गोपीकृष्ण ढुंगाना
फुर्तेम्बा शेर्पा |
नयाँ ठाउँहरू घुम्न कसलाई मन लाग्दैन र? तर, मन लाग्दैमा पनि सबैले त्यो सुनौलो अवसर कहाँ पाउँछन् र? देशविदेश घुम्न धेरै पढ्नुपर्छ भन्ने कतिपयको मान्यताविपरीत क, ख मात्र चिनेका फुर्तेम्बा शेर्पाले भने विश्व का विभिन्न ठाउँ घुम्ने मन गरे र पाए पनि त्यो सुनौलो अवसर।
पूर्वी नेपालको पहाडी जिल्ला संखुवासभाको मम्लिङ गाविस-७ मा जन्मेका उनी जब बिनायोजनै काठमाडौं आइपुगे तब उनले अलिकति भए पनि 'नेपाल' बुझ्न पाए। जनआन्दोलनताका राजधानी आएका उनलाई लाग्यो- शान्ति बचाई समग्र वातावरण जोगाउनुपर्छ।
र, यसका लागि विश्वभर सन्देश छर्नुपर्छ। सोही आमभावनाको प्रतिनिधित्व गर्दै साइकलमार्फत विश्व परिक्रमा गरिरहेका उनै फुर्तेम्बासँग अन्नपूर्णकर्मी गोपीकृष्ण ढुंगानाले गरेको कुराकानी :
अप्ठ्यारो भए पनि छोटै बाटो
लाइबेरियाको ससटाउनबाट ग्रिनभेल निस्कनुपर्ने थियो । यसअघिजस्तै यो ठाउँ पनि मेरो जीवनको पहिलो यात्रा नै थियो। यात्रा साइकलको भएकाले सजिलो दुई सय साठी किलोमिटरभन्दा केही अप्ठ्यारो सहेर छोटो एक सय साठी किलोमिटर नै रोजेँ।
लाइबेरियामा रहेका चिन्नेहरूले भनेका थिए, 'त्यो बाटो छोटो छ भनेर साइकलयात्रा नगर्नू, सुरक्षित छैन।' तर, मैले त्यसलाई गम्भीर ढंगले लिइनँ र पहाडी हावापानीमा हुर्किएको शेर्पाको छोरो त्यसमाथि छत्तीसवर्षे जोश अघि सार्दै 'डरअघिको जित'लाई मुठीमा लिन कस्सिएँ।
सन् २०१३ को अक्टोबर १। त्यो देशको नक्सामा हेर्दा ठूलो लागेपछि 'जे त होला' भन्दै साइकलमा हुइँकिएँ। खोलामा बगेँ। ठूलो बाटो क्रमश: कच्चीमा गएर टुंगिएपछि मेरो सातो गएको थियो। जंगलबीचका खोला र खोल्सामा डुंगा चलाउँदै तर्दै गर्न थालेँ।
ससटाउनबासीले पनि गाली गरे, बाटो छैन भनेर। एक ठाउँमा त मैले डुंगाको सहारा पाएँ तर अर्को डुंगामा चलाउने मान्छे नदेखेपछि अत्तालिएँ।
बगेर पनि बाँचेँ
नेपालीसँग सम्पर्क र भेट नभएको पाँच दिन भइसकेको थियो। डरलाग्दो त्यो जंगल पुग्दा थाहा पाएँ- मान्छेलाई भोग दिने चलन छ भनेर। चारपाँच दिनदेखि पानी परेकाले सानो खोला भए पनि बढेकाले तर्न समस्या हुने देखेँ। डुंगाचालक नभए पनि तर्नैपर्ने बाध्यताका अघि मेरो केही लागेन।
साइकल समातेर बीचमा पुग्दा घाँटीसम्म आएको पानीले बगाइहाल्यो। झन्डै तीन मिनेट बगेँ। त्यो बेला घरपरिवार र नेपाल सम्झेँ, मेरा दिन यहीँ सकिने भए भन्ने भयो। काल नआएसम्म मरिन्न भनेझैं साइकलले डुब्न दिएन। संजोगले रूखमा अल्झिन पुगेँ। अल्झिएको सात मिनेटमै एक स्थानीयवासी आए। तर, सहयोग गर्नुको सट्टा बचाउँदा सय डलर चाहिन्छ भन्दै बार्गेनिङ गर्न थाले।
मसँग त्यति बेला सय डलर पनि थिएन। त्यहाँबाट चार सय मिटर बगाएको भए समुद्रमा मिल्थेँ होला। जीवनमरणको दोसाँधमा रहे पनि साहस देखाएँ, 'मैले तेरो देशमा पाँच हजारसँग भेटिसकेको छु, सबै असल थिए तर तैले जीवनसँग बार्गेनिङ गरिस्।
ठिक छ पहिले निकाल त्यसपछि कुरा मिलाऊँला।' लट्ठी गाड्दै त्यो बिरानो मुलुकको बिरानो मानिसले मलाई पारि पु:याइदियो। त्यसपछि बीस डलर दिएर बिदा भएँ।
अंगुरले अलमल्याएपछि
क्यामरुनबाट नाइजेरिया छिरेँ। सबैजसो देशमा प्रवेश गर्दा म सर्वप्रथम नक्सा खोज्छु, दोस्रो काम हुन्छ कुन पैसा चल्छ त्यो साट्ने। अनि भाषामा आफूलाई केन्द्रित गरेपछि चौथो त्यहाँको सन्दर्भ र घटनाका वस्तुस्थिति बुझ्छु। सन् २०१३ को जुन २९ मा मैले पैसा साटेँ। अनि लागेँ आफ्नो बाटो।
तेस्रो दिन एउटा उकालो सडकमा टेलरसहितको साइकल सधैंझैं पेलिरहेको थिएँ। 'हे मिस्टर शेर्पा, हाउ आर यु? यु नो मी?', कसैले परिचित आवाजले बोलायो। यसो हेर्दा तीन दिनअघि पैसा साट्ने क्रममा छेउमा उभिएको मान्छे देखेपछि मलाई पनि कोही चिनेको भेट्दा खुसी लाग्यो।
हेर्दै जाँदा चार गोर्खालीको चिहान भेटेँ। बिरानो देशमा नेपालीका चिहान देखिपछपि भावविह्वल भएँ। ती नेपालीका परिवारले सायद अझैसम्म पनि आफन्तको लास वा गाडेको ठाउँ देख्न पाएका छैनन् होला भन्ने लाग्यो।
बिल्कुल नयाँ ठाउँमा यात्रामा भेटिँदा मलाई सबै नजिकका लाग्थे। कुरा गर्दै केही बेर सँगै हिँड्यौं।
खाँदै हिँड्ने चलन नौलो थिएन त्यहाँ। साथीसँग आएको त्यो मानिसले स्वाभाविक रूपमा अंगुरजस्तै लाग्ने खानेकुरो खाँदै मलाई पनि खाने भनी हात लम्कायो। मित्रवत् व्यवहारका अघि नाइँनास्ती गर्ने कुरै भएन। खाएको दुई मिनेटमै होश पाउन छोडेँ।
र्धहोशमा उसले 'ह्वेर इज योर डलर?' भनेको थाहा छ, केही बेरपछि होशमा आउँदा चार सय डलर, थुप्रै देशका फोटा खिचेको क्यामेराको मेमोरी, रेकर्डरहरू लगेछ, साइकलका पाँचवटा चक्काको हावा फुस्काइदिएछ।
गोर्खाली सहिदको माटो नेपालमा
म जुन देश पुग्छु, त्यहाँ नेपालीको अवस्था बुझ्नु उत्सुकताको विषय हुन्छ। कति संख्यामा आएका छन्, कसरी बसेका छन्, के काम गर्छन्, त्यो देशमा कति र कस्तो प्रभाव छोड्न सकेका छन् आदि। इजिप्टबाट अफ्रिका प्रवेश गरेपछि मैले दोस्रो विश्वयुद्धका सहिदहरू गाडिएको एल एलामेइन वार सेमेट्री इजिप्ट घुम्ने अवसर पाएँ।
सेमेट्रीमा सात हजार दुई सय चालीस जना सहिदलाई गाडिएको कुराले म अर्कै दुनियाँमा पुगेँ। घुम्दै हेर्दै जाँदा त्यो ठाउँमा चारजना गोर्खालीको चिहान भेटेँ। त्यत्रा हजारौं चिहानले खासै नछोएको मेरो मन चारवटा नेपाली पनि भएको देखेपछि भावविह्वल भएँ।
घर छाडेर अर्काको देशका लागि युद्ध गरेका ती नेपालीको परिवारले सायद अझैसम्म पनि आफन्तको लास वा गाडेको ठाउँसम्म देख्न पाएको छैन होला भन्ने लाग्यो।
त्यसपछि मैले सन् १९४२ मा सहिद भएका मानबहादुर थापा, रत्न पुन, मंगलसिंह थापा र वीरधन रानामगरलाई गाडिएको स्थानबाट माटो निकालेँ र संकल्प गरेँ- माटोलाई नेपालको पशुपतिनाथस्थित बाग्मती पुर्याएर बगाउने। कुरा फेरियो, सल्लाहअनुसार नेपालमा रहेका जातअनुसारक ा समुदायका संघसंस्थालाई तीन वर्षअघि माटो पठाइदिएँ।
सडकको सुताइ
संखुवासभाको मम्लिङ गाविस-७ मा ३ कक्षासम्ममात्र पढे। तर, देशविदेश घुम्ने अवसर धेरै पढेका र सरकारी उच्च ओहोदामा पुगेका कर्मचारीभन्दा बढी पाएँ। किसान परिवारमा जन्मेको मेरा तीन भाइ र दुई दिदी छन्। जे होस् फरक दुनियाँमा रमाउने अवसर पाएँ। यसका लागि कष्ट उठाउने साहस पनि जुटाउनु परेको छ।
पूर्वी पहाडको त्यो कुनामा जन्मिएको मलाई गाडी हेर्ने रहर जाग्यो। भागेर हिँड्दै धरान झरेँ। बाह्र रुपैयाँ बोकेर हिँडेको मेरो पैसा बाटैमा सकियो। हिले तल पाख्रीबासमा चार महिना काम गरेर एक सय बीस कमाएँ। अनि धरान झरेँ, लहैलहैमा काठमाडौं आउने बस चढेर राजधानी हानिएँ।
त्यो बेला नेपाल भन्थे बूढापाका, नेपाल हेर्ने रहर थपिएपछि गाडी चढेर आएँ। त्यति बेला बाह्र वर्षको मैले झन्डै चार महिना काठमाडौंका सडकमा बिताएँ, कहिले खाएँ कहिले रोएरै रात बिताएँ। जाडो, गर्मी, घाम, पानी सबै पचाएँ।
काठमाडौं ओर्लिंदा २०४६ सालको जनआन्दोलन चलिरहेको हुनुपर्छ, दिमागको कुनामा यस्तै घटना घुमिरहन्छ अहिले पनि। पछि मान्छे चिन्दै गएपछि काम पाएँ। त्यही सिलसिलामा साइकल सिकेँ। 'सामाखुसी काठमाडौंमा मैले पहिलोपटक साइकल सिकेर चलाउने मौका पाएको हुँ।
होटलमा काम गर्थें। त्यही बेलाबाट साइकल मेरो जीवनको अपरिहार्य अंग नै बन्न पुग्यो। ठमेलमा कपडा पसल थियो, दुई छोरीको बाबु बनिसकेको थिएँ तर जनआन्दोलनले थुप्रै मानिस मरेका थिए। मलाई बुद्धको देशमा युद्ध पचेन।
युद्धलाई रोक्ने कुनै नेपालीको ताकत थिएन। नेपालमा जे भए पनि विश्वभर बुद्धको शान्ति सन्देश त बाँड्न सक्छु। प्रदूषणमात्र होइन, समग्र वातावरण राम्रो नभएसम्म शान्ति पनि स्थायित्व हुन्न भन्ने मनन भएपछि स्वच्छ वातावरण र शान्तिको कामना गर्दै विश्व साइकल यात्रा गर्ने सोच लिएर २०६० पुस ११ गते नेपाल छोडेँ।
नयाँ देशका दिनैपिच्छे पुगिने नयाँ ठाउँमा भनेजस्तो हुने कुरै भएन। वर्षौंको यात्रामा सधैं होटल वा लज सम्भव हुने कुरै भएन। सडकमै सत्नुपर्ने बाध्यतासँगै रातभर डर थपिँदा कति पीडा भयो होला? अझ दिनभर उकालोओरालो वा समथरमै पनि साइकलका पाइडल मार्दाको थकान मेट्न नपाउनु कति असहज हुन्छ होला? त्यो सबै भोगेँ मैले।
स्वदेशमा पनि सडकमै थिएँ, विदेशमा पनि सडकमै। कसैले समान चोर्ला कि वा केही गर्ला कि भन्ने डरले थाके पनि मध्यरातमा निद्रा खुल्थ्यो। तर, स्वदेशको सडकको चार महिनाले जीवनमा धेरै कुरा सिकाएछ।
४६ देश
साइकलमा संसार घुम्नु कम चुनौतीपूर्ण थिएन मेरासामु। तर, 'तँ चिता म पुर् याउँछु' भन्ने मूलमन्त्र साक्षी राखेर म हुइँकिइरहेँ, निरन्तर अघि बढिरहेँ। दस वर्ष पूरा भएछ आज, साइकलबाटै संसारका सय देश घुमिसकेँ। दैनिक यात्रामा नक्साअनुसार हिँडेको किलोमिटर नाप्दै राखेको रेकर्ड जोड्दा आजसम्म एक लाख एक हजार चार सय तेह्र किलोमिटर दौडिसकेको छु।
पहिलो पाँच वर्षमा स्वदेश फर्किंदा ४६ देश घुमिसकेको थिएँ। पाँच महिनापछि पुन: विश्वभ्रमणमा हिँडे। अर्को साढे पाँचवर्षे यात्रामा ५४ देश घुमेर गत चैतमा नेपाल आएँ। अब ५१ देश घुम्ने योजना छ। सोचेजस्तो भयो भने सन् २०२० सम्ममा सकिन्छ।
अफ्रिकाका २९ देश ३० महिना लगाएर घुम्दा सो अवधिमा ४२ दिन भोकै परेको तीतो अनुभव पनि छ मसँग। साइकल चोरी भएर अहिले सातौं साइकल किन्नु परेको छ। धन्य सहयोग गर्ने हात पनि सँगै छन्। यात्राका क्रममा नेपालका राष्ट्रपति डा. रामवरण यादव, अस्ट्रेलियाका राष्ट्रपति, लाइबेरियाका उपराष्ट्रपति, सबै सय देशका भिन्न नगरका मेयरलाई भेटी शान्ति, वातावरण र यात्राबारे जानकारी गराइरहेँ।
सर्वोच्च शिखर सगरमाथाको पोस्टरसमेत उपहार दिने गरेको छु, आजसम्म आफ्नो साइकलको टेलरमा एक सयवटा झन्डा फहराउन पाउनु मेरा लागि गर्वको कुरा हो।
फाउन्डेसन बनाएर सहयोग
फुर्तेम्बा शेर्पा फाउन्डेसन बनाएर अपांग सरोकार केन्द्र बालाजुलाई दुइटा ह्विलचेयर र खाद्यान्न वितरण गरेको छु। फाउन्डेसनको गिभिङ द गिफ्ट अफ मोबिलिटी कार्यक्रममार्फत अपांग तथा बौद्धिक क्षमता कम भएका बालबालिकाका लागि काम गर्ने आत्रा बाल विकास केन्द्रलाई १० वटा ह्विलचेयर प्रदान गर्ने काम भइसकेको छ।
कुष्ठरोगका कारण अपांग भएका व्यक्तिका लागि काम गर्ने आनन्दवन अस्पताललाई २२ वटा ह्विलचियर दिइएको छ। गत असार १५ मा बन्दीपुर परिवार फिन्ल्यान्ड र ह्विलचेयर वितरणलगायतको सामाजिक कार्यक्रमका लागि मैले आफ्नो साइकल यात्राका क्रममा संकलन भएको आर्थिक सहयोगको केही अंश छुट्ट्याएको छु।
अन्य सहयोग हालसम्म अफ्रिका र अमेरिकामा रहेका नेपाली र केही विदेशीले दिएको रकमबाट भएको छ।
मिति : २०७१ भदौ,१५ आइतबार
- See more at: http://annapurnapost.com/en/news/specialpage/13065
No comments:
Post a Comment