Saturday, August 23, 2014

९७ वर्षमा यसकारण लेखेँ

गोपीकृष्ण ढुंगाना
शेखरका दुई छोरीमात्र भए। लामो समय नाति नहुँदा पत्नी चोककुमारी र म चिन्तित भयौं। वंशको उत्तराधिकारी कम्तीमा एउटा छोरो चाहिन्छ भन्ने सामाजिक मान्यताले थिचिरह्यो।
सोचेजस्तो हुन्‍न जीवन, सम्झेजस्तो हुन्‍न जीवन भन्‍ने गीतझैं भयो। नाति भएका भए के गर्थे, क्याम्पस पढ्ने दुई नातिनी स्मृता र श्वेताले दिएको मायाले भुलाएको छ हामीलाई यो उमेरसम्म।
'कान्छो छोराको छोरा नभएको प्रसंग' शीर्षकमा मैले मेरो यसै साता प्रकाशित पुस्तक 'जीवन एक भोगाइ अनेक' मा लेखेको छु, 'त्यसबखत कान्छाका छोरा भएनन् भनेर एकखाले पीडा र अहिले आएर त्यस्तो निकृष्ट सोच पालेर यी निष्कलंक नातिनीहरूप्रति अन्याय सोचेको पापको पश्‍चात्तापको अर्को खाले पीडा। खैर, अबको पुस्ताले यस्तो पीडा नभोगून्, यो मेरो सन्देशमूलक उपदेश हो सबैमा।' 
... 
युवावस्थामा धेरैले धेरै काम गर्छन्। तर, बुढेसकालमा धेरै बसेर खानेमात्र हुन्छन्। भनाइ नै छ, 'जब पुग्यो साठी, हातमा लाठी। जब पुग्यो सत्तरी, हिँड्छ खुट्टा लतारी। जब पुग्यो असी, खान्छ अनि बसी।' तर, म यति बेला नब्बे पनि काटिसकेको छु।
अझ सयको छेउ पुगेँ। शताब्दी पूरा हुनु चानचुने कुरै होइन। गत साउनदेखि ९७ मा हिँड्दै छु। बसी होइन, सुती खाने बेलामा गत साता राजधानीमा संस्मरणात्मक कृति 'जीवन एक भोगाइ अनेक' विमोचन गरेँ।
किताब लेख्दा अनुभव लिपिबद्ध त गर्ने गर्थें तर फेरि पनि पारिवारिक गन्थन ग्रन्थको निसारताबोधले म आफैंभित्र खुम्चिन्थेँ र पिरोलिन्थेँ। पिरलोको यसै पृष्ठभूमिमा आजको यो पुस्तकको प्रारूपको परिकल्पना भएको हो। फेरि पनि भन्छु, यो रचना स्वान्त सुखाय प्रयोजनका लागि गरेको हुँ।
आफ्नै सन्तोषका लागि। यो मेरो आफ्नै जीवनीको लिखत हो। पुस्तकको पाण्डुलिपि पनि त्रियानब्बे वर्ष टेकेपछिमात्र टिपनटापन गर्न सुरु गरेका थिएँ। जे जे सम्झिएँ, त्यही त्यही टिप्न थालेँ, कति महत्त्वपूर्ण घटना र सन्दर्भ त्यत्तिकै बिलाए।
माइलो छोरो भोजराजलाई पुस्तक तयार पारेर छपाउने काम तिम्रो भनेर जिम्मा लगाएँ। पेन्सन बचाएर राखेको दुई लाख पनि दिएँ। नपुगेको बैंकको खाताबाट खर्च गर्नु भनेको थिएँ शेखरलाई। चार वर्षअघि भनेका थिएँ, 'सक्छौ भने ज्यूँदै हुँदा छपाइदेओ। नत्र शेषपछि भए पनि छपाइदिनू।' जे होस्, ज्यूँदैमा कृति देख्न पाएँ।
'नपाउन्जेल कस्तो कस्तो, पाएपछि धेरै सस्तो' भनेझैं पुस्तक निस्केपछिका कुरा सामान्य हुन्छन्। तर, निकाल्दाको 'महाभारत' लेखकलाई मात्र थाहा हुन्छ। टिपनटापनले पनि नहुने। कस्तो भयो के छुट्यो त्यसलाई सम्हाल्ने जिम्मा लगाएँ सप्तरी कञ्‍चनपुर बस्ने ज्वाइँ पूर्णप्रसाद भट्टराईलाई।
समयले साथ नदिएकाले त्यसपछि पाण्डुलिपि सम्पादनको जिम्मा लगाए साली शिवकुमारीका छोरा काठमाडौंनिवासी साहित्यकार भरतमणि भट्टराईलाई। टिपनटापन बीचैमा रोकिन्थ्यो होला, माइली छोरी जमुना र साइली गंगाका छोराहरू आएर पढेर हौसला दिन्थे। जे होस्, आफ्ना कुरा लेखेँ। तर, म लेखक होइन। यही नै मेरो जीवनको चिनो हो, उपहार भयो।
त्‍यसबखत कान्‍छाका छोरा भएनन् भनेर एकखाले पीडा र अहिले आएर त्‍यस्तो निकृष्ट सोच पालेर यीनिष्कलंक नातिनीहरुप्रति अन्‍याय सोचेको पापको पश्‍चातापको अर्को खाले पीडा। खैर, अबको पुस्ताले यसतो पीडा नभोगून्, मेरो सन्देशमूलक उपदेश सबैमा। 
...
१९९० साल भन्‍नेबित्तिकै सबैले सम्झने विषय प्राय: एउटै हुन्छ, 'भुइँचालो'। तर, मेरा लागि जीवनको महत्त्वपूर्ण पाटो विवाह पनि छ। अचेल सरदर ३० वर्षको हाराहारीमा विवाह हुन्छ। १५/१६ को उमेर 'टिनएज' हो। १६ वर्षको हुँदा खोटाङ खार्पा बस्ने गाउँले म बेहुलो भएँ।
११ टेक्दै थिइन् चोककुमारी। उनैसँग वैवाहिक सम्बन्ध गाँसेँ। विवाहपछि ससुराली पुग्दा ससुराले संस्कारजन्य कार्यमा सहभागी गराउनुभयो। धुरन्धर पण्डित ससुराले छोरीसँग भन्नुभएछ, 'छोरी, तँलाई दिन त दिएँ तर ज्वाइँले त...।' मलाई कसैले सुनाइहाले त्यो कुरा। त्यसपछि मलाई पनि महसुस भयो, 'नपढी नहुने भयो।'
पत्‍नी चोककुमारी विवाहपछि पाँच वर्ष माइतै बसिन्। म भने तराई हानिएँ पढ्न। बिहेपछिका एकाध वर्ष म घरमै बसेँ। ठूल्दाइको जागिर महोत्तरीमा भएकाले पढ्न उतै लागेँ। त्यसपछि महोत्तरीको मटिहानीमा बसेर संस्कृत पढेँ।
त्यस बेलाको तराईको औलो, भोग्नेहरूलाई धेरै थाहा हुन्छ।मैले पनि भोगेँ। ज्वरो पनि भुंग्रे, त्यसपछि एकुन्द्रे। मुस्किलले पढेँ। काठमाडौं आएँ, पढेँ तर पछि हानिएँ भारतको बनारस र सकेँ शास्त्री। 
...
करिब चार सय वर्षदेखि पोखरेलहरूको थातथलोका रूपमा चिनिन्छ खोटाङको खार्पा। म अध्ययनपश्चात् जन्मथलो खार्पा बस्न चाहन्थेँ। तर अवसरले अन्तै पुर्‍यायो। खार्पा छोडेर ससुराली जिल्ला ओखलढुंगा पुगेँ पढाउन। २००४ सालमा मुलुकभर खोलिएका थिए, बेसिक स्कुल।
शैक्षिक योग्यताअनुसार दोस्रो दर्जाको मास्टरको पदमा मासिक ३२ रुपैयाँ पाउने गरी नियुक्ति पाएँ २००५ साल फागुनमा।२००६ सालदेखि ओखलढुंगा पुगेर पढाउन थालेँ। खार्पा हुँदाको गोठको धूप र बेसीसंस्कृति, देवाली, कुल र थानीपूजा, रोपाइँको रन्को पुस्तकमा आएका छन्।
कमाराकमारीका कुरा : कुरीति र वर्गीय शोषणको प्रतीक, जारीप्रथा, छोइछिटो र जातभात, भान्साको छोइछिटो, बेउलीभतेर, गोडा धुने भतेर, बेहुलो र बेहुली अन्माउने, रत्यौली हुँदै मृत्यु, मलामी र शवयात्रासम्म लेख्न भ्याएको छु पुस्तकमा।
जीवनको उत्तरार्धमा सबैलाई अनिवार्यजस्तै हुने तीर्थाटनहरूको बेलीविस्तार लगाएको छु। छोटकरीमा भन्नुपर्दा, जीवनका समग्र पाटाहरूलाई 'जीवन एक भोगाइ अनेक'मा 'फूलको माला' झैं उनेको छु। 
... 
खार्पामा हुन्जेल व्यवहारमै डुबेँ। ६३ वर्षको उमेरमा २०३७ सालमा तराई झरेँ सपरिवार। सेवानिवृत्त जीवन सहज ढंगले बिताउन सप्तरीको कञ्चनपुर पुगेको थिएँ। नयाँ ठाउँ तराई भए पनि त्यहाँ छरछिमेकसँग मिलेर बसेँ, प्राथमिक विद्यालय खोल्यौं।
पछि मावि बनायौं। काठमाडौं बस्ने भोजराजले पनि दसैंमा मात्र आउन पाइन्छ, दु:खबिमारमा भन्‍नेबित्तिकै खार्पा आउन कठिन छ। तराई झर्नु भनेकाले बसाइँ सरेका हौं।
दिनानुदिन बुढेसकालले छोइरहेको थियो, त्यहाँ पनि हामी दुईजनामात्र भएकाले २०६५ सालमा कान्छो छोरो शेखर र बुहारी अनुराधाले फेरि काठमाडौं बोलाए। आजसम्म हामी बूढाबूढी यहीँ काठमाडौंमै बसेका छौं।
जीवन एक भोगाइ अनेकभित्रको सातौं भागमा शीर्षक छ, 'मेरो भोगाइले जे सिकायो'। 'त्रुटिरहित नियम, निष्ठा र सत्कर्मको अवलम्बन गरे परमेश्‍वरले हेर्ने रहेछन्', 'परिश्रम, सदाहार, सदाचार र भगवान्भक्ति दीर्घ जीवनका रहस्य रहेछन्',
'जे छ त्यसैमा सन्तुष्ट हुने र अरूको आरिस नगर्ने मानिस वास्तवमा सुखी हुने रहेछ', 'आवश्यकताभन्दा बढी र समयभन्दा अगाडि केही पाइँदैन रहेछ' र 'गल्ती गरिएकै छ भने पनि नियत राम्रो छ भने परिणाम राम्रै हुने रहेछ' जस्ता उपशीर्षक राखेर भोगाइ बाँडेको छु।
रमाइलो छोरो भोजराजले संविधानसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकाजस्ता सुखद् अनुभूतिदेखि जेठो छोरो ऋषिको दुर्घटना (निधन) सम्मका दु:खद अनुभूतिलाई उनले पुस्तकमा समेटेका छन्। मैले झन्डै शताब्दीको यो भोगाइबाट जीवनको परिभाषा उब्जाएको छु, 'जिन्दगी दु:खैदु:खको पोको हो।'
पुस्तक विमोचन कार्यक्रममा पुग्ने धेरै अचम्मित भए, 'यो उमेरमा लेखक? कसरी सकेका होलान् साढे तीन सय पृष्ठको किताब लेख्‍न? कमलमणि दीक्षितले पनि धन्यवाद दिनुभयो, मेरो प्रयासको सराहना गर्नुभयो।
उहाँले भोजराजलाई ईमेल पठाएर 'आत्मकथालाई संस्मरणका रूपमा अत्यन्त सजीव ढंगले उतार्नुभएको रहेछ, मलाई उत्कृष्ट लाग्यो भनी बुबालाई भनिदिनु। मेरो श्रद्धापूर्वक ढोग उहाँलाई पुगोस्' भन्नुभएको रहेछ।
विमोचनपछि इतिहासविद् ज्ञानमणि नेपाल भेट्न आउनुभयो।करिब दुई घन्टा बसेर किताबबारे कुरा गर्नुभयो। पूर्वगृहसचिव शरद भट्टराई, डा. दामोदर पोखरेल, राधेश्याम भट्टराई, भैरव रिसाललगायतले भेट्न आउँछु भन्‍नुभएको छ।
मिति : २०७१ भदौ, ७ शनिबार
- See more at: http://annapurnapost.com/en/news/specialpage/12696/%E0%A5%AF%E0%A5%AD-%E0%A4%B5%E0%A4%B0%E0%A5%8D%E0%A4%B7%E0%A4%AE%E0%A4%BE-%E0%A4%AF%E0%A4%B8%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A4%A3-%E0%A4%B2%E0%A5%87%E0%A4%96%E0%A5%87%E0%A4%81.htm#sthash.TCFN6yO0.dpuf

No comments:

Post a Comment