Monday, April 14, 2014

सयभन्दा बढीले नुहाए बागमतीमा



काठमाडौं : मुख्यसचिव लीलामणि पौड्यालसहित एक सयभन्दा बढीले सोमबार बागमतीमा नुहाएका छन्। बागमती बदल्ने महाअभियान एक वर्ष पुगेको अवसरमा नुहाउने कार्यक्रम आयोजना गरिएको हो। बागमतीप्रेमीहरू बिहानै गुह्येश्वरी किनारामा भेला भएका थिए। कार्यक्रमस्थलमा माइकबाट स्वस्तिवाचन र शंखध्वनि गुञ्जिरहेको थियो। जगमा बागमतीको पानी उघाएर पौड्यालले भने, 'बागमतीकी जय..।'
उनले सूर्यलाई अर्घ दिएर स्नान गरे। साहित्यकार कमलमणि दीक्षितले पनि बागमतीमा नुहाए। ८५ वर्षीय उनले भने, 'धेरै वर्षअघि नुहाएको थिएँ, आज नुहाउँदा धन्य भएँ।'
सहरी विकास मन्त्रालयका सचिव किशोर थापा, काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मण अर्याल, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक चूडामणि शर्मा, प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बाँस्कोटा, पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव गोविन्द टन्डनसहितले बागमतीमा डुबुल्की मारे।
पौड्यालले भने, 'नयाँ वर्षमा नयाँ सन्देश दिन सक्यौं, दुर्गन्धित बागमती सफा गरे नुहाउन पनि मिल्दोरहेछ भन्ने।' आगामी तीन महिनाभित्र मनोहरा दोभानसम्म नुहाउन सकिने बनाइने प्रतिबद्धता उनले जनाए। उनले भने, 'खुसी त जीवनमा धेरैपटक भइयो तर यस्तो आनन्द पहिलोपटक पाएँ।'
प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बाँस्कोटा बागमतिमा ।
प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बाँस्कोटा बागमतिमा ।
कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसाल पनि पुगेका थिए। रिसालले मुख्य सचिवसँग भने, 'धेरैले कुरामात्र गर्छन् तपाईंले काम गरेर देखाइ दिनुभयो।'
बागमतीमा धेरैले नुहाएको देख्दा आफू उत्तेजित भएको छर छालाको एलर्जीले नुहाउन नपाएको रिसालले बताए। सचिव बाँस्कोटाले भने, 'नसोचेको काम पनि हुँदोरहेछ। आधुनिकताले थिलथिलो पारेको बागमतीमा नुहाउन पाइयो।'
अर्का सचिव थापाले बागमतीमा नुहाउने वातावरण बनाउँदा जीवनमै ठूलो सन्तुष्टि महसुस गरेको बताए।
महानगरपालिकाका कार्यकारी अधिकृत अर्यालले परिश्रमको फल खाएजस्तो लागेको प्रतिक्रिया दिए। उनले भने, 'जनतामा विश्वास जगाएका छौं। श्रद्धापूर्वक बागमतीमा नुहाउन सकिने प्रमाणित गरेका छौं।'
अभियन्ता राजु अधिकारीले आइतबार बागमतीको पानी परीक्षण गरिएको बताए। उनले भने, 'पानीमा धमिलोपन २० देखि ५० सम्म हुँदा नुहाउन मिल्छ। गुह्येश्वरी छेउको पानीमा एनटीयू ३० छ।'
प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बाँस्कोटा बागमतिमा ।
प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बाँस्कोटा बागमतिमा ।
उनका अनुसार सुन्दरीजलमा ४, गोकर्णमा २८ र जोरपाटीमा २७ थियो।बागमती सरसफाइ अभियानका क्रममा नदीबाट आठ सय ५० टन फोहोर निकालिएको थियो। नदी किनारमा ३० भन्दा बढी संघसंस्थाले बगैंचा निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्।

मिति : २०७१ बैशाख १, सोमबार


No comments:

Post a Comment