Saturday, June 14, 2014
मृत्युसंस्कार सुधारमा विज्ञहरु के भन्छन् ?
प्रस्तुति : गोपीकृष्ण ढुंगाना
कुनै समय थियो, वृद्धा होस् वा युवती मृत पतिसँग जिउँदै जल्नुपथ्र्यो। त्यति बेलाको समाजका मानिस सोच्न पनि सक्दैनथे, यो संस्कार हटाउन सकिन्छ भनेर। चिता जलिरहँदा भाग्ने पत्नीलाई लौरो वा ढुंगाले हिर्काएर तिनै समाजका मानिसले मार्थे। तर, यो चेतनासँगै हट्यो। केही वर्षअघिसम्म विधवाले रातो सारी, टीका, चुरा लगाउने क ल्पनासम्म गर्दैनथे। तर, अहिले त्यो पनि समयले सहज बनाइदिएको छ। जसले छोए पनि खानपिउन मिल्छ भन्ने कुरा सामान्य भइसक्यो।
मृत्युसंस्कार पनि यही समाजमा चलिआएको १३ दिने संस्कृति हो। यसमा पनि २० वर्षअघि र अहिले काजकिरिया गर्ने तौरतरिकामा धेरै फरकपन पाइन थालेको छ। मानिस व्यस्त हुन थालेका छन्, १३ दिन बस्दा स्वास्थ्य बिग्रने गरेको छ, खर्चका हिसाबले पनि यो धेरै बोझिलो छ। हाल नेपालमा रहेको दुई करोड १६ लाख हिन्दूको मृत्युसंस्कार भइसक्दा प्रतिकामबाट एक लाख रुपैयाँका दरले जोगाउने हो भने सात अर्ब रुपैयाँ बच्ने र त्यसबाट समाज निर्माणमा लगानी गर्न सकिने तर्क पनि उठेका छन्। यही सन्दर्भमा अन्नपूर्ण पोस्ट्मा सामाजिक सुधारका लागि बहसका रूपमा 'मृत्युसंस्कार तीन दिन' शीर्षकमा समाचार प्रकाशित भयो। त्यसपछि सुधार हुनुपर्छ र पर्दैन भन्ने अनेक प्रतिक्रि या आए। यही सन्दर्भमा अन्नपूर्ण पोस्ट्ले तीनकुनेस्थित कार्यालयमा आयोजना गरेको 'अन्नपूर्ण राउन्ड टेबल' मा प्रस्तुत भएका विचार :
तीन दिनमा झारौं
शंकरप्रसाद पोखरेल
- लेखक, प्रकाशोन्मुख कृति 'मृत्युसंस्कारको सरलीकृत अवधारणा'
विराटनगरमा छँदै केही वर्षअघिदेखि मृत्युसंस्कार चलिरहँदा दु:ख पाएको सन्दर्भ चल्थे। तीन महिनाअघि पशुपतिस्थित आर्यघाट आएँ। लास जलिरहँदा काजकिरिया बस्ने विषयमा बूढापाकाहरूको पनि सुधार भए हुन्थ्यो भन्ने अपेक्षा देखियो। अरूको पनि आशय र भनाइले आवश्यकता त्यही रहेछ भन्ने बुझेँ। सबैको आवश्यकतालाई कसरी सम्बोधन गर्ने भन्ने जिज्ञासाले निर्णय सिन्धु, धर्म सिन्धु, परासर स्मृतिजस्ता शास्त्र र पुराणको अध्ययन गर्न थालेँ।
१३ दिने काजकिरियालाई घटाएर सात, पाँच वा तीन दिनसम्मको बनाउन सकिने शास्त्रीय प्रमाण भेटिएका छन्। शास्त्रीय प्रमाणका आधारमा काजकिरियाको दिन घटाउन सकिन्छ भनेर मैले चार वर्षदेखि तर्क अघि सार्दै आएको थिएँ। यो समयको पनि माग हो भन्ने बुझेपछि अध्ययन, चिन्तन र मननमा लागेको हुँ। दिन घटाए आशोच बार्नेलाई सात दिन राहत, अरूलाई किरियाका लागि राख्नु नपर्ने, पुरोहितको कार्यक्षमतामा ६२ प्रतिशत वृद्धि हुने, छोटो हुँदा निष्ठा, एकाग्रता र श्रद्धा बढी हुने, सरकारी बिदा कटौती भई सेवाग्राहीलाई सहज हुनेजस्ता फाइदा पाएको छु। काजकिरिया गर्ने कतिपयले भित्रभित्रै शोकजुठो बार्न छाडेको र आँटिलाहरूले हाकाहाकी संस्कारमै कटौती गर्न थालेको अवस्था छ। धर्म सिन्धुको पेज ७३५ मा लेखिएको छ- तीन दिनको आशौचमा छ, त्यस्तो पर्णशर दाह आदिमा पहिलो दिन एक पिण्ड, दोस्रो दिन चार पिण्ड, तेस्रो दिन पाँच पिण्ड। यस विधिले दसवटा पिण्डदानको कार्य सम्पन्न गर्दा, शास्त्रअनुसार मृतक व्यक्ति प्रेत बन्ने काम तीन दिनमा पूरा हुन्छ र त्यसपछि सोही दिन ढिकुरो फुटाइन्छ। चौथो दिन ११औं दिनको काम गर्ने र पाँचौँ दिनमा १२औँ दिनको काम गरेर छोट्याउन सकिन्छ।
कलियुगमा पराशरस्मृति ठीक छ। परासरस्मृतिमा लेखिएको छ- ब्राह्मणहरू जुठोमा तीन दिनमा शुद्ध हुन्छन्, क्षत्रीय १२ दिनमा, वैश्य पन्ध्र दिनमा र शुद्र एक महिनामा शुद्ध हुन्छन्। यो पराशर (ऋषि)को मत हो। भारतीय योगगुरु स्वामी दयानन्द सरस्वतीद्वारा लिखित संस्कारविधिमा तीन दिनसम्म बिहान र बेलुका होम गरिसकेपछि मृतकका नातेदार स्मशान भूमिमा गएर सबै अस्थी (चितामा जलाई छोड्दा नडढेको) उठाएर अर्कै ठाउँमा गाडिदिई फर्कनुपर्छ। बस्, योभन्दा बाहेक अरू कुनै कर्म मृतकका लागि छैन। यजुर्वेदको प्रमाणले प्रस्ट भएको छ, 'मरिसकेपछि दाहकर्म र अस्थीसञ्चयदेखि बाहेक अरू कुनै कर्म कर्तव्य छैन।'
बाह्र, तेह्र दिनको संस्कार अवधिमा किरियापुत्री भएर बस्नेदेखि आशौच बार्नेसम्मको खानपानको उचित प्रबन्ध नमिलेका कारणले १३ दिनभित्रै मृत्यु भएका र रोगी भई धेरै दु:ख पाएका घटना पनि धेरै छन्। यस विषयका दिग्गज बुद्धिजीवीहरूले बृहत् विचारगोष्ठीमा दिएका रायसल्लाह र व्यक्तिगत लिखत प्रमाणहरूलाई आधार मानी दाँजेर हेर्दा पनि न्यूनतम तीनदेखि सात दिनसम्मको वस्तुगत आवश्यकता र चाहना प्रकट भएको पाइयो। वैदिक महापुराणको १६औं अध्यायमा पनि तीन दिनमा शुद्ध हुने लेखिएकाले सोही विधानलाई नै देश, काल, परिस्थितिअनुसार स्वीकार गर्दा सबै वर्णका लागि सहज, सरल र स्वीकार्य हुने देखिएको छ।
निर्णय सिन्धुको ३६९ र ३७१ मा लेखिएको छ, 'शौच गर्न नसक्ने बूढो मानिस, वैद्यले औषधि गर्न नसकेको रोगी मानिस, पहाडबाट लडेको मानिस, व्रत गर्दैमा मरेको मानिस, पानीमा डुबेर वा आगोमा डढेर मरेको वा अनशन (भोकभोकै)मा मरेको मानिसको तीन रात आशौच लाग्छ।' यी सबै हिसाबले घटाउन सक्छौं भन्ने लाग्छ। अहिले झट्ट सुन्दा, हेर्दा तीन वा पाँच दिनमा झार्ने काम पाखण्डी हो कि भन्ने होला। दुर्योधनले त्यति बेला पाँच गाउँ दिएको भए युद्ध हुन्थेन। मलाई लागेको कुरो, औंलो दिँदा शरीर बच्छ भने औंलोको लोभ नगरौं। १३ दिने झन्झटिलो संस्कारको सट्टा तीन दिनेले श्रद्धा जाग्छ र संस्कार जोगिन्छ भने किन नघटाउने भन्ने मेरो आशय हो। मैले विधि छोट्याउनुपर्छ भनेकै होइन, विधि नघटाई दिनमात्र घटाऔं भन्ने मेरो तर्क हो। त्यो त्याग गर्न तयार होऔं।
संस्कार बच्ने भएपछि दिनहरू कटौती गरौंला
डा. रमेश ढुंगेल
- संस्कृति अन्वेषक
मृत्युसंस्कारको विषयमा अहिले जे बहस चलिरहेछ त्यो भौतिक व्याख्या भयो। आध्यात्मिक पक्षको व्याख्या समावेश त हुन्छ नै। यसमा यदि सरकारले निर्णय ग:यो भने हेजेमोनी हुन्छ। लिम्बू जातिमा यसको खर्च कति छ भने हामीहरू त एकदमै कम खर्च गर्छौं।
यो संस्कारले शरीरमा कष्ट दिने काम गर्छ। परालमा सुत्नेजस्ता भावनात्मक कुरा आउँछन्। मृतकलाई कति कष्ट खेपेर सम्मान गर्न चाहन्छ भन्ने देखाउने अवस्था पनि छ। कोही पिँढीमै सुत्छन् भने त्यो उनकै कुरो हो, सरकारले केही भन्दैन। अहिले परिवर्तन आएको छ- ग्याँसमा पकाएर खाने, म्याटमा सुत्ने। कुनै बेला थियो, चीनका बादशाह मर्दा सबै सरकारी कर्मचारीले १५ दिनसम्म सेतो लुगा लगाउने। अहिले छैन। नेपाली हामी एक सय २८ जातका छौं। अन्त्येष्टि अरू जातिका झन् खर्चिला छन्। हामी बरु लचिलो छौं यो मानेमा पनि।
हामी थाम्न सक्छौं भने १३ दिने यो संस्कारलाई थामौं। नाश हुने अवस्थामा भएकाले बचाउने कति भन्ने प्रश्न छ यहाँ। बच्ने भएपछि दिनहरू कटौती गरौंला। विदेशीले ३३ कोटी देवता हावादारी कुरो हो भनिहाल्छन्, त्यसैले।
युगअनुकूल हुनुपर्छ
आचार्य ज्ञानानन्द
- वेदका ज्ञाता
संस्कार विवेक लगाएर जोगाउनुपर्छ। संस्कार नै संस्कृति बन्छ। भौतिक सुधारका लागि पुराणहरू बनिएका हुन्। व्यासले लेखेका हुन् पुराण। त्यसैले शास्त्रमा लेखिएको विषयलाई त्यही रूपमा छोडिरहने वा चलाइरहने भन्ने होइन, युग अनुकूल 'फिट' हुने गरी व्याख्या गर्दै अघि बढ्नुपर्छ। तर, विद्वान्हरूबाट गरिने समयानुकूल व्याख्या भने समाज र मानव उत्थान हुने गरी हुनुपर्छ जसले देशलाई अग्रगमनका लागि सहयोग पुर्याओस्।
दुई घन्टा बढी बहस चल्यो तर फेद पनि पाइएन, टुप्पो पनि पाइएन र निर्णय पनि आएन। विषयवस्तुमा विचारले प्रवेश नै पाएन। गम्भीर र समसामयिक यो बहसलाई गहन ढंगले विश्लेषण गर्नुपर्छ। शंकर पोखरेलसँग चिनजान भएको आज तेस्रो दिन हो। मृत्युसंस्कारकै क्रममा भेट भएको थियो राजधानीमै। उहाँको कार्यपत्रले प्रमाणसहित उपयुक्त बाटो दिएकाले समर्थन जनाएको हुँ। उहाँले विधि घटाउने कुरो गर्नुभएको छैन, दिनमात्र घटाएर समयानुकूल बनाऊँ भन्नुभएको छ। देहान्तपछि संस्कार गरिन्छ किन? उपलब्धि के छ? पिण्डदान, शय्या दान किन गरिन्छ? आधिकारिक कर्मकाण्डीबाट शास्त्रसम्मत ढंगले यो संस्कार गरिनुपर्छ। धर्मगुरुहरूले बुझ पचाएर बस्ने हो भने मेरो केही लाग्दैन।
पूर्वीय दर्शन विश्वकै दर्शन हो। जन्मदेखि मृत्युपर्यन्त १६ वटा संस्कार छन् आर्य हिन्दू संस्कृतिअनुसार। १६ वटैलाई आत्मसात् गर्न सकियो भने राष्ट्रकै भलाइ हुन्छ। भगवान् एउटा आस्था हो, जन्मे मरेको केही थाहा हुन्न हामीलाई। हिन्दू धर्म पनि आक्रमणमा परिरहेको छ, सम्प्रदाय दंगामा कति मुलुक जलिसके। यी कुरामा धर्मगुरु र सत्तामा बस्नेले किन सोच्दैनन्। यदि धर्म र संस्कार मान्नुपर्छ भने लिम्बूले मृत्युसंस्कार तीन दिन गर्दा हामीले किन नहुने? उही मानिस नै हौं। हामी १३ दिन बार्छौं, कृष्ण प्रणामीहरू मान्दैनन्। नेपालमा ४५ वटा धर्म छन्, विश्वमा तीन सय ४५। अब धर्मगुरुहरूले बुझ पचाउन मिल्दैन।
मुलुकमा प्रजातन्त्र आयो, लोकतन्त्र पनि आयो अनि गणतन्त्र पनि। तर जे आए पनि म मानवतन्त्र आएको बुझ्छु। समाज उत्थान गर्न धर्म र संस्कृतिमा सुधार हुनुपर्छ। मान्छे सानो पनि छैन, ठूलो पनि होइन, संस्कृतिलाई जे जसरी छोपिएको छ त्यो छोपुवा फ्याँक्नुपर्छ। सही सत्य कुरा बाहिर आउनुपर्छ। छोपुवामा कोही बस्नुपर्ने अवस्थामा अब कोही छैन। संस्कारमा शुद्धता आउनु जरुरी छ, ल्याउनु जरुरी छ।
मृत्युसंस्कार संवेदनशील विषय हो
प्राडा माधव भट्टराई
- पूर्वअध्यक्ष, पञ्चांग निर्णायक समिति, नेपाल
सभा वा बहसमा पुगेपछि नबोलेर पनि भएन, बोल्दा तर्कसम्मत रूपमा बोल्नुपर्छ। यो बोल्न कठिन हुने विषय हो। यो यस्तो संवेदनशील विषय पनि हो अनि कतिपयको हकमा सहज पनि छ, किरिया नगरे पनि हुन्छ। ठूला मानिसले किरिया गरेका छैनन् भनेर सञ्चारमाध्यममा नेताका नाम पनि आए। तर, प्रचण्ड, निनु चापागाईं आदिको सन्दर्भ लिएर उदाहरण पेस हुनुलाई सही र राम्रो पनि मान्दैनन् सबैले।
धर्म र संस्कृतिमा वेद मूल संविधान हो। अरूको भन्दा याज्ञवल्क्य र मनुस्मृतिको निर्णयलाई आधार मान्नु सही र उचित हुनेछ। खासमा मृत्युसंस्कारका आधार चारवटा हुन्छन्- शास्त्र, परम्परा, देशाचार र कुल परम्परा। यो संस्कार यी चार परिधिभन्दा टाढा गएर सम्भव छैन। केही साताअघि नुवाकोटमा पण्डितहरूको सम्मेलन भएको थियो, सञ्चारमाध्यममा 'मृत्युसंस्कार तीन दिन' भन्ने शीर्षकको समाचारप्रति बहस चल्यो। आधार नमिल्ने भन्दै सम्भव नहुने कुरो उठेको थियो। १० पिण्ड दिनैपर्छ, ढिकुरो फोरेपछि सपिण्डी दिनैपर्यो। १३औं दिन त चोखिनेमात्र हो। बरु यसमा भएका खर्च कटौती गर्न सकिन्छ, विकृति हटाउन सकिन्छ। खानपिनमा सहजता अपनाउन सकिन्छ। बरु सेतो लुगा लगाउनैपर्छ भन्ने छैन। शुद्ध चाहिन्छ भनिएको छ शास्त्रहरूमा। शुद्धलाई सेतोमा परिणत गरिएकोमात्र हो। लोकाचारका लागि सेतो कपडा पहिरिँदै आएको हो।
एक वर्ष मंसिरमा एक दिनको मात्र लगन थियो। त्यो दिन ४४ हजार विवाह भए। मानिस किन लगन नै खोज्छ? कोर्ट म्यारिज गर्नेहरू पनि साइत पर्खिन्छन्। यसैगरी मृत्युसंस्कार पनि संवेदनशील कुरो हो, लहडी पाराले कुरा गर्न र बहससँगै निष्कर्ष निकाल्न मिल्दैन। बरु नगर्ने मन भएकाहरूले नगरे केही हुन्न। चल्दै आएकै पनि छ। जेठो छोरोले बारेर बसे पुग्ने व्यवस्था पनि छ। अरू भाइहरू बजार पुगेको पाएकै छौं। आपत् धर्ममा आठ दिनमा आउनेले पनि मिसिएर सँगै किरिया सक्न पाउने व्यवस्था छँदैछ। शास्त्रले भनेकै छ नि विधि पुर्याएर गर्नु तर ठूलो नगर्नू। विधर्मीले हिन्दूको विकृतिको व्याख्या गरिदिन्छ, त्यसैले आफैं गर्नुपर्छ। मन्थन चलाऊँ। अब हुने राष्ट्रियस्तरको पण्डित सम्मेलनमा पनि यो कुरा उठाऔं।
गुनासा आउँदैमा परिवर्तन गर्नु पर्दैन
- डम्बर चेम्जोङ
मानवशास्त्री
मृत्युसंस्कार खर्चिलो भयो भन्ने कुरो अर्थशास्त्रीय हो। मृत्यु भयो भने कोलाहल हुन्छ, त्यसपछि काजकिरिया सुरु हुन्छ। यो सामाजिक कुरो हो। व्यक्तिको आयु समाप्त हुनु सामाजिक जीवनलाई आयु थप्नु हो। म लिम्बू हुँ। पुरुषको चार दिन र महिलाको तीन दिनमा मृत्युसंस्कार गर्ने मानिस हुँ। बिजोर बार बनाउनुपर्ने हुन्छ श्वास जाँदाजाँदै।
सामाजिक-सांस्कृतिक विशिष्टताले निरन्तरता पाउने कसरी? भन्नेमात्र हो। प्रसंगमा मात्रै म मृत्युलाई हेर्छु। १३ दिने समस्या भोगेर हैरान हुने होलान्। कतिलाई ठीकजस्तो पनि लाग्छ। बिदेसिएकाले भेट गर्न पाउँछन्। गुनासा आए भन्दैमा परिवर्तन गरिहाल्नुपर्छ भन्ने पनि होइन। व्यक्तिको मात्र होइन, समाजको जीवनको कुरो पनि हो यो। जन्म पनि एकै दिनमा हुँदैन, यसको पनि प्रक्रिया हुन्छ, केही महिना लाग्छ। त्यस्तै हुन्छ मृत्युको पनि प्रक्रिया। म त तीनचारदिने हो, १२/१३ दिने होइन। तर, १३ दिनका फाइदा पनि छन् है। किनकि संस्कार व्यक्तिका लागि भन्दा पनि समाजका लागि बढी हो।
पण्डितले भनेर हुँदैन
- डा. गोविन्द टण्डन
सदस्यसचिव, पशुपति क्षेत्र विकास कोष
हामी नेपाली अनेकतामा एकता खोज्ने मानिस हौं। संस्कार र संस्कृतिभित्र विकृति छैनन् भन्ने कुरो होइन। त्यसैले मृत्युसंस्कारमा पनि परिवर्तन गर्न सकिन्छ, तीन दिन पनि हुनसक्छ तर बहस चलाउनुपर्छ। कसैले भन्दैमा वा निर्णय गर्दैमा यो १३ बाट तीन दिनमा झर्छ भन्ने होइन।
अलेक्जेन्डरको एउटा कथा छ- सबैमा एकरूपता ल्याउँछु भन्दै विश्व एक बनाउने। आफ्नो पहिचान आफैं खोज्नुपर्छ। वैदिक सनातनीलाई मात्र १३ दिनको कुराले काम गर्छ। अरू जातिको आआफ्नै संस्कार होला। १३ दिनको हुँदा आफन्तको बिछोडको पीडालाई संसार यस्तै रहेछ भनेर बुझ्न मानसिक रूपमा उपचार अवश्य मिल्छ। तर, दिएका दसदसवटा पिण्ड कहाँ जान्छन्? यसमा अल्मलिनु पनि हुन्न। कुनै परिवारलाई धर्म र संस्कार के हो, किन मनाइन्छ? आदि केही पनि थाहा छैन। कोही कट्टर छन्। तर, थाहा नपाउनेले पनि मृत्युसंस्कारमा परिवारलाई सान्त्वना दिन विचार र फलफूल लिएर पुग्छ। केही सिक्छ र जीवन पनि बुझ्छ।
मृत्युसंस्कार कति दिन भन्ने विषयमा टुंगो लगाउने अधिकार धार्मिक गुरुहरूसँग पनि हुन्न। पारस्परिक चेतनाले हुन्छ। सतीप्रथालाई धर्मसंस्कृतिसँग जोड्यौं। चिताबाट खस्दा पनि हामीले नै लौरो र ढुंगाले हिर्काएर मार्यौं। हजारौं आमा, चेलीलाई जिउँदै जलायौं। कुनै बेला चलाउन हुन्न भन्ने यो संस्कार पनि हट्यो। मृत्युसंस्कारबारे कुनै विद्वान् पण्डितले बोल्देला र गरौंला भन्ने हुँदैन। विधवाले पनि रातो टीका र साडी लगाउन हुन्न भन्ने थियो। प्रताडना हट्यो, सहज महसुस गर्न थाले। सामाजिक सुधारका संकेत देखिएका छन्।
१३ दिन घट्ने सन्दर्भ आफसेआफ हुने कुरो हो। सोचौं न, बच्चा हुँदादेखि आजसम्मका केही दसकमा हामीमा कति चेतना आएको छ। पोखरीको पानीजस्तो बसे केही पनि सुधार हुन्न, नदीझैं विचार बगाउन सक्नुपर्छ। बुवाको पालामा महिलाले घुँडा देखिने कपडा लगाउँदैनथे तर अहिले कतिसम्म छोटो लगाउँछन् भन्नै पर्दैन। तर पनि स्वीकारिएकै अवस्था छ। चेतना फैलाउने सञ्चारमाध्यमले हो। नयाँनयाँ विषय उठाएर बहस गर्नु सञ्चारमाध्यमको कर्तव्य पनि हो। सार्थक हुनसक्छ। १३ दिन बस्नेले पनि पुरस्कार पाएका छैनन्, नबस्नेले सजाय पनि पाएका छैनन्। पशुपतिमा दुई दिन बसेर बीचैमा भागेका पनि छन्। हिन्दू धर्म लचिलो छ। गाईलाई पुज्ने छन्, गाईकै मासु खाने पनि छन्। हिन्दू धर्मले संसारलाई आँखा देखाएको छ। त्यसैले संस्कारभित्रका ऐँजेरूहरू हटाउँदै जानुपर्छ।
किरिया भन्ने कुरो हिजोको जमानाको हो। आज आमपरिवर्तन भइसक्यो। १३ दिन पनि परिवर्तन हुनसक्छ।
मिति : २०७१ जेठ, ३१ शनिबार
Monday, June 9, 2014
पशुपतिमा विशेष पूजा दैनिक सय
गोपीकृष्ण ढुंगाना
काठमाडौं : पशुपतिनाथ मन्दिरमा अहिले दैनिक एक सय विशेष पूजा हुन थालेका छन्। गत चैत २६ गतेदेखि रोकिएको पूजा जेठ ८ गते खुलेको थियो। त्यसपछिका १८ दिनमा एक हजार आठ सय पूजा भएका छन्।
पशुपति क्षेत्र विकास कोषबाट मूलभट्ट र भट्टहरूले विशेष पूजाको कुल रकमको १८ प्रतिशत पाउने मौखिक सहमति भएपछि रोकिएको पूजा खुलेको हो। उनीहरूले २० प्रतिशत पाउनुपर्ने माग राखेर विशेष पूजा बन्द गरेका थिए। कोषका अनुसार विशेष पूजा रोकिएको अवधिमा झन्डै एक करोड रुपैयाँ नोक्सान भएको छ। चैतमा एक हजार तीन सय ३९ वटा विशेष पूजा भएका थिए। फागुनमा यो संख्या एक हजार आठ सय ४६ थियो।
कोषको पशुपतिनाथ मन्दिर हेर्ने प्रशासकीय अधिकृत ईश्वरमान भण्डारीका अनुसार जेठको १८ दिनमा मात्र एक हजार आठ सयवटा विशेष पूजा भएका छन्।
पशुपतिनाथमा नित्य पूजाबाहेक विशेष पूजा पनि गरिन्छ। पशुपतिनाथमा मूलभट्ट र भट्टहरूबाट एक हजार एक सयको पञ्चामृत पूजा, दुई हजार एक हजारको बालभोगसहित पञ्चामृत पूजा, पाँच हजार एक सयको रुद्रीसहित पञ्चामृत पूजा, ११ हजारको लघुरुद्रीसहित पञ्चामृत पूजा, २५ हजारको सबा लाख बत्तीसहित पञ्चामृत पूजा, ५६ हजारको हवनसहित पञ्चामृत पूजा र दुई लाख २१ हजारको महारुद्रीसहित पञ्चामृत पूजा हुने गरेका छन्। महारुद्रीमा एक सय ३३ जना ब्राह्मणले हवन पूजासहित पञ्चामृत पूजा गर्नेछन्। बढी हुने पूजामा पञ्चामृत र बालभोगसहितको पञ्चामृत पूजा पर्छन्। कोषका अनुसार विशेष पूजा १२ लाख ९९ हजार र २५ लाख रुपैयाँसम्मको पनि छ। कोषले भट्टहरूसँग सहमति भएपछि जेठ ८ गतेदेखि दुई सय ५१ को दुग्धाभिषेक र पाँच सय एक रूपैयाँको नैवेद्यसहित दुग्धस्नान नामका दुई विशेष पूजा पनि सुरु गरेको हो।
कोषले २०६८ सालमा मन्दिरको पूजा सञ्चालनसम्बन्धी नियमावली लागू गरेर मूलभट्ट र भट्टहरूलाई मासिक तलब र अन्य सुविधा दिन थालेको थियो। तर उनीहरूले आफूहरूलाई विशेष पूजा गरेबापत २० प्रतिशत दिनुपर्ने माग राख्दै आएका थिए। नियमावलीमा विशेष पूजाबापत कुनै सुविधा वा रकम दिने उल्लेख छैन। कोषका सदस्यसचिव डा. गोविन्द टन्डनले मूलभट्ट र भट्टहरूसँग विशेष पूजा गरेबापत उठेको रकमको १८ प्रतिशत दिने मौखिक सहमति भएपछि विशेष पूजा सञ्चालन भएको बताए। उनले भने, 'यसलाई अन्तिम रूप कोषको सञ्चालक परिषद्ले दिनेछ। संस्कृतिमन्त्री अध्यक्ष हुने भएकाले परिषद्को बैठक तत्काल बस्ने तयारी हुँदैछ।'
मिति : २०७१ जेठ, २६ सोमबार
Saturday, June 7, 2014
मृत्यु संस्कार छोट्ट्याउन हस्ताक्षर अभियान
गोपीकृष्ण ढुंगाना
गौतमले सामाजिक सुधार ऐन बनाउन दबाब दिने
उद्देश्यले एक लाख हस्ताक्षर पुर्याएर व्यवस्थापिका संसद्मा पेस गर्ने
जानकारी दिए। बानेश्वरस्थित रत्नराज्य उच्चमाविका शिक्षक गौतमले
काजकिरियामा अन्य कुरा र आर्थिक खर्च पनि निकै हुने भएकाले सुधार
गर्नुपर्ने आवश्यकता औंल्याए।
उनले एउटा मृत्यु संस्कारबाट एक लाख
रुपैयाँ जोगाउन सके पनि राम्रो हुने धारणा व्यक्त गरे। '२०६८ सालको
जनगणनाअनुसार नेपालमा दुई करोड १६ लाख हिन्दु छन्। यो हिसाबले २८ करोड आठ
लाख दिन किरिया गर्नुपर्छ। जन्मिनेको हिसाब यहाँ छैन', उनले भने, 'प्रत्येक
संस्कारमा सरदर १० जना सहयोगी व्यस्त हुनुपर्छ। एउटा काजकिरियामा दुईदेखि
सात लाख रुपैयाँसम्म खर्च हुन्छ।' एउटा काजकिरियाबाट एक लाखमात्र जोगाउन
सके वर्षमा सरदर सात अर्ब रुपैयाँ जोगिने उनले बताए। आइपर्दा आफू पनि तीन
दिनमात्र किरिया बस्ने बताउँदै उनले भने, 'अभियान चलाउनेले उदाहरण पनि बन्न
सक्नुपर्छ।'
जनश्रुतिअनुसार १३ वर्षसम्म गरिने मृत्यु
संस्कार १३ महिना हुँदै १३ दिनमा झरेको उनले बताए। उनले भने, 'अब अरू सहज
बनाउन केही दिन घटाउनु अनौठो कुरो होइन, यो धर्मसंस्कारविरोधी पनि होइन।'
किरिया बस्ने काम कुनै धर्म नभएकाले जनचाहनाअनुरूप बनाउन सकिने उनको भनाइ
छ।
सामाजिक सुधार ऐन बनाउन दबाब दिन एक लाख हस्ताक्षर गरेर व्यवस्थापिका संसद्मा बुझाइने।
साहित्यकार निनु चापागाईं भने मृत्यु
संस्कारबारे अझै फरक विचार राख्छन्। उनले भने, 'भन्ने र गर्ने समाजको चलन
छ। शारीरिक र मानसिक भार र खर्च कम गर्न तीन दिन गरे पनि पुग्छ।
जनचाहनाअनुरूप बढीमा पाँच दिनसम्म गर्न सकिन्छ।'
नेपाल पञ्चांग निर्णायक समितिका
पूर्वअध्यक्ष माधव भट्टराईले भने मृत्यु संस्कार तीन दिनमा घटाउनु भनेको
गर्भमा हुर्किरहेको बच्चालाई तीन महिनामा जन्म भन्नुजस्तै हुने बताए। उनले
भने, 'नगर्नेले नगरून् कर छैन। गर्नेलाई शास्त्रीय आधारमा काम गर्न
पाउनुपर्छ।' अवैज्ञानिक, रूढिवादी र विकृति हटाउन तयार रहेको बताउँदै उनले
भने, 'आपत् धर्ममा विदेशबाट आउने वा कुनै अप्ठेरो पर्नेले आठ दिनमा मिसिएर
काम सक्ने छुट दिएकै छ।'
संस्कृतिविद् कुलप्रसाद पराजुलीले ८८ हजार
ऋषिमुनिले अनन्त शास्त्रको अध्ययनपछि चिन्तन र मनन गरी १३ दिने
मृत्युसंस्कारको चलन चलाएको बताए। '१३ दिने चलन गर्भधारणदेखि मृत्यु
नहुँदासम्म र त्यसपछिका दिनहरूलाई लिएर आशौचमा बस्नुपर्ने निर्णयबाट गरिएको
हो', उनले भने, 'भौतिक देह त्यागेपछि हावा रूपमा १० दिनसम्म १० वटा रूप
लिन्छ त्यसका लागि १० पिण्डी दिने चलन चलेको हो। दुई दिन हावारूपी शरीरको
आत्माका लागि यो कर्म गरिन्छ। १३ औं दिन चोखिने दिन हो।'
अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष
ईश्वरचन्द्र ज्ञवालीले 'नेपाली संस्कार र संस्कृतिको रूपान्तरण र
व्यावहारिक जटिलताहरू' विषयक कार्यपत्र तयार पारेका छन्। उनले कार्यपत्रमा
लेखेका छन्, 'मान्छेले चलाएको अन्तिम संस्कार बढी समस्यापूर्ण छ। तीन दिन
वा एक दिन आफ्ना मृत पितामाता अथवा पूर्वजहरूलाई सम्झना गर्नु, सम्मान
गर्नु, शोक मनाउनु स्वाभाविक हुन्छ तर त्यसपछि पूर्ववत सामान्य अवस्थामा
फर्कनु पर्छ। सेतो कोरामा वर्षभरि बार्ने कुरा त खारेज गर्नैपर्छ।'
2071/2/25
Subscribe to:
Posts (Atom)