गोपीकृष्ण ढुंगाना
0
0
काठमाडौं : राजधानीको
मरुटोलनिवासी ५७ वर्षीया बिना शाक्य पूजाका लागि सबेरै काष्ठमण्डप परिसरमा रहेको
धनुषा मन्दिर पुग्छिन्। मानिसको चहलपहल सुरु हुनुअघि साढे पाँच बजेभित्र उनी
मन्दिरबाट बाहिरिसक्छिन्। सोही टोलका धेरैलाई थाहै हुँदैन उनले मन्दिरमा पूजा
गरेको। तान्त्रिक पूजा पनि गर्नसक्ने बिना वैदिक पूजामात्र गर्ने गरेको
बताउँछिन्।
गुठी संस्थानअन्तर्गतका राजगुठीमार्फत सञ्चालन
हुने मठमन्दिरमा भने महिला पुजारी छैनन्। तर निजी, संस्थागत र नगरपालिकाले सञ्चालन
गर्ने मन्दिरमा भने महिला पुजारीले पूजा गर्दै आएका छन्। 'बाजेबराजुदेखि धनुषा (नास
देव) मन्दिरमा पूजा गर्दै आएकाले अहिले यो जिम्मेवारी मैले समालेकी छु', बिनाले
अन्नपूर्णसँग भनिन्, 'भाइहरू बिदेसिएपछि ६ वर्षदेखि पूजा गर्दैछु तर भक्तजनका लागि
मन्दिर दिनभर खोल्न सकिएको छैन। उचित व्यवस्थापन नहुँदा मन्दिरमा तान्त्रिक पूजा
गर्न पनि सकिएको छैन।'
मन्दिरमा प्रत्येक वर्ष दसैंको महानवमी र
विजयादशमीका दिन विशेष पूजा गर्नुपर्ने र राँगो बली दिनुपर्ने भए पनि दिन नसकेकोमा
उनको गुनासो छ। उनले राँगोको सट्टा नरिवल, अन्डा र माछाको भोग दिएर मन्दिरमा पूजा
गर्छिन्। यो मन्दिर इन्द्रजात्राको एक साताअघि कायाअष्टमीका दिन भने दिनभर खुल्ने
उनले बताइन्। यसका साथै १२ बर्से सिकाली माजु मेलामा पनि यो मन्दिर दिनभर खोलिन्छ।
काठमाडौं महानगरपालिकाका तत्कालीन कार्यकारीअधिकृत केदार अधिकारी र दरबार क्षेत्र
हेर्ने हरि श्रेष्ठले गुठी संस्थानसँग समन्वय गरी मासिक एक हजार पाँच सय रुपैयाँ
दिने गरी आफूलाई पूजा गर्ने जिम्मा दिएको बिनाको भनाइ छ।
यसैगरी मालीगाउँस्थित अष्टसिद्धि गणेश मन्दिरमा
पनि महिला पुजारी छन्। स्थानीय बासिन्दाले २०४७ सालमा बनाएको उक्त मन्दिरमा हीरालाल
महर्जन पुजारी थिए। नौ महिनाअघि महर्जनको निधन भएपछि टोलबासीले उनकी पत्नी ५३
वर्षीया रामकुमारीलाई पुजारी बनाएका हुन्। त्यस मन्दिरको संरक्षक
पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा हुन्। यो मन्दिर दिनभर खुल्छ। बिहान नित्य
पूजा र साँझ आरती हुने उक्त मन्दिरमा वर्षमा एकपटक अक्षयतृतीयाका दिन विशेष पूजा
हुन्छ। रामकुमारीले भनिन्, 'उहाँले २३ वर्ष पूजा गर्दा सबै सहयोग गर्ने मै भएकाले
पूजाको सबै विधि सिकेकी छु। अब म रहुन्जेल मन्दिरको पूजा मैले नै गर्ने हो।'
बिनाजस्तो रामकुमारीले मासिक तलब भने पाउँदिनन्।
ज्ञानेश्वरस्थित शिव मन्दिरको आडमा रहेको
आनन्दभैरव मन्दिरमा पनि महिला पुजारी छन्। सातामा एकपटक पालो पर्ने गरी मोहनदेवी
राजभण्डारी, लक्ष्मी श्रेष्ठ र सरिता श्रेष्ठले पूजा गर्दै आएका छन्। खासगरी
बालबालिका निरोगी हुने र विघ्नबाधा नाश हुने विश्वासका साथ पुग्ने भक्तजनले चढाएको
भेटी नै पुजारीहरूको आम्दानी हो। हाँडीगाउँ निवासी ६६ वर्षीया राजभण्डारीले भनिन्,
'बिहान पाँच बजेदेखि साँझ आठ बजेसम्म मन्दिर खोल्छौं। यहाँ नित्य पूजा गर्नु
पर्दैन। तर शनि, मंगल र बिहीबार दर्शनका लागि बढी आउँछन्।' यसअघि फुपू र त्यसअघि
फुपूकी सासूले पूजा गरेको जानकारी दिँदै उनले आफू मासिक समस्यामा रहँदा बुहारी
मन्दिराले पूजा समाल्ने गरेको बताइन्।
गुठी संस्थान केन्द्रीय कार्यालयका उपप्रशासक
जयप्रसाद रेग्मीले राजगुठीबाट सञ्चालित मठमन्दिरहरूमा महिला पुजारी राख्ने चलन
नभएको बताए। उनले भने, 'महिलामा मासिक श्राव भइरहन्छ। उनीहरू शुद्ध हुन सात दिन
लाग्छ। अशुद्ध भएर पूजा गर्न पनि मिल्दैन र सात दिनलाई अर्को पुजारी राख्न पनि
समस्या हुने भएकाले महिला पुजारी राख्दैनौं।'
संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगले बडादसैंमा
समेत भगवतीको पूजा गरिने भएकाले महिलालाई पूजा गर्न दिन कुनै समस्या नरहेको
बताउँछन्। ललितपुरको बज्रबाराही मन्दिरको उदाहरण दिँदै उनले भने, 'पहिले घनाजंगलबीच
मन्दिर हुन्थे। त्यस्तो अवस्थामा महिलालाई जिम्मा दिन उचित हुँदैनथ्यो। त्यसैले
महिला पुजारी नराखिएको हो। अब सहज हुँदै आएको छ। दीक्षा पाएकाहरूले पूजा गर्दा
हुन्छ।'
No comments:
Post a Comment