काठमाडौं : भाइ फुर्तेम्बा शेर्पा सगरमाथाको
आधारशिविरबाट उकालो लाग्दै थिए। सोही बेला दाजु आङ्फुर्बा शेर्पा करिब चार
हजार मिटर उचाईमा मकालु चढ्दै थिए। दोस्रोपटक सगरमाथा चढ्दै गरेका २६
वर्षीय फुर्तेम्बाले आङ्फूर्बालाई सगरमाथमा हिमपहिरो जानुभन्दा अघिल्लो दिन
बिहीबार फोन गरेर भनेका थिए, 'राति दुई बजे उठेर क्याम्प टुमा जाँदैछौं।'
दाजु आङ्फुर्बाले भने, 'सेफ क्लाइम्बिङ गर्नु।' गत शुक्रबार बिहान
फुर्तेम्बाले क्याम्प टु उक्लन नपाउँदै हिमपहिरो झ:यो। पहिरोमा परी उनको
मृत्यु भयो। उनीसँगै हिमपरीमा १३ जनाको मृत्यु भयो।
'हिमालमा खतरा त छँदैछ तर पेशा नै यही भएपछि नगएर पनि त हुन्न नि, के
गर्ने?', फुर्तेम्बालगायत मृत्यु भएका १३ र हराइरहेका तीनजनालाई सहयोग रकम
प्रदान कार्यक्रममा शुक्रबार दरबारमार्गस्थित होटल अन्नपूर्ण पुगेका दाजु
आङ्फुर्बाले अन्नपूर्णसँग भने, 'पहिरो जाने क्षेत्र चाँडै अर्थात् बिहानको
समयमै पार गर्नुपर्ने थियो। उनीहरू पनि त्यसै गर्न खोज्दै थिए तर एउटामात्र
सिँढी भएका कारण एक घण्टा जाम परे। पर्खिदा दुर्घटना भयो।' उनले थपे,
'कम्तिमा तीनवटा भ:याङ राख्नुपर्ने ठाउँ हो त्यो। त्यसो हुन सकेको भए ज्यान
जादैनथ्यो।'
बुबाआमाले दुवै छोरा हिमाल आरोहणीका सहयोगी भएकाले पटकपटक हिमाल नचढ्न
आग्रह गरेका थिए। संखुवासभाका उनको परिवार एक दसकदेखि काठमाडौं कपन बस्दै
आएको छ। आङ्फुर्बाले भने, 'म आफैं पनि जोखिम मोलिरहेको थिएँ, मैले उसलाई
सगरमाथाबाट फर्किएपछि आमाबुबाको मनलाई शान्त पार्न पनि विदेश पठाउने
योजनामा थिएँ। तर ऊ फर्किएन।'
आधारशिविरबाट सम्पर्क हुँदा छोरी छेची शेर्पाले बुबा आङकाजी सेर्पासँग
फोनमा कुरा गर्दै भनेकी थिइन्, 'बुबा तपाईलाई सञ्चो छैन।' बुबाको बोलीले नै
सञ्चो नभएको संकेत गरिरहेको थियो तर पनि उनले नजानू भन्न सकिनन्। काठमाडौं
युनिफाइड सिटी कलेजमा कक्षा ११ मा अध्ययनरत उनले भनिन्, 'केयर गर्नु भनें।
रोक्ने कुरै भएन। उहाँले राम्रोसँग प्रार्थना गरिदिनु भन्नुभयो।' बुबाको
भनाइअनुसार जेठीछोरी छेचीले बिहीबार साँझ सकुशल यात्राको कामनासहित
भगवान्सँग प्रार्थना गरिन्। उनका हजुरबुबाले बौद्धमा पुगेर 'सेर्किस'
(सम्बन्धित व्यक्तिको नाममा गरिने पूजा) गरिदिएका थिए। 'प्रार्थनाले पनि
छोएन', छेचीले भनिन्, 'गतवर्ष यस्तै दुर्घटनाबाट बच्नु भएको थियो। सँगैको
साथीलाई पहिरोले लगेको थियो रे। बुबाले नयाँ जीवन पाएको बताउनुभएको थियो तर
यसपटक ...।'
त्यस्तै काठमाडौं नयाँबजार बस्दै आएकी डोमाले भनिन्, 'दुर्घटना
हुनुभन्दा तीन दिनअघि भाइ, बैनी र मसँग बुबाको स्काइपमा कुराकानी भइरहेको
थियो, करिब पाँच मिनेटको कुराकानीपछि आमासँग बोल्ने पालो थियो। बुबालाई
आमासँग बोल्न दिँदै थिएँ, नेट कट्यो। पटकपटक कोशिष ग:यौं सम्पर्क हुँदै
भएन।' उनका बुबा दोर्जे शेर्पा पनि हिमपहिरोमै बिलाए। दोर्जेलाई छोराछोरीले
नजानु भन्दा उनले घरबाट निस्कँदै गर्दा भनेका थिए, 'तिमीहरूलाई कसले
पाल्छ? कलेजको फि कसले तिर्छ? नगएर हुन्न।'
गतवर्ष मनाङको हेम्लुङ जाँदा पनि दोर्जेलाई हिमपहिरोले पुरेको थियो।
देब्रे हातमात्र बाहिर भएकाले विदेशी पर्यटकले तानेर बचाएको डोमाले बताइन्।
उनले भनिन्, 'बुबाले दोस्रो जीवन पाएँ भनेर खुसी व्यक्त गर्नु भएको थियो।
तर त्यो खुसी वर्ष दिन पनि टिक्न पाएन।'
हिँड्थे स्याल र गिद्ध मस्त दिउँसै तर्साउने ठाउँ यो,
कालो शून्य श्मशान घाट कसरी अहिले धराधाम भो।
यो कुम्भस्थल राष्ट्र गर्भित धरा छन् श्यामला नन्दन,
अहिलेको चतरा प्रयाग, मथुरा, काशी र वृन्दावन...।
जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले
वाचन गर्ने कविताजस्तै श्मशान घाटका रूपमा रहेको चतराधाम अहिले प्रयाग,
मथुरा, काशी र वृन्दावनजत्तिकै भव्य भएको छ। भगवान् विष्णुले मोहिनी रूप
लिएर अमृत बाँड्ने बेलामा त्यसको तर (छाली) को डल्लो नै नेपालको सुनसरी
जिल्लास्थित बराह क्षेत्रमा राखेका थिए भन्ने भनाइ छ। जगद्गुरु बालसन्त
देवता र दानव मिलेर परापूर्व कालमा क्षीर सागर मन्थन गर्दा निस्केको सोही
अमृतको घडाबाट छचल्किएर चार थोपा अमृत भारतका प्रयाग, मथुरा, काशी र
वृन्दावनमा खसेको बताउँछन्। देवाचार्य भन्छन्, 'भारतका ती चार ठाउँमा
प्रत्येक १२/१२ वर्षमा पालैपालो पूर्ण महाकुम्भ लाग्दै आएको छ। नेपालमा
विष्णुले डल्लै राखेकाले बराह क्षेत्रमा त यसको झनै बढी महत्त्व हुने भयो।'
२०५९ सालमा भएको नेपालको पहिलो पूर्ण
महाकुम्भ प्रचारप्रसारको अभावमा विशेष हुन सकेको थिएन। देवाचार्यले भारतका
चार ठाउँमा चार थोपा र नेपालमा अमृतको तरको डल्लो नै भेटिएकाले विशेष
महत्त्व रहेको शास्त्रीय प्रमाणका आधारमा पुष्टि गरेकाले नेपालमा कुम्भ
लाग्न थालेको हो। उक्त कुरा प्रमाणित गरेपछि देवाचार्यलाई भारतका काशी
पण्डित सभाले 'जगद्गुरुÓ घोषणा गरेको थियो।
बराह क्षेत्र गाविसको चतराधाममा लागिरहेको
दोस्रो पूर्ण महाकुम्भको रौनक यति बेला मुलुकभर छ। मेचीदेखि महाकालीसम्म
मात्र होइन, भारतीय र अन्य देशमा रहेमा हिन्दू धर्मावलम्बीलाई तानेको छ यति
बेला महाकुम्भले। चैत शुक्ल पक्ष अर्थात् चैत १७ गतेदेखि वैशाख शुक्ल
पक्षसम्म अर्थात् वैशाख १९ गतेसम्म एक महिना मेला चल्नेछ।
महाकुम्भ सञ्चालन भइरहेको चतराधामलाई १६
वटा क्षेत्रमा विभाजन गरिएको छ। जसअनुसार वराह क्षेत्र, चतराघाटदेखि महिला
आश्रमसम्मको क्षेत्र, कुम्भस्तम्भ र बौद्धगुम्बा क्षेत्र, राधा सर्वेश्वर
परिसर क्षेत्र, जगद्गुरु पीठ क्षेत्र, अद्वैत आश्रम र जोस्मनी मठ क्षेत्र,
शंकराचार्य मठ क्षेत्र, रामानन्द सेवा पीठ क्षेत्र, प्रस्तावित बल्वाचार्य र
मध्वाचार्य मठ क्षेत्र, तेरआरडी क्षेत्र, भूबराह रामानुपीठ क्षेत्र, बयरवन
क्षेत्र, चतरा बसस्ट्यान्ड क्षेत्र, औलिया बाबा क्षेत्र, प्राचीन हरिद्वार
बजार क्षेत्र र कौशिकी टापु क्षेत्र छन्।
मन्थनका क्रममा पाइएको अमृतको डल्लो
अर्थात् पिण्डबाट उत्पन्न भएकाले उक्त स्थानको नाम नै पिण्डेश्वर रहेको हो।
पिण्डेश्वरमा पिण्डेश्वर महादेव रहेका छन्। अमृत बाँडेपछि कुम्भ विधिले
स्नान गरेको कौशिकी नदीलाई नै कोसी नदी भनिएको पाइन्छ। महाकुम्भ महोत्सवको
प्रचारप्रसार समितिका संयोजक प्रह्लाद भट्टराई कुम्भ महोत्सवको सम्बन्ध
स्वास्थ्य र निरोगितासँग जोडिन पुगेको बताउँछन्। वराह भगवान् प्रादुर्भाव
भएको स्थान भएकाले पनि वराह क्षेत्र पवित्र स्थान मानिन्छ। जगद्गुरु
बालसन्तले भने, 'विश्वका पवित्र तीर्थस्थलहरू काशी, गया, प्रयाग,
कुरुक्षेत्र, नैनीसारण्य आदि स्थानमा गएर यज्ञानुष्ठान, जपतप आदि गर्दा जुन
फल प्राप्त हुन्छ, महाकुम्भमा कौशिकी नदीमा नुहाउँदा त्यही फल प्राप्त
हुन्छ। किनकि हर तपस्या पनि १२ वर्षमा पूर्ण हुन्छन्। १२ वर्षलाई पूर्ण
स्वरूप मानिन्छ। त्यसैले वैदिक परम्पराअनुसार १२ वर्षमा पूर्ण महाकुम्भ
लाग्ने शास्त्रमा उल्लेख छ।'
विद्वान्हरूका अनुसार हर तपस्या १२ वर्षमा
पूर्ण हुन्छन्। १२ वर्षलाई पूर्ण स्वरूप मानिन्छ। त्यसैले वैदिक
परम्पराअनुसार १२ वर्षमा पूर्ण महाकुम्भ लाग्ने शास्त्रमा उल्लेख छ।
कुम्भको महत्त्व भनेको स्नान हो। बालसन्तका अनुसार कुम्भमा पुगेर स्नान
गर्दा हजार अश्वमेध यज्ञ गर्दा जुन फल प्राप्त हुन्छ, सय बाजप्पेय यज्ञ
गर्दा जुन पुण्य प्राप्त हुन्छ, लाखपटक पृथ्वीको परिक्रमा गर्दा जुन पुण्य
प्राप्ति हुन्छ; ती सबै पुण्य कौशिकीमा गएर स्नान गर्दा मनुष्यलाई प्राप्त
हुन्छ। नेपालीले पनि नबुझेर भारतको कुम्भलाई महत्त्व दिएका छन्।
पूर्ण महाकुम्भमा करिब एक करोड भक्तजन
आउने जगद्गुरुको भनाइ छ। अघिल्लो महाकुम्भमा ५० लाख भक्तजन आएका थिए।
दोस्रो महाकुम्भका लागि सरकारले समेत सहयोग गरेको छ। सरकारले भक्तजनको
सुरक्षाका लागि ६ वटा बेसक्याम्प राखेको छ। भारतको इलाहाबादमा गत वर्ष
महाकुम्भ सम्पन्न भएको थियो। गंगा, जमुना र सरस्वती नदीको संगमस्थलमा
सम्पन्न महाकुम्भमा भारत सरकारले करिब २२ सय करोड भारतीय रुपैयाँ खर्च
गरेको थियो। उक्त स्थान काठमाडौं उपत्यकाले ओगटेको जति क्षेत्रफलमा थियो।
नेपालमा भने यसपटक सरकारले एक करोड रुपैयाँ प्रदान गरेको छ।
तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज
रेग्मीको अध्यक्षतामा बसेको बैठकले मुख्यसचिव लीलामणि पौडेलको अध्यक्षतामा
सम्बन्धित मन्त्रालयका सचिवहरूको 'सहयोग तथा समन्वय समितिÓ गठन गरेको थियो।
सुरुमा ५० लाख दिएको सरकारले यसै साता ५० लाख रुपैयाँ थप गरेको हो। उक्त
बैठकले प्रधानमन्त्रीको कार्यालयका सचिव कृष्णहरि बास्कोटालाई महाकुम्भ
मेलाको सम्पर्क व्यक्ति तोकेको छ।
भक्तजनले चतराधाम पुग्न धरान, झुम्का र
कान्छी चोक गरी तीन स्थानबाट सार्वजनिक यातायात प्रयोग गर्नुपर्छ। तर,
सार्वजनिक सवारी साधनले दिने सुविधा पटक्कै चित्तबुझ्दो छैन। चतराधामबाट
कुम्भ स्नानका लागि पुग्ने बराह क्षेत्रसम्मको करिब आठ किलोमिटर दूरीको
सडकमा त सवारी रिजर्भ नगरे पैदल हिँड्नुपर्ने बाध्यता छ। चतराधाम आइपुग्ने र
बराह क्षेत्र पुग्ने सबै सडक धुलाम्मे छन्। पानी पर्नासाथ हिलाम्मे
हुनुपर्ने भक्तजनको अर्को बाध्यता छ। सरकारले सडकको स्तरोन्नति गर्ने भने
पनि गरेको छैन।
महाकुम्भको भौतिक निर्माणका लागि
खानेपानी, विद्युत्लगायतको काम भने सरकारले सम्बन्धित कार्यालयमार्फत गरेको
छ। जगद्गुरु आश्रमअन्तर्गतको गुरुकुलका प्राचार्य हरिशरण उपाध्याय
रेग्मीका अनुसार 'कौशिकी नदीमा नुहाउन नदीकिनारमा दर्जनभन्दा बढी अस्थायी
टहरा निर्माण भएका छन्।' हजारभन्दा बढी अस्थायी शौचालय बनाइएको छ।'
दिनानुदिन भक्तजनको चाप बढेपछि
व्यवस्थापनमा ह्रास आएको छ। पछिल्ला दिनमा पूर्व मेची र पश्चिम महाकालीदेखि
बस रिजर्भ गरी आउन थालेपछि दैनिक एक लाखभन्दा बढी भक्तजनको घुइँचो
महाकुम्भमा देखिएको छ। सरकार, जगद्गुरु आश्रमलगायतको व्यवस्थापनले
नभ्याएपछि केही दिनदेखि भक्तजन खुला चउरमै रात बिताउन बाध्य छन्।
प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन
गरेको महाकुम्भमा भारतका प्रसिद्ध धार्मिक नेता एवं विश्व हिन्दू परिषद्का
संरक्षक अशोक सिंघल पनि पुगेका थिए। राष्ट्रपति डा. रामवरण यादव, तत्कालीन
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, पूर्वउपप्रधानमन्त्री सुजाता
कोइराला, पूर्वगृहमन्त्री कमल थापा, संस्कृतिमन्त्री भीमप्रसाद आचार्य,
सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजाल, वनमन्त्री महेश आचार्य,
सिँचाइमन्त्री एनपी साउद, निर्वाचन आयोगका प्रमुख नीलकण्ठ उप्रेतीले
महाकुम्भमा पुगेर कौशिकी नदीमा कुम्भ स्नान गरेका थिए। यसैगरी रामचन्द्र
पौडेल, प्रकाशशरण महतलगायतका नेता र दर्जनभन्दा बढी सभासद् कुम्भ स्नानका
लागि पुगिसकेका छन्। यसका साथै महाकुम्भका लागि भारतका जगद्गुरुहरू,
शंकराचार्यहरू, प्रसिद्ध पीठाधीश्वरहरू केही आएका र केही आउने क्रममा छन्।
पूर्वसंस्कृति सचिव एवं महाकुम्भ आयोजक
समितिका सल्लाहकार मोदराजका अनुसार महाकुम्भमा चैतशुक्ल प्रतिपदा, चैत २१
गते चैतशुक्ल पञ्चमी, वैशाख २ गते चैत पूर्णिमा, वैशाख १६ गते मातातीर्थ
औंसी र जेठ १९ गते अक्षय तृतीयाका दिन महास्नान हुनेछन्। कुम्भमा क
ल्पवासको व्यवस्था छ जसमा एक महिनासम्म साधना, तपस्या र यज्ञ गर्ने
भक्तजनका सबै दुष्कर्म नाश भई पुण्य आर्जन हुने शास्त्रीय मान्यता छ।
महाकुम्भमा संलग्न डा. वासुदेव कृष्णशास्त्रीका अनुसार महाकुम्भमा धार्मिक
प्रवचन, कौशिकी, गण्डकी एवं कर्णाली सभ्यता र महत्त्व, बाग्मती, विष्णुमती,
इन्द्रावती, रुद्रमती सभ्यता र महत्त्व, सबै दर्शनमा समन्वयात्मक दृष्टि,
सनातन दर्शन र तन्त्रको विशेषताजस्ता दर्जन बढी विषयमा शास्त्रको चर्चा
भइरहेको छ।
महाकुम्भमा शंकराचार्य, वैष्णवाचार्य,
जगद्गुरु, साधुसन्त, महन्त, धर्माचार्य एवं विद्वान्हरूले धार्मिक प्रवचन
गरिरहेका छन् जसमा कौशिकी, गण्डकी एवं कर्णाली सभ्यता र महत्त्व, बाग्मती,
विष्णुमती, इन्द्रावती, रुद्रमती सभ्यता र महत्त्व, सबै दर्शनमा
समन्वयात्मक दृष्टि, सनातन दर्शन र तन्त्रको विशेषताजस्ता दर्जनभन्दा बढी
विषयमा शास्त्र चर्चा भइरहेको छ। वेद, पुराणादि ग्रन्थहरूको पारायण, कोटि
दीप प्रज्ज्वलन, अखण्ड हरिनाम संकीर्तन, रुद्री, चण्डी, गायत्री आदि
मन्त्रको अनुष्ठान, जन्मकुण्डली अध्ययन, ग्रहशान्ति तथा हवन गोपाल, विष्णु,
राम सहस्रनाम पाठ र योगसाधना आदिसमेत भइरहेका छन्।
प्राचीन हरिद्वार मानिने चतराधाममा
नेपालको पिण्डेश्वरको महत्त्व र महाकुम्भ मेलाको अस्तित्वलाई अहिले भारत
पनि स्वीकार्न बाध्य भएको जगद्गुरु बालसन्तको भनाइ छ। 'सरकारी आयोजनामा
महाकुम्भ हुनु भनेको धर्मका दृष्टिले नेपाल स्वतन्त्र हुनु हो। प्रत्येक १२
वर्षमा लगाइने महाकुम्भले नेपालमा धार्मिक पुनर्जागरण हुने अपेक्षा गर्न
सकिन्छ', बालसन्त भन्छन्, 'प्रत्येक महाकुम्भमा भारत जाने धर्मावलम्बीले
नेपालको महाकुम्भमा त्यो सेवा, सुविधा र सुरक्षा कति पाए; त्यसको मूल्यांकन
अवश्य हुनेछ। त्यो व्यवस्थापनको जिम्मेवारी यति बेला सरकारको काँधमा छ।'
काठमाडौं : बागमती नदीको
दायाँबायाँ २२ वटा बगैंचा निर्माण हुने भएका छन्। अधिकार सम्पन्न बागमती
सभ्यता एकीकृत आयोजनाको स्वीकृतिमा सरकारी एवं गैरसरकारी संघसंस्थाले झन्डै
दुई दर्जन बगैंचा बनाउने काम धमाधम भइरहेको छ।
राष्ट्रिय वाणिज्य ब्यांक, नेपाल नागरिक उड्डयन प्राधिकरण, सशस्त्र
प्रहरी, नेपाल प्रहरी सामुदायिक सेवा र विज्ञानप्रविधि तथा वातावरण
मन्त्रालयको विभागले बगैंचा बनाउनेछन्। यसैगरी निजी क्षेत्रबाट गैरआवासीय
नेपाली संघ, नेपाल विज्ञापन संघ, प्याब्सन, निजामती कर्मचारी श्रीमती संघ,
नेपाल सोका गाक्काई इन्टरनेसनल, जीवन विज्ञान, नेसनल भोलेन्टियर एसोसिएसन,
सांग्रिला टुर्स एन्ड होटेल ट्रेनिङ सेन्टर, भीएस निकेतन र कान्तिपुर
पब्लिकेसनले बनाउने भएका हुन्।
आयोजनाका वृक्षरोपणविज्ञ रामदयाल यादवले हालसम्म बगैंचा बनाउन पाँचवटा
सरकारी र १० वटा गैरसरकारी क्षेत्रका संघसंस्थाले अनुमति पाएको जानकारी
दिए। उनले भने, 'आधा दर्जनजतिले काम थालिसकेका छन्, बाँकीले एक साताभित्रै
थाल्दैछन्। यीबाहेकका नौवटा संघसंस्था प्रक्रियामा छन्। अन्य सातवटाले पनि
रुचि देखाएका छन्।'
अहिलेसम्मको तथ्यांकअनुसार सबैभन्दा ठूलो बगैंचा गैरआवासीय नेपाली संघले
बनाउने भएको छ। आयोजनाका सामाजिक परिचालक कुमार सिम्खडाका अनुसार बागमती
नदीको उत्तर किनार बगलामुखी जाने पुलदेखि पूर्व (शंखमूलघाट अगाडिको पूरै
जग्गा) ३१ रोपनी १४ आनामा उक्त बगैंचा बन्ने भएको हो। उक्त बगैंचा चार सय
मिटर लम्बाइ र ७२ मिटर चौडाइ अर्थात् १६ हजार दुई सय ४२ वर्गमिटरको हुने
जानकारी उनले दिए।
ब्यांकले नदीको पश्चिम किनार पहेंलो पुलदेखि दक्षिणतर्फ बाँसको झाङसम्म
करिब १३ आनामा, सशस्त्रले नदीको पश्चिम किनार सिनामंगल भत्केको पुलदेखि
उत्तरतर्फ तीन रोपनी आठ आनामा, प्राधिकरणले नदीको पूर्वी र पश्चिम किनार
सिनामंगल नयाँ पुलदेखि दक्षिणपश्चिम किनारमा आठ रोपनी १५ आनामा, सामुदायिक
प्रहरीले नदीको पूर्वी पश्चिम किनार बानेश्वर क्याम्पस पुलदेखि दक्षिणतर्फ
१० रोपनी पाँच आना र विभागले बानेश्वर क्याम्पस पुलदेखि उत्तर नीलो पुलसम्म
तीन रोपनी साढे दुई आनामा बगैंचा बनाउनेछन्।
यसैगरी गाक्काईले नदीको पूर्वी किनार नीलो पुलदेखि दक्षिणतर्फ एक रोपनी
१० आनामा, जीवन विज्ञानले सिनामंगल भत्केको पुलको डाइभर्सन पुलदेखि उत्तर
करिब ६ आना, भोलेन्टियर एसोसिएसनले बानेश्वर क्याम्पस पुलदेखि उत्तर
सुकुमबासी बस्तीनजिकको नीलो पुलसम्म करिब आठ आना, भीएसले आफ्नै स्कुल र
क्याम्पसको छेउछाउ दुई रोपनी ११ आनामा बगैंचा निर्माण गर्नेछन्।
यसैगरी सांग्रिला टुर्सले भीएस स्कुलनजिकको मन्दिरभन्दा दक्षिणतर्फ एक
रोपनी तीन आनामा, कान्तिपुरले मीनभवन पुलदेखि उत्तरपूर्वी किनारमा तीन
रोपनी तीन आनामा, श्रीमती संघले गाक्काई र जीवन विज्ञानको बीचको एक रोपनी
१३ आनामा, प्याब्सनले भीएसको क्याम्पस भवनअगाडि साढे ११ आनामा र विज्ञापन
संघले मीनभवन पुलदेखि उत्तरपश्चिम किनारमा १० आनामा बगैंचा बनाउनेछन्।
स्वीकृत भएका र प्रक्रियामा रहेका सबै संघसंस्थाले तिलगंगादेखि
शंखमूलसम्मको नदीकिनार क्षेत्रमा बगैंचा बनाउन पाउने सिम्खडाको भनाइ छ।
आयोजनाले दोस्रो चरणमा गौरीघाटदेखि थापाथलीसम्मको क्षेत्रमा अनुमति दिनेछ।
बगैंचाका लागि किनारबाट बाहिर पाँचदेखि ३० मिटर चौडाइसम्मका जग्गा
उपलब्ध छन्। यादवका अनुसार नदीछेउमा पानी प्रशोधन गर्ने खालका बोटबिरुवा र
बाटोपट्टि धुपी, पारिजात, कपुर र क ल्ट्री जातका बिरुवा रोपिनेछ। बगैंचामा
निर्माण गर्ने संस्थाले आफ्नो परिचय खुल्ने बोर्ड राख्न पाउनेछ।
निर्माणपछि संरक्षण र मर्मत गर्ने जिम्मा पनि सोही संस्थाले लिने उनको
भनाइ छ। बगैंचामा मौसमअनुसारका फूल र केहीमा फोहोरासमेत रहने जानकारी उनले
दिए। उनले भने, 'असार दोस्रो सातासम्म ७५ प्रतिशत काम सकिनेछ।'
जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ
सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ...
जिन्दगीका थुप्रै वर्षमा कवि एवं गीतकार
क्षेत्रप्रताप अधिकारीले धेरै कुरा गरे। आफैंले लेखेको प्रस्तुत गीतको
स्थायीजस्तै धेरै काम र कुरा गर्न बाँकी पनि रहे होलान्। उनले स्थायीलाई
बिट मार्दै लेखेको दोस्रो वाक्यजस्तै ठूलो कुरो भने अब गर्न बाँकी रहेन। गत
शनिबार उनले जिन्दगीको सबैभन्दा ठूलो कुरो फत्ते गरे।
अधिकारीले यो गीत गाउन नारायणगोपाललाई दिने सोच बनाएका थिए। यहीबीचमा
नारायणगोपालको निधन भयो। त्यसपछि उनले गायिका अरुणा लामालाई दिने तयारी
गरे। त्यो साइत पनि समयले जुराएन। ‘त्यसपछि मलाई प्रस्ताव आएको रहेछ’, गायक
रामकृष्ण ढकाल भन्छन्, ‘प्रस्ताव आउँदा यी सबै पृष्ठभूमिका साथै आयो।
कालसम्बन्धी विषय। दोधार भएँ। तर, गुरु चन्दन श्रेष्ठले रूढिवादी नबनौं
भनेपछि गाउने टुंगोमा पुगेको थिएँ।’
२०५६ सालमा तयार पारिएको यो गीत एकाएक चर्चित भयो। २०५७ सालको हिट्स
एफएम अवार्डमा अधिकारीले पाए, ‘उत्कृष्ट गीतकार’को पुरस्कार। जुन गीतले
दुवैलाई चिनायो, कालजयी बनायो। ‘अधिकारी दाइ आफ्नै गीतमा भनेजसरी नै
जानुभयो’, ढकाल भन्छन्।
१९९९ सालमा मिर्लुङ बयापानी तनहुँमा जन्मिएका उनले एमएसम्मको औपचारिक अध्ययन पूरा गरेका थिए।
२०२४ सालमा ‘रहर लागेर’ कवितासंग्रहबाट साहित्यिक यात्रा अघि बढाएका
उनले गामबेसीको गीत, पहाडदेखि पहाडसम्म, लालीगुँरास, नफुलेका फूलहरू, फेरि
एउटा परिवर्तन, तर देश हारिरहेछ र जापानी साहित्यको इतिहासजस्ता कृति
लेखेका थिए भने केही कृतिको सम्पादन र अनुवाद गरेका थिए। उनले छिन्नलता र
साझा पुरस्कार पाएका थिए।
राष्ट्रकवि माधव घिमिरे पनि क्षेत्रप्रताप अधिकारीलाई गामबेसीका
गीतकारका रूपमा चिन्छन्। भन्छन्, ‘मन पर्ने गीतकारमध्येका हुन् उनी। किनकि,
राष्ट्रिय भावनाका गीत लेख्थे। जनजीवनबाट टिप्ने विम्बले उनका गीतलाई
गम्भीर बनाएका हुन्।’
म त लालीगुराँस भएछु, मनैभरि फुलिदिन्छु वनैभरि फुलिदिन्छु... घिमिरेलाई
सर्वाधिक मन पर्ने गीत हो। अधिकारीको यो गीतले उनलाई जवानीको विम्ब दिएझैं
लाग्छ।
अधिकारी साझा प्रकाशनमा महाप्रबन्धक भएलगत्तै राष्ट्रकविलाई भेट्न घरैमा
पुगे। युनेस्कोको काठमाडौंस्थित कार्यालयले एसिया प्रशान्त क्षेत्रको
लोकसाहित्य प्रकाशन गर्न लागेको सूचना लिएर उनी पुगेका थिए।
घिमिरे सम्झन्छन्, ‘मैले पनि माग भएबमोजिम ‘मनचिण्डे मुरली’ नामको कथा
दिएँ। यो अंग्रेजीमा पनि छापियो। प्रसिद्ध भयो। मलाई अन्तर्राष्ट्रिय
समुदायसम्म पुर्याउने काम अधिकारीले नै गरे।’ भौगोलिक हिसाबले पनि गाढा
सम्बन्ध रहेको बताउँदै उनी थप्छन्, ‘म उनको गीतको र उनी पनि मेरा गीतका
प्रशंसक रहेछन्।’
अध्ययनका लागि अधिकारी तनहुँबाट काठमाडौं आए। २०१४ सालतिरको त्यो समयमा
गाउँले ठिटो राजधानी आउनु ठूलै साहस मानिन्थ्यो। प्राध्यापक डा. वासुदेव
त्रिपाठी प्रवेशिका परीक्षाको तयारीमा थिए। उनी भने कक्षा ७ मा। जुद्दोदय
हाइस्कुलकै विकास भवनमा रात्रिकक्षा सञ्चालन हुन्थ्यो। त्यहाँ अध्ययन गर्ने
अधिकारी लोकगीतहरू मजैले गाउँथे।
‘उनी मुनामदन मीठो भाकामा गाउँथे। लोकगीत, भजन र खैंजडीहरू पनि साँच्चै
मीठो गरी गाउने। तत्कालै रचेर पनि गाउने अनि नाच्न पनि निकै सिपालु’,
त्रिपाठी विगत सम्झन्छन्, ‘काठमाडौं आइपुग्न ६ दिन हिँड्नु पर्थ्यो। कष्टले
पढेका थिए उनले।’
नेपाली भाषा प्रकाशिनी समितिलाई साझा प्रकाशन बनाएपछि निम्न वैतनिक तलबी
कर्मचारीबाट काम सुरु गरेको त्रिपाठीको भनाइ छ। थप्छन्, ‘क्षमता देखेर
क्रमश: उनलाई बढुवा गर्दै महाप्रबन्धक र पछि अध्यक्ष पनि बनाइयो।’
अधिकारी साझा प्रकाशनमा महाप्रबन्धक हुँदा कमलमणि दीक्षित अध्यक्ष थिए।
‘उनी कवि गीतकार अनि म लेखक’, २०२० सालतिरको साझाको कुरा स्मरण गर्दै
दीक्षित भन्छन्, ‘उहाँ मलाई चोभारसम्म लगेर कविता सुनाउनुहुन्थ्यो।
गीत राम्रा थिए उनका तर म उनको गीतको पारखी भने होइन।’ नारायणगोपाल
नभएको भए अधिकारीले आफूलाई सायद त्यति चर्चाको शिखरमा पुर्याउन नसक्ने
दीक्षितको भनाइ छ।
अधिकारी ‘सिनियर’ न्ह्यु वज्राचार्य ‘जुनियर’। त्यसैले आफूले माग्दा गीत
दिनुहुन्थ्यो हुन्थेन, न्ह्युलाई शंकै थियो। तर पनि आँट गरेर मागे उनले।
‘मागेपछि गीत पाएँ, खुसी त भएँ तर ‘ट्युन’ गर्नै सकिनँ’, संगीतकार न्ह्यु
भन्छन्, ‘सोध्नुहुन्थ्यो, खै के भयो? भनेर। तर, मसँग उत्तर थिएन, त्यसपछि म
उहाँको छेउमै पर्न चाहन्नथेँ।’ अचानक जम्काभेट भयो, नारायणगोपाल संगीत
कोषमा। अर्को अप्ठेरो पनि, प्रकाश सायमीले भन्दिहाले, ‘क्षेत्र दाइ,
तपाईंको गीत त न्ह्युजस्ताले पो कम्पोज गर्नुपर्छ त।’ अधिकारीले रिसाएको
भावमा भन्नुभयो, ‘न्ह्युले गर्दैन। कहाँ गर्छ र ट्युन?’ सायमीले थपिदिए,
‘एउटा नयाँ दिएर त हेर्नोस्।’
भोलिपल्टै फोन आयो, ‘गीत तयार छ, ल टिप्नोस्।’ न्ह्युले टिपे। यो पनि
‘ट्युन’ गर्न नसके मुख देखाउनै नहुने स्थिति आउला भनेर उनी फेरि झस्किए।
‘मैले तयार पारेपछि दाइलाई डराई डराई सुनाएँ’, झन्डै १५ वर्षअघिको
सन्दर्भ सम्झँदै न्ह्यु भन्छन्, ‘तर मेरो भाग्य, उहाँले एकदमै मन
पराउनुभयो।’ सबैको मन जित्न सफल गीत थियो-
काठमाडौं : मुख्यसचिव लीलामणि
पौड्यालसहित एक सयभन्दा बढीले सोमबार बागमतीमा नुहाएका छन्। बागमती बदल्ने
महाअभियान एक वर्ष पुगेको अवसरमा नुहाउने कार्यक्रम आयोजना गरिएको हो।
बागमतीप्रेमीहरू बिहानै गुह्येश्वरी किनारामा भेला भएका थिए।
कार्यक्रमस्थलमा माइकबाट स्वस्तिवाचन र शंखध्वनि गुञ्जिरहेको थियो। जगमा
बागमतीको पानी उघाएर पौड्यालले भने, 'बागमतीकी जय..।'
उनले
सूर्यलाई अर्घ दिएर स्नान गरे। साहित्यकार कमलमणि दीक्षितले पनि बागमतीमा
नुहाए। ८५ वर्षीय उनले भने, 'धेरै वर्षअघि नुहाएको थिएँ, आज नुहाउँदा धन्य
भएँ।'
सहरी विकास मन्त्रालयका सचिव किशोर थापा, काठमाडौं महानगरपालिकाका
कार्यकारी अधिकृत लक्ष्मण अर्याल, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका
महानिर्देशक चूडामणि शर्मा, प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि
बाँस्कोटा, पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव गोविन्द टन्डनसहितले
बागमतीमा डुबुल्की मारे।
पौड्यालले भने, 'नयाँ वर्षमा नयाँ सन्देश दिन सक्यौं, दुर्गन्धित बागमती
सफा गरे नुहाउन पनि मिल्दोरहेछ भन्ने।' आगामी तीन महिनाभित्र मनोहरा
दोभानसम्म नुहाउन सकिने बनाइने प्रतिबद्धता उनले जनाए। उनले भने, 'खुसी त
जीवनमा धेरैपटक भइयो तर यस्तो आनन्द पहिलोपटक पाएँ।'
प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बाँस्कोटा बागमतिमा ।
कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसाल पनि पुगेका थिए। रिसालले मुख्य
सचिवसँग भने, 'धेरैले कुरामात्र गर्छन् तपाईंले काम गरेर देखाइ दिनुभयो।'
बागमतीमा धेरैले नुहाएको देख्दा आफू उत्तेजित भएको छर छालाको एलर्जीले
नुहाउन नपाएको रिसालले बताए। सचिव बाँस्कोटाले भने, 'नसोचेको काम पनि
हुँदोरहेछ। आधुनिकताले थिलथिलो पारेको बागमतीमा नुहाउन पाइयो।'
अर्का सचिव थापाले बागमतीमा नुहाउने वातावरण बनाउँदा जीवनमै ठूलो सन्तुष्टि महसुस गरेको बताए।
महानगरपालिकाका कार्यकारी अधिकृत अर्यालले परिश्रमको फल खाएजस्तो लागेको
प्रतिक्रिया दिए। उनले भने, 'जनतामा विश्वास जगाएका छौं। श्रद्धापूर्वक
बागमतीमा नुहाउन सकिने प्रमाणित गरेका छौं।'
अभियन्ता राजु अधिकारीले आइतबार बागमतीको पानी परीक्षण गरिएको बताए।
उनले भने, 'पानीमा धमिलोपन २० देखि ५० सम्म हुँदा नुहाउन मिल्छ।
गुह्येश्वरी छेउको पानीमा एनटीयू ३० छ।'
प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बाँस्कोटा बागमतिमा ।
उनका अनुसार सुन्दरीजलमा ४, गोकर्णमा २८ र जोरपाटीमा २७ थियो।बागमती
सरसफाइ अभियानका क्रममा नदीबाट आठ सय ५० टन फोहोर निकालिएको थियो। नदी
किनारमा ३० भन्दा बढी संघसंस्थाले बगैंचा निर्माण गर्ने प्रतिबद्धता जनाएका
छन्।
काठमाडौं :
ज्योतिषशास्त्रअनुसार २०७१ सालमा राजा र मन्त्री दुवै चन्द्रमा छन्।
चन्द्रमा राजा हुँदा मांगलिक कार्य बढ्ने ज्योतिषीको अनुमान छ। नेपाल
पाञ्चांग निर्णायक समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेल भन्छन्, '२०७१
सालमा राजा र मन्त्री दुवै चन्द्रमा भएकाले जनताले सुख पाउने सम्भावना छ।
जनताका हितमा राम्रा काम धेरै हुन्छन्। दीर्घकालीन लाभ हुने खालका योजना
सुरु हुनेछन्।' यस वर्ष प्लवंग नाम संवत्सर परेको छ।
थुप्रै समस्या उत्पन्न भए पनि देशले उन्नति गरी नयाँ बाटो लिने दाबी
ढुंगेलको छ। उनी भन्छन्, 'वर्षको लग्नमा मालिक दसौं स्थानमा निच राशिमा
रहेकाले सरकारी निर्णय गलत र विवादित हुनेछन्।' राजनीतिक क्षेत्रमा
नयाँनयाँ शक्ति देखा पर्ने उनको भनाइ छ। उनका अनुसार २०७१ सालमा वैदेशिक
सम्बन्ध राम्रो हुनेछ। वर्षा राम्रो भएर बालीनाली सप्रिने भए पनि हिउँदे
बाली उत्पादन कम हुने सम्म्भावना छ। उनी भन्छन्, 'यस वर्ष धार्मिक कृत्यहरू
बढ्नेछन्।'
अर्का ज्योतिषी टेकराज शास्त्री भन्छन्, 'वार्षिक कुण्डली मिथुन लग्नबाट
सुरु हुन्छ। लग्नमै बृहस्पति बसेको छ। लग्नेश बुध उच्च स्थानमा बृहस्पतिको
घरमा बसेको छ। यस्तो अवस्थामा सरकारी निर्णयविवादास्पद पर्न सक्छन्।'
यद्यपि वर्षको उत्तरार्द्धमा केही महत्त्वपूर्ण कार्य सफल हुने उनको भनाइ
छ।
२०७१ साल शनिको उच्च दृष्टि भएको वर्ष हो। विवाद भए पनि संविधानको
मस्यौदामात्र आउने दाबी उनको छ। उनी भन्छन्, 'पूर्ण संविधान तोकिएको समयमा
मुस्किल छ। सरकारका प्रशासनिक निर्णय विवादमा पर्नेछन्।'
उनका अनुसार कात्तिक २५ गतेदेखि शनि वृश्चिक राशिमा प्रवेश गर्ने र
नेपालको राशि पनि वृश्चिक भएकाले विवादका बीच पनि केही कानुनी र प्रशासनिक
सफलता मिल्नेछन्। खण्डवृष्टिका कारण साउनपछि हुने बाढीपहिरोले देश र
जनतालाई नोक्सान पार्ने उनी बताउँछन्। उनी भन्छन्, 'वृश्चिक र तुलामा शनि
बसेकाले देशमा भय र तनाउ उत्पन्न हुने देखिन्छ।'
ज्योतिषी हेमसागर ढुंगेल आगामी माघ ८ गते संविधान जारी नहुने दाबी
गर्छन्। 'राजनीतिक सहमतिमा गडबढ हुने देखिन्छ। त्यसैले मस्यौदासम्म जारी
हुन्छ', उनी भन्छन्, 'राम्रो बेला भए पनि योग गलत छ। त्यसैले संविधान जारी
हुन जनदबाब आउनुपर्छ।' मस्यौदा आएको मितिले ६ महिनाभित्र मात्र पूर्ण
संविधान जारी हुने ढुंगेलको भनाइ छ।
उनी भन्छन्, 'राजनेताहरूले 'हामी जनताका नोकर हौं' भन्ने सोचाइ राख्न
सके भने संविधान बन्छ। तर राजनीतिक पार्टीभित्र सकारात्मक सोच आउने
देखिन्न। कि त नेतालाई कुनै तवरबाट नियन्त्रण गर्ने वातावरण बनाइनुपर्छ।'
संविधानका लागि राजनेताहरूले विशेष अठोट देखाउन सक्नुपर्ने उनको भनाइ छ।
उनी भन्छन्, 'पाँचदेखि १० वर्षसम्म प्रजातान्त्रिक स्वतन्त्रता चाहने
शक्तिहरूले राज गर्ने योग छ। सशस्त्र वा हतियारधारीले सत्ता कब्जा गर्ने
सम्भावना छैन। उनीहरू पनि ज्ञान र सीप सिक्ने अनि धार्मिक सत्संगतिर लाग्ने
देखिन्छ।' उनी बाहिरी आम्दानीबाट यो वर्ष देश सबल हुने बताउँछन्। 'म
राष्ट्रलाई माया गर्छु' भन्ने मानिसहरूको संख्या बढ्ने र त्यसले देशभित्र
कलकारखाना र उद्योगधन्धा थपिने र विकासको बाटो खुल्ने देखिएको उनको भनाइ छ।
उनी थप्छन्, 'तर विदेशी संस्कृतिको प्रभाव बढी हुनेछ। आफ्नो संस्कृतिको
अनुसरण गर्न पनि राजनेताकै अनुसरण गर्नुपर्ने देखिन्छ।' उनले नेपाली
साहित्य पनि राजनीतिकै वरिपरि घुम्ने दाबी गरे। सांगीतिक क्षेत्रमा अपेक्षा
बढी हुने तर प्रतिफल कम हुने उनको भनाइ छ।
राष्ट्रिय महिला ज्योतिष संघकी अध्यक्ष रतिदेवी भन्छिन्, 'भाग्येश,
कर्मेश र लाभेशमा क्रमश: शुक्र, बुध र केतु-सूर्य रहेको हुँदा देशमा केही
असल काम हुँदैछन्।' आर्थिक क्षेत्र बलियो हुने र देश संवृद्धितिर अघि बढ्ने
उनको ठहर छ। संविधान निर्माणको काम ७५ प्रतिशतमात्र हुने उनले भविष्यवाणी
गरिन्। स्थानीय निकाय निर्वाचन भने नहुने उनको आकलन छ।
'तर पनि नेतामा बुद्धि बढ्ने र जनतासँग मेलमिलाप हुने देखिएको छ',
श्रेष्ठ थप्छिन्, 'परराष्ट्र नीतिमा धेरै सुधार आउँदैन तर पनि विदेशी सहयोग
जारी हुनेछ।' बृहस्पति लग्नमा बसेकाले युवा बिदेसिने क्रममा भने कमी नआउने
उनको भनाइ छ। उनका अनुसार राजनीतिक अन्योल हट्ने, भ्रष्टाचार र चोरीडकैती
कम हुनेछ।
भविष्यवाणी
संविधानको मस्यौदा जारी हुन्छ
राजनीतिमा नयाँ शक्तिको उदय हुनेछ
केही प्रशासनिक निर्णयहरू गलत हुनेछन्
बाढीपहिरोले जनधनको क्षति गर्छ
कलकारखाना र उद्योग थपिन्छन्
भ्रष्टाचार र चोरीडकैती कम हुन्छ
साहित्य राजनीतिवरिपरि घुम्छ
विदेशी संस्कृतिको प्रभाव बढ्छ
आर्थिक उन्नति हुनेछ
युवा बिदेसिने क्रम बढ्छ
काठमाडौं : पशुपतिनाथ मन्दिरबाट
भेटीबापत १७ करोड रुपैयाँ संकलन भएको छ। पशुपति क्षेत्र विकास कोषले मन्दिर
तथा पूजा व्यवस्था नियमावली २०६८ लागू गरेपछि उक्त रकम कोषमा दाखिला भएको
हो।
यसअघि मूलभट्ट र भट्टले पशुपतिनाथको आम्दानी वार्षिक बढीमा एक लाख
रुपैयाँ संकलन भएको जानकारी दिने र सो रकम बाँडफाँट गरेर लिने गर्थे।
कोषले २०६८ चैत २६ गतेदेखि पशुपतिनाथको दैनिक आम्दानी गणना गरेर कोषमा दाखिला गर्न थालेको छ।
कोषका लेखापाल सूर्यबहादुर भाटका अनुसार पशुपतिनाथको दानभेटी, बासुकी
मन्दिरको दानभेटी, विशेष पूजा, हुन्डी, हनुमान र नारायणको मूर्तिबाट दुई
वर्षमा १६ करोड ८१ लाख १४ हजार पाँच सय ७९ रुपैयाँ संकलन भएको छ।
२०६८ चैत २६ देखि २०७० चैत २५ सम्म पशुपतिनाथबाट आठ करोड ३६ लाख ६ हजार
४७, वासुकीबाट २९ लाख ७६ हजार ४८, विशेष पूजाबाट ६ करोड ९७ लाख ५२ हजार चार
सय ७८, हुन्डी (चन्दा बाकस) बाट ८० लाख एक हजार चार सय चार र हनुमान र
नारायणबाट ३८ लाख २६ हजार नौ सय दुई रुपैयाँ संकलन भएको थियो।
भाटले भने, ‘वासुकीको आ दानी त त्यतिबेला कहिल्यै सार्वजनिक गरिएन। यो
मन्दिरमा भण्डारी छैनन्। रकमीले पाउँदैनथे। भट्टले सबै लैजान्थे।’
कोषका तत्कालीन सदस्यसचिव वसन्त चौधरीले हुन्डी राख्न थालेका थिए।
हुन्डीबापतको रकममात्र कोषमा दाखिला हुन्थ्यो। मूलभट्ट र भट्टहरूले यसअघि
विशेष पूजाको पहिल्यै बुकिङ गरेर पूजा लगाई रकम आफैं राख्थे।
नियमावली लागू भएपछि रसिदमार्फत अग्रिम बुकिङ भइरहेको छ। कोषका निर्देशक
रमेश उप्रेतीका अनुसार नियमावली लागू भएपछि ऐनकानुनअनुसार पारदर्शी काम
गर्न सजिलो भएको छ। उनले भने, ‘दुई वर्षको यो रकम संकलन हुनु धार्मिक
पर्यटनबाट अथाह धनराशि आम्दानी हुने संकेत हो। यसबाट थुप्रै विकास गर्न
सकिनेछ।’
भेटी पारदर्शी गर्न थालेपछि कोषले मूलभट्टलाई मासिक ४० हजार र चार
भट्टलाई ३० हजारको दरले तलब दिइरहेको छ। मूलभट्टले पूजाबापत दैनिक तीन हजार
र भट्टले दुई हजार पाँच सय भत्ता पाएका छन्। यसबाहेक अन्य सुविधा पनि
उनीहरूले पाउँदै आएका छन्।
कोषका सदस्यसचिव गोविन्द टन्डनले भने, ‘मूलभट्ट, भट्टहरू, भण्डारी,
विसेट र रकमीहरूलाई तलबसुविधा भेटी रकमबाटै दिइन्छ। खर्च कटाई बचेको रकम
कोषमा राखिन्छ।
कोषबाट मन्दिरको जीर्णोद्धार, पुनर्निर्माण तथा धार्मिक एवं सामाजिक
कार्य गरिन्छ।’ उनले मन्दिर परिसरका शीतला, कीर्तिमुख भैरव, लालगणेश,
सूर्यनारायण, सन्ताप हरेश्वरलगायतको भेटी पनि पारदर्शी गर्न लागिएको बताए।
उनले भने, ‘विगतको अवस्था जे भए पनि अब सबैले आफ्नै मन्दिर भनेर गर्व गर्न
पाउने अवस्था बन्दैछ।’
पशुपति क्षेत्र विकास कोषको कार्य सम्पादन समितिको शुक्रबार बसेको
बैठकले विशेष पूजा गरेबापत मूलभट्ट र भट्टलाई १५ प्रतिशत रकम दिने प्रस्ताव
अघि सारेको छ। कोषको सञ्चालक परिषद्को आइतबार बस्ने बैठकले समितिको
प्रस्तावबारे छलफल गर्दैछ।
मूलभट्टले पाउने सुविधा
मासिक तलब : ४० हजार
मासिक पूजाभत्ता : ९० हजार
पर्व खर्च : मासिक ४० हजार
वर्षभरि पूजा गरेकोमा : ४० हजार
अतिथि सत्कार : मासिक ३० हजार
चाडपर्व मनाउन : मासिक ३० हजार
सवारीखर्च : मासिक ८० हजार
घर जानआउन : वार्षिक ४० हजार
टेलिफोन : मासिक एक हजार पाँच सय
बिमा : चार लाख
अन्य : उपचारखर्च सेवा अवधिभर १२ महिनाको तलब
उपदान, सञ्चय कोष र आवास सुविधा
ललितपुर : ललितपुरकी कुमारीमा
अग्निसालनिवासी सात वर्षीया युनिका बज्राचार्य छानिएकी छन्। ललितपुर तलेजु
मन्दिरका मूलपुजारीकी पत्नीले आइतबार दुई बालिकामध्ये युनिकालाई छनोट गरेकी
हुन्।
कुमारीघरका पूजारी बुद्धरत्न बज्राचार्यले शरीरमा कुनै दाग, खत नभएको र
चिना हेर्दा सम्पूर्ण पक्ष सही ठहरिनेलाई कुमारीमा छनोट गर्ने चलन रहेको
बताए। उनले भने, 'तलेजु मन्दिरका मूलपुजारीकी पत्नीले छनोट गर्नुअघि
साहसीपन, निडर र स्थिर हुन सक्ने-नसक्ने विषयमा परीक्षण गर्नुहुन्छ।'
ललितपुरमा कुमारी हुने अवसर बज्राचार्यले मात्र पाउने परम्परा छ।
यसअघि हकबालनिवासी समिता बज्राचार्य कुमारी थिइन्। कुमारी रजस्वला भएपछि
नयाँ छानिन्छ। समिता गत फागुन ११ गते कुमारीबाट बाहिरिएकी थिइन्। समिता
मूलपुरोहितबाट छनोट हुने पहिलो कुमारी हुन्। राजसंस्था हुँदा बडागुरुज्यूले
कुमारी छनोट गर्ने परम्परा थियो।
नयाँ कुमारी छनोटका लागि गाबहालनिवासी तीन वर्षीया एन्जिला
बज्राचार्यलाई पनि चण्डेश्वरी मन्दिरछेउको पिम्बहाल पुर्याइएको थियो।
युनिका र एन्जिलालाई हकबालस्थित रत्नाकर महाविहारस्थित कुमारी घरमा लगिएको
थियो। युनिकाका ३९ वर्षीय बुबा रमेशले भने, 'भगवान्को चाहना यही रहेछ। छोरी
कुमारी भएकोमा हामी दुवै खुसी छौं।' रमेश मूर्तिकार हुन् भने पत्नी सबिता
कस्मेटिक पसल सञ्चालन गर्छिन्। युनिकाको एक दिदी र एक भाइ छन्।
महाविहार संरक्षण समितिका सचिव तेजमान बज्राचार्यले युनिकालाई चार
दिनपछि पुरोहित हेर्मानन्द बज्राचार्यको घरमा लगेर कुमारीका रूपमा पूजा
गरिनेछ। उनले भने, 'त्यसपछि सिन्दुरजात्रा गर्ने चलन छ।'
युनिका पूर्णचण्डीस्थित भासरा बोर्डिङ स्कुलमा अध्ययनरत छिन्। उनी नयाँ
शैक्षिक सत्रबाट कक्षा १ मा पढ्नेछिन्। अब उनलाई शिक्षकले घरैमा आएर पढाउने
जानकारी सचिव तेजमानले दिए।
गुठी संस्थान ललितपुरका प्रमुख हरिप्रसाद सुवेदीले गुठीबाट सम्पादन
गर्ने जात्रापर्वमा कुमारी आवश्यक पर्ने बताए। रातो मच्छिन्द्रनाथको
जात्राको महास्नान र रथ यात्राका क्रममा, भोटो जात्रा देखाउँदा, तलेजु
मन्दिरलगायतमा कुमारीको विशेष पूजा र महत्त्व हुन्छ।
गुठीले कुमारीलाई मासिक तीन हजार खर्च दिँदै आएको छ। यसबाहेक
जात्रापर्वमा चढाइने भेटी र घरमा दैनिक दर्शन गर्न आउनेले चढाउने भेटीघाटी
पनि कुमारीको आम्दानीका रूपमा रहन्छ।