गोपीकृष्ण ढुंगाना
काठमाडौं : भाइ फुर्तेम्बा शेर्पा सगरमाथाको आधारशिविरबाट उकालो लाग्दै थिए। सोही बेला दाजु आङ्फुर्बा शेर्पा करिब चार हजार मिटर उचाईमा मकालु चढ्दै थिए। दोस्रोपटक सगरमाथा चढ्दै गरेका २६ वर्षीय फुर्तेम्बाले आङ्फूर्बालाई सगरमाथमा हिमपहिरो जानुभन्दा अघिल्लो दिन बिहीबार फोन गरेर भनेका थिए, 'राति दुई बजे उठेर क्याम्प टुमा जाँदैछौं।' दाजु आङ्फुर्बाले भने, 'सेफ क्लाइम्बिङ गर्नु।' गत शुक्रबार बिहान फुर्तेम्बाले क्याम्प टु उक्लन नपाउँदै हिमपहिरो झ:यो। पहिरोमा परी उनको मृत्यु भयो। उनीसँगै हिमपरीमा १३ जनाको मृत्यु भयो।
'हिमालमा खतरा त छँदैछ तर पेशा नै यही भएपछि नगएर पनि त हुन्न नि, के गर्ने?', फुर्तेम्बालगायत मृत्यु भएका १३ र हराइरहेका तीनजनालाई सहयोग रकम प्रदान कार्यक्रममा शुक्रबार दरबारमार्गस्थित होटल अन्नपूर्ण पुगेका दाजु आङ्फुर्बाले अन्नपूर्णसँग भने, 'पहिरो जाने क्षेत्र चाँडै अर्थात् बिहानको समयमै पार गर्नुपर्ने थियो। उनीहरू पनि त्यसै गर्न खोज्दै थिए तर एउटामात्र सिँढी भएका कारण एक घण्टा जाम परे। पर्खिदा दुर्घटना भयो।' उनले थपे, 'कम्तिमा तीनवटा भ:याङ राख्नुपर्ने ठाउँ हो त्यो। त्यसो हुन सकेको भए ज्यान जादैनथ्यो।'
बुबाआमाले दुवै छोरा हिमाल आरोहणीका सहयोगी भएकाले पटकपटक हिमाल नचढ्न आग्रह गरेका थिए। संखुवासभाका उनको परिवार एक दसकदेखि काठमाडौं कपन बस्दै आएको छ। आङ्फुर्बाले भने, 'म आफैं पनि जोखिम मोलिरहेको थिएँ, मैले उसलाई सगरमाथाबाट फर्किएपछि आमाबुबाको मनलाई शान्त पार्न पनि विदेश पठाउने योजनामा थिएँ। तर ऊ फर्किएन।'
आधारशिविरबाट सम्पर्क हुँदा छोरी छेची शेर्पाले बुबा आङकाजी सेर्पासँग फोनमा कुरा गर्दै भनेकी थिइन्, 'बुबा तपाईलाई सञ्चो छैन।' बुबाको बोलीले नै सञ्चो नभएको संकेत गरिरहेको थियो तर पनि उनले नजानू भन्न सकिनन्। काठमाडौं युनिफाइड सिटी कलेजमा कक्षा ११ मा अध्ययनरत उनले भनिन्, 'केयर गर्नु भनें। रोक्ने कुरै भएन। उहाँले राम्रोसँग प्रार्थना गरिदिनु भन्नुभयो।' बुबाको भनाइअनुसार जेठीछोरी छेचीले बिहीबार साँझ सकुशल यात्राको कामनासहित भगवान्सँग प्रार्थना गरिन्। उनका हजुरबुबाले बौद्धमा पुगेर 'सेर्किस' (सम्बन्धित व्यक्तिको नाममा गरिने पूजा) गरिदिएका थिए। 'प्रार्थनाले पनि छोएन', छेचीले भनिन्, 'गतवर्ष यस्तै दुर्घटनाबाट बच्नु भएको थियो। सँगैको साथीलाई पहिरोले लगेको थियो रे। बुबाले नयाँ जीवन पाएको बताउनुभएको थियो तर यसपटक ...।'
त्यस्तै काठमाडौं नयाँबजार बस्दै आएकी डोमाले भनिन्, 'दुर्घटना हुनुभन्दा तीन दिनअघि भाइ, बैनी र मसँग बुबाको स्काइपमा कुराकानी भइरहेको थियो, करिब पाँच मिनेटको कुराकानीपछि आमासँग बोल्ने पालो थियो। बुबालाई आमासँग बोल्न दिँदै थिएँ, नेट कट्यो। पटकपटक कोशिष ग:यौं सम्पर्क हुँदै भएन।' उनका बुबा दोर्जे शेर्पा पनि हिमपहिरोमै बिलाए। दोर्जेलाई छोराछोरीले नजानु भन्दा उनले घरबाट निस्कँदै गर्दा भनेका थिए, 'तिमीहरूलाई कसले पाल्छ? कलेजको फि कसले तिर्छ? नगएर हुन्न।'
गतवर्ष मनाङको हेम्लुङ जाँदा पनि दोर्जेलाई हिमपहिरोले पुरेको थियो। देब्रे हातमात्र बाहिर भएकाले विदेशी पर्यटकले तानेर बचाएको डोमाले बताइन्। उनले भनिन्, 'बुबाले दोस्रो जीवन पाएँ भनेर खुसी व्यक्त गर्नु भएको थियो। तर त्यो खुसी वर्ष दिन पनि टिक्न पाएन।'
2071/1/13
No comments:
Post a Comment