गोपीकृष्ण ढुंगाना
कोसी काल थियो उपेक्षित यहाँ भागीरथी भो अब,
ढुंगो पुजित शालिग्राम बनी यो बढ्दो छ आस्था अब।
हिँड्थे स्याल र गिद्ध मस्त दिउँसै तर्साउने ठाउँ यो,
कालो शून्य श्मशान घाट कसरी अहिले धराधाम भो।
यो कुम्भस्थल राष्ट्र गर्भित धरा छन् श्यामला नन्दन,
अहिलेको चतरा प्रयाग, मथुरा, काशी र वृन्दावन...।
जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले वाचन गर्ने कविताजस्तै श्मशान घाटका रूपमा रहेको चतराधाम अहिले प्रयाग, मथुरा, काशी र वृन्दावनजत्तिकै भव्य भएको छ। भगवान् विष्णुले मोहिनी रूप लिएर अमृत बाँड्ने बेलामा त्यसको तर (छाली) को डल्लो नै नेपालको सुनसरी जिल्लास्थित बराह क्षेत्रमा राखेका थिए भन्ने भनाइ छ। जगद्गुरु बालसन्त देवता र दानव मिलेर परापूर्व कालमा क्षीर सागर मन्थन गर्दा निस्केको सोही अमृतको घडाबाट छचल्किएर चार थोपा अमृत भारतका प्रयाग, मथुरा, काशी र वृन्दावनमा खसेको बताउँछन्। देवाचार्य भन्छन्, 'भारतका ती चार ठाउँमा प्रत्येक १२/१२ वर्षमा पालैपालो पूर्ण महाकुम्भ लाग्दै आएको छ। नेपालमा विष्णुले डल्लै राखेकाले बराह क्षेत्रमा त यसको झनै बढी महत्त्व हुने भयो।'
२०५९ सालमा भएको नेपालको पहिलो पूर्ण
महाकुम्भ प्रचारप्रसारको अभावमा विशेष हुन सकेको थिएन। देवाचार्यले भारतका
चार ठाउँमा चार थोपा र नेपालमा अमृतको तरको डल्लो नै भेटिएकाले विशेष
महत्त्व रहेको शास्त्रीय प्रमाणका आधारमा पुष्टि गरेकाले नेपालमा कुम्भ
लाग्न थालेको हो। उक्त कुरा प्रमाणित गरेपछि देवाचार्यलाई भारतका काशी
पण्डित सभाले 'जगद्गुरुÓ घोषणा गरेको थियो।
बराह क्षेत्र गाविसको चतराधाममा लागिरहेको
दोस्रो पूर्ण महाकुम्भको रौनक यति बेला मुलुकभर छ। मेचीदेखि महाकालीसम्म
मात्र होइन, भारतीय र अन्य देशमा रहेमा हिन्दू धर्मावलम्बीलाई तानेको छ यति
बेला महाकुम्भले। चैत शुक्ल पक्ष अर्थात् चैत १७ गतेदेखि वैशाख शुक्ल
पक्षसम्म अर्थात् वैशाख १९ गतेसम्म एक महिना मेला चल्नेछ।
महाकुम्भ सञ्चालन भइरहेको चतराधामलाई १६
वटा क्षेत्रमा विभाजन गरिएको छ। जसअनुसार वराह क्षेत्र, चतराघाटदेखि महिला
आश्रमसम्मको क्षेत्र, कुम्भस्तम्भ र बौद्धगुम्बा क्षेत्र, राधा सर्वेश्वर
परिसर क्षेत्र, जगद्गुरु पीठ क्षेत्र, अद्वैत आश्रम र जोस्मनी मठ क्षेत्र,
शंकराचार्य मठ क्षेत्र, रामानन्द सेवा पीठ क्षेत्र, प्रस्तावित बल्वाचार्य र
मध्वाचार्य मठ क्षेत्र, तेरआरडी क्षेत्र, भूबराह रामानुपीठ क्षेत्र, बयरवन
क्षेत्र, चतरा बसस्ट्यान्ड क्षेत्र, औलिया बाबा क्षेत्र, प्राचीन हरिद्वार
बजार क्षेत्र र कौशिकी टापु क्षेत्र छन्।
मन्थनका क्रममा पाइएको अमृतको डल्लो
अर्थात् पिण्डबाट उत्पन्न भएकाले उक्त स्थानको नाम नै पिण्डेश्वर रहेको हो।
पिण्डेश्वरमा पिण्डेश्वर महादेव रहेका छन्। अमृत बाँडेपछि कुम्भ विधिले
स्नान गरेको कौशिकी नदीलाई नै कोसी नदी भनिएको पाइन्छ। महाकुम्भ महोत्सवको
प्रचारप्रसार समितिका संयोजक प्रह्लाद भट्टराई कुम्भ महोत्सवको सम्बन्ध
स्वास्थ्य र निरोगितासँग जोडिन पुगेको बताउँछन्। वराह भगवान् प्रादुर्भाव
भएको स्थान भएकाले पनि वराह क्षेत्र पवित्र स्थान मानिन्छ। जगद्गुरु
बालसन्तले भने, 'विश्वका पवित्र तीर्थस्थलहरू काशी, गया, प्रयाग,
कुरुक्षेत्र, नैनीसारण्य आदि स्थानमा गएर यज्ञानुष्ठान, जपतप आदि गर्दा जुन
फल प्राप्त हुन्छ, महाकुम्भमा कौशिकी नदीमा नुहाउँदा त्यही फल प्राप्त
हुन्छ। किनकि हर तपस्या पनि १२ वर्षमा पूर्ण हुन्छन्। १२ वर्षलाई पूर्ण
स्वरूप मानिन्छ। त्यसैले वैदिक परम्पराअनुसार १२ वर्षमा पूर्ण महाकुम्भ
लाग्ने शास्त्रमा उल्लेख छ।'
विद्वान्हरूका अनुसार हर तपस्या १२ वर्षमा
पूर्ण हुन्छन्। १२ वर्षलाई पूर्ण स्वरूप मानिन्छ। त्यसैले वैदिक
परम्पराअनुसार १२ वर्षमा पूर्ण महाकुम्भ लाग्ने शास्त्रमा उल्लेख छ।
कुम्भको महत्त्व भनेको स्नान हो। बालसन्तका अनुसार कुम्भमा पुगेर स्नान
गर्दा हजार अश्वमेध यज्ञ गर्दा जुन फल प्राप्त हुन्छ, सय बाजप्पेय यज्ञ
गर्दा जुन पुण्य प्राप्त हुन्छ, लाखपटक पृथ्वीको परिक्रमा गर्दा जुन पुण्य
प्राप्ति हुन्छ; ती सबै पुण्य कौशिकीमा गएर स्नान गर्दा मनुष्यलाई प्राप्त
हुन्छ। नेपालीले पनि नबुझेर भारतको कुम्भलाई महत्त्व दिएका छन्।
पूर्ण महाकुम्भमा करिब एक करोड भक्तजन
आउने जगद्गुरुको भनाइ छ। अघिल्लो महाकुम्भमा ५० लाख भक्तजन आएका थिए।
दोस्रो महाकुम्भका लागि सरकारले समेत सहयोग गरेको छ। सरकारले भक्तजनको
सुरक्षाका लागि ६ वटा बेसक्याम्प राखेको छ। भारतको इलाहाबादमा गत वर्ष
महाकुम्भ सम्पन्न भएको थियो। गंगा, जमुना र सरस्वती नदीको संगमस्थलमा
सम्पन्न महाकुम्भमा भारत सरकारले करिब २२ सय करोड भारतीय रुपैयाँ खर्च
गरेको थियो। उक्त स्थान काठमाडौं उपत्यकाले ओगटेको जति क्षेत्रफलमा थियो।
नेपालमा भने यसपटक सरकारले एक करोड रुपैयाँ प्रदान गरेको छ।
तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज
रेग्मीको अध्यक्षतामा बसेको बैठकले मुख्यसचिव लीलामणि पौडेलको अध्यक्षतामा
सम्बन्धित मन्त्रालयका सचिवहरूको 'सहयोग तथा समन्वय समितिÓ गठन गरेको थियो।
सुरुमा ५० लाख दिएको सरकारले यसै साता ५० लाख रुपैयाँ थप गरेको हो। उक्त
बैठकले प्रधानमन्त्रीको कार्यालयका सचिव कृष्णहरि बास्कोटालाई महाकुम्भ
मेलाको सम्पर्क व्यक्ति तोकेको छ।
भक्तजनले चतराधाम पुग्न धरान, झुम्का र
कान्छी चोक गरी तीन स्थानबाट सार्वजनिक यातायात प्रयोग गर्नुपर्छ। तर,
सार्वजनिक सवारी साधनले दिने सुविधा पटक्कै चित्तबुझ्दो छैन। चतराधामबाट
कुम्भ स्नानका लागि पुग्ने बराह क्षेत्रसम्मको करिब आठ किलोमिटर दूरीको
सडकमा त सवारी रिजर्भ नगरे पैदल हिँड्नुपर्ने बाध्यता छ। चतराधाम आइपुग्ने र
बराह क्षेत्र पुग्ने सबै सडक धुलाम्मे छन्। पानी पर्नासाथ हिलाम्मे
हुनुपर्ने भक्तजनको अर्को बाध्यता छ। सरकारले सडकको स्तरोन्नति गर्ने भने
पनि गरेको छैन।
महाकुम्भको भौतिक निर्माणका लागि
खानेपानी, विद्युत्लगायतको काम भने सरकारले सम्बन्धित कार्यालयमार्फत गरेको
छ। जगद्गुरु आश्रमअन्तर्गतको गुरुकुलका प्राचार्य हरिशरण उपाध्याय
रेग्मीका अनुसार 'कौशिकी नदीमा नुहाउन नदीकिनारमा दर्जनभन्दा बढी अस्थायी
टहरा निर्माण भएका छन्।' हजारभन्दा बढी अस्थायी शौचालय बनाइएको छ।'
दिनानुदिन भक्तजनको चाप बढेपछि
व्यवस्थापनमा ह्रास आएको छ। पछिल्ला दिनमा पूर्व मेची र पश्चिम महाकालीदेखि
बस रिजर्भ गरी आउन थालेपछि दैनिक एक लाखभन्दा बढी भक्तजनको घुइँचो
महाकुम्भमा देखिएको छ। सरकार, जगद्गुरु आश्रमलगायतको व्यवस्थापनले
नभ्याएपछि केही दिनदेखि भक्तजन खुला चउरमै रात बिताउन बाध्य छन्।
प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन
गरेको महाकुम्भमा भारतका प्रसिद्ध धार्मिक नेता एवं विश्व हिन्दू परिषद्का
संरक्षक अशोक सिंघल पनि पुगेका थिए। राष्ट्रपति डा. रामवरण यादव, तत्कालीन
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, पूर्वउपप्रधानमन्त्री सुजाता
कोइराला, पूर्वगृहमन्त्री कमल थापा, संस्कृतिमन्त्री भीमप्रसाद आचार्य,
सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजाल, वनमन्त्री महेश आचार्य,
सिँचाइमन्त्री एनपी साउद, निर्वाचन आयोगका प्रमुख नीलकण्ठ उप्रेतीले
महाकुम्भमा पुगेर कौशिकी नदीमा कुम्भ स्नान गरेका थिए। यसैगरी रामचन्द्र
पौडेल, प्रकाशशरण महतलगायतका नेता र दर्जनभन्दा बढी सभासद् कुम्भ स्नानका
लागि पुगिसकेका छन्। यसका साथै महाकुम्भका लागि भारतका जगद्गुरुहरू,
शंकराचार्यहरू, प्रसिद्ध पीठाधीश्वरहरू केही आएका र केही आउने क्रममा छन्।
पूर्वसंस्कृति सचिव एवं महाकुम्भ आयोजक
समितिका सल्लाहकार मोदराजका अनुसार महाकुम्भमा चैतशुक्ल प्रतिपदा, चैत २१
गते चैतशुक्ल पञ्चमी, वैशाख २ गते चैत पूर्णिमा, वैशाख १६ गते मातातीर्थ
औंसी र जेठ १९ गते अक्षय तृतीयाका दिन महास्नान हुनेछन्। कुम्भमा क
ल्पवासको व्यवस्था छ जसमा एक महिनासम्म साधना, तपस्या र यज्ञ गर्ने
भक्तजनका सबै दुष्कर्म नाश भई पुण्य आर्जन हुने शास्त्रीय मान्यता छ।
महाकुम्भमा संलग्न डा. वासुदेव कृष्णशास्त्रीका अनुसार महाकुम्भमा धार्मिक
प्रवचन, कौशिकी, गण्डकी एवं कर्णाली सभ्यता र महत्त्व, बाग्मती, विष्णुमती,
इन्द्रावती, रुद्रमती सभ्यता र महत्त्व, सबै दर्शनमा समन्वयात्मक दृष्टि,
सनातन दर्शन र तन्त्रको विशेषताजस्ता दर्जन बढी विषयमा शास्त्रको चर्चा
भइरहेको छ।
महाकुम्भमा शंकराचार्य, वैष्णवाचार्य,
जगद्गुरु, साधुसन्त, महन्त, धर्माचार्य एवं विद्वान्हरूले धार्मिक प्रवचन
गरिरहेका छन् जसमा कौशिकी, गण्डकी एवं कर्णाली सभ्यता र महत्त्व, बाग्मती,
विष्णुमती, इन्द्रावती, रुद्रमती सभ्यता र महत्त्व, सबै दर्शनमा
समन्वयात्मक दृष्टि, सनातन दर्शन र तन्त्रको विशेषताजस्ता दर्जनभन्दा बढी
विषयमा शास्त्र चर्चा भइरहेको छ। वेद, पुराणादि ग्रन्थहरूको पारायण, कोटि
दीप प्रज्ज्वलन, अखण्ड हरिनाम संकीर्तन, रुद्री, चण्डी, गायत्री आदि
मन्त्रको अनुष्ठान, जन्मकुण्डली अध्ययन, ग्रहशान्ति तथा हवन गोपाल, विष्णु,
राम सहस्रनाम पाठ र योगसाधना आदिसमेत भइरहेका छन्।
प्राचीन हरिद्वार मानिने चतराधाममा
नेपालको पिण्डेश्वरको महत्त्व र महाकुम्भ मेलाको अस्तित्वलाई अहिले भारत
पनि स्वीकार्न बाध्य भएको जगद्गुरु बालसन्तको भनाइ छ। 'सरकारी आयोजनामा
महाकुम्भ हुनु भनेको धर्मका दृष्टिले नेपाल स्वतन्त्र हुनु हो। प्रत्येक १२
वर्षमा लगाइने महाकुम्भले नेपालमा धार्मिक पुनर्जागरण हुने अपेक्षा गर्न
सकिन्छ', बालसन्त भन्छन्, 'प्रत्येक महाकुम्भमा भारत जाने धर्मावलम्बीले
नेपालको महाकुम्भमा त्यो सेवा, सुविधा र सुरक्षा कति पाए; त्यसको मूल्यांकन
अवश्य हुनेछ। त्यो व्यवस्थापनको जिम्मेवारी यति बेला सरकारको काँधमा छ।'
मिति : २०७१ वैशाख १३, शनिबार
No comments:
Post a Comment