Sunday, March 9, 2014

अब बत्तीको जस्तै खानेपानीको पनि तालिका

गोपीकृष्ण ढुंगाना
काठमाडौं : महानगरपालिकाभित्रका धारामा कतै १० दिनमा एकपटक पानी आउँछ। कतै वर्षौं सम्म पनि थोपा चुहिएको छैन। यस्तोमा महानगरवासीले पिउने पानी वितरणमा पनि लोडसेडिङजस्तै तालिका मागेका छन्।
पानी आउने तालिका उपलब्ध गराउन काठमाडौं क्षेत्र आठका सभासद् नवीन्द्रराज जोशीले अगुवाइ गरेका छन्। उनले पानी नआउने ठाउँलाई सुख्खा क्षेत्र घोषणाको माग लिएर केही स्थानीयसहित काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) पुगेर तालिका बनाउन माग गरेका हुन्।
पानी दिने समय र दिन तोक्नुपर्ने माग राखेपछि केयूकेएलले चैत दोस्रो सातादेखि पानी तालिका बनाएर वितरण गर्ने भएको छ।
'पानी नआउने ठाउँलाई सुख्खा क्षेत्र घोषणा गरी साताको दुई दिन पानी दिनुपर्‍यो', जोशीले भने, 'भोट माग्दा जनताले मलाई पानी मागेका थिए।' महानगरका केही स्थानमा भने अहिले पनि फाट्टफुट तालिकाअनुसार पानी वितरण भइरहेको छ।
केयूकेएलका महाप्रबन्धक चन्द्रलाल नकर्मीले पानी नपुग्ने, कम पुग्ने क्षेत्रको पहिचान गरी तालिका बनाएर पानी वितरण गर्न दुई साता गृहकार्य गर्ने बताए। उनले भने, 'पानी नपुगेका स्थानमा सम्भव भए सातामा दुईपटक र नभए सातामा एकपटक निश्चित समयमा पानी दिने गरीको तालिका बनाएर चैत १५ गतेदेखि लागू हुने गरी काम गर्नेछौं।' जोशीसँगै पुगेको समूहले राति पानी वितरण गरे पनि समय निश्चित नहुँदा तालिका आवश्यक भएको गुनासो गरेको थियो।
जोशीले केयूकेएलले नगरवासीलाई जेनतेन पानी दिए पनि आवश्यक पानी वितरण गर्नेबारे गृहकार्य नगरेको आरोप लगाए। उनले भनेका थिए, 'केयूकेएल पानी उपलब्ध गराउने आधिकारिक कार्यालय भएकाले समय तालिका बनाएर सातामा कम्तीमा दुईपटक देओस्, नत्र पानी म दिन्छु।'
जोशी आफैंले पानीको व्यवस्था गर्छु भनेपछि नकर्मीले जोशीसँग तालिका मिलाउन दुई साताको म्याद मागेका हुन्। सभासद् जोशीले पानी नआउने स्थानमा ट्यांकरमार्फत वितरण गर्नुपर्ने, पानी नआएमा तत्काल समाधान गर्न एक विशेष युनिट खडा गरी कार्यान्वयन गर्नुपर्ने, चुहावट भएका स्थानमा २४ घन्टाभित्र मर्मत गर्नुपर्ने र खानेपानीमा ढल मिसिइने समस्या भएकाले त्यसको मर्मत गर्ने साथै पानीको गुणस्तर जाँच गर्ने कामलाई प्राथमिकता दिनुपर्ने माग गरेका थिए।
मिति : २०७० फागुन २४, शनिबार

No comments:

Post a Comment