Saturday, March 21, 2015

ओशोको ध्‍यान यात्रा

गोपीकृष्ण ढुंगान
 
 
२५ वर्षअघिको तपोवन कस्तो थियो होला? के परिकल्पनामा यसको जन्म भयो होला? ओशोका चेला एवं ओशो तपोवन काठमाडौंका परिकल्पनाकार अरुण आनन्दसमेतलाई लागेको थियो, 'यसको सुरुआतमा २५/३० जना बस्ने र त्यस्तै एकदुई सयले ध्यान गर्ने केन्द्र बन्नेछ।'
 
स्वामी अरुणलाई दशक बित्दासम्म लागेको थिएन, आफूले सञ्चालन गरेको ओशो तपोवन 'इन्टरनेसनल हब' बन्ला भन्ने। हो, तपोवनले २५ वर्ष पूरा गरेको छ। 
 
यसबीचमा विकसित मुलुक मानिएका अमेरिका र युरोपलगायतका दर्जनौं राष्ट्रका ३० हजारभन्दा बढी नागरिकले जीवन रूपान्तरित गरेर फर्किइसकेका छन्। नेपालका ७० हजारभन्दा बढीले पनि आफूलाई मानसिक रूपमा परिवर्तन गरिसकेका छन्। 
 
अरुण भन्छन्, 'एक सय आठ देशका नागरिक आइसके, नयाँनयाँ देशका नागरिकहरू आइरहेका छन्। विश्वमानचित्रमा आध्यात्मिक गन्तव्य बनिरहेको छ नेपाल, आध्यात्मका क्षेत्रमा तपोवनमार्फत नजानिँदो ढंगले नेपालको पहिचान बनिसकेको छ, बन्दैछ।'
 
बोधिसत्व स्वामी आनन्द अरुणले ओशो आध्यात्मिक गाउँ (स्पिरिच्युअल भिलेज) को अवधारणा अघि सारेका छन्। तपोवन, लुम्बिनी र पोखरामा अन्तर्राष्ट्रिय स्तरको स्पिरिच्युअल भिलेज बनिसकेको छ।
 
तपोवनमा दुई सय र लुम्बिनी र पोखरामा एक/एक सय घर बनाएर बस्ने व्यवस्था छ। यसैगरी, धादिङ, धरान र धुलाबारी (झापा) मा पनि यस्तै भिलेजको काम अघि बढिसकेको छ। धादिङमा पनि सय जनाको व्यवस्था हुने गरी घर बन्दैछ। 
 
अरुण भन्छन्, 'यसपछि क्रमश: १४ अञ्चलमा एक एकवटा यस्ता भिलेज बनाउने र त्यसपछि ७५ वटै जिल्लामा बनाउने लक्ष्य छ। यसले विश्वमा पृथक् सन्देश पनि दिनेछ।'
 
लुम्बिनी र पोखराको यो भिलेजमा कसैले जग्गा लिएर घर बनाउँछ भने उसले लुम्बिनीमा चार आना र पोखरामा एक क_ा जमिन साढे दुई लाखमै खरिद गर्न पाउनेछ। तर घरका नक्सा भने अवधारणाअनुसार एकै किसिमका हुनेछन्। यदि कसैले बाथरुम, कमन र बेड रुमसहितको एउटा कोठा लिए १२ लाख तिर्नु पर्नेछ।
 
सँगै बस्ने र सहजीवन अपनाउनेका लागि यो परिकल्पनाले सहजता दिलाउने अरुणको बुझाइ छ। 'तर पनि प्रत्येक व्यक्ति ले जीवनलाई स्वतन्त्र ढंगले चलाउन सक्छ', उनी भन्छन्, 'भिलेजमा बस्नेहरू एकथरीले त्यही पूरा समय दिएर सेवा गर्छन्, तिनलाई खाने, बस्ने र लगाउने सुविधा हामी दिन्छौं तर जो कोठा वा जग्गा किनेर घर बनाएर बस्छन्, उनीहरू बाहिर आफ्नो पेसा वा व्यवसाय गर्न पाउँछन्।' 
 
यसरी बस्नेहरूले भान्छा एउटै गर्नुपर्नेछ भने ध्यान गर्ने हल पनि एउटै हुनेछ। यसले सामूहिक भावनाको विकास गर्ने उनको भनाइ छ। भन्छन्, 'हिंसा र तनावमुक्त समाज बनाउने उद्देश्य हो यो, भिलेजमा बस्नेहरूको दिन बिहान योगबाट सुरु हुन्छ, दिउँसो ध्यान र दिनको अन्त्यमा प्रार्थनामा टुंगिन्छ।'
 
भिलेजमा हरेक जाति र सबै देशका नागरिकले योग र ध्यानका लागि स्थान पाउनेछन्। तपोवनले यस्तो भिलेज अमेरिकाको क्यालिफोर्नियाको सेन्डोएगो सहरमा बनाइसकेको उनी बताउँछन्। यो लसएन्जेल्सबाट दुई सय किलोमिटर दूरीमा पर्छ।
 
कम्युनिटी लिभिङ
 
ओशोले देखाएको कम्युनिटी लिभिङको सपना वा मानचित्र नयाँ होइन। स्वामी अरुण भन्छन्, 'समतामूलक जीवन बनाउने कुराको सुरुआत अरस्तु, सुकरात हुँदै कार्लमाक्र्स र पाइथागोरस, बुद्धले पनि यो कुरालाई बढावा दिएको पाइन्छ। ओशोले त यसलाई आधुनिक रूपमात्र दिएका हुन्।'
अरुणको भनाइमा कम्युनिटी लिभिङ वैकल्पिक समाज हो। जाति, धर्म र आर्थिक विभेद खडा गरिएको वर्तमान समाजको अर्को रूप कम्युनिटी लिभिङ हो। यसलाई अबको पुस्ताले अपनाउन सक्यो भने यो विश्वभर फैलने उनी बताउँछन्। 
ओशो तपोवनबाट अमेरिका र युरोपलगायतका दर्जनौ राष्ट्रका ३० हजारभन्दा बढी नागरिकले जीवन रुपान्तरित गरेर फर्किइसकेका छन्। 
भारतमा पनि तपोवनको मोडल ऋषिकेश, छत्तीसगढ, बिहारको बरौनी आदिमा स्पिरिच्युअल भिलेजको निर्माण भइसकेको छ। तपोवनकै ससानो रूप भने भारतका जगन्नाथ पुरीलगायतका दर्जन जति ठाउँमा छन्। 
 
अरुणका अनुसार, भारत, पाकिस्तान, मलेसिया, दुबई, क्यानडा, अस्ट्रेलिया, अमेरिका, बेलायत आदिमा ७० भन्दा बढी स्थानमा पनि तपोवनकै मोडलमा निर्माण भइसकेका छन्।
 
२५ वर्षे उपलब्धिलाई हेर्ने र मूल्यांकन गर्ने हो भने ओशो तपोवनले सन्तोष लिने ठाउँहरू छन्। अरुणले तपोवनमार्फत एक लाखभन्दा बढीलाई दीक्षा दिइसकेका छन्। 
 
दीक्षित हुनेमा ७० हजार नेपाली छन् भने ३० हजार विदेशी। ओशो र अरुणका पुस्तक पढ्ने र प्रवचन सुन्नेको संख्या नेपालमा करिब तीन लाख भएको अरुणको भनाइ छ। भन्छन्, 'तपोवन आउने मांसाहारी थिए, करिब ९९ प्रतिशत शाकाहारी बने। अधिकांशको बानी खैनी, चुरोट, रक्सी आदि खाने र पिउने थियो, तिनले आफूलाई सुधारेका छन्।'
 
सबैभन्दा ठूलो परिवर्तन त भोजनको हो। सात्विक भोजन ग्रहण गर्नु भनेको मानिस परिवर्तन हुनु हो भन्ने अरुणको बुझाइ छ। जुन करिब एक लाखमा प्रभाव परेको विषय हो।
 
ह्यापिनेस इन्डेक्स
 
जब मानिसमा तनाव बढ्छ, चिन्ता सुरु हुन्छ अनि अनेक झमेला आइलाग्छन् तब मानिसले धर्मको याद गर्छ र शरणमा पर्छ। यही क्रममा मानिस आनन्दको जीवनको खोजी गर्न थाल्छ। अरुण यसरी मानिस योग र ध्यानतिर लाग्ने बताउँछन्।
 
पहिले मानिस आम्दानी कति छ? उसको आर्थिक अवस्था कस्तो छ? त्यसलाई हेरेर मापदण्ड बनाउँथे। अरुण विगतको यो प्रवृत्तिलाई तुलना गर्दै भन्छन्, 'अहिले आर्थिक समृद्धि भएका मानिस दु:खी छन्। 
 
सम्पन्न देशहरू अमेरिका, बेलायत आदि देशका नागरिक खुसी छैनन् त्योभन्दा त नेपालीहरू नै खुसी र सुखी छन्। किनकि ह्यापिनेस इन्डेक्स हेर्ने हो भने ती सम्पन्न देशहरू गरिब छन्।'
 
तर नेपालमा पनि सहरीकरणसँगै गाउँका मानिससमेत तनाव महसुस गर्न थालेको उनको भनाइ छ। नेपाली पनि ह्यापिनेस इन्डेक्समा माथि नभएको स्वीकार्दै उनी त्यो अवस्था सिर्जना गर्न लागि परेको बताउँछन्। स्पिरिच्युअल भिलेजमा बस्ने मानिस ह्यापिनेस इन्डेक्समा पहिलो लाइनमा हुन्छन्।
 
'यो प्रगतिको कुरो हो। जति तनावरहित जीवन हुन्छ मानिस त्यति नै सुखी र खुसी हुन्छ। यस्तो कुरो वर्तमान समयले मूल्यांकन नगर्न सक्छ। मानिसलाई यसको महत्त्व अझै पनि नहुन सक्छ', अरुण भन्छन्।
 
'विकसित देशहरूमा नाच्न पनि रक्सी, बियर र ह्विस्कीको सहारा लिनुपर्छ, नेपालमा हामी पानी पिएर पनि मजाले नाच्न र हाँस्न सक्छौं', अरुण ह्यापिनेसलाई विदेशीसँग तुलना गर्छन्, 'समृद्धिले सुख ल्याउनुपर्ने हो तर त्यहाँ मानसिक रोगी बढी छन्, जहाँ साइक्याट्रिक डाक्टरको खाँचो बढी छ।'
 
 भौतिक पूर्वाधारमा परिवर्तन भए पनि मनोवैज्ञानिक, भावनात्मक र आध्यात्मिक परिवर्तन विकसित देशहरूमा हुन नसकेको उनको बुझाइ छ। थप्छन्, 'सुनकै घरमा बसेर चाँदीको थालमा खाए पनि आत्मा रोइरहन्छ भने र मनमा शान्ति, जीवनमा सुख र ओठमा हाँसो छैन भने त्यो जीवन निरस हुन्छ। हामी स्पिरिच्युअल भिलेजबाट मुलुकभर त्यो दिने प्रयासमा छौं।'
 
स्पा र थेरापी पनि
 
तपोवनमा पारम्परिक चिकित्सा पद्धति र आयुर्वेदिक पञ्चकर्मबाट शरीर शुद्धीकरण गर्न स्पा पनि सञ्चालनमा छ। स्वदेशी र विदेशीलाई दर फरक छ। तर अन्तजस्तो महँगो छैन। 
 
पाँच, सात र १० दिनको प्याकेज भए पनि सरदर एक हजार रुपैयाँ खर्च लाग्नेछ। यसले तनमात्र होइन, मन पनि शुद्धीकरण गर्नेछ। तनाव भएकाहरू स्पापछि तनावमुक्त हुनेछन्।
 
योगका पनि प्याकेज फरकफरक छन्। सामान्यतया बिहान प्रत्येक दिन सातदेखि आठ बजेसम्म ध्यान गर्ने प्रावधान छ। यो ३० दिन र १२ महिना निरन्तर सञ्चालन हुन्छ। पाँच दिनेको प्याकेज पनि छ। 
 
टिचर्स ट्रेनिङ कोर्स पनि सञ्चालनमा छ, जसमा रसियनले सिकाउँछन्। नेपालमा सिकेर विदेशमा ध्यान शिविर सिकाउनेहरू प्रशस्तै छन्। 
 
यो आधारभूत कोर्सका साथै १५ दिने सर्टिफिकेट कोर्ष, तीनमहिने माध्यमिक र त्योभन्दा बढीको एडभान्स कोर्स हुन्छ। तपोवनमा एडभान्स कोर्स सुरु भइसकेको छैन।
 
ध्यान पनि तपोवनमा बिहानदेखि बेलुकीसम्म छ सेसन चल्छ। यो पनि ३० दिन र १२ महिना नै चल्छ। सप्ताहान्त साधना शिविर कम फुर्सद हुनेहरूलाई लक्षित गरी बनाइएको प्याकेज हो। 
 
शुक्रबार साँझ सुरु भई आइतबार बिहान यो सकिन्छ। यसैगरी, ध्यानबाट चिकित्सा गर्नेका लागि थेरापीको व्यवस्था छ। थेरापी हलमा भय हुने, निद्रा नलाग्ने, मानसिक समस्या हुने आदिले यहाँ आएपछि मुक्ति पाउँछन्। 
 
जुनसुकै प्रयोजनका लागि आउनेले पनि तपोवनभित्र पसेपछि सात्विक भोजन गर्नुपर्छ, मादक पदार्थ आदि सेवन गर्न पाइँदैन।
 
२०७१ चैत्र ७ शनिबार

No comments:

Post a Comment