गोपीकृष्ण ढुंगाना
सिद्धिमुनि शाक्यले दस वर्षअघि बसुन्धरा, मञ्जुश्री र चिन्तामणि लोकेश्वरका तीन चित्र २२ लाख रुपैयाँका
दरले बेचेका थिए। काठमाडौं स्वयम्भूनिवासी कलाकार उदयचरणका अनुसार यी तीनवटै चित्र बेलायतका रोबर्ट बियरले किनेका थिए। शाक्यको भने निधन भइसकेको छ।
उदयचरणले पनि आठ वर्ष लगाएर एउटा चित्र बनाएका थिए, अष्टमातृकाको तैलचित्र। जापानको फुकुओकास्थित सरकारको एसियन आर्ट म्युजियमले फाइन आर्ट नामक आर्ट डिलरमार्फत श्रेष्ठको उक्त चित्र दस वर्षअघि नौ लाख रुपैयाँमा खरिद गरेको थियो। उनी भन्छन्, 'फाइन आर्टका केनिची सातो नेपाल आएर लगेका थिए। त्यसपछि मेरा महालक्ष्मी र धुमावतीका चित्र क्रमश: पाँच हजार र दुई हजार डलरमा बिक्री भएका छन्।'
भारतमा काम गर्दा किरण मानन्धरले एउटा चित्र करिब १३ लाख रुपैयाँमा बिक्री गरेका थिए। नेपालमा भने उनको राधाकृष्णको चित्र सुरुमा पाँच हजार रुपैयाँमा पनि बिक्री भएन। भन्छन्, 'सन् १९८१ मा बनाएको उक्त चित्रले पछि १० लाख रुपैयाँ कमाएको थियो।'
सिद्धार्थ आर्ट ग्यालरीकी निर्देशक संगीता थापाका अनुसार भारतीय नेपाली लक्ष्मण श्रेष्ठले भारतमा एउटा चित्रको ५० लाख रुपैयाँ लिएका थिए। उनी भन्छिन्, 'नेपालमा पनि पौवा र थांका चित्र महँगो मूल्यमा बिक्री भएका छन्, बिदेसिएका छन्। जुन ६० लाख रुपैयाँसम्ममा बिक्री भएका छन्।'
दुर्गा बराल (वात्सायन)ले ६० को दशकमा पोखरामा धेरै चित्र बिक्री गरेका थिए। पोखरा घुम्न आएका पर्यटकलाई चित्र बेचेर उनले वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी गरेका थिए। उनी भन्छन्, 'द्वन्द्वकालमा एकल प्रदर्शनी गर्दा मान्छेको पीडा दर्शाउने भावको चित्रलाई ९० हजार रुपैयाँ मूल्य राखेको थिएँ। इन्सेकले ७० हजार रुपैयाँ तिरेर किन्यो। त्यो नै मेरो महँगोमा बिक्री भएको चित्र हो।' उनका अनुसार काठमाडौंनिवासी शशिकला तिवारी जापानको फुकुओकामा ६ लाख रुपैयाँका दरले चित्र बिक्री गर्छिन्।
नेपाली कलाकार पनि चित्र बेचेरै जीविकोपार्जनमात्र होइन, आम्दानी गर्ने अवस्थामा पुगिसकेका छन्। विदेशी कलाकारको तुलनामा पुग्न नसके पनि नेपाली कलाकार उनीहरूलाई पछ्याउने क्रममा छन्। व्यक्तिगत सम्पर्कमा विदेशमा वा विदेशीलाई फाट्टफुट्ट बिक्री गर्नु बेग्लै हो। विभिन्न देशले आयोजना गर्ने कला प्रदर्शनीको छनोटमा पर्नु पनि ठूलो खुसी ठान्छन् नेपाली कलाकर्मी।
भन्छन्, 'कतिपय प्रदर्शनीमा कला बिक्री गरिन्नन्। कतिपयमा उनीहरूकै समूहले दर तोक्छन्।' दुई वर्षअघि उदयचरणको संयोजकत्वमा जापानको एसियन फाइन आर्टमा नेपाली पौवा चित्र प्रदर्शनी भयो। उदयचरणका अनुसार तीन महिनासम्म चलेको उक्त प्रदर्शनीमा कुनै चित्र बेचिएन।
अमूर्त नै बढी बिक्छन्
प्रतिष्ठानका कुलपति किरणले बेच्ने चित्रहरू प्राय: अमूर्त नै हुन्। फ्रान्सको इन्टरनेसनल सिटी अफ आर्टमा १९ वर्ष बिताएर नेपाल फर्किएपछि नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानमा चार वर्षदेखि कुलपतिको जिम्मेवारी निर्वाह गरिरहेका उनी भन्छन्, 'विदेशीहरू अमूर्त चित्र बढी किन्छन्। नेपालमा पनि चित्र किन्ने भनेका कूटनीतिज्ञ, पर्यटक र नेपाली उद्योगी नै रहेकाले अमूर्त नै बढी बिक्री भएका छन्।
नेपाली पनि विदेशबाट फर्किएपछि किन्ने हुन्।' उनका अनुसार अधिकांश नेपाली भने मूर्त चित्र नै बढी मन पराउँछन्। व्यावसायिक कलाकार आफ्ना चित्र बिक्री नगरी जीवन निर्वाह गर्नै सक्दैनन्। बिक्री हुँदा पनि उनीहरू आधा खुसी आधा दु:खी हुन्छन्। मानन्धर भन्छन्, 'किन्नेहरूलाई भन्छु, मेरा नानीहरूलाई राम्ररी सम्हालेर राखिदिनोस् है।' कतै भ्रमणमा जाँदा भित्तामा आफ्नो चित्र देखे उनलाई आफ्नो नानीझैं लाग्छ।
अमेरिकी चित्रकार जेम्स ह्विस्लरले भनेका छन्, 'एउटा कलाकारको कृति किन्नु भनेको उसको मेहनतलाई होइन, उसको दृष्टिकोणलाई पैसा तिर्नु हो।' पेरिसको साँजरमा मूर्त कलाकृतिमात्र पाइन्छन्। पेरिसकै सेन नदी क्षेत्रमा आधुनिक अमूर्त कलामूर्ति पाइन्छन्। फ्रान्समा क्रान्ति लुई दोस्रोको टाउको काटेको ठाउँमा क्रान्तिहरू प्रतिविम्बित गर्ने चित्रहरूमात्र पाइन्छन्।
विश्वका अन्य देशमा भएको कलाको चित्रण गर्ने कलाकर्मी मानन्धर भन्छन्, 'नेपालमा भएका कला पनि देखाउने ठाउँ नै भएन।' काम गर्ने वातावरण र ठाउँ भए नेपाली कलाकारले श्रम बेचेर पर्याप्त काम, दाम र नाम पाउनसक्ने उनको बुझाइ छ। कलाको स्वादले तानेपछि घर छोडेर भारत पसेका उनी पछिल्ला १९ वर्ष फ्रान्समा थिए। भन्छन्, 'कलाकै कारण १९ वर्षसम्म म फ्रान्समा रमाउन सकेँ। म त्यहाँ बाँचेकै पेन्टिङले हो। नेपालमा पनि मलाई यसैले बचाउँछ।'
हुन सकेन अन्तर्राष्ट्रिय प्रदर्शनी
कलाकार बाँच्नेमात्र होइन, कलाकै माध्यमबाट धनी हुन सक्छ। कलाको कारोबार हुनुले कलाकारमात्रै होइन, देश नै धनी हुनसक्छ भन्ने प्रमाण पेरिस, फ्रान्स, बेलायत, अमेरिकालगायतका देशलाई बुझे पुग्छ। कतिपयले अनुमान गर्न सक्दैन, एउटा कलाको मूल्य कति होला? हामी नेपाली एउटा सरदर घर किन्न ५० लाखदेखि एक करोड रुपैयाँ खर्चिन्छौं।
तर, विदेशी दर्जनौं भव्य घर किन्ने रकम अर्थात् ६ अर्ब रुपैयाँसम्म एउटा चित्रका लागि खर्चिन तयार छन्। हालसम्म ज्यूँदा अमेरिकी कलाकार जेफ कुन्सले सुन्तले रङको 'द बेलुन डग' चित्रलाई ५८.४ मिलियन डलरमा बिक्री गरेको तथ्यांकले कलाको महत्त्व पुष्टि गर्छ। नेपाली मूल्य करिब ६ अर्ब अर्थात् पाँच अर्ब ८० करोड रुपैयाँको यो चित्र सन् १९९४ देखि २००० सम्म कोरेको शृंखलाबद्ध चित्रमध्ये एक हो।
प्रतिष्ठानको भवनपरिसरमा २० रोपनी जग्गा छ। त्यो खाली ठाउँमा अर्थ मन्त्रालयबाट आर्थिक सहयोग गर्ने र संस्कृति मन्त्रालयले वातावरण निर्माण गरी सहयोग गर्ने हो भने नेपाल आउने धेरै पर्यटक ठमेल नै पुग्नु नपर्ने अवस्था सिर्जना गर्न सकिने प्रतिष्ठानका कुलपति किरण मानन्धरको भनाइ छ। भन्छन्, 'नेपालमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन गर्न भवनसमेत छैन।
अन्तर्राष्ट्रियस्तरको ग्यालरीसमेत छैन। प्रतिष्ठान परिसरको खाली जग्गामा यस्तो भवन निर्माण गर्नसके क्षमतावान् नेपाली युवा कलाकार अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पुग्थे।' कलाका बारेमा किरणको एउटा भनाइ छ, 'आधुनिक कलाकारले हिजोको इतिहास हेरेर त्यसैलाई नदोहोर्याई नयाँपनको खोजी गर्नुपर्छ, अनिमात्र पहिचान सशक्त हुनसक्छ।'
बजार नभएरै मूल्य भएन
सिद्धार्थ आर्ट ग्यालरी, बबरमहलकी निर्देशक संगीता थापा कला क्षेत्रको अवस्था पहिलेभन्दा धेरै माथि रहेको बताउँछिन्। अन्तर्राष्ट्रियस्तरको ग्यालरी नभए पनि प्रजातन्त्र प्राप्तिपछि दर्जनभन्दा बढी ग्यालरी खुलेकाले प्रदर्शनीका लागि उपयुक्त अवसर रहेको उनको भनाइ छ। भन्छिन्, 'तर पनि नेपाल युरोप र अमेरिकाको होइन, कम्तीमा बंगलादेश, भारत र श्रीलंकाजस्तो पनि हुन सकिरहेको छैन।
अर्थात्, 'मार्केट कन्फिडेन्स' छैन। किनेर के पाउने? भन्ने सोच छ। बजार तरलता छैन।' भिज्युअल आर्टिस्ट उनी कलाको बजार राजधानीबाहिर नभएकोप्रति दु:खित छन्। तर, पोखरामा एक साताअघि अशोक पालिखेले खोलेको कलासम्बन्धी संग्रहालयबाट भने उनी खुसी छन्। साहित्य, नाट्य र संगीत क्षेत्रजस्तो कला क्षेत्रले माया पाउन नसकेकोमा भने उनी दु:खी छन्।
सरकारको आर्थिक एवं अन्य सहयोग नभएकै कारण कला क्षेत्र पछि परेको कलाकारहरूको गुनासो छ। थापा भन्छिन्, 'ग्लोबल वार्मिङ' को कुरा चलेका बेला २२ जना नेपाली कलाकारले चित्र बनाएका थिए। कुनै चित्र कमजोर थिएनन्। एकातिर तिनको क्षमता प्रस्तुत भएको थियो भने अर्कातिर आमजनतालाई राम्रो सन्देश दिइरहेका थिए।'
तर, प्रधानमन्त्री बनेका बाबुराम भट्टराईले कार्ड वितरण गरिसकेपछि कला सम्मेलन उद्घाटन गर्न नआउने भनेको सन्दर्भले कलाकर्मी दु:खित बन्नु परेको उनको भनाइ छ। थप्छिन्, 'सरकारले त सहयोग गर्नुपर्ने हो तर हामीले गरेका काममा पनि चासो र महत्त्व छैन। कसरी नेपाली चित्र अन्तर्राष्ट्रियकरण हुन्छ?'
नेपालीको नाममा विदेशमा संग्रहालय
सुबोध घिमिरे चित्रमा सानैदेखि आकर्षित भए। मूर्तबाट कलायात्रा सुरु गरेका उनी केही वर्षयता अमूर्त चित्र नै बढी मन पराउँछन् र बनाउँछन् पनि। ठमेलनिवासी उनी भन्छन्, 'यो मेरो 'पार्ट टाइम हब्बी' हो। भ्याउँदा बनाउने भएकाले मैले पछिल्ला केही वर्षमा झन्डै दुई दर्जन अमूर्त चित्र बनाएको छु।' पेसाले प्रहरीमा प्रहरी नायब उपरीक्षक (एसएसपी) उनी गहिरो साधना गरेपछिमात्र चित्र कोर्नुपर्ने बताउँछन्।
भन्छन्, 'पीडितहरूले न्याय पाएपछि जुन खुसी देखाउँछन्, त्यसलाई चित्रमा उतार्दा आनन्द लाग्छ।' पेसाकै माध्यमबाट उनी २६ देश पुगिसके। जहाँ पुगे पनि उनको प्राथमिकता भने आर्ट ग्यालरी भ्रमण नै हुन्छ। घुमे पनि उनले विदेशबाट चित्र किनेका छैनन्। तर, ती चित्रको प्रिन्ट कपीहरू भने खरिद गरेका छन्।
अमूर्त चित्रमा साधना गरेर खुला र पृथक् आयाम दिने किरण मानन्धरलाई रोल मोडल मान्ने उनी थप्छन्, 'मैले किन्नु परेको छैन, अरूले नै खरिद गरेर दिन्छन्। बरु मैले आफ्नो चित्र पनि बेचेको छैन। मन पराएर लैजानेहरूको सन्तुष्टि पूरा गरिरहेको छु।'
कलाकार लैनसिंह बाङ्देलको भनाइले नेपाली कला क्षेत्रको समग्र स्थिति बोध गराउँछ, 'नेपाली कलाकारहरूमा धैर्य, लगन, परिश्रम छैन। उनीहरू रातारात प्रसिद्धि कमाउन चाहन्छन्। कलाका लागि कत्रो आराधना गर्नुपर्छ भन्ने कुरा थाहा छैन।
माइकल एन्जेलो, पिकासोजस्ता मूर्धन्य कलाकारहरूको जीवनीभित्र घोत्लिएर हेरून् त, उनीहरूको जीवनीभित्र कत्रो लगन, धैर्य र परिश्रम पाइन्छ।' चित्रमा धैर्य अपनाएर गहन ढंगले काम गर्ने किरण मानन्धर अहिले आफूले बनाएको सानो चित्र पनि ५० हजार रुपैयाँमा बिक्री हुने बताउँछन्।
भन्छन्, 'ताइवानमा मेरै नाममा संग्रहालय छ। डेनमार्कमा मेरो पेन्टिङ लिँदालिँदा संग्रहालय नै बनाइएको रहेछ।' डा. एएस डेभिडले अमेरिकाको लस एन्जलसमा आफ्नो अपार्टमेन्टमा ग्यालरी बनाएको उनको भनाइ छ। थप्छन्, 'नेपाली कलाकारका चित्र विश्वका विभिन्न देशमा प्रदर्शनीमा राखिएका छन्। सम्मेलनहरूमा पनि भाग लिएकै छन् तर नेपालमा अन्तर्राष्ट्रियस्तरको सम्मेलनको काम हुन नसक्दा मन खुसी छैन।'
डेढ लाखसम्म लिएको छु
- रविनकुमार कोइराला, प्रमुख, वास्तुकला एवं अन्य सिर्जनात्मक कला विभाग, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान
सानैदेखि सिर्जनात्मक किसिमको मान्छे भएकाले भित्ता र भुइँमा पनि कोरिहाल्थेँ। १०/११ वर्षको भए पनि अजंगको घोडा दौडाउनसक्ने हिम्मत थियो। अनौठा कलात्मक र सन्देशमूलक विधाका लागि हिम्मतको ठूलो जरुरी हुँदो रहेछ। आफ्ना मनका कुरा मिलाएर अभिव्यक्त गर्नका लागि हिम्मत भएरमात्र नपुग्दो रहेछ। कला क्षेत्रको चुनाव पनि गर्नुपर्ने भएकाले चित्रकलामै होमिएँ।
सुरुआतमा दर्जनौं मुहारचित्र बनाएँ। नेपालमा नामुद धनाढ्यहरूका घरमा छन् ती मेरा चित्र। दुई दशकअघि नै मैले एउटा ठूलो आकारको कलाको ५० हजार रुपैयाँ लिएको थिएँ। आफ्नै शैली विकास गरेपछि मानवमात्र सबैभन्दा महत्त्वपूर्ण हो भन्ने मान्यतामा काम गरिएका चित्रहरूमध्येको एउटा चित्र डेढ लाख रुपैयाँमा बिक्री गरेको छु। तर, पछिल्ला दिनमा म इन्स्टलेसन, सर्ट भिडियो आर्ट आदि सन्देशमूलक अवधारणामा कामहरू गरिरहेको छु।
साथै बेलामौकामा नेपाली कलाको शक्ति छिमेकी एसियाली देशमा पुगेको पाएको छु। यसलाई विश्वव्यापीकरण नगरेसम्म नेपाली कलाको मूल्यमा वृद्धि हुन्न। सरकारले पनि कलाकारको शक्ति पहिचान गरी तिनका सिर्जनाको महत्त्व बुझ्नुपर्छ। केही विश्वविद्यालय र कला संस्थाहरूले नेपाली कलाका बारेमा बुझ्न चाहेका छन्।
भानुभक्तको चित्र बनाएर कला क्षेत्रमा प्रवेश गरेको मैले २० वर्षअघि नै हुलासचन्द गोल्छाको पोट्रेट बनाएको थिएँ। चित्र बनाउन दिइरहने उहाँले एक दिन भन्नुभयो, 'तिमीमा ठूलो प्रतिभा छ तर आर्थिक सहयोगको आशमा मात्र नबाँच, यश कमाउनेतिर लाग। मबाट हुने सबै खालका सहयोग गर्न तयार छु।' मजस्तो नवप्रतिभालाई त्यति बेला त्योभन्दा ठूलो कमाइ के होला र? त्यस वाक्यले अझै धेरै आर्जन गरिरहेको महसुस भएको छ।
एक लाख पाएकी छु
- सुनिता राणा, भिज्युअल आर्टिस्ट, काठमाडौं
रुचि सानैदेखि भए पनि चित्रमा औपचारिक काम गर्न थालेको २५ वर्ष भएछ। मानिस निरन्तर कुनै न कुनै सोचमा हुन्छ। सोचाइसँगै विविध तस्बिरहरू पनि चलचित्र हेरेझैं देखिइरहन्छ। त्यही विषयलाई लिएर आर्ट गर्ने सोच आयो।
एकपछि अर्को सोच र तस्बिर आउने विषय सुनाएपछि कलाकार एवं पति सुदर्शनविक्रम राणाले राम्रो कला हुन्छ भने। 'निरन्तरता' शीर्षकमा केही चित्र बनाएँ। नौ बाई चार फिटको एउटा चित्र एक लाख रुपैयाँमा बिक्री भएको थियो।
सगरमाथाको फोहोरबाट जुन्को तावेई र तेन्जिङ नोर्गेको पोट्रेट बनाएको थिएँ। 'उत्सव' शीर्षकको प्रदर्शनीमा ती चित्रले महत्त्व पाएका थिए। एक हजारभन्दा बढी चित्र बनाइसकेँ। उपत्यकामा पाँचवटा एकल प्रदर्शनी गरेकी छु। नेपालमा पनि कला बुझ्नेको संख्या बढेको छ। पारखी पनि बढेका छन्। हामी दुई मिलेर 'द आर्ट क्लब' खोलेका छौं।
मनाङको नारमा ढुंगाको उद्यान र त्यसमा ढुंगाकै मूर्तिहरू राख्ने योजनाअनुरूप काम भएको छ। यसले दुर्गममा पनि नेपाली कलाको विस्तार हुने हाम्रो अपेक्षा हो। त्यहाँ खरिद नभए पनि भिन्दै छाप बनाउने हाम्रो ठहर हो।
मैले पोट्रेट र इन्स्टलेसन आर्टहरू गरेकी छु। हालसम्म दर्जनौं पोट्रेट बनाएकी छु। एउटाको मूल्य बढीमा २० हजारसम्म पाएकी छु। कलाका विभिन्न क्षेत्र छन्। तर, राम्रो गर्नसके बजार क्रमश: बढ्ने देखेकी छु। हाम्रो हकमा राम्रो चित्र बनाउने आधार छन्। आफ्नो शतप्रतिशत सोच, अध्ययन र मननमा पति वा पत्नीले एकआपसमा त्यति नै सोच थप्ने काम हुन्छ। यसले निखार आउनेमा हामी विश्वस्त छौं।
विश्वका दस महँगा चित्र
१. पल्र्स सेजाँको 'द कार्ड प्लेयर' दुई सय ५९ मिलियन डलरमा बिक्री भएको थियो। सन् १८९२ मा एक वर्ष लगाएर बनाइएको यो चित्र जर्ज एम्बिरओसले सन् २०११ मा इस्टेट अफ कतारलाई बेचेका थिए।
२. ज्याक्सन पोल्लोकको 'नं ५ १९४८' एक सय ४० मिलियन डलरमा बिक्री भएको थियो। सन् १९४८ मा बनाइएको उक्त चित्र डेभिड जेफेनले सन् २००० मा डेभिट मार्टिन टुलाई बेचेका थिए।
३. विलियम डे कुनिङको 'वुमन ३' एक सय ५७.५ मिलियन डलरमा बिक्री भएको थियो। सन् १९५३ मा बनाइएको उक्त चित्र डेभिड जेफेनले सन् २००६ मा स्टेवेन ए. कोहेनलाई बेचेका थिए।
४. पिकासोको 'ले रेभ' एक सय ५५ मिलियन डलरमा बिक्री भएको थियो। सन् १९३२ मा बनाइएको उक्त चित्र स्टेभे वान्ले सन् २०१३ मा स्टेवेन ए. कोहेनलाई बेचेका थिए।
५. गुस्तभ क्लिमिटको 'पोट्रेट अफ एडेले ब्लोच' एक सय ३५ मिलियन डलरमा बिक्री भएको थियो। सन् १९६७ मा बनाइएको उक्त चित्र मारिया अल्टमन्ले सन् २००६ मा रोनाल्ड लउडरलाई बेचेका थिए।
६. फान्सिस बेकनको 'थ्री स्टडिज अफ लुसिन फ्रड' एक सय ४२.५ मिलियन डलरमा बिक्री भएको थियो। सन् १९६९ मा बनाइएको उक्त चित्र एल्आइन वाइनले सन् २०१३ मा स्टेवेनलाई बेचेका थिए।
७. डवार्ड मुन्चको 'द स्क्रिम' एक सय १९.९ मिलियन डलरमा बिक्री भएको थियो। सन् १८९५ मा बनाइएको उक्त चित्र पेटर ओस्लेनले सन् २०१२ मा लिअन ब्लाकलाई बेचेका थिए।
८. पिकासोको 'गार्कोन ए ला पाइप' एक सय चार मिलियन डलरमा बिक्री भएको थियो। बनाएको मिति थाहा नभए पनि ग्रिनट्रीले सन् २००४ मा बारिल्ला ग्रुपलाई यो चित्र बेचेका थिए।
९. भिन्सेन्ट भ्यान घोघको 'पोट्रेट अफ डाक्टर गचेट' ८२.५ मिलियन डलरमा बिक्री भएको थियो। सन् १८९० मा बनाइएको उक्त चित्र सिग्फाइड क्राभस्कीले सन् १९९० मा रुओई ग्रुपलाई बेचेका थिए।
१०. पियेरे अगस्ट रेनिअरको 'बाल दु मोउलिन डे ला गलेट्टे' ७८.१ मिलियन डलरमा बिक्री भएको थियो। सन् १८७६ मा बनाइएको उक्त चित्र बेट्से ह्विट्नीले सन् १९९० मा रुओई साइतोलाई बेचेका थिए।
मिति : २०७० माघ २५
No comments:
Post a Comment