Saturday, February 15, 2014

पानी पीडा



गीता।

काठमाडौं : काठमाडौं उपत्यका खानेपानी लिमिटेडले उपभोक्ताहरूको धारामा सात वर्षदेखि खानेपानी वितरण गर्न सकेको छैन। धारा जडान गरे पनि पानी उपलब्ध नहुँदा उनीहरू इनार र ट्यांकर प्रयोग गर्न बाध्य छन्। एक थोपो पानी नआए पनि उनीहरू महिनैपिच्छे रकम तिर्न भने बाध्य छन्।
भक्तपुरको गठ्ठाघरस्थित भद्रकाली मार्गनिवासी पृथ्वीराज श्रेष्ठको घरमा धारा जोडेदेखि कुनै दिन पर्याप्त पानी आएको छैन। सात वर्षदेखि उनको घरमा भाडामा बस्दै आएका लक्ष्मण खनाल भन्छन्, ‘म यो घरमा डेरा बसेको सात वर्ष भयो। आजसम्म कुनै दिन धाराको पानी खान पाएको थाहा छैन। त्यसअघि फाट्टफुट्ट आउँथ्यो रे।’
उनकी पत्नी गीता पानी नहुँदा पिउन, नुहाउन र कपडा धुन सधैं समस्या पर्ने बताउँछिन्। उनी भन्छिन्, ‘टोलबासी डेलिगेसन जाँदा म पनि गएकी छु। आश्वासनमात्र पाइन्छ, पानी होइन। खानेपानी लिमिटेड कहिले पानीको दबाब नपुगेर भन्छ कहिले मेसिन बिग्रिएर भन्छ त कहिले पाइप फेर्नुपर्छ भन्छ।’
सोही मार्गमा ६ वर्षदेखि बस्दै आएकी उर्मिला तिम्सिना पनि घर किनेर बसेदेखि पानीको मुख कहिल्यै देख्न नपाएको बताउँछिन्।
पानी अभावकै कारण केही वर्षदेखि घरको एक तला भाडामा लगाउन पाएकी छैनन्। पिउन जारको पानी प्रयोग गर्ने उनी थप्छिन्, ‘एक बोरा चामल किन्यो भने महिनाभर पुग्छ तर एक ट्यांकर पानी किन्दा एक साता पनि पुग्दैन। कसरी भाडामा लगाउने?’
भद्रकालीमा श्रेष्ठ र तिम्सिनामात्र होइन, झन्डै ३० घरका बासिन्दा यसरी नै बर्सौंदेखि खानेपानीको अभावमा तड्पिरहेका छन्। सोही मार्गका भूपेन्द्र गिरी बर्सेनि पटकपटक गरी सयौंपटक डेलिगेसन गएको बताउँछन्।
सोल्टी होटेलबाट सेवानिवृत्त उनले भने, ‘भन्नु र नभन्नुमा कुनै फरक छैन। पानी नै नआउने भए हामी भन्न जाने समय नाश पार्ने थिएनौं। पानी खोल्नेले केही फन्का घुमाइदिए आउँछ।’ उनी थप्छन्, ‘पानी आएन, पाइप निकालिदिनु भन्दा हुन्छ भन्छन्। न पाइप निकाल्छन्, न त पानी नै दिन्छन्।’
गठ्ठाघरकै सरस्वतीनगर मार्गका बद्री कार्की केही घर पर पानी आउँदा भाँडा बोकेर दौडने गरेका छन्। उनी भन्छन्, ‘हामी एक दर्जन घरका बासिन्दा यसरी नै दौडन बाध्य छौं। झुक्किएर डेढदुई महिनामा अलिकति आउँछ। बाँकी दिनमा कुनै छिमेकीकोमा आए पानीका लागि प्रयास गर्नुपर्छ।’
छिमेकमा पानी आउँदा मोटर लगाएपछि आफूकहाँ पानी नआउने उनी बताउँछन्।
ललितपुर नखिपोटकी रमाइलो टोलनिवासी करुणा राई पनि सरकारले वितरण गर्ने खानेपानीका कारण दिक्क छिन्। बेलाबेलामा आउने पानीले मात्र उनलाई दु:खी बनाएको होइन, पानी आएको समय पनि लोडसेडिङ भइदिँदा दिक्क भएकी छन्।
उनी भन्छिन्, ‘पानीकै कारण घर हुने छिमेकी तनाउमा छन्। अझ पानीकै कारण घर भाडामा लगाउन नपाउनेहरूको पीडा त के भन्नु?’ पानीको भरपर्दो स्रोत नहुँदा अधिकांश नखिपोटवासी जार र ट्यांकरको पानी किन्न बाध्य छन्।
करुणा भन्छिन्, ‘लुगा धुन र नुहाउन इनारको पानी प्रयोग गर्छौं। त्यो पनि केही महिनामात्र आउँछ अनि ट्यांकर नगुहारे कामै ठप्प हुन्छ।’
काठमाडौं कोटेश्वरनिवासी मीना खड्काले धारामा पानी आउने समस्या र आएको पानी पनि तैरिँदा लेउ लाग्ने र कीटाणुसमेत आउने भएपछि धारा नै जोडेकी छैनन्।
एक वर्षअघि घर बनाएकी मीना भन्छिन्, ‘काठमाडौं राजधानी भनेर के गर्नु? छरछिमेक, आफन्त र चिनेजानेका धेरैका मुखबाट खानेपानीका थुप्रै कथा सुनेकी थिएँ। आफूले घर बनाएपछि त्यो समस्या बेहोर्नुपर्छ भन्ने लागेको थियो, त्यस्तै भएको छ।’
 उनी धारा जोड्नुभन्दा इनार खनेर र जार किनेर पानीको समस्याबाट केही राहत पाएको बताउँछिन्।
भक्तपुरस्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेड ठिमीका सहायकनिरीक्षक प्रेमराज त्रिपाठी पहिले बस्ती पातलो हुँदा पानी पर्याप्त हुने गरेको तर बर्सौं बित्दा पनि पानीको पाइप एउटै भएकाले समस्या थपिएको बताउँछन्।
उनी भन्छन्, ‘घर थपिएको थपियै छन्। त्यही चार वा दुई इन्चको पाइपबाट पानी बाँड्दै लैजानुपर्छ अनि कसरी पुग्छ?’ उनी पानी खोल्ने ठाउँबाट मोटरले पानी तान्दै जाँदा केही परका घरमा नपुग्ने गरेको बताउँछन्। उनी भन्छन्, ‘ठूला पाइप नफेरेसम्म बर्सौं पानी नआउने घरहरूमा पानी आउन त सम्भव नै छैन।’
उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ बर्सौंसम्म पानी नआउँदा पनि उपभोक्ताले सहेर बसेका कारण यस्तो भएको बताउँछन्। अन्य देशका सहरबासी भए विद्रोह गरिसक्ने उनको भनाइ छ।
उनी भन्छन्, ‘पानी वितरण गर्ने सबै निकायको चरम लापरबाहीले पनि राजधानीवासी काकाकुल बनेका छन्। विद्रोह नगरी अधिकार पाइँदैन भन्ने चेतना सबैमा आए सरकार माग पूरा गर्न बाध्य हुनेछ।’
लिमिटेडका प्रवक्ता मिलन शाक्य पानी आउँदै नआएका बस्तीमा आलोपालो मिलाएर वितरण गर्न सम्बन्धित सबै कार्यालयलाई निर्देशन दिएको बताउँछन्। उनी भन्छन्, ‘आइरनका कारण बन्द हुन लागेका पाइप वास गरिरहेका छौं।’


लाखौं लिटर पानी डम्पिङ छ

मदनकृष्ण श्रेष्ठ
मदनकृष्ण श्रेष्ठ
मदनकृष्ण श्रेष्ठ, पूर्वप्रमुख, मध्यपुरठिमी नगरपालिका
बोडे खानेपानी आयोजनाबाट उत्पादित पानी मिनरल वाटरभन्दा कम गुणस्तर छैन भनेर प्रमाणित भएको छ।
विश्व ब्यांकको सहयोगमा मनोहरा नदीकिनार र नीलबाराही जंगलको बीचमा डग वेल निर्माण गरेर ४८ लाख लिटर पानी उत्पादन गरेपछि यसअघिका चारवटा इनार (वेल) बाट उत्पादन हुने ६ लाख आइरनयुक्त पानी पनि क्रमश: सफा भयो। त्यसपछि २०५८ सालमा जाइका परियोजनाले प्रतिदिन दुई करोड लिटर पानी उत्पादन गर्‍यो।
काठमाडौंका मीनभवन र अनामनगरमा ट्यांकी बनाएर वितरण सुरु गरियो। अहिले ठिमी नगरका बासिन्दालाई १० लाख र भक्तपुरवासीलाई १० लाख लिटर पानीमात्र वितरण गरिएको छ।
ट्यांकी सानो भएर सीमित पानी वितरण भएको हो। साथै सुरुमा ६ लाख लिटर पानीसँगै उच्च आइरन उत्पादन हुँदा धेरै पाइप आधाभन्दा बढी ब्लक छन्। आठ इन्च पाइप चार र चारका दुई इन्चमा सीमित भएका छन्। घर भने थपिइरहेका छन्।
पाइपकै कारण भक्तपुरका दुई सहरमा पानी वितरण हुन नसकेको हो। काठमाडौंमा एक करोड २० लाख र भक्तपुरमा २० लाख लिटर पानी वितरण गरेपछि उत्पादन हुने करिब ६० लाख लिटर पानी दैनिक खेर गइरहेको छ। त्यसलाई मात्रै वितरण गर्न सके भक्तपुरवासी पानीको समस्याबाट मुक्त हुनेछन्।
२०१६ सालमा बिछ्याइएको पाइप फेर्न एसियाली विकास ब्यांकमार्फत काम गर्ने गरी काठमाडौं उपत्यका खानेपानी लिमिटेडले एक महिनाभित्र ठेक्का दिने र एकदेखि डेढ वर्षभित्र पाइप फेर्ने कामको थालनी हुँदैछ।
     
मिति : २०७० फागुन ३, शनिबार

No comments:

Post a Comment