समस्यामा संस्मरण
मिति : २०७० पुस ६, शनिबार [18 पटक पढिएको]
गोपीकृष्ण ढुंगाना | बिषय: साहित्य
गोपीकृष्ण ढुंगाना
'बाँच्नु अल्पकालीन समाधान हो, मर्नु दीर्घकालीन', साहित्यकार जगदीश घिमिरेले २०६३ वैशाखमा अमेरिका पुग्दा माइलोमा क्यान्सर भएको थाहा पाएपछि उनले संस्मरणात्मक कृति 'अन्तर्मनको यात्रा' मा लेखेका थिए, 'बिरामी भयो, बाँच्नका लागि अनेक गर्नुपर्छ। यता घोच्यो, उता पुर्यो। यता काट्यो उता जोड्यो। यता डाम्यो उता बिसेक पार्यो ...। यो रोग लागेपछि म ती सबै अग्निपरीक्षाबाट गुज्रिसकेको छु।'
लेख्नका लागि लेख्नेहरूको पनि जमात रहेको नेपाली साहित्यमा आफूलाई संस्मरणकार भनाउन खोज्नेहरू पनि अल्मलिएका छन्। उनीहरू आत्मकथा, नियात्रा, यात्रा संस्मरण वा संस्मरण आदिलाई गोलमटोल बनाएर प्रस्तुत गरिरहेका छन्। पछिल्ला दिनमा फरक छाप र सम्भावनाको उज्यालो आकाश बोकेर अघि बढिरहेको संस्मरणलाई दिशा दिनेहरू पनि लेखक स्पष्ट हुनुपर्ने धारणा राख्छन्।
'संस्मरण लेख्ने रहरले गुणात्मक भन्दा परिमाणात्मक रूप बढी ग्रहण गरेको अवस्था छ', अखबारी संस्मरण लेखनमा नाम कमाएका वसन्त थापा भन्छन्, 'जसले गर्दा संस्मरणको महत्त्व कम भएको छ, दैनिक र साहित्यिक पत्रपत्रिकामा छ्याप्छ्याप्ती देख्छु जुन भनिएको विधामा समेटिएका हुँदैनन्।' उनी संस्मरण लेख्नेहरूलाई पनि किताब निकाल्ने बेला सोच्न आग्रह गर्छन्।
जीवनका अनेक भोगाइलाई संस्मरण बनाउने थापा अझै पनि किताब निकाल्न हतारिएका छैनन्। भन्छन्, 'सोचमा छु तर अझै पनि मैले जीवनका पानाहरूमा 'रिभिजिट' गर्नुपर्छ।' उनी संस्मरण लेख्दा घटनाले जीवनको निश्चित अवधि पूरा गर्नुपर्ने बताउँछन्। दस रुपैयाँको नोट, छालाको मेरो जुत्ता, पकेट बुक दसैं आदि उनका संस्मरण राम्रा मानिन्छन्। वर्षले ६० नाघेका उनी थप्छन्, 'संस्मरण लेख्नेले साँचो लेख्न सक्नुपर्छ। मैले मोटामोटी बुँदा टिपोट गरेको छु त्यसमा आफ्नो अनुभव र बुझाइ थप्छु। जन्मदेखिको सर्वांग समेटेर यथार्थलाई संस्मरण बनाएपछिमात्र पुस्तक बनाउने सोचमा छु।'
प्राडा. तारानाथ शर्मा, मनुजबाबु मिश्रका यस्ता संस्मरणले नेपाली साहित्यिक मनहरूमा छुट्टै छाप बनाइसकेका छन्। संस्मरणहरू सामान्य ढंगका मात्र छैनन्, सशक्त पनि छन्। तर आफ्ना संस्मरण अरूलाई लेखाएर आफू संस्मरणकार बन्ने लेखकबाट भने घात भइरहेको बुझाइ प्राध्यापक राजेन्द्र सुवेदीको छ। उनी भन्छन्, 'चारपाँचजना उनीहरूले भन्ने अरूले तिनै संस्मरणलाई लेख्नु उचित हो तर विशेष घटना छन् भन्दै अरूलाई लेख्न लगाएर आफू लेखक बन्नु घातक हो।'
प्राचीन कालमा साक्षार नभए पनि मानिस ज्ञानी भएको तर अहिले ठीक उल्टो परिस्थिति देखिएको उनको भनाइ छ। दसवर्षे जनयुद्धमा उब्जिएका जीवनका सन्दर्भ र घटनापछि खासगरी यस्तो परिपाटी सुरु भएको उनी बताउँछन्। उनी संस्मरण नयाँ विधा भएर स्थापित हुन खोजिरहेको बताउँछन्। भन्छन्, 'संस्मरण निबन्ध होइन, पहिले यिनमा निबन्धकृत तत्त्व थियो। अब निबन्धको सिद्धान्तमा संस्मरणलाई व्याख्या गर्न सकिन्नँ। संस्मरणकै नयाँ सिद्धान्तहरू आइसकेका छन्।'
सुवेदीको संस्मरणात्मक कृति पनि एउटै छ, 'मेरो यात्रा मेरो परिवेश।' त्यसो त उनी पनि संस्मरणमा नियात्राको संगम हुने बताउँछन्। २०२० सालदेखि संस्मरण लेखेको बताउने उनी थप्छन्, 'नयाँ विधाका रूपमा आए पनि संस्मरणमा मिश्रण भएको आएको छ। कहीँ जीवनी त कही आत्मकथा मिसिएको अवस्था छ।'
नियात्रा र आत्मकथा लेख्ने महिला साहित्यकार त थुप्रै छन्। तर संस्मरणमा सीमित हुने महिला छैनन् भने हुन्छ। समालोचक रजनी ढकाल भन्छिन्, 'पूरै संस्मरण भएका न्यून होलान् तर निजात्मक कुरा र आत्मकथासँग जोडेर संस्मरणात्मक निबन्ध लेख्ने भने थुप्रै लेखिका छन्।' उनका अनुसार, दुर्गा घिमिरेको 'जेलको सम्झना', कविता पौडेलको 'काँडेघारीको यात्रा', झमक घिमिरेको 'जीवन काँडा कि फूल', शान्ता चौधरीको 'कम्लहरीदेखि सभासद्सम्म', इन्दिरा प्रसाईंको 'मेरी सासू', सुलोचना मानन्धर धितालको 'तेजोसी', सरिता श्रेष्ठको 'छुटेको साथ' आदिलाई संस्मरणात्मक कृतिका रूपमा लिन सकिन्छ।
तर यी कृति पूर्ण संस्मरणात्मक नभएको उनी स्वीकार गर्छिन्। 'हत्केलामा असार उमारेर' नामको आफ्नै कृतिलाई पनि उनले पूर्ण संस्मरणात्मक कृति नभएको बताउँछिन्। गीता त्रिपाठीको 'म एक्लो र उदास उस्तै' लाई पनि संस्मरणात्मक कृति भन्न नसकिने उनको भनाइ छ। उसो त प्राध्यापक सुवेदीको भनाइलाई मान्ने हो भने यी सबै संस्मरणात्मक कृति हुन्।
रजनीले भनिन्, 'हुन त यो विधा निबन्धात्मक स्वरूपमा हुन्छ। गद्य र संवादात्मक रूपमा पनि लेख्न सकिन्छ। जे होस्, यस विधाले आफूलाई स्थापित गराउने प्रयास गरिरहेको छ। सम्भावना पनि छ।'
आर्थिक रूपमा सम्पन्न घनश्याम राजकर्णिकारले दाजुहरूका कारण पढाइमा थुप्रै व्यवधानको सामना गर्नुपर्यो। तर पनि त्यही क्रममा उनले हिन्दी, नेवारी र नेपाली साहित्यका केही कृति पढ्ने अवसर पाए। तिनै कृतिले उनलाई आफ्नै जीवन घटना जोडेर संस्मरण लेख्न सिकाए। २०२३ सालदेखि संस्मरण लेख्न थालेका घनश्यामले आजसम्म आइपुग्दा संस्मरणमा पकड जमाएका छन्।
'सम्झनाको लहरमा लहरिँदै जाँदा' र 'पवित्र सम्झना आमाको' उनका संस्मरणात्मक कृतिले यही भन्छ। जीवनमूलक यथार्थ परिवेश लेखिने भएकाले पाठक संस्मरणमा रमाएको उनको बुझाइ छ। भन्छन्, 'पाठकले आफ्नै घटना लेखकसँग मिलेको पाउँछ र त्यसकै रसास्वादन गरेर रमाउँछ। सकारात्मक र प्रेरित हुन मद्दत मिल्छ।' तर लेखक भने इमानदार हुनैपर्ने उनको भनाइ छ।
समालोचक डा. लक्ष्मणप्रसाद गौतम संस्मरण लेख्ने लेखक प्रष्ट हुन जरुरी भएको बताउँछन्। भन्छन्, 'संस्मरण निबन्धको उपप्रकार वा भेद हो, अनुभूतिलाई आत्मपरक ढंगले प्रस्तुत गरे नियात्रा हुन्छ, संस्मरणात्मक ढंगले लेखे वा त्यो पाटो प्रबल पारे संस्मरण हुन्छ।' उनी पनि लेखकले कत्ति पनि नढाटी लेख्न सक्ने व्यक्ति मात्र संस्मरणकार हुने बताउँछन्। पाठक पनि संस्मरण पढिरहँदा लेखककै स्थितिमा पुग्न सकेमात्र संस्मरणकार सफल हुने उनको बुझाइ छ।
'निबन्धकै गुण हुन्छ आत्मपरक लेखनमा पनि तर स्मृति बिम्ब नहुन पनि सक्छ', गौतमले थपे, 'तर संस्मरणमा स्मृति विम्ब प्रमुख तत्त्वका रूपमा रहेको हुन्छ।' संस्मरण लेखन कतिले केही वर्षको अन्तरालमा लेखिनुपर्ने तर्क राखेका छन्। तर कतिपयले तत्काल लेखिरहेका छन्।
गौतम भन्छन्, 'यो दुवै अवस्थामा लेख्न सकिन्छ। अन्तरालमा लेखे अनुभूतिमा विचार र थप परिपाठ आउन सक्छ। तर घटना सन्दर्भ बिर्सिएर काल्पनिकता थपिन सक्छ। तत्कालमा यथार्थ पक्ष बढी हुन्छ तर विचार र बुझाइ परिपक्व भएर नआउन सक्छ।'
No comments:
Post a Comment