष्ठ र नारायणघाटबाट प्रेमविनोद नन्दन, रमेशलाल श्रेष्ठ, भानु जोशी सहभागी थिए ।
पुस्तकालयबाट टोली टुँडिखेलहुँदै बन्दीपुर माउन्टेन रिसोर्ट पुग्यो । विशेष स्थानमा पिकनिक जाने राजधानीबासीलाई टुँडिखेलमा देखिएका सय बढी पिकनिकका समूहले अचम्मित तुल्याएको थियो । कोही खाँदै, कोही गाउँदै त कोही नाँच्दै टुँडिखेलको सौन्दर्य बढाउँदै थिए । रिसोर्टमा मोहनबहादुर कायस्थको अंग्रेजी कथा कृति अ बुक अन द टेबल र अनेसास फ्लोरिडा च्याप्टरबाट प्रकाशित सागर साहित्यिक पत्रिकाको विमोचन गरिए । बन्दीपुर महाकाव्यका लेखक भीष्मले अनेसासको आयोजनामा साहित्यिक टोली बन्दीपुरमा आएर विशेष कार्यक्रम गरेकोमा बन्दीपुरेको सौभाग्य भएको बताए । खासगरि यौनकथालाई आफ्नो विशेषता बनाएकी कथाकार जलेश्वरी श्रेष्ठलाई बिहे गरेर बन्दीपुरमा ल्याइएको भन्दै बन्दीपुरकी बुहारीको उपमा दिइयो । अनेसासका ट्रस्टी अर्थात् संस्थापक सदस्य भीम उदासले अन्तर्राष्टिय क्षेत्रमा अनेसासको भूमिका विषयक मौखिक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
रिसोर्टमा जमेको साहित्यिक माहौलले नेपाली साहित्यलाई अन्तर्राष्टियकरण गर्न बन्दीपुर घोषणापत्र जारी गर्ने योजना बनायो । घोषणापत्रका लागि राधेश्याम लेकालीको संयोजकत्वमा भीम उदास, गोपीकृष्ण ढुंगाना, कृष्ण जोशी, प्रद्युम्न जोशी, सन्ध्या पहाडी, रञ्जना उदास, जयदेव भटराई र मणि लोहनीको समिति गठन गर्यो । लेकालीले अनेसासको आगामी कार्यक्रमबारे जानकारी गराए, करिब दुई सय स्रस्टाको जमघट हुने गरी आगामी माघको दोस्रो साता इलाममा कार्यक्रम गर्दैछौं । स्थानीय स्रस्टा तनहुँको ऐतिहासिक पक्षलाई कोट्याउँदै थिए, बेदव्यासले १८ पुराण रचेको जिल्ला तनहुँ । लोडसेडिङ र पर्यटकको भीडले कविता वाचनको कार्यक्रमलाई बास बस्ने बन्दीपुर गेष्ट हाउसमै सरेको जानकारी दिइन् बाबा बस्नेतले ।
साँझ झमक्कै परेको थियो । साँझसँगै बढेको चिसोमा रमाउन नसकिरहेका साहित्यकारलाई तताउन क्याम्प फायर पनि हौसिएको थियो । डिनरअघि रमाइलो गर्न मोहनबहादुर कायस्थले सिर्जना फुराउने र जीउ तताउने रस र खाजाको व्यवस्थापन गर्नुभएको रहेछ । कायस्थका अलावा स्थानीय भएकै नाताले द्धारिका श्रेष्ठ र जलेश्वरी श्रेष्ठले पनि खानपीनको व्यवस्थामा सहयोग गर्नुभएको रहेछ । क्याम्प फायर, सोमरस र स्रस्टाका प्रेमप्रसंगका सिर्जनाले त्यो चिसो तातोमा परिणत भएको थियो ।
अघिल्लो दिन हेर्न नपाएका धौलागिरी, अन्नपूर्ण, लाङटाङ, मनास्लु आदि हिमाल भोलिपल्ट बिहान हेर्ने योजना बनाएका हामीलाई खराब मौसमले पुनः धोका दियो । सूर्योदय अघि नै झन्डै भुइचालोले धोका दिएको थियो । मध्यरातसम्म व्यक्तिगत, साहित्यिक र देशका विविध पाटामा छलफल गरेर निदाएका हाम्रो निद्रा नपुग्दै भुइचालोले ब्युझाइदियो । २०५२ सालमा खोलिएको बन्दीपुरकै पहिलो होटल मानिने बन्दीपुर गेष्ट हाउसको टुडिखेलछेउको नयाँ भवन निर्माणाधीन अवस्थामै रहेकाले हामीले अत्यन्तै असुरक्षित महसुस गर्यौं । ए भुइचालो भुइचालो भन्दै लेकाली दाइले सबैलाई जयाकजुरुक बनाउनुभयो । गोरखाको उत्तरी क्षेत्रलाई केन्द्रविन्दू बनाएर पाँच रेक्टर स्केलको त्यो भुइचालो चार सेकेन्डमात्र गएको रहेछ । कोठाबाट बाहिर निस्कनमात्र भ्यायौं । बाहिर कौसीबाट पछाडिपटि तल जमिनमा हेरेको त धेरै तल । भुइचालोको धक्कामात्र महसुस गरेका हामीले त्यो अग्लो घर भत्किएको भए हाम्रो दुर्दशा कस्तो हुन्थ्यो होला ? भनेर मुटु कमायौं ।
सबैको सहमति जुटेपछि मर्निङ वाक शैलीमा बन्दीपुरको परिक्रमाका लागि हामी केही निस्कियौं । महिला र अन्य साथी थकान मेट्न र जाडो छल्न सिरकको साथ छोडेनछन् । भीष्म दाइले केहीबेरको यात्राबाट तीनधारा पुयाउनुभयो । तर अचम्म । त्यहाँ त पाँच धारा रहेछन् । भूत, प्रेत र पिशाचले अत्यन्तै दुःख दिने ठाउँ रहेछ त्यो । उहाँले महाकाव्यमा लेखेका तीनधाराबारेका श्लोक पनि सुनाउनुभयो । दुईवटा धारा अछूत भनिएका जातका लागि रहेको थाहा भयो । झन्डै दुई वर्षअघि बोडे उच्च मावि भक्तपुरका मेरा पत्रकारिताका विद्यार्थीलाई लिएर पाल्पा र लुम्बिनी भ्रमण गराउने क्रममा केही घण्टाका लागि बन्दीपुर पनि पुयाएको थिएँ । साहित्यिक टोलीसँग हिड्दा तत्तत ठाउँमा दुई वर्षे पुराना सम्झना दोहोरिन्थे । पुरानो गाविस भवन निर्माणाधीन अवस्थामा रहेछ । छेवैमा बन्दीपुरको पुरानो खड्गदेवी मन्दिर । त्यही मन्दिरको भवनमा पढेर राष्टिय व्यक्तित्व भएकाको कारुणिक कथाले मन कुड्यायो ।
माथि सहिद स्मारक छ, जाने होइन भन्दै भीष्म दाइले पछि लगाउनुभयो । सात सालको जनक्रान्तिमा राणा सरकारले मारेका धर्मध्वज गुरुङ, उत्तरकुमार श्रेष्ठ, चन्द्रबहादुर सार्की, खड्गबहादुर गोदार, सन्तबहादुर रानामगर र धर्मराज श्रेष्ठको सम्झनामा २०४९ सालमा स्मारक बनाएको रहेछ । अघिल्लो दिन मान्छेले छपक्कै छोपेको टुडिखेल बिहान त भूइँकुहिरोले ढाकेको रहेछ । दुई घण्टा घुमेर गेष्ट हाउस पुग्दा पनि सबै उठेका रहेनछन् । हामै टोलीसँग हिड्ने लालसा पोको पार्दै गेष्ट हाउसमा भएका महिलापुरुषको टोलीलाई घुमाउने जिम्मा पाउनुभएका मोहनबहादुर कायस्थ दाइले कसैलाई घुमाउन पाउनुभएन छ ।
ब्रेकफास्टपछि पाँच बुँदेमाथि बहस सुरु भयो । उहाँले नेपाली भाषामा लेखिएका उत्कृष्ट कृृति र रचनाको छनोट र संकलन गर्ने, नेपाली रचनाहरुलाई अंग्रेजीलगायत विभिन्न भाषामा अनुवाद गरी प्रकाशनको व्यवस्था गर्ने, नेपाली कृति र रचनाहरुलाई देश विदेशमा पुयाउन विभिन्न पत्रपत्रिका, अनलाइन पत्रिका र वेवसाइटहरुको प्रयोग गर्ने, मुलुकभित्र रहेका विदेशी कुटनीतिक नियोग, मुलुकबाहिरका नेपाली दुताबास र विभिन्न मुलुकभर रहेका गैरआवासीय नेपाली संघ परिचालन गरी साहित्यको विस्तार गर्ने र अनेसासबाट प्रकाशित पुस्तक र पत्रपत्रिका विभिन्न मुलुकमा ढुवानी गर्दा सतप्रतिशत छुट दिन नेपाल सरकारसँग आग्रह गर्ने लेकालीले अनेसास ३८ देशमा ७१ वटा च्याप्टरमा फैलिएको र एनआरएनसँग मिलेर तिनका ५६ देशका शाखामा पनि कृतिको बजार व्यवस्थापन र साहित्यिक गतिविधि बढाउन लागेको जानकारी दिनुभयो ।
प्रद्युम्न जोशीले त्रिभुवन विमानस्थलमा बुक स्टल राख्नुपर्ने सुझाव दिनुभयो । प्रतिक ढकालले अनुवाद गरेर फेरि हामी साहित्यकारले नै पढ्ने हो भने अनुवाद गर्नुको अर्थ नभएको र विदेशीले प्रकाशन, वितरण र पढ्ने काम गर्नुपर्नेमा जोड दिनुभयो । कायस्थले विदेशीले पढ्ने गरी अनुवाद गर्ने कृति त्यतिकै गुणस्तरीय पनि हुनुपर्ने सुझाव दिनुभयो । शिवप्रकाशले एनआरएन र अनेसासलाई चिन्ने विदेशमा रहेका नेपाली पनि कम भएको टिप्पणी गर्दै नेपाली साहित्यको विदेशमा बजारको समस्या ठूलो देखेको बताउनुभयो । प्रेमविनोद नन्दनले प्रज्ञा प्रतिष्ठान प्राज्ञिक थलो बन्न नसकेको आरोप लगाउँदै अनेसासमात्र होइन सरकारले पनि नेपाली साहित्यलाई संसारभर फैलाउन योजना र प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । कृष्ण जोशीले नेपाली साहित्य अन्तर्राष्टियकरण गर्ने जमर्कोको प्रसंशा गर्नुभयो । पाँच बुँदेलाई हतारमा घोषणा नगर्न र राजधानीका स्रस्टा र साहित्यिक संघबीच पनि छलफल गरेर निष्कर्ष निकाल्न सुझाव र दबाब बढेपछि बन्दीपुरमा घोषणा गरिएन ।
नेपाली उखानझैं तीनपटकको प्रयासमा कविता वाचन जुर्यो । कृष्ण जोशी, विष्णुबहादुर सिंह, गोपीकृष्ण ढुंगाना पथिक, प्रद्युम्न जोशी, मणिराज सिंह, गीता कार्की, शान्ति रिसाल, राजु दाहाल, विजयध्वज थापा, पवन आलोक, प्रतिक ढकाल, गोवद्र्धन पुजा, किशोर पहाडी, बाबा बस्नेत, शिवप्रकाश, रञ्जना उदास, भीष्म श्रेष्ठ, वसन्त श्रेष्ठ अपेक्षा, भीम उदास र राधेश्याम लेकालीले कविता र गजल सुनाए । बन्दीपुरका प्राचीन बस्तीलार्ई साक्षी राखेर सुनाइएका एक से एक मन छुने सिर्जनालाई प्रतिकूल मौसमका कारण हिमालले भने न हेर्न सक्यो न त सुन्न नै ।