Saturday, February 8, 2014

हरियाली गुमाउँदै महानगर



उजाड बन्दै गएको राजधानीको सिनामंगलस्थित शान्तिस्तूप बगैंचा।





















उजाड बन्दै गएको राजधानीको सिनामंगलस्थित शान्तिस्तूप बगैंचा। 
 

काठमाडौं : काठमाडौं महानगरपालिकाले जनसंख्या अनुपातमा हरियाली कायम गर्न सकेको छैन। महानगरपालिकाको १० प्रतिशत क्षेत्रमा मात्र हरियाली छ।
महानगरपालिकाका प्रवक्ता शान्ताराम पोखरेलले जनसंख्या र प्रदूषणअनुसार हरियाली कायम गर्न नसकिएको बताए। ‘भएका बगैंचा पनि उचित व्यवस्थापन र बजेट अभावमा उजाड छन्। न मौसमअनुसारको फूल फुलाउन सकिएको छ’, उनले भने, ‘अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउन त वर्षौं लाग्ला।’
महानगरपालिकामा करिब ३० लाख जनसंख्या छ। पोखरेलले भने, ‘बढ्दो जनसंख्याअनुसार बगैंचा र हरियाली कायम गर्न सकिएको छैन। राष्ट्रिय मापदण्ड हेर्ने हो भने जम्मा क्षेत्रफ लको ४० प्रतिशत हरियाली हुनुपर्ने हो।’
उनका अनुसार महानगरभित्र ठूलासाना गरी करिब तीन दर्जन बगैंचा छन्। यसले महानगरको पुगनपुग १० प्रतिशत क्षेत्रफल ओगटेको उनको अनुमान छ।
महानगरपालिका कानुन शाखाका प्रमुख वसन्त आचार्यले वातावरण मौलिक हकका रूपमा विकसित भएको जानकारी दिँदै भने, ‘बगैंचा सार्वजनिक सरोकारको विषय हो, कानुनले तोकेको काम नगरेको अवस्थामा किन गरिनस् भनेर अदालतमा प्रश्न उठाउन सक्नेसम्मको प्रावधान छ।’
कार्यकारी अधिकृत लक्ष्मण अर्यालले नगर क्षेत्रभित्र ४० प्रतिशत हरियाली बनाउनुपर्ने प्रावधानअनुरूप प्रयासरत रहेको बताए। महानगरलाई हरियाली बनाउन घर निर्माणका लागि नक्सा पास गर्दा दुईवटा रूख रोप्नुपर्ने नियम बनाएको जानकारी दिँदै उनले भने, ‘हरियाली बढाउन महानगरपालिकाले कौसीमाथि पनि सहरी कौसी खेतीको प्रवद्र्धन गरिरहेका छौं।’
‘सरकारले न वित्तीय हस्तान्तरण गर्छ न सरकारी जग्गाको भोगाधिकार नगरपालिकालाई दिन्छ’, अर्यालले भने, ‘नगर विकासको जिम्मा थुप्रै सरकारी निकायलाई बाँड्दा वा नगरपालिकालाई मात्र नदिँदा पनि हरियाली कायम गर्न समस्या भएको छ।’
महानगरमा १० प्रतिशतबाट बढाएर १५ प्रतिशत हरियाली कायम गरेको दाबी गर्ने उनले भने, ‘४० त सम्भव नहोला, २५ प्रतिशत पुर्‍याउन सके पनि राम्रो हुन्थ्यो।’
वातावरणविद् डा. तोरण शर्माले पूर्वयोजनाबिना बनेको महानगरपालिकामा आवश्यक हरियाली कायम गर्न सम्भव नभएको बताए।
उनले भने, ‘जनसंख्या र प्रदूषणअनुसार हरियालीको अनुपात कायम गर्नुपर्ने हो तर अहिले सम्भव छैन।’ उनका अनुसार सरकारले नगर विकास समितिमार्फत जग्गा एकीकरण आयोजना, ढल, पानी, टेलिफोन, बिजुली, हरियाली, खुला स्थान आदि तय गरेर काम गरेको भएमात्र हरियाली सम्भव थियो।
उनले नगरोन्मुख गाविसलाई बेलैमा योजनाबद्ध ढंगले विकास गर्न सके हरियाली सहर बनाउन सकिने बताए।
 
 मिति : २०७० माघ २६, आइतबार
 

No comments:

Post a Comment