Saturday, November 1, 2014

लिभिङ टुगेदरले भत्कायो सिउँदो सजाउने सपना

लिभिङ टुगेदरले भत्कायो सिउँदो सजाउने सपना

गोपीकृष्ण ढुंगाना
 3606
 17
 
काठमाडौं : डेढ महिनादेखि सँगै बसेकी सम्झना फुँयालको केही समयदेखि एउटै सपना थियो, विवेक सिंहको हातबाट सिउँदोमा सिन्दूर सजाउने। विवेकको दाजु र सम्झनाकी दिदी साथी भएकाले सोहीक्रममा चिनाजान भएपछि सिन्धुली डुम्रेबासकी २२ वर्षीया सम्झना र सप्तरी जगतपुर ९ का २२ वर्षीय विवेकबीच छ महिनादेखि 'अफेयर' चलेको थियो। तिहारका लागि गाउँ पुगेर शनिबार बिहान ११ बजे भक्तपुर गठ्ठाघरस्थित डेरामा पुग्दा विवेक छाँगाबाट खसेझैं भए, जब उनले प्रेमीका सम्झनाले झुण्डिएर आत्महत्या गरेको देखे। 
 
'मलाई सिन्दुरले सजाइदेउ विवेक भन्थिन्, धेरैपटक भन्दा पनि मैले जागीर राम्रो होस् त्यसपछिमात्र विवाह गरौंला भनेको थिएँ तर उनले केही साताअघि आफैं सिन्दुर र पोते किनेर ल्याएकी थिइन्। कोठामा बस्दा र वरपर हिँड्दा लगाउँथिन्', विवेकले कार्यालयजाँदा सिन्दुर र पोते नलगाएको बताउँदै अन्नपूर्णसँग भने, 'मलाई पनि अरूले विवाह गरेर बसेका रहेछन् भन्ने भयो भने उत्तर दिइरहनु पर्दैन भनेर ठिक लगाउँदै गर, चाँडै विवाह गरौंला भन्थें।' विवेकका अनुसार, स्वास्थ्य विषय लिएर बिएड गरेकी सम्झना जडिबुटीस्थित एक्साइड ब्याट्रीको कार्यालयमा रिसेप्सनिष्टका रूपमा काम गर्थिन्। 
 
प्लस टु पढिसकेको बताउने विवेकले भने पार्ट टाइमका रूपमा टेक्निसियनको काम गर्ने बताए। उनले काम गर्ने क्रममा कोठामा ल्याएका पुराना कम्प्युटरका केही तार राखेका थिए। उनलाई पत्तोसम्म थिएन, प्रेमीका बिजुलीको प्लकमा जोड्ने त्यही तारमा झुण्डिएर आत्महत्या गर्लिन् भनेर। बिहान साढे ८ बजे कलंकी उत्रिएर कोठामा पुग्दा कोठाको ढोका बन्द थियो। उनले बाहिरको शौचालय प्रयोगपछि धेरैपटक ढक ढक गर्दा पनि ढोका नखुलेपछि उनलाई शंका भयो। भने, 'चामलको बोरा चोकमै राखेको छु, कोठाबाट दुवैजना गएर ल्याउँला भनेर। ढोका नखुलेपछि पछाडिबाट अर्को ढोकामा पुगेर झ्यालबाट चिहाउँदा झुण्डिएको देखें' 
 
'चुकुल अल्झाएको अवस्थाको ढोका हत्तपत्त खोलें, बचाउन सक्छु कि भन्ने लागेर भूइँमा लडाएँ र मुखबाट श्वास दिन थालें तर उनीले त छोडिसकेकी रहिछन्', पछाडिको ढोकामाथिको ग्रीलमा झुण्डिएको बताउँदै विवेकले भने, 'क ल्पनासम्म नगरेको घटना देख्दा यति नर्मस भएँछु कि त्यसो गर्न हुन्न भन्ने नै भएन। उनले यस्तो त नगर्नु पर्ने नि। विश्वासै छैन यस्तो भइसक्यो भनेर।' उनका अनुसार, सम्झनालाई माइती पक्षबाट 'किन गइस्?', 'बिहे गरेकै छैन त्यसरी बस्न हुँदैन' भन्दै टर्चर दिन्थे।

माइतीबाट भनिएका सबै कुरा सम्झनाले नसुनाउने विवेकको भनाइ छ। विवेकको सँगै कोठामा बस्ने ७० वर्षीया इमकुमारी घिमिरेले सम्झना र विवेकबीच सुमधुर सम्बन्ध रहेको बताइन्। 'डेढ महिनाजति भयो सँगै बसेको तर कहिल्यै झगडा त के रिसाएको पनि देखिनँ। हिजोमात्र सम्झनाको काकाको छोरो तिहारको रोटीहरू लिएर आएका थिए', उनले भनिन्, 'साँझसम्म सम्झना हसिखुसी नै थिइन्। बिहान सधैं ९ बजेमात्र उठ्ने भएकाले हामीलाई वास्तै भएन। साँझको खाना भएर तताएर खाएर अफिस जान्थिन् नभए त्यसै हिँड्थिन्।' 
 
सम्झना र विवेकबीच शुक्रबार साँझ अन्तिमपटक फोन सम्पर्क भएको थियो। विवेकले भने, 'मसँग काठमाडौं आउने भाडा नभएकाले चार पाँच दिनपछिमात्र आउँछु भनेको थिएँ। भाडा भएपछि रात्रिबस चढेर आवाज सुनाउँदै म भोलि बिहान आइपुग्छु है भनेर फोन गरें तर उनले पत्याएकी थिइन्। झुटो किन बोलेको भनिन्।' त्यसपछि सम्झनाले चार पाँच पटक मोबाइलमा फोन गरेको तर आफूले थाहा नपाएको उनले बताए।

'बिहानै सरप्राइज दिन्छु भनेर मैले पनि फोन गरिनँ तर उनैले मलाई सरप्राइज दिइन्', विवेकले भने। उनका अनुसार, माइतीबाट धेरैपटक फोन गरेकाले दसैंमा सम्झना गाउँ गएकी थिइन्। उनले भने, 'उताबाट फोन आउँदा उनी म उसैसँग विवाह गर्छु भनिरहन्थिन्।' उनीहरू नवराज कोइरालाको घरमा डेरा बस्दै आएका थिए। 
 
सम्झनाका दाजु राजेन्द्रले बहिनीलाई घरपरिवारले अध्ययन पूरा नभएको र भविष्य सुरक्षित बनाउन तत्काल विवाह नगर्न सल्लाह दिएको बताए। उनले भने, 'यसलाई माइतीले टर्चर दिएको भन्न मिल्दैन। पछि अर्को मान्छे भेटिन्छ हतार नगर भनेका थियौं।' दसैंमा एक रातका लागि घर पुगेर फर्किएकी सम्झनासँग पुन: टेलिफोन सम्पर्क नभएको उनले बताए। भने, 'पोष्टमार्टमको रिपोर्ट अनाउञ्जेल कसैलाई केही भन्न सक्ने अवस्था छैन।' मुचुल्काका लागि टोलीसहित घटनास्थल पुगेको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरीनिरीक्षक हर्कबहादुर कार्कीले भने, 'प्रारम्भीक अध्ययनले आत्महत्या गरेको देखिएको छ तर पोष्टमार्टमको रिपोर्ट नआई केही भन्न सकिन्नँ।' 

२०७१ कार्तिक १६ आईतवार 

No comments:

Post a Comment