Friday, September 27, 2013

जिउँदोमा खान नदिने, मरेपछि पिण्डदान

गोपीकृष्ण ढुंगाना
काठमाडौं, 10 Ashoj : गोमा गर्भवती भएपछि पति शिव शर्मा घरबाट निस्किए। फलफूल टिप्ने क्रममा रूखबाट खसेर मरे। गर्भवती गोमाको पति खोज्न जाने अवस्थै थिएन। अरूले भेट्टाएनन्। छोरो जन्मियो र नाम राखियो, नवराज। हुर्किएपछि उनले बुबाका बारेमा आमासँग सोधे। गोमाले घरबाट निस्किएदेखि आफूलाई केही थाहा नभएको बताएपछि नवराजले भने, ‘म छोरो भएर जन्मेको के काम? म बिनाबाबुको छोरो त होइन नि, पत्ता लगाएरै छाड्छु?’ उनले बुबालाई जिउँदो फेला पारेनन् तर हाडखोर भेट्टाए र काजकिरिया गरे। पछि नवराज ‘लावण्य’ देशका राजा भएका थिए।
स्वस्थानी व्रतकथामा वर्णन गरिएको नवराजको बाबुप्रतिको भक्ति बुझेर ललितपुर ठूलादुर्लुङका भीमनाथ दुलालले पनि छोराको नाम नवराज नै राखे। हाँसीखुसी केही दशक बित्यो। पत्नीलाई रोगले च्यापेपछि अस्पतालबाटै बिदा गर्नुपर्‍यो। सम्पत्ति पनि सकियो। त्यसपछि उनी रोगले मर्नु न बाँच्नुकै अवस्थामा पुगे।
छोराछोरीले बुढेसकालमा आफूलाई संरक्षण गर्लान् भन्ने थियो उनलाई। ‘सबै कुरा सहन सकिँदोरहेछ, वचन सियो बनेर बिझेपछि सहन नसकिँदोरहेछ र साथीको सल्लाहमा यहाँ आएको हुँ’, विगत नौ वर्षदेखि पशुपति वृद्धाश्रममा बस्दै आएका भीमनाथले भने, ‘जहाँ पाउँला त्यहीं खाउँला भनी जोगीझैं बनेर घरबाट हिँड्नुपर्‍यो। संसार यस्तै रहेछ। कहाँको जन्म कहाँको मरण।’ सम्पत्ति हुँदा लडिबुडी गर्ने सन्तानले आफू रोगी हुँदा खान नदिएपछि वृद्धाश्रमको सहारा लिनुपरेको उनको भनाइ छ। उनले थपे, ‘छोरो भए पनि केही नहुनेरहेछ। जिउँदो छुँदा खान पनि नदिनेले मरेपछि खीर पकाएर दिएको पिण्डदानको के अर्थ?’
त्यस्तै रामेछापबाट दुई वर्षअघि पत्नीसहित वृद्धाश्रमको शरण परेका ८२ वर्षीय अमरबहादुर पुरीले भने, ‘लोकका लागि देखाउन गरिने श्राद्ध व्यर्थ हो। प्राण छउन्जेल दुई मुठी खान नदिनेले मरेपछि किन खीर भाग लगाउनु?’
यतिबेला सोह्रश्राद्ध चलिरहेको छ। पितृका नाममा हजारौंले पिण्डदान गरिरहेका छन्। तर पशुपति वृद्धाश्रमका वृद्धवृद्धाले भने न एक छाक मीठो खान पाएका छन् न त छोराछोरीको माया। उल्टै आफ्ना सन्तानबाट अपहेलना सहन नसकी वृद्धाश्रममा आश्रय लिइरहेका छन्। उनीहरू भन्छन्, ‘सन्तानबाटै लेखेटिएर वृद्धाश्रम आउँला भन्ने सोचेका थिएनौं।’
इनारमा परेको सर्पलाई एउटा मानिसले सोधेछ, ‘म निकालिदिन्छु, त्यसपछि मलाई के गर्छस्?’ सर्पले भनेछ, ‘यो धर्मको गुन देख्छु।’ लोककथनअनुसार निकालेपछि सर्पले टोक्न झम्टिएछ। मानिसले अचम्म मान्दै भन्यो, ‘गुन गर्छु भनेको होइन?’ उसले जबाफ पायो, ‘गुनले गुन खान्छ, तँलाई म खान्छु।’ यस्तै भयो भक्तपुर नगरकोटका कुमाले र मीठु नेपाली दम्पतीलाई पनि। तीन छोरी एक छोराका बाबुआा उनीहरू गत वर्षदेखि वृद्धाश्रममा बस्दै आएका छन्।
७४ वर्षीय कुमालेले भने, ‘दमले पीडित छु। धनसम्पत्ति हुन्जेल छोरो बलियो भयो, बलियाले हामीलाई धपायो।’ मिठुले थपिन्, ‘हामीले त सासूससुरा पालेथ्यौं, अशक्त हुँदा दिसापिसाप हातैमा थापेथ्यौं। कर्मै यस्तो हो कि समय उस्तो हो पाउनुसम्म दु:ख पाएका छौं।’ दुवैले थपे, ‘बुढेसकालमा बाबुआमा नहेर्ने छोरो के छोरो? मरेपछि श्राद्धको के काम? गरे गरून् नगरे नगरून्।’

Election Karyadal


Garib Pashupatinath


Tuesday, September 17, 2013

रकम अभावमा रोकियो इन्द्रजात्राको दस अवतार झाँकी

रकम अभावमा रोकियो इन्द्रजात्राको दस अवतार झाँकी

गोपीकृष्ण ढुंगाना
काठमाडौं : इन्द्रजात्रामा लगातार आठ दिन प्रदर्शन गरिने दस अवतार झाँकी यसपटक पहिलो दिन नै प्रदर्शन हुन सकेन। काठमाडौं महानगरपालिकाले समयमै रकम उपलब्ध नगराउँदा काठमाडौंको संस्कृतिसँग गाँसिएको इन्द्रजात्रा यसपालि खल्लो भएको छ। दस अवतार प्रदर्शन तथा प्रवर्द्धन समाजसँग रकम अभाव भएकाले वर्षौंदेखि महानगरपालिकाको सहयोगमा जात्रा सञ्‍चालन हुँदै आएको थियो।indrajatra
दस अवतार झाँकीका मूल नाइके दीपकप्रसाद श्रेष्ठले १३ वर्षदेखि झाँकी प्रदर्शन गर्दै आइरहेका छन्। यसपालि रकम अभावका कारण झाँकी प्रदर्शन गर्न नसकिएकोमा उनले खिन्नता प्रकट गरे। अन्नपूर्णसँग भने, ‘यसअघि बराजु, बाजे, बुबा र दाजुहरूले चलाउँदा कहिल्यै रोक्नु परेको थिएन। महानगरपालिकाले समयमै रकम उपलब्ध नगराउँदा यो अवस्था आएको हो।’
उनका अनुसार समाजसँग पनि दस अवतार सञ्चालनका लागि रकम छैन। थपे, ‘समाजले यसअघिका वर्षमा दस अवतारका लागि लिएको हजारौं रकम नै तिर्न बाँकी छ।’ इन्द्रजात्रा व्यवस्थापन समितिका उपाध्यक्षसमेत रहेका श्रेष्ठले दस अवतार प्रदर्शन गर्न चाहिने आवश्यक लुगाफाटो प्रत्येक पाँच वर्षमा फेर्नुपर्ने नियम रहेको बताए। तर, रकम अभावमा सात वर्ष बितिसक्दा पनि नयाँ लुगाफाटो खरिद गर्न नसकिएको लाचारी सुनाए। भने, ‘२०५६ सालमा मन्त्रीस्तरीय निर्णयले नै दस अवतारका लागि प्रयोग हुने लुगाफाटो प्रत्येक पाँच वर्षमा फेर्नुपर्ने निर्णय गरेको थियो। हामीले निवेदन दिएको पनि दुई वर्ष बितिसक्यो। मन्त्रालयबाट रकम निकासा भएको छैन।’
दस अवतार झाँकी प्रदर्शन गर्न ५५ जना जनशक्ति आवश्यक पर्छ। त्यसमा ससाना केटाकेटी ३५, गुठीयार १०, शृंगारकर्ता र पोस्टर मिलाउने १० र महिला चारजना चाहिन्छ। यो झाँकी इन्द्रजात्रा सुरु भएको दिनदेखि सम्पन्न नहुन्जेल प्रत्येक दिन राति ८ देखि करिब ११ बजेसम्म प्रदर्शन गरिन्छ। दस अवतारमा विष्णुका दस अवतार प्रदर्शन गर्ने परम्परा छ। यसमा महाभारत, रामायणलगायतका झलक प्रस्तुत गरिन्छ।
यसअघि इन्द्रजात्राका लागि भनेर संस्कृति मन्त्रालयले एक साताअघि नै ६ लाख ४० हजार रुपैयाँ निकासा गर्ने गथ्र्यो। पाँच वर्षयता त्यो क्रम टुटेको छ। त्यसको सट्टा काठमाडौं महानगरपालिकाले जात्रा सञ्चालनका लागि जात्रामा आबद्ध करिब ३० गुठीलाई चार लाख ५० हजार रुपैयाँ दिँदै आइरहेको थियो। श्रेष्ठका अनुसार इन्द्रजात्रामा सरदर ४५ लाख रुपैयाँ खर्च हुन्छ।
समितिका अध्यक्ष गौतम शाक्यले पनि समयमै रकम नपाउँदा दस अवतारको आवश्यक तयारी गर्न नसकेका कारण सोमबार प्रदर्शन गर्न नसकिएको बताए। उनले भने, ‘रकम प्राप्त भए मंगलबारदेखि सुचारु गर्छौं।’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता भरतमणि सुवेदीले यसअघि सीधै समितिलाई रकम दिने गरिए पनि केही वर्षयता बर्सेनि रकम दिन नसकिएको बताए। महानगरपालिकाअन्तर्गतको हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख हरिकुमार श्रेष्ठले जात्राका लागि रकम दिने भनेर निर्णय भइसकेको बताए। ‘तर प्रक्रिया लामो हुने भएकाले समयमा उपलब्ध गराउन सकिएन’, उनले भने, ‘नदिने भए महानगरपालिकाले नीतिगत निर्णय गरेर समितिसँग सम्झौता गर्ने नै थिएन नि।’

Saturday, September 14, 2013

पुरानो बसपार्कको कन्तबिजोग