गोपीकृष्ण ढुंगाना
0
0

एक दिन राष्ट्रकवि माधव घिमिरे स्वरसम्राट्
नारायणगोपाललाई भेट्न सांस्कृतिक संस्थान पुगे। नारायणगोपालले सबै कुरा सुनेपछि
भने, 'हुन्छ, तर स्वीकृति दिनुभन्दा पहिले म मालती मंगलेको अभ्यास (रिहर्सल) को
क्यासेट सुनौं।'
यसरी मालती मंगले नाटकमा नारायणगोपालले स्वर
दिएका थिए। जसमा अमर गुरुङले संगीत सिर्जना गरेका थिए। यो नाटक यति चल्यो कि
घिमिरेले कल्पना नै गरेका थिएनन्। प्रज्ञा प्रतिष्ठानमा मात्र ६ महिनासम्म चलेको
थियो। त्यो पनि 'हाउसफुल' भएर। पछि हङकङ र अमेरिकामा पनि चल्यो।
त्यस्तै २०४२ सालतिरको कुरो हो यो। 'मेरा लागि यो
सौभाग्य हो, मैले आफ्नो गीतिनाटक मालती मंगलेका निम्ति अमर गुरुङ र
नारायणगोपालजस्ता प्रख्यात संगीतकार र गायक भेट्टाएँ', घिमिरे स्मरण गर्छन्,
'नारायणगोपाल एउटा स्वाभिमानी कलाकार हुन्।
उनी कसैको अघि झुक्दैनथे। स्वाभावकै कारण कसैले
मन नपराउँलान् तर यस्ता स्वाभिमानी कलाकार मजस्ता साहित्यकारलाई प्राप्ति हुनुले
यस्तो सौभाग्य मिलेको हो।'
...
एक दिनको प्रसंग हो। माधवले नारायणगोपाललाई फोन
गरे। तर फोन पत्नीले उठाइन्। माधवले भने, 'नारायणगोपाललाई पाऊँ न।' उताबाट जवाफ
आयो, 'नारायणजी त तपाईंकै गीतको त्यो मस्र्याङ्दी र दरौंदी भेट भएको ठाउँ जानुभएको
छ। भन्दै हुनुहुन्थ्यो, गाउनुअघि त्यो ठाउँ कस्तो रहेछ भनेर जिज्ञासा
मेटाउँछु।'
माधव पनि मालतीमंगले गीतिनाटक त्यसै उत्कृष्ट
भएको होइन भन्छन्। 'उनी संगीतको साधना पनि निरन्तर गरिरहन्थे', माधव भन्छन्,
'रेडियो नेपालमा जाँदा पनि कयौंपटक वाद्यवादन तयार भएर पनि अहिले म गाउँदिनँ भनेर
उनी छोडेर हिँडेका छन्। मेरै मालती मंगलेमा पनि पहिले संगीत सिर्जना गराएर ल्याउनु
अनिमात्र म यसमा गाउँछु भनेका थिए।'
...
संगीतकार अमर गुरुङ र नारायणगोपालको पहिले मिलन
गाढा थियो। उनीहरूले मीतसमेत लगाएका थिए। तर दिन सधैं आफ्नो नियन्त्रणमा हुँदैन
भनेझैं दुईबीच मतान्तर भयो। आफूसँग काम गर्ने दुवैको बोलचाल बन्द हुनुले घिमिरेलाई
पनि मजा भएन।
'यसले धेरैतिर ठूलो असर पुग्छ भन्ठानेर मैले
मिलाउने प्रयत्न गरेँ', उनी स्मरण गर्छन्, 'ती दुवैलाई मिलाउन सफल भएँ। सायद त्यसकै
मीठो संगम हुनुपर्छ, मालती मंगले अझै अमर छ। जहाँ उनको स्वर कालजयी बनेर बसेको छ।'
मालती मंगलेमा नारायणगोपालले नायकको भूमिकामा स्वर दिएका छन्। वसन्त श्रेष्ठले
गीतमा प्राण भर्दै नृत्यको सिर्जना गरे। तर घिमिरेलाई नारायणसँगको पहिलो भेट सम्झना
छैन।
९६ वर्षीय माधव भन्छन्, 'तर उनले आजै र राति के
देखेँ सपना मै मरी गएको... बोलको गीत गाएका छन्। यो सामान्य भेट होइन। एउटा
साहित्यकारको अर्को गतिलो कलाकारसँगको हदयस्पर्शी र अविस्मरणीय भेटलाई मैले पनि
मनभरि सँगालिरहेको छु।'
गीत गाउनकै निम्ति लेखिन्छ। त्यसै हुनाले त्यो
गीतमा तीनैथरीको योगदान उत्तिकै रह्यो। सायद नातिकाजीको संगीत नभएको भए पनि यति
लोकप्रिय हुने थिएन कि? घिमिरे प्रश्न तेस्र्याउँछन्। घिमिरेको गीत लेखनबारे
नातिकाजीले भनेका रहेछन्, 'घिमिरेका गीतहरू पढ्नासाथै त्यसमा संगीतको स्फुरण पनि
हुन्छ। यता उति तानतुन गर्नै पर्दैन।'
...
घिमिरे भन्छन्, 'मेरो गीत राम्रो हुनाले जसले पनि
संगीत हाने राम्रो हुन्छ भन्ने होइन तर नातिकाजीले सिर्जना गरेका संगीतहरूले मेरा
गीतका भावहरू अझ स्पष्ट बनाउने खालका छन्।'
उनका अनुसार, गीतकारले सानो बिन्दुमा भावलाई भेटे
पनि त्यसलाई फैलाउँदै जान्छ र त्यसले गर्दा त्यो केन्द्रबिन्दुमा रहेको भाव ओझेलमा
रहन पनि सक्छ जसले संगीतकारलाई झन् गीतको उल्टो भावमा बरालिदिन सक्छ। तर नातिकाजीले
सिर्जना गरेका संगीतले आफ्ना गीतलाई ठीक मात्रामा समातेर हदयस्पर्शी बनाएको उनी
तर्क गर्छन्।
नारायणगोपाल नेपाली आधुनिक गीतका गायकहरूमा
सबैभन्दा जनप्रिय र प्रसिद्ध रहेको घिमिरेको ठम्याइँ छ। यसमा उनका बुबाको
सितारवादनको शास्त्रीय सुरले उनलाई प्रभावित पारेको माधवको बुझाइ छ।
'बाल्यकालदेखि नै बुबाबाट प्रभावित भएका रहेछन्',
उनी थप्छन्, 'आधुनिक संगीत पूर्व र पश्चिम दुवैथरीले पनि उनलाई प्रभावित पारेको
पाएको छु। यी तिनै संगीतका कारण मौलिक स्वर बनाउन, गायनमा जम्न र पृथक् पहिचान
पस्किन सकेका हुन्।'
२०७१ मङ्शिर २० शनिबार
No comments:
Post a Comment