जगमान गुरुङ नेपालको वर्तमान अवस्थामा पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्नु सान्दर्भिक ठान्छन्। ‘नेपाल राष्ट्रको अस्तित्व नै खतरामा परेको छ। नेपाली संस्कृति कच्पचिएको छ। नेपालको राष्ट्रियता धमिलिएको छ। नेपाल राष्ट्र विखण्डनको दिशातर्फ धकेलिएको छ’, जगमान भन्छन्, ‘यस्तो अवस्थामा नेपाल राष्ट्रको निर्माणमा अहम् भूमिका निर्वाह गर्ने पृथ्वीनारायण शाहको योगदानको कदर गर्दै उनको मार्गनिर्देशन अनुसरण गर्नु अपरिहार्य छ।’
दोस्रो जनआन्दोलनपछि पृथ्वीनारायण शाहका सालिक र मूर्ति तोडफोड भए। सरकारले पनि परम्म्म् परागत रूपमा मनाउँदै आएको राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्ती मनाउन छोड्यो। त्यतिमात्र होइन, उक्त दिनलाई सार्वजनिक बिदा दिने परम्परा पनि तोडियो। जगमानका अनुसार राष्ट्रिय एकता दिवस बिनाको मुलुक संसारमा कुनै छैनन्।
‘अहिले नेपाल एकता दिवसविहीन देश बनेको छ’, जगमान भन्छन्, ‘नेपालीले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा मानेर आआफ्नो पहिचानसहित मुलुकको सुदृढीकरण, राष्ट्रियताको विकास र अग्रगमनतिर जुट्नुपर्छ। यसका लागि प्राज्ञिक चिन्तन र बौद्धिक अभ्यासको खाँचो छ।’
विगत नै वर्तमानको आधार हो। गणतन्त्रवाद आत्मसात् गर्ने कतिपय मानिस विगतलाई स्वीकार्न तत्पर छैनन्। यसले गर्दा पनि राष्ट्रिय एकता दिवस मनाउन राज्यले कज्युस्याईं गरिरहेको छ। कसैकसैको मान्यता छ, एकता दिवस र पृथ्वी जयन्ती मनाउनु भनेको शाहवंश वा राजतन्त्रलाई प्रवर्द्धन गर्नु हो।
इतिहासविद् रमेश ढुंगेल दिवस र जयन्ती मनाउने सन्दर्भलाई शाहवंशको जगेर्ना र राजतन्त्र फर्काउनेसँग जोड्नु गलत बुझाइ भएको बताउँछन्। भन्छन्, ‘त्यतिमात्र भएको छैन, पृथ्वीनारायणका उपदेशको अपव्याख्यासमेत भइरहेका छन्। उनको योगदान र राष्ट्रिय चिन्तन अवलम्बन गर्नुपर्छ भन्ने सोचसम्म देखिँदैन।’
हरेक नेपालीले नेपालप्रति गर्व गर्छ भने उसले पृथ्वीनारायणलाई सम्झिनैपर्ने ढुंगेलको तर्क छ। पुस २७ गतेलाई विगतका वर्षजस्तै सार्वजनिक बिदा घोषणा गरी सरकारले नै राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्ती मनाउने घोषणा गर्नुपर्ने उनको माग छ।
उनी थप्छन्, ‘पृथ्वीनारायणको योगदानको उचित मूल्यांकन र कदर गर्दै एउटा सरकारी तहमा र एउटा नागरिक तहमा समिति बनाउनुपर्छ। यतिले मात्र पुग्दैन, पृथ्वीनारायणको योगदान पाठ्यक्रममै समावेश गर्नुपर्छ।’ राज्यले उपेक्षा गरे पनि जनताले राष्ट्रिय एकता दिवस तथा २९२ औं पृथ्वी जयन्ती नागरिक मूल समारोह समिति गठन गरेका छन्। रमेश ढुंगेलको संयोजकत्वमा बनेको यो एक हजार एक सदस्यीय समितिले पृथ्वीनारायणको दिवस र जयन्ती मनाउँदैछ। पृथ्वीनारायणको योगदानको कदर गर्दै पुन: सार्वजनिक बिदा दिनुपर्छ भन्दै अभियान नै चलाइरहेको छ।
इतिहासविद् वीणा पौड्याल पनि विगतमा भएका त्रुटिसँग सबै घटनालाई जोडेर लत्याउन नमिल्ने बताउँछिन्। भन्छिन्, ‘जातीयता र क्षेत्रीयताका आँखाले नेहेर्ने हो भने १७औं शताब्दीको अन्त्यको त्यो समयमा गरेको एकीकरणको प्रयास चानचुने होइन।’ युरोप र अफ्रिकामा गरिएका यस्ता प्रयासलाई पछिल्लो पुस्ताले सम्मान गरेको सन्दर्भ सुनाउँदै उनी थप्छिन्, ‘तत्कालीन समयमा आर्थिक अवस्था, कम संख्यामा सेना र भौगोलिक परिवेशले समेत कमजोर हुँदाहुँदै पनि पृथ्वीनारायण शाह मनोबलकै भरमा नेपाललाई एकसूत्रमा बाँध्न सफल भएकै हुन्। उनलाई अहिलेको परिवेशमा तुलना गरेर कम आँक्नै मिल्दैन।’
खासमा यतिबेला गुमेको साख फर्काउने अभियान चलेको छ। ढिलो चाँडो स्वतन्त्र मस्तिष्कले आफूलाई राष्ट्रप्रति समर्पित गर्नेहरूले दिवस र जयन्तीलाई समर्थन गर्नेछन् भन्नेमा इतिहासविद् विश्वस्त छन्। पृथ्वीनारायणले दुई सय ५० भन्दा बढी टुक्रे राज्यलाई एकताको सूत्रमा बाँध्न ठूलै जोखिम मोलेको इतिहास सबैसामु छर्लंग छ।
सबैभन्दा ठूलो चुनौती अंग्रेजसँगको डर हुँदाहुँदै पनि लडाइँ गरिरहनु र एउटा राज्यको मात्र राजा भएर सीमित सोचमा नबस्नुजस्ता विशेषताले उनलाई जीवित तुल्याएको छ। वीणा पौड्याल भन्छिन्, ‘गोरखाकै भएर पनि उनले आफूलाई नेपालीको पहिचानमा स्थापित गर्नु महान् कार्य हो।’
‘मेरा साना दु:खले आज्र्याको मुलुक होइन, सबै जातको साझा फूलबारी हो’ भन्ने पृथ्वीनारायणको राष्ट्रियता खतरामा पर्दैछ भन्ने आधारहरू वर्तमान नेपाली राजनीति हेरे पाइन्छ। वर्तमान अवस्थामा देखिएको हरेक क्षेत्रको कमजोर र दयनीय अनि अस्थिी अवस्थाले यसको प्रमाणित गरिरहेको छ।
वास्तवमा पुर्खाको रगत र पसिनाले सिञ्चिएको नेपाली भूमिको अस्मितामाथि आइपरेको खतरा पन्छाउन सम्पूर्ण नेपाली एकजुट हुन आवश्यक देखिएको इतिहासविद् बताउँछन्। एकता दिवस तथा पृथ्वी जयन्ती नागरिक मूल समारोह समितिका पूर्वसंयोजक मोदनाथ प्रश्रित भन्छन्, ‘दुई ठूला शक्तिशाली मुलुक भारत र चीनको बीचमा रहेको सानो देश नेपालभित्र हामी आपसी झगडा, द्वेष र विभाजनकारी चर्का नारा लगाएर होइन, आपसी मेलमिलाप, एकता र पारस्परिक सम्मानको भाव चढाएरमात्र शान्ति र सुरक्षासहित बस्न सक्छौं।’ उनी यसबाट मात्र पृथ्वीनारायणको सम्मान हुने बताउँछन्।
अर्का इतिहासविद् त्रिरत्न मानन्धर भारतमा भारत स्वतन्त्र भएको सन्दर्भमा महात्मा गान्धीको जयन्ती मनाउने प्रसंग उल्लेख गर्दै भन्छन्, ‘आधुनिक नेपालको निर्माणकर्ता म् अथवा नेपालको एकीकरण गर्ने व्यक्ति अरू को छ र? पृथ्वीनारायणको योगदानको कदर गर्दै सम्मान स्वरूप दिवस र जयन्ती किन नमनाउने?’ उनी दिव्योपदेशका कतिपय वाक्यहरू अझै पनि सान्दर्भिक भएकाले तिनलाई अनुसरण गर्न आग्रह गर्छन्।
इतिहासविद् दिनेशराज पन्त नेपालमा रहनु परेकाले दु:ख भइरहेछ भन्नेहरूका लागि भने पृथ्वीनारायणको योगदान महत्त्वको नहुनसक्ने बताउँछन्। भन्छन्, ‘नेपाल र नेपालीको स्वार्थका लागि पनि पृथ्वीनारायण अपरिहार्य छन्। हामीले उनको वीरता र साहसको पाठ कति र कसरी बुझ्यौं भन्ने हो।
बुझ्नेले उनलाई कदर गर्छ नै।’ इतिहास नपढेका र गलत इतिहास पढेकाहरूले पृथ्वीनारायणको जयन्ती र एकता दिवस नमान्ने घृष्टता गरेको हुनसक्ने उनको बुझाइ छ। थप्छन्, ‘युगसापेक्ष अघि बढ्न पृथ्वीनारायणलाई सम्मान गर्दै र सम्म् झँदै अघि बढ्न जरुरी छ।’
मिति : २०७० पुस २७, शनिबार
No comments:
Post a Comment