काठमाडौं : महाशिवरात्रिका लागि
भारत केदारनाथबाट चार दिनअघि आइपुगेका ७२ वर्षीय ज्ञानपुरी नागाबाबा पशुपतिनाथ
मन्दिरलाई साधुसन्तको दरबार ठान्छन्। पशुपतिनाथमा प्रवेश गरेपछि स्वर्गीय आनन्द
पाइने उनको बुझाइ छ।
शिवरात्रिको दुई दिनअघि आइतबार पशुपतिनाथ परिसर
साधुसन्त र नागाबाबाले भरिभराउ छ। गत २० वर्षदेखि शिवरात्रिमा लगातार पशुपति
आइरहेको बताउने ज्ञानपुरीले भने, 'कहीं नमिलेको परमानन्द म पशुपतिनाथ आएपछि
पाउँछु।
यो पशुपतिनाथको दरबार यस्तो भव्य लाग्छ, यहाँ
राजाले पनि दिन नसकेका कुराहरू पाइन्छ। मन शान्तिदेखि स्वर्गीय आनन्दसम्म
पाउँछु।'

२० वर्षअघि पशुपति आउँदाको जस्तो राम्रो
स्वागतसत्कार अचेल नहुने उनी बताउँछन्। उनले भने, 'मानिसले लुट्न जानेको छ। भजन
गाउन जानेकै छैन। भजनले धर्म, ईश्वर, शान्ति र आत्मसम्मान मिल्छ।' शरीरभरि खरानी
घसेर धुनीमा बसेका उनले भने, 'शिव बाबाको स्वरूप पनि यस्तै हो।'
भारतकै गुहाटीका ६३ वर्षीय रञ्जित दास र ५५
वर्षीय हरिमोहन सिंह पनि पशुपति आएका छन्। पहिलोपटक पशुपति आएका उनीहरूले भने,
'धेरै वर्षदेखि पशुपतिनाथको दर्शन र पूजा गर्ने मन थियो।
शिवबाबाको खास उत्पत्तिस्थल हो भन्ने सुनेका छौं।
यहाँ शिवरात्रिमा महामेला हुन्छ। साधुसन्तको मेला लाग्छ भनेपछि मनले मानेन, आयौं।'
उनीहरूले तीन दिनसम्म शिवको दर्शन, पूजा र गुणगान गाएर बिताउने बताए।

भारत हिमाञ्चलबाट ७१ वर्षीय नागवीर बाबा छैटौंपटक
पशुपति आएका छन्। उनले भने, 'पशुपतिनाथले सारा संसारलाई दिनुहुन्छ, हामीलाई पनि
दिनुहुन्छ।'
बाचुन्जेल सुख, शान्त र आनन्दसँग रहनु नै जीवन
भएको भन्दै उनले मरेर कसैले केही नलैजाने भएकाले कसैले कसैलाई दु:ख दिन नहुने
बताए।

पशुपति आएका साधुसन्त सबैलाई अन्नपूर्णा
भण्डारामा खानेबस्ने सुविधा मिलाइएको छ। कोही राम मन्दिर परिसरमा धुनी बालेर बसेका
छन् भने कोही बागमती पारी सिँढीमा छन्। २४ जनाजति नागा बाबा मूल मन्दिर परिसरमा
बसेका छन्।
भारतको मध्यप्रदेशबाट सात दिनअघि आएका २६ वर्षीय
गोपाल गिरीले भने, 'म यहाँ रहुन्जेल शिव बाबाको नाममा उपबासमा रहन्छु।'

कोषले यस वर्षको महाशिवरात्रिमा करिब ६ हजार
साधुसन्त आउने अपेक्षा गरेको छ। कोषका कोषाध्यक्ष तारानाथ सुवेदीले भने, 'यस वर्ष
१० लाख भक्तजन पशुपति आउनेछन्।
करिब पाँच हजार सुरक्षाकर्मीले त्यो दिन सुरक्षा
प्रदान गर्नेछन्।' कोषले आइतबार बिहान करिब दुई हजार साधु, सन्त र जोगी सहभागी
गराएर प्रभातफेरी निकालेको थियो।
कोषका सदस्यसचिव गोविन्द टन्डनले महाशिवरात्रिमा
विगतभन्दा धेरै कुरा सहज हुने गरी व्यवस्थापन गरेको दाबी गरे।
२०७१ फाल्गुन ४ सोमबार
No comments:
Post a Comment