गोपीकृष्ण ढुंगाना
काठमाडौं : पानी परेका बेला हिलो भएर हिँडिसक्‍नु हुँदैन। घाम लागे धुलोले सास फेर्नै मुस्किल पर्छ। रत्‍नपार्कस्थित पुरानो बसपार्कभित्र न गाडीलाई सजिलो छ न यात्रुलाई। बसपार्कको पिच भत्किएको वर्षौं बित्यो। खाल्डाखुल्डी कारण बस निकाल्न र राख्‍न कठिन हुने गरेको छ। purano-buspark
दिनमा तीन सयभन्दा बढी बस पटकपटक आवतजावत गर्ने बसपार्कमा गाडीधनी र यात्रीले ठूलो कष्ट बेहोरिरहेका छन्। राजधानीको केन्द्रमा रहेको बसपार्क जीर्ण हुँदा दैनिक हजारौं यात्रु सास्तीमा परेका छन्। ‘पानी परे हिलो भएर हिँड्नै सकिँदैन, बसले हिलो छ्‍यापेर उस्तै दुर्गति बनाइदिन्छ’, बसबाट ओर्लंदै गरेकी रमिला केसीले भनिन्।
दक्षिणकाली रुटमा चल्ने ना २ ख ४३३६ नम्बरको बसका चालक प्रह्लाद कार्कीले खाल्डाखुल्टीका कारण बसको पत्ती भाँचिरहने बताए। उनले भने, ‘काठमाडौं महानगरपालिकालाई दैनिक कर तिर्छौँ तर सुविधाको सट्टा उल्टै क्षति बेहोर्न बाध्य छौं।’
बसपार्क क्षेत्रमा करिब तीन दर्जन पसल महानगरपालिकाले भाडामा लगाएको छ। बसपार्कको हिलोधुलोका कारण उनीहरू पनि मारमा परेका छन्। एक होटेलका सञ्चालक बैकुण्ठ पौडेलले भने, ‘महानगरपालिकालाई मासिक भाडा तिरिरहेका छौं तर बसपार्क अस्तव्यस्त छ। यस्तोमा व्यवसाय कसरी चलाउने?’
महानगरपालिकाले विगत पाँच वर्षदेखि बसपार्क मर्मत सुधार गरेको छैन। स्थानीय बासिन्दाले बसपार्क पिच गर्न, ढलको स्तरोन्नति गर्न र फोहोर नफाल्न दबाब दिँदै आए पनि सुनुवाइ भएको छैन।
उपभोक्ता समिति संयोजक श्रीबहादुर खड्काले सवारीचालकले दैनिक कर र सटर प्रयोगकर्ताले शौचालय, बिजुली र पानीजस्ता न्यूनतम सुविधा नपाएको भन्दै भाडा तिर्न आनाकानी गरेको बताए। उनले भने, ‘बस चढ्ने यात्रुले बसपार्कको दुर्गन्ध र हिलोधुलो देखाउँदै सोध्छन्, बसपार्क सधैं यस्तै हो?’
खड्काका अनुसार केही साताअघि एउटा बसको डिजल ट्यांकी खाल्डोमा रगडिएर प्वाल परेको थियो। ट्यांकी मर्मत गर्न ३० हजार खर्च गर्नुपरेको उनले बताए। उनले भने, ‘ती चालक भन्दै थिए, महानगरलाई सवारी कर तिर्नु कि उल्टै क्षतिपूर्ति माग्नु?’ सवारी कर र सटर भाडाबाट मासिक उठ्ने पाँच लाखमात्र बसपार्कका लागि खर्च गर्ने हो भने पनि बसपार्क मर्मतसुधार गर्न सकिने उनको भनाइ छ।
Purano-busमहानगरको ३१ नम्बर वडा कार्यालयका प्रशासकीय प्रमुख कृष्णप्रसाद चापागाईंले बसपार्कभित्रको खाल्डाखुल्टी पुर्नसमेत नसकिएको स्वीकार गरे। उनले भने, ‘बसपार्कभित्रको ढल र जमेको पानीसमेतको व्यवस्था गर्न सकिएको छैन।’
महानगरपालिकाको राजस्व महाशाखाका प्रमुख ध्रव काफ्लेले बसपार्कको करिब २४ रोपनी क्षेत्रफलमा काठमाडौं टावर निर्माण गर्न लागिएकाले तत्काल मर्मतसुधार गर्ने योजना नरहेको बताए। उनले भने, ‘पुरानो बसपार्कमा अत्याधुनिक सुविधा सम्पन्न काठमाडौं टावर बनाउन जलेश्वर, स्वच्छन्द र बिकोई बिल्डर्सलाई छनोट गरिसकेका छौं।’
टावरमुनि दुईतले अन्डरग्राउन्ड पार्किङ हुनेछ भने त्यसमाथि सपिङ सेन्टर र माथिल्लो तलामा महानगरपालिकाको कार्यालय हुनेछ। सम्झौताअनुसार निर्माण भएको ६० वर्षमा निर्माण कम्पनीले महानगरपालिकालाई स्वामित्व बुझाउनुपर्नेछ। त्यस्तै महानगरपालिकाले जग्गा बहालबापत वार्षिक ७० लाख र घरभाडाबापत एक करोड ६५ लाख रुपैयाँ पाउनेछ। महानगरपालिकाले हाल बसपार्क क्षेत्रको सटर र करबापत करिब एक करोड रुपैयाँ संकलन गर्दै आएको छ।