Monday, January 6, 2014

प्राचीन कपिलवस्तु दरबारको उत्खनन गरिने



काठमाडौं : बेलायतको दुरहाम विश्वविद्यालयका उपकुलपति प्राध्यापक रविन कनिङघमले तिलौराकोटमा रहेको प्राचीन कपिलवस्तु दरबारको उत्खनन गर्ने भएका छन्। पुरातत्त्व विभाग र लुम्बिनी विकास कोषका प्रतिनिधिहरूसँग मिलेर उनले आगामी सातादेखि उत्खनन गर्ने भएका हुन्।
विभागका महानिर्देशक भेषनारायण दाहालले जापनिज फन्ड इन ट्रस्टको दोस्रो परियोजनाअन्तर्गत दरबारको उत्खनन हुन लागेको जानकारी दिए। उनले आइतबार अन्नपूर्णसँग भने, 'कनिङघमले उत्खनन गरेपछि भारतको उत्तर प्रदेशस्थित पिप्रहवालाई पनि 'प्राचीन कपिलवस्तु' भनी गरिएको दाबी सही होइन भन्ने पुष्टि मिल्नेछ।'
उपकुलपति कनिङघमले श्रीलंका, पाकिस्तान र बेलायतका थुप्रै ठाउँको पुरातात्त्विक उत्खनन गरेका छन्। उनले लुम्बिनी र लुम्बिनी क्षेत्रको उत्खनन गरी गतवर्ष ईशापूर्व १२५० देखि १३०० को लुम्बिनी गाउँ पत्ता लगाएका थिए। यसका साथै हालको मायादेवीको मन्दिर भन्दाअघि पनि काठद्वारा निर्मित झिँगटीको छानाको मन्दिर भएको पनि पत्ता लगाएका थिए। उक्त उत्खननको प्रतिवेदन विभागलाई बुझाएका थिए।
प्रमुख पुरातत्त्व अधिकृत रामबहादुर कुँवरले पिप्रहवामा तेस्रो शताब्दी ईशापूर्वसम्मका पुरातात्त्विक सम्पदाहरू पाइएको तर नेपालको कपिलवस्तुको तिलौराकोटमा आठौं शताब्दी पूर्वका सम्पदाहरू पाइएको बताए। उनले भने, 'कपिलवस्तुमा उत्तरी काला माटाका भाँडाकुँडा, पेन्टेन्ड ग्रे वेयर, नदीकिनारा भेटिएको छ तर पिप्रहवामा यी कुनै छैनन्।'
नेपालको कपिलवस्तु दरबारको वरिपरि सुरक्षा कि ल्ला (फोटिफिकेसन वाल) भएको तर पिप्रहवामा नभएको उनको भनाइ छ। उनले थपे, 'उता विहारको संरचनामात्र छ यता बस्तीको सबै विशेषता पाइएको छ।' तर पनि सन् पिप्रहवालाई कपिलवस्तु भनी सन् १९७० देखि ७६ मा दाबी गरेका थिए। पीसी मुखर्जीले भने सन् १८९८ मै कपिलवस्तु नेपालमा छ भनेर ठोकुवा गरेको प्रमाण विभागसँग छ।
चिनियाँ तीर्थयात्री ह्वेन साङले सन् ५३६ मा लुम्बिनीको भ्रमण गरी तिब्बत फर्किएपछि डायरी लेखे। उक्त डायरीलाई 'चिनियाँ यात्रा वृत्तान्त' भनियो जसमा कपिलवस्तु नगरको छेउमा नदी बगेको र त्यहाँबाट हिमालय पर्वतको दृश्यावलोकन हुन्छ लेखिएको थियो।
विभागका महानिर्देशक दाहालले भने, 'जुन अहिले पनि कपिलवस्तु छेउमा बाणगंगा बग्नु, हिमालहरूको दृश्यावलोकन प्रस्टसँगले गर्न सकिनु, सुरक्षा कि ल्ला प्राप्त हुनु, पश्चिमद्वार पत्ता लाग्नु आदिबाट पुष्टि हुन्छ। यी सबै कुराले प्राचीन कपिलवस्तु हालको तिलौराकोट नै हो भन्नेमा कुनै सन्देह छैन।'
दरबारको उत्तर र दक्षिणद्वार हालसम्म पत्ता लागेको छैन। पूर्वीद्वार पहिल्यै पत्ता लागिसकेको थियो। 'भारतको पनि केन्द्रीय सरकारमा कुनै विवाद छैन', उनले थपे, 'उत्तर प्रदेशको पर्यटन विभागबाट दाबी भइरहेको छ जसले पर्यटकलाई अल्मल्याइरहेको छ।'
कपिलवस्तुमा राजा सुद्दोदनका छोरा गौतम बुद्धले २९ वर्ष बिताएका थिए। यो ठाउँको खोजी पहिलोपटक भारतीय पुरातत्त्वविद् एवं लिपि विशेषज्ञ पूर्णचन्द्र मुखर्जीले सन् १८९८ मा गरेका थिए। 'सन् १९०१ मा मुखर्जीले प्रतिवेदन बुझाएका छन्, प्राचीन कपिलवस्तु हालको तिलौराकोट हो भनेर', दाहालले भने, 'नेपालले गरेको उत्खननभन्दा अन्य देशको विज्ञले गरेको उत्खनन बढी आधिकारिक हुन्छ। उत्खननमा विशेषज्ञ भइसकेका कनिङघमले गर्ने उत्खननले थप पुष्टि हुनेछ।

मिति : २०७० पुस २२, सोमबार [112 पटक पढिएको]

No comments:

Post a Comment