Sunday, February 23, 2014

नेपाल के लेखिरहेछ ?



कुमार नगरकोटी
कुमार नगरकोटी
'कोमा' मा पुगेको मानिसको दिमागमा के कुरा खेल्दो हो? यो पनि व्यक्तिपिच्छे फरक पर्न सक्ला। तर 'फोसिल' लेखिसकेका कुमार नगरकोटीको दिमागमा भने विभिन्न तरंग उब्जिएका छन्। उनले 'कोमा' मा पुगेको मानिसको दिमागी तरंगलाई विसंगतिमूलक प्रयोगवादी नाटकमार्फत अनेक चरित्र उमारेका छन्। मञ्चन हुन लागेको पछिल्लो आफ्नो कृतिबारे उनी भन्छन्, 'एउटा लेखक कोमामा पुगेपछि उसले अनेक अनौठा चरित्रहरू दिमागमा ल्याउँछ। नेता, माझी आदि।'
कल्पनाशीलताका धनी नगरकोटी आफ्ना कृतिबाट पाठकले के सन्देश पाउँछन् त्यसको पछि लाग्दैनन्। टर्कीका लेखक ओर्हन पमुकको निबन्धात्मक कृति 'अदर कलर्स' पढिरहेका उनी भन्छन्, 'पाठक कसरी के लिने भन्नेमा स्वतन्त्र हुनुपर्छ। उसले जसरी ग्रहण गर्छ त्यो नै लेखक र पाठकबीचको सम्बन्ध हो।'
झमक घिमिरे
झमक घिमिरे
सबै मानिस कोमामै पुग्नु पर्दैन, जुनसुकै अवस्थामा रहेकाले पनि आफ्ना अनुभूति र भोगाइलाई बाँड्न सक्छन्। शारीरिक रूपमा अशक्त नारी हस्ताक्षर झमक घिमिरे त अझ मोफसलमा छन्। तर उनको कलमको गति 'राजधानी एक्सप्रेस' भन्दा कम छैन। 'जीवन काँडा कि फूल' लेखेर मदन पुरस्कार पाएकी घिमिरेले यतिबेला दैनिक अनुभूति र भोगाइलाई समेटेर 'झमकको डायरी' निकाल्न लागेकी छन्।
प्रकाशनको तयारीमा रहेको शब्दहार क्रिएसन्सका प्रबन्धनिर्देशक रमेश कँडेल भन्छन्, 'एउटा अशक्त मान्छेले जीवन कसरी बाँच्छ र कस्तो अनुभूत गर्छ भन्ने विषयमा कृति केन्द्रित छ। समग्रमा यसले जीवनलाई मार्गदर्शन गर्नेछ।' धनकुटाकी घिमिरेले नयाँ कृतिमा जीवनलाई कसरी रचनात्मक बनाउने भन्ने उपाय पाठकलाई दिएकी छन्। अर्को अर्थमा, अपांगता भएकाले गरेका काम पनि सपांग भएर पनि किन गर्न सक्दैनौं? भन्ने भावना जागृत हुने कँडेलको भनाइ छ।
प्रतीक ढकाल
प्रतीक ढकाल
'हिमाल पारि पुगेपछि' नामको नियात्रा कृतिबाट साहित्याकाशमा आफ्नो छाप छोड्न सफल प्रतीक ढकालले फेरि पनि नियात्राकै कृति तयार पारेका छन्। नवौं कृतिका रूपमा उनले 'आनन्द भूमिको आँगनमा' शीर्षकमा नेपालकै वर्णन गरेका छन्। भन्छन्, 'सुन्दर मुलुकको दुर्गम क्षेत्रका नेपाली छेवैको हाँसिरहेको हिमाल हेरेर आफ्ना दु:खका पोकाहरू मनमै गुम्स्याएर मुस्कुराइरहेका सन्दर्भ समेटेको छु।'
सीमान्त भूमि मानिने कञ्चनपुरका कुनो बीचफाँटा होस् वा महाकाली पारिका गाविस भनिने चाँदनी र दोधार हुन्, तिनका प्रत्येक वडाका कहालीलाग्दा कथा ढकालले समेटेका छन्। स्वामी आनन्द अरुणका कृतिहरू 'अन्तरयात्रा', 'सन्त गाथा' र 'सन्त दर्शन' को अध्ययन गरिरहेका उनी थप्छन्, 'यो कृतिमा हिमालतिर, लेकतिर र छेउकुनातिर गरी तीन खण्ड छन्।'
अमर न्यौपाने
अमर न्यौपाने
'सेतो धरती' उपन्यासका सर्जक अमर न्यौपाने यति बेला फरक स्वादको कृतिको तयारीमा छन्। पात्र उही समाजको हो। सेतो धरतीमा बालविधवाका पीडा पोखेर पाठकको मन जितेका उनले अहिले भने एउटा बालपात्र पक्रिएका छन्। उनले यसमा प्रेमप्रसंगभन्दा पनि विद्यार्थी भन्ने हरेक बाल मानसिकताको समग्र र सार्वभौम कथालाई उपन्यासमा उनेका छन्।
सुरेश प्राञ्जलीको जनयुद्धको सेरोफेरोसम्बन्धी उपन्यास 'तुइन' पढिरहेका उनी भन्छन्, 'नेपालको शिक्षा प्रणाली एउटा विद्यार्थीभित्र के छ भनेर निकाल्दैन, खोजी गर्दैन। बरु अरूका दिमागमा भएका कुरालाई थोपर्छ र केही घन्टामा वर्षभरि लादिएका कुराको मूल्यांकन गर्छ। यसकै सेरोफेरोमा नयाँ कृति जन्मँदैछ।'
मनु मञ्जिल
मनु मञ्जिल
मोफसलमै रहेर सबैको मन जित्न सफल मनु मञ्जिल पनि न्यौपानेजस्तै कृतिको न्वारान गर्न सकिरहेका छैनन्। कविताले नै चिनिएका 'ल्याम्हपोस्टबाट खसेको जून' का कवि उनी अहिले भने निबन्धतिर लम्केका छन्। तर उनी पाठकलाई निबन्धमा पनि कविताको स्वाद दिने नयाँ उपाय रच्दैछन्। अझ 'बोनस' का रूपमा पाठकले निबन्धमा कथाका तत्त्व पनि समेट्नेछन्। सुनसरी इटहरीका उनी भन्छन्, 'पाठक निबन्धमा कविता र कथासमेत स्पर्श गर्न खोजिरहेछ। म चाहिरहेछु, यी निबन्धमा भाषामा छुट्टै चमक होस्।'
प्राडा लोकराज बरालको 'रोमाञ्चित जीवन' अध्ययनरत उनले भूपि शेरचन, महाकवि लक्ष्मीप्रसाद देवकोटा र गोपालप्रसाद रिमाललाई निबन्धमा उनेका छन्। जनयुद्धका कोमल मानवीय चोटदेखि जीवनका निजी दृष्टिकोण अनि आध्यात्मिकका साथै बाहिरी जगत्मा समेत निबन्धमार्फत उनी घोत्लिएका छन्। थप्छन्, 'म कृति निकाल्ने हतारोमा छैन, लेख्ने र पटकपटक सम्पादन गर्ने हतारो भने धेरै छ।'
कृष्ण धारावासी
कृष्ण धारावासी
'आधा बाटो' पछि 'पाण्डुलिपि', त्यसपछि 'गेस्टापो' निकालेर थोरै समयमा अर्को कृति दिन हतारिएका लेखक भने कृष्ण धरावासी हुन्। कृति लेखनको अन्तिम चरणमा पुगेका उनले भने यात्रा संस्मरणको कृतिको न्वारान गर्न भ्याइसके, 'कागजको फूल'। आफ्नो काम लेख्नेमात्रै भएको बताउने उनी भन्छन्, 'जर्मन, फ्रान्स, लक्जमवर्ग र ब्रसेल्स आदि देश घुमेपछि गेस्टापो उपन्यास लेखेको थिएँ, तिनै देश घुम्दाको संस्मरण हो कागजको फूल।'
आधा बाटोको पूर्ण रूप पाण्डुलिपि र गेस्टापोकै बाँकी सन्दर्भ कागजको फूल भएकाले पनि उनलाई लेख्न समय नलागेको हो। मनुजस्तै फरक स्वाद दिएका छन् धरावासीले पनि, यात्रा संस्मरणमा उपन्यासको स्वाद। मनीषा गौचनको 'ह्वाइट केन' को स्वाद लिइरहेका उनी थप्छन्, 'आख्यानात्मक स्वादमा स्वदेशको अन्य देशसँग तुलनात्मक अध्ययन कृतिमा हुनेछ। राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक पक्षका साथै विकास र जातीयताका विषयलाई स्वतस्फूर्त रूपमा तुलना गर्न पुगेको छु।'
तुलसी दिवस
तुलसी दिवस
कवितामै पकड जमाएका तुलसी दिवसले भने फेरि पनि कविताकै कृति निकाल्ने भएका छन्। बारम्बार कार्यक्रमहरूमा वाचन गरेका बाघचाल, अवतार दर्शनदेखि पछिल्ला सिर्जनाको संयुक्त रूप नयाँ कृतिमा हुनेछ। 'तुलसी दिवसका समग्र कविता' शीर्षक राख्ने सोचमा रहेका उनी भन्छन्, 'समकालीन नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक विकासको प्रक्रियालाई कविताहरूले प्रतिविम्बित गरेका छन्। मान्छेका सूक्ष्मतम अनुभूति र संवेदनासँग पनि कविता जोडिएका छन्।' दिवसले सामाजिक सुरक्षाको अभाव र असन्तुलनका पक्षहरूलाई बहुल अर्थमा कवितामा प्रस्तुत गरेका छन्।
अभि सुवेदी
अभि सुवेदी
प्राडा अभि सुवेदी भने एकैपटक धेरै कृतिमा हात हालेर अस्तव्यस्त बनेका छन्। साहित्य सुरु गरेदेखिका सबै सन्दर्भलाई समेटेर संस्मरण लेखिरहेका छन् उनी। सन्त साहित्य जसको विद्रोही स्वाभाव हुन्छ, त्यस्ता फकिरहरूको चरित्र चित्रण गरेर 'नेपाली सुफीहरू' उनको दोस्रो तयारी छ।
नाटकबाट आफूलाई उचाइमा पुर्‍याएका उनको तेस्रो आक्रमण तीनवटा नाटकमा रहेछ। भन्छन्, 'एउटा, नेपाली विदेशीहरू नेपाल आउन थालेदेखि भित्रिएको तरंगबारे छ। अर्को सम्पदा र संस्कृतिसम्बन्धी छ। तेस्रो महाभारतको प्रसंग जोडिएको कथामा आधारित छ।'


No comments:

Post a Comment