Thursday, January 12, 2012

चिसोमा तातो साहित्य

चिसोमा तातो साहित्य

गोपीकृष्ण ढुंगाना 'पथिक'

युगौंदेखि छ जाडो
उहिले त दाउरा बाल्थे रे ताप्न
बाल्थेरे पानी र हावा
हामीले बाल्यौं टायर
भत्केका मिनीबसका
बाल्यौं खबरकागज र
राजनेताका पम्प्लेट
आज नानीहरु बालिरहेछन्
धर्मग्रन्थका अन्तिम पृष्ठ
फिल्मफेयर र आधुनिक कविता
के बाल्लान् भोलिका नानीहरु
के बाल्लान् हँ ?

'जाडो' अर्थात् चिसोलाई यसरी सिर्जनामा समेटेका थिए कवि श्रवण मुकारुङले । 'ल्याम्पपोष्टमुनि आगो तापिरहेछन् नानीहरु' शीर्षकमा लेखिएको यो कविताले चिसोको संकेत गर्छ।  चिसोले लेखकलाई चतुर बनाउने उनको बुझाई छ। भन्छन्, 'विषयको सुक्ष्मताको खोजी गर्न चिसोले उत्प्रेरित गर्छ, मष्तिस्कलाई धारिलो बनाउँछ।' श्रवण यो हिउँदको जाडोमा डा. नवलकिशोर राई र केवी राईसँग कवि गोष्ठीका लागि भारतको विहार जाँदैछन्।

गीतकार उन्नती बोहोरा शीलाको लेखन पनि निरन्तर चलिरहेको छ। जाडोमा उनलाई कोल्ड एलर्जी हुन्छ तर त्यसलाई महत्व नदिई उनी 'तृष्णा' उपन्यासको पुनर्लेखन गर्दैछिन्। गीति संग्रह तयार पारी प्रकाशनका बुझाएकी उनले भनिन्, 'यो जाडोमा उपन्यास सक्नु छ ।' जाडोमा कही जान नपरोस् भन्ने उनले कोठाभित्रै बसेर निरन्तर लेख्नमा सदुपयोग गरेको बताइन् । चिसोका क्रममा सडक बालबालिकाले फाटेको लुगा लगाएको, खुला आकाशमुनि सडकमै सुतेको सन्दर्भ पारेर उनले एउटा बालगीत लेखेकी छन्,
धर्तीको चिसो काख छ
श्रृष्टिको खुला आकाश छ
सडक बालक हौं हामी
सडकमै हाम्रो बास छ...

'अन्तर्मनको यात्रा' लेखेर चर्चामा आएका जगदीश घिमिरे यतिबेला रामेछापको मन्थली पुगेका छन्। कीर्तिपुरमा चिसोले सताएपछि उनी न्यानो मन्थली पुगेका हुन् । घिमिरे यतिबेला 'बेपत्ताको डायरी' लेखिरहेका छन् । 'यहाँ चिसो कम छ, काठमाडौंको चिसोले यता हुत्यायो जसले मेरो लेखन गति बढाएको छ', उनले भने, 'पुसभित्रै यो प्रकाशन हुन्छ। यो द्धन्द्धकालमा बेपत्ता हुने दुई पात्रको कथा र व्यथा छ ।' उनले बिहानबेलुकीको चिसोमा सिरकमा गुटुमुटु भएपछि एक किसिमको मुड चल्ने भएकाले लेख्न उर्जा मिलिरहेको बताए।

कालीप्रसाद रिजाल वर्षले ७१ पुगे। उनलाई चिसोले रन्थन्याएको छ। उनले भने, 'घाम नलागेपछि बाहिर निस्कन पाइदैन, न हिटर बालेर बस्न पाइन्छ। चिसोले कठ्याङ्एिर लेख्ने मुड नै आउँदैन।’ त्यसो त मौसम अनुकूल हुनेबित्तिकै उनी लेख्न बसिहाल्छन् । उनले थपे, 'म त नलेखी बस्न कहाँ सक्छ र ? बरु न्यूनतम स्तर पनि कायम राख्न सकेन भने च्यातेर फाल्दिन्छु। किनकी म आफ्नो रचनाबाट सर्वप्रथम आफैं सन्तुष्ट हुनुपर्छ।'

गीता केसरीले भर्खरै किशोर साहित्यसम्बन्धीको कृति तयार पारिन्, 'फक्रँदो कोपिला'। एउटा पुस्तक प्रेसमा दिएलगत्तै उनी महाकवि लक्ष्मीप्रसाद देवकोटाको विद्यालयसम्बन्धी कार्यक्रमको विषय बुनेर औपन्यासिक शैलीको कृति लेखिरहेकी छन्। 'तर जाडोमा तातो पार्ने सुविधा पनि नभएर लेख्न कठिन परिरहेको छ', उनले भनिन्, 'न घाम देखिन्छ न त बत्ती। लेख्न कठिन भएको बेला मञ्जुलको जीवन पढ्छु ।' चिसो प्राकृतिक विषय भएकाले चिसो वा जाडोलाई विषय बनाएर केही नलेखेको उनको भनाइ छ।

'मान्छे हो चिसो त लागिहाल्छ नि', यसै भन्छन् कृष्ण धरावासी। कृषि विकास बैंकमा पाँच वर्ष सेवाअवधि बाँकी रहँदै त्यसलाई छोडेर उनी पूर्णकालीन लेखनमा उत्रिएका रहेछन् । पत्नी वियोगको पीडाले एक वर्ष लेखनमा खासै जम्न नसकेको बताउँदै उनले भने, 'तर चिसोले मलाई के फरक पार्छ र ? सुत्ने, उठ्ने, खाने, श्वास फेर्ने र फेरी लेख्ने भन्दा मेरो अरु के नै काम छ र ?’ आधाबाटोबाट चर्चामा आएका उनले केही साताअघि आधाबाटोको भाग दुई ‘पाण्डुलिपी’ तयार पारी प्रेसमा बुझाए । अहिले उनी हिटलरले यहुदीहरुसँग गरेको ज्यादतीको कथालाई उपन्यास बनाएर गेष्तायो लेखिरहेका छन् । उनको दिनचर्या नै लेखन भएको छ यतिबेला।

जतिसुकै चिसोमा पनि शब्दले मानिसलाई तातो पार्ने गजल सुनाउने प्रकट पंगेनी शिव पनि यो चिसोमा 'सिम्रिकाको डायरी' नामक उपन्यास पुरा गर्ने हतारोमा छन्। त्यसो त उनी सँगसँगै मैले विवाह गरें नि प्रकट दाइ नामको उपन्यास पनि लेखिरहेका छन् । ‘चिसोमा बाहिरिनुभन्दा कोठामा बसेर सिर्जना गर्नु बेस’, पोखरानिवासी उनले भने, 'चिसोमा बसेर चिसोकै फिलिङ्समा ताता गजल लेख्नुमा छुट्टै मजा छ ।'


www.kavyakunja.com
काव्य कुञ्ज, गठ्ठाघर, भक्तपुर, नेपाल

Chiso ma sahitya


Prof Dr Yadav