Saturday, December 6, 2014

झमकसँग मृत्‍यु-वार्ता

गोपीकृष्ण ढुंगाना

9867 पटक पढिएको 

मृत्यु फरकफरक परिभाषा बोकेर आउँछ 
समय त्यसलाई पर्खिरहन्छ 
सजीव निर्जीव जीवनहरूमा 
मृत्यु एउटा पर्याय बनेर उभिन्छ। 
प्रत्येक क्षण मृत्यु आइरहन्छ, 
मिलनपछिको बिछोड 
एउटा शाश्वत शृंखला 
एउटा आयामिक यथार्थ... 
'मृत्युसँग जन्मिएको युग' शीर्षकमा एक दशकअघि झमक घिमिरेले मृत्युबारे आफ्नो धारणा पोखिसकेकी छन्। तर, उनी अहिले योभन्दा फराकिलो वृत्तमा मृत्युलाई परिभाषित गर्छिन्। अन्‍नपूर्णको जिज्ञासामा जीवन र मृत्युबारेको उनको पहिलो उत्तर उनको धारणामात्र होइन, अन्तिम सत्य मृत्यु बुझ्न काफी छ- 'जीवन जहाँ छ मृत्यु पनि त्यहाँ अवश्य छ। 
 
दुवै आनन्द हो मेरो विचारमा।' उनले आफ्नै पछिल्लो पुस्तक 'समय विम्ब'मा लेखेकी छन्, 'म मर्दा कसैलाई पनि आर्थिक बोझ, शारीरिक कष्ट नहोस्। मेरो शवमाथि कुनै धार्मिक संस्कारको कात्रो नओढाइयोस् र कुनै धार्मिक संस्कार पनि नगरियोस् किनभने म कुनै धर्म र सम्प्रदायको खोल ओढ्न मृत्युपछि चाहन्‍नँ। 
 
कुनै संकीर्ण राजनीतिक स्वार्थ बोकेकाहरूले पनि आफ्नो दलको झन्डा ओढाउन नपाऊन्। मेरो शवलाई सम्भव छ भने वैज्ञानिक अध्ययन, अनुसन्धान गर्न कुनै अस्पताललाई हस्तान्तरण गरियोस्। असम्भव भए सस्तो खर्चमा गाड्ने वा जलाउने काम गरियोस्। यो मेरो अन्तिम चाहना हो।' 
 
काँध दुख्‍ने समस्या र आँखामा चस्माको पावर थपिरहनुपर्नेजस्ता शारीरिक समस्याले केही समयदेखि बिथोलिएकी झमक उपचारकै कारण सही, समयसमयमा राजधानीसँग साक्षात्कार गर्न आउँछिन्। सुदूरपूर्वको पहाडी जिल्ला धनकुटामा बस्दा होस् वा राजधानी आउँदा, उनी प्राय: लेखपढमै व्यस्त हुन्छिन्। 
 
पहिलोपटक उनले पाँच वर्षकै उमेरमा गाउँमा हजुरआमाको मृत्यु देखिन्। 'मैले थाहा नपाई भयो, त्यति बेला म खूब रोएकी थिएँ', उनी बाल्यकालको घटना स्मरण गर्छिन्, 'हजुरआमाको मृत्यु भएको रहेछ, मैले सँगै हुँदा पनि थाहा पाइनँ। म त्यो घटना वर्णन गर्न चाहन्‍नँ।' 
झमक घिमिरे प्रतिष्ठानले राजधानी आएको बेलाका लागि भक्तपुरको बालकोटमा एउटा कोठा भाडामा लिएको छ। त्यही कोठाको एउटा कुनामा बिछ्यौनामा उनी मान्छेका जीवनका कुरा खेलाइरहन्छिन्, लेखिरहन्छिन्। 
 
जीवन बुझे मृत्यु बुझ्न सहज हुन्छ कि मृत्यु बुझे जीवन? भन्ने प्रश्नमा उनी भन्छिन्, 'तपाईंले आफैं बुझ्नुभएको छैन? जीवन छ र नै मृत्यु पनि छ। जीवन छैन भने मृत्यु कहाँ छ?' 
 
...रगत बगाउनेहरू भन्थे, 'जनताको इतिहास रगत नबगाई लेख्न सकिँदैन।' धरती रगताम्मे बन्दै रह्यो, खोल्साखोल्सीमा मान्छेको आलो रगत लतपतिएको सिनो गनाइरह्यो। मान्छेका लासहरू स्याल, कुकुर, ब्वाँसाहरूले यत्रतत्र तानेर भोजन गरिरहे। त्यहीँ उभिएर त्यो पाशविकता, बर्बरता, क्रूरता देख्दा लाग्थ्यो- यो मान्छे जन्तु कति निर्दयी, कति क्रूर? 
 
मान्छेप्रति एक मनमा घिन लागेर आउँथ्यो, थुइक्क हरामी मान्छे ! यता कतिले आफ्नो जीवनसाथी गुमाएर विधवा बनेर आँसु झार्दा, कयौं बाआमाका काख रित्तिँदा, त्यसको पीडाले औडाहा भएर आँसुका भेल बगाउँदा, कैयौं नानीहरूको आफ्ना बाआमाको अनुहारै नचिनी अनाथ हुनुपर्दाको क्षण देख्दा भक्कानिएर मन गाँठो परेर आउँथ्यो...। 'जीवन काँडा कि फूल' (२०६७) को 'कलम र मृत्युको सन्त्रास'मा उनले जनयुद्धको मरणबारे यसरी लेखेकी थिइन्। 
 
मृत्युलाई जीवन सुरु हुँदाजस्तो 'आनन्द' देख्ने झमकको मन कठोर भएर होइन, केवल अन्तिम सत्य हाँसेरै स्वीकार्नुपर्छ भन्ने हो। प्रसंग मृत्युसँगै जोडिएको छ। उनलाई साहित्य लेख्न थाल्दै ज्यानको धम्की आएको थियो। कतिपय कलम यस्तो धम्कीले बन्द हुन्छन्, भएका छन् तर झमकले कलम रोकिनन्। 
 
उनले यसबारे लेखेकी थिइन्, 'उस्तै कमजोर मनमुटु भएको मान्छे भए त्यसले कहिल्यै कलम बोक्न सक्दैनथ्यो, उसले आत्मबलि दिन्थ्यो र कमल फालिदिन्थ्यो। तर, मैले त्यसो गर्न सकिनँ। किनभने मलाई सत्य बोल्दा लेख्दा मर्न पनि मञ्जुर थियो।' 
 
झमकलाई ज्योतिषीको विश्वास लाग्दैन। तर, उनलाई आफ्नो मृत्युबारे जान्ने चाहना छ। भन्छिन्, 'विज्ञानसम्मत कुराहरूमा विश्वास लाग्छ तर हातको रेखा पढेर भाग्यको घोषणा गर्ने कुरामा विश्वास लाग्दैन।' एउटा मान्छे जन्मिनुसँग पनि विज्ञान छ अनि मृत्युसँग पनि विज्ञान छ, यो उनको बुझाइ हो। विज्ञानमा विश्वास छ र मृत्यु आनन्द हो भने के मृत्यु स्वीकार छ? जिज्ञासामा उनी भन्छिन्, 'अवश्य पनि गर्छु।' 
 
खुट्टाले तीन अक्षर कोरिसकेपछि उनी लामो हाँसिन्। पुन: थपिन्, 'म मृत्युबारे जान्न चाहन्छु। मेरो मृत्युका बारेमा घोषणा गरिदिने ज्योतिषी मकहाँ ल्याउनुहोस्।' फेरि झमक मजैले हाँसिन्। मृत्युअघि रोगले थलिने यथार्थलाई पनि उनी सहज रूपमा लिन्छिन्। थप्छिन्, 'अल्जाइमरजस्तो बिर्सिने रोग पनि बुढेसकालमा एउटा आनन्द हो। होइन? कहिलेकाहीँ सम्झने कुराले टेन्सन दिन्छ।' 
 
'आफ्नो ज्यानको कसलाई पो माया हुँदैन र ! त्यो माया मैले पनि गरेकी थिएँ। तर, त्यो जीवन ज्यूँदो मुर्दासरह बनेर बाँच्नुपर्छ भने त्यसको के अर्थ?', कलम र मृत्युको सन्त्रासमा उनले लेखेकी छन्, 'स्वतन्त्रता र मान्छेको अर्थमा बाँच्न पाइँदैन भने त्यसमा जिउनुको मज्जा थिएन। त्यसमा एक खालको त्रास र कुण्ठामात्र हुन्थ्यो। 
 
मैले त्यस्तो सन्त्रास र कुण्ठाग्रस्त जीवन बाँच्न चाहिनँ र त जीवनका सबै स्वतन्त्रता भोगेँ।' सन्त्रासभित्र मान्छेको आवाज दबेपछि भने उनको कलमसमेत चुप लागेर मौन बस्दैन। मनको धक फुकाएर विचार व्यक्त गर्न नहिचकिचाउने हक्की स्वभावकी उनी मृत्युपछिको संसारलाई 'वाहियात' ठान्छिन्। 
 
'त्यो वाहियात संसारको बारेमा मैले सोचेकी छैन', एक प्रश्नमा उनी भन्छिन्, 'म सधैं सोच्ने गर्छु, मान्छेलाई बाँच्न एकदमै सजिलो छ तर मान्छेले काल बाँच्ने कुरा गाह्रो छ। एउटा समयलाई बचाउने कुरा र त्योसँगै आफूलाई बचाउने कुरा भने गाह्रो छ।' 
 
मृत्युबारे केही लेखेकी झमकले यसबारे अरूले लेखेको भने नपढेको बताइन्। यद्यपि उनी मृत्युबारेको बहस जरुरी ठान्छिन्। 'ती सुन्दर पलहरू एकातिर कष्ट भोग्छ मान्छेले अर्कोतिरबाट मान्छे बिस्तारै मर्दै पनि जान्छ', मृत्यु बहसबारे उनी भन्छिन्, 'तर योबारेमा बहस जरुरी छ। 
 
मृत्यु संस्कार छोट्याउने बहस चल्न थालेका छन्। म त भन्छु, १३ दिने यो संस्कारलाई तीन दिन होइन, १३ घन्टामा झारे पनि हुन्छ।' बच्चा जन्मँदा जस्तो तयारी मृत्युका लागि गर्नु नपर्ने उनी थप्छिन्, 'वास्तवमा शोक घटनासँगै सुरुमै मनाउँछ मान्छेले।' अकालको मृत्युबारे पनि उनको धारणा प्रस्ट छ, 'त्यही त स्वीकार्नुपर्छ भनेको। मृत्यु जहाँ पनि जति खेर पनि हुन सक्छ नि।' 
 
घटना २०५२ सालको हो। हिउँदे घाम तापेर रत्नपार्क (उति बेला टुँडिखेल)मा झोक्राएर बसिरहेका जनकविकेशरी धर्मराज थापाले वरिष्ठ साहित्यकार परशु प्रधानको संयोगको भेटमा सोधिएको जिज्ञासामा भनेका थिए, 'मेरो काल आएजस्तो छ, म बिरामी पनि छु। मर्छु कि क्या हो।' तर झमकलाई भने आजसम्म सोच्ने फुर्सदसमेत छैन रे। 
 
२०५५ सालमा संकल्प कविताकृतिबाट अघि बढेकी उनले २०५७ मा आफ्नै चिता अग्निशिखातिर, मान्छेभित्रका योद्धाहरू, अवसानपछिको आगमन र सम्झनाका बाछिटाहरू लेखिन्।' आफ्नो मृत्युबारे भने अहिलेसम्म उनलाई सोच्ने फुर्सदसम्म मिलेको छैन।
 
 'झमक घिमिरेका कविताहरू'भित्रको 'मृत्युसँग जन्मिएको युग' शीर्षकमा २०६० माघमा लेखेको माथिको कविताको बाँकी अंशले मृत्युबारेको उनको अभिव्यक्ति अझ प्रस्ट रूपमा पोखिएको छ : 
 
मृत्युको एउटा परिभाषा मिलन हो 
अर्को परिभाषा बिछोड 
त्यसैले त, मृत्यु रोदन हो, सन्तुष्टि हो। 
मृत्युवरण गर्नेहरूसँग 
नवयुगको सपना हुन्छ...।
 
२०७१ कार्तिक १५ शनिबार

सुन्दरता बिगार्दै होर्डिङबोर्ड

गोपीकृष्ण ढुंगाना

 0
 0
 
काठमाडौं : सार्क सम्मेलनका लागि महानगरभरिका होर्डिङ बोर्ड हटाएको काठमाडौं महानगरपालिकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र भने अझै हटाउन सकेको छैन। विमानस्थलभित्र होर्डिङ बोर्ड नराख्न महानगरपालिकाले पटकपटक ताकेता गरिरहेको छ। 
 
सर्वोच्च अदालतले पनि बोर्ड नराख्न आदेश दिइसकेको छ। नागरिक उड्डयन प्राधिकरणले ती होर्डिङ बोर्ड राख्न अनुमति दिए पनि महानगरपालिकाको स्वीकृति छैन। महानगरपालिकाले भिज्युअल पोलुसन मुक्त गर्ने अभियानका साथ एक वर्षभित्रमा महानगरभित्रबाट एक हजार दुई सय होर्डिङ बोर्ड हटाइसकेको छ।
 
तर ललितपुरस्थित ग्रिनतारा मिडिया एन्ड मार्केटिङले प्राधिकरणको आडमा विमानस्थलमा राखेका होर्डिङ बोर्डहरू भने अझैसम्म हटाउन सकेको छैन। प्राधिकरण र ग्रिनताराबीच होर्डिङ बोर्ड राख्नेबारे २०६६ भदौ १ गते सम्झौता भएको थियो। 
 
२०६८ भदौ ११ गते संशोधनसहितको अर्को सम्झौता १० वर्षका लागि गरिएको थियो। सम्झौताअनुसार उसले २०६८ असोज २ गतेदेखि ६ महिनाभित्र सिभिल एभिएसन एकेडेमीदेखि गोल्डेन गेटसम्म ७५ थान, गोल्डेन गेटदेखि अपरेसन विल्डिङसम्म २५ र इन्टरनेसनल टर्मिनल बिल्डिङदेखि डोमेस्टिक टर्मिनल बिल्डिङसम्म २५ वटा होर्डिङ बोर्ड राख्ने अनुमति पाएको थियो।
ग्रिनताराले महानगरपालिकाको ८, ९ र ३५ नम्बर वडामा पर्ने विमानस्थल क्षेत्रभित्र ६ वटा ठूला होर्डिङ बोर्ड, एक दर्जन पोल बोर्ड र पाँचवटा युनिपोल राखेको छ।
यसैगरी दोस्रो चरणअन्तर्गत उसले २०६८ चैत २ गतेदेखि तीन महिनाभित्र एअर कार्गो एन्ड प्रोजेक्ट डिरेक्टर बिल्डिङतर्फ ५० थान राख्ने अनुमति पाएको थियो। यी बोर्ड राखेबापत ग्रिनताराले महानगरपालिकालाई कर नतिरेको एक कर्मचारीले बताए। बोर्ड राख्नेले स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा ४३ अनुसार कर तिर्नुपर्ने प्रावधान छ। 
 
महानगरपालिकाले विज्ञापन बोर्ड तथा प्रचारप्रसार सामग्री नियमन गर्ने नीति २०७० बनाएर हटाउ अभियान थालेको थियो। 
 
महानगरपालिका स्रोतका अनुसार ग्रिनताराले विमानस्थलदेखि कोटेश्वरसम्म होर्डिङ बोर्ड राख्ने तयारी गरिरहेको छ। एक कर्मचारीले भने, 'राजनीतिक आडमा यो सबै काम भइरहेको छ।' उनका अनुसार महानगरपालिकाले प्रहरी परिचालन गरेर बोर्डहरू हटाउन थाल्यो तर हातपात भयो, प्राधिकरणले समेत प्रतिवाद गर्‍यो। त्यसपछि महानगरपालिकाले मुख्यसचिव लीलामणि पौड्यालको समेत सहयोग मागेको उनको भनाइ छ।
 
प्राधिकरणको टर्मिनल व्यवस्थापन प्रमुख प्रेमनाथ ठाकुरले प्राधिकरण ऐनले दिएको अधिकार प्रयोग गरेर विमानस्थल क्षेत्रभित्र होर्डिङ बोर्ड राख्ने अनुमति दिइएको बताए। उनले भने, 'पुनरावेदन अदालतले समेत ग्रिनताराकै पक्षमा फैसला दिइसकेको छ। महानगरपालिकालाई ऐन र सम्झौता देखाएर सबै कुरा प्रस्ट पारिसकेका छौं। उसले बुझेको छ।' 
 
महानगरपालिकाका प्रवक्ता शान्तराम पोखरेलले प्राधिकरणले पत्राचार गर्दासमेत नटेरेको बताए। उनले भने, 'हामीले ऐन देखाएर भन्यौं, मान्नुभएन। पत्राचार गर्दासमेत टेर्नुभएन।' महानगरपालिकाको कार्यान्वयन महाशाखाका प्रमुख धनपति सापकोटाले स्थानीय विकास मन्त्रालय पनि यस विषयमा मौन रहेको आरोप लगाए। 
 
उनले भने, 'महानगरपालिकाले ऐननियमअनुसार हटाउनुपर्ने भनेर मन्त्रालयलाई पत्राचार गर्न आग्रह गरेपछि त्यस्तो नरम भाषामा लेख्न मिल्छ? त्यस्तो पत्राचारको कार्यान्वयन कसले गर्छ?' उनका अनुसार विदेशी पाहुना ऐतिहासिक सहर हेर्न ओर्लिनेबित्तिकै रक्सी र चुरोटका भद्दा होर्डिङ बोर्डहरू राख्न मिल्छ? 
 
ग्रिनताराले महानगरपालिकाको ८, ९ र ३५ नम्बर वडामा पर्ने विमानस्थल क्षेत्रभित्र ६ वटा ठूला होर्डिङ बोर्ड, एक दर्जन पोल बोर्ड र पाँचवटा युनिपोल राखेको छ। उनले भने, 'थोत्रा बोर्ड कतिन्जेल राख्दो रैछ हेरूँ। नयाँ राख्नै दिन्‍नौ।' 
 
मन्त्रालयका नगरपालिका व्यवस्था महाशाखा प्रमुख गोपीकृष्ण खनालले महानगरपालिकाले बुँदागत रूपमा यस्ता समस्याबारे जानकारी गराएमा मन्त्रालय सहयोग गर्न तयार रहेको बताए।
 
 २०७१ मङ्शिर २० शनिबार

३७ प्रतिशत नागरिक सहरिया

गोपीकृष्ण ढुंगाना
 
 0
 0
 
फोटो :फाइल फोटो
 ६१ नगरपालिका थप 
काठमाडौं : काठमाडौं र भक्तपुर जिल्ला गाविसविहीन भएका छन्। मन्त्रिपरिषद्को सामाजिक विकास समितिको मंगलबारको बैठकले सात उपमहानगरपालिकासहित ६१ नयाँ नगरपालिका घोषणा गरेसँगै काठमाडौं र भक्तपुर गाविसविहीन जिल्ला भएका हुन्। यसअघि काठमाडौंमा काठमाडौं महानगरपालिका र कीर्तिपुर नगरपालिका र भक्तपुरमा मध्यपुरथिमी र भक्तपुर गरी दुईदुई नगरपालिका थिए। 
 
स्थानीय विकास मन्त्रालयले गत वर्ष ७२ नगरपालिका थप गरेको थियो। अहिले थपिएकासहित मुलुकभर नगरपालिकाको संख्या एक सय ९१ पुगेको छ। मन्त्रालयको नगरपालिका व्यवस्था महाशाखाका प्रमुख गोपीकृष्ण खनालले सुविधा विस्तार र विकासको पहुँचका दृष्टिकोणले नयाँ नगरपालिका घोषणा गर्ने सरकारको अभियानअन्तर्गत ६१ नयाँ नगरपालिका थपिएको बताए। 
 
उनका अनुसार हेटौंडा, जनकपुर, इटहरी, धरान, बुटवल, भरतपुर र नेपालगन्ज उपमहानगरपालिका बनाइएका छन्। एक सय ९१ वटा नगरपालिका घोषणा भएसँगै मुलुकका ३७ प्रतिशत जनता सहरवासी बनेका छन्। दुई सय ५८ वटा गाविस गाभेर बनाइएका ६१ नगरपालिकामा २२ लाख ३६ हजार सात सय ७९ जनता नगरवासी बनेका हुन्। 
 
मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराईका अनुसार मुलुकभर अब गाविसको संख्या तीन हजार दुई सय ७६ छ। उपत्यकामा काठमाडौंमा नौ, ललितपुरमा तीन र भक्तपुरमा चार गरी १६ वटा नगरपालिका भएका छन्। 'लेले छुट्टै नगरपालिका बनाउने वा बज्रबाराहीमा मिसाउने भन्नेमा विवाद भएपछि प्रस्तावित एउटा नगरपालिका ललितपुरमा घोषणा भएन। यसको टुंगो लगाउन प्राविधिक समितिलाई जिम्मा दिएका छौं', उनले भने। 
 
काठमाडौंमा जोरपाटी केन्द्र हुने गरी गोकर्णेश्वर, फर्पिङ केन्द्र हुने गरी दक्षिणकाली, धर्मस्थली केन्द्र हुने गरी तारकेश्वर, पुखलाछी केन्द्र हुनेगरी शंकरापुर, बलम्बु केन्द्र हुने गरी चन्द्रागिरी, डाँछी केन्द्र हुनेगरी कागेश्वरी मनोहरा, ग्रिनल्यान्ड केन्द्र हुने गरी टोखा, सीतापाइला केन्द्र हुने गरी नागार्जुन र महांकाल केन्द्र हुने गरी बूढानीलकण्ठ नगरपालिका थप भएका हुन्। 
काठमाडौं र भक्तपुर गाविसविहीन तथा हेटौंडा, जनकपुर, इटहरी, धरान, बुटवल, भरतपुर र नेपालगन्ज उपमहानगरपालिका घोषित। 
ललितपुरमा छ्यासीकोट केन्द्र हुने गरी कार्यविनायक, टौखेल केन्द्र हुने गरी गोदावरी, इमाडोल केन्द्र हुनेगरी महालक्ष्मी नगरपालिका घोषणा गरिएका छन्। यसैगरी भक्तपुरमा गाम्चा केन्द्र हुने गरी अनन्तलिंगेश्वर, सिपाडोल केन्द्र हुने गरी सूर्यविनायक, चाँगुनारायणटार केन्द्र हुने गरी चाँगुनारायण र नगरकोट केन्द्र हुने गरी महामञ्जुश्री नगरकोट नगरपालिका घोषणा गर्न सिफारिस गरिएको हो। 
 
यसैगरी बैतडीको पाटन, बाजुराको बडिमालिका, डडेलधुराको परशुराम, कञ्चनपुरका चाँदनी-दोधारा र झलारी पिपलाडी, 
 
बर्दियाका सानोश्री, ताराताल र बाँसगढी, कैलालीको भजनी त्रिशक्ति र घोडाघोडी, सुर्खेतको भेरी गंगा, रुकुमको मुसिकोट, रोल्पाको लिबाङ नयाँ नगरपालिका घोषणा भएका छन्। 
 
दाङका लमही र त्रिपुर, कपिलवस्तुका वाणगंगा र बुद्धवाटिका, झापोका शिव सतासी, मोरङको लेटाङ भोगटेनी, सुनसरीको रामधुनीभासी, सप्तरीको सप्तकोसी, धनकुटाको पाख्रीबास, 
 
सिरहाको गोलबजार, महोत्तरीको बर्दिबास, इलामको देउमाई, भोजपुरको खडानन्द, संखुवासभाको मादी र सोलुखुम्बुको दूधकुण्डलाई पनि नगरपालिका घोषणा गरिएको छ। 
 
यस्तै नवघोषित नगरपालिकामा सिन्धुलीको दुधौली, बाराका गढीमाई, सिम्रौनगढ र कोल्हवी, पर्साको पोखरिया, रौतहटको गरुडा, धुनषाका गणेशमान चारनाथ, मिथिला र सबैला, चितवनका माडी र नारायणी, काभ्रेको काशीखण्ड, सिन्धुपाल्चोकको मेलम्ची, लमजुङको सुन्दरबजार, रामेछापका मन्थली र रामेछाप र दोलखाको जिरी छन्।
 
२०७१ मङ्शिर १७ बुधवार

के देखेँ सपना

 गोपीकृष्ण ढुंगाना
 
 0
 0
 
सम्भवत: म उपकुलपति (तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान) को हैसियतले होइन, एक गीतकारको हैसियतले तपाईंकहाँ आएको छु। तपाईंलाई पनि सांस्कृतिक संस्थानको महाप्रबन्धकको रूपमा होइन, एक गायकको रूपमा केही भन्न आएको हुँ।' 
 
एक दिन राष्ट्रकवि माधव घिमिरे स्वरसम्राट् नारायणगोपाललाई भेट्न सांस्कृतिक संस्थान पुगे। नारायणगोपालले सबै कुरा सुनेपछि भने, 'हुन्छ, तर स्वीकृति दिनुभन्दा पहिले म मालती मंगलेको अभ्यास (रिहर्सल) को क्यासेट सुनौं।' 
 
यसरी मालती मंगले नाटकमा नारायणगोपालले स्वर दिएका थिए। जसमा अमर गुरुङले संगीत सिर्जना गरेका थिए। यो नाटक यति चल्यो कि घिमिरेले कल्पना नै गरेका थिएनन्। प्रज्ञा प्रतिष्ठानमा मात्र ६ महिनासम्म चलेको थियो। त्यो पनि 'हाउसफुल' भएर। पछि हङकङ र अमेरिकामा पनि चल्यो।
 
त्यस्तै २०४२ सालतिरको कुरो हो यो। 'मेरा लागि यो सौभाग्य हो, मैले आफ्नो गीतिनाटक मालती मंगलेका निम्ति अमर गुरुङ र नारायणगोपालजस्ता प्रख्यात संगीतकार र गायक भेट्टाएँ', घिमिरे स्मरण गर्छन्, 'नारायणगोपाल एउटा स्वाभिमानी कलाकार हुन्। 
 
उनी कसैको अघि झुक्दैनथे। स्वाभावकै कारण कसैले मन नपराउँलान् तर यस्ता स्वाभिमानी कलाकार मजस्ता साहित्यकारलाई प्राप्ति हुनुले यस्तो सौभाग्य मिलेको हो।' 
... 
 
एक दिनको प्रसंग हो। माधवले नारायणगोपाललाई फोन गरे। तर फोन पत्नीले उठाइन्। माधवले भने, 'नारायणगोपाललाई पाऊँ न।' उताबाट जवाफ आयो, 'नारायणजी त तपाईंकै गीतको त्यो मस्र्याङ्दी र दरौंदी भेट भएको ठाउँ जानुभएको छ। भन्दै हुनुहुन्थ्यो, गाउनुअघि त्यो ठाउँ कस्तो रहेछ भनेर जिज्ञासा मेटाउँछु।' 
 
माधव पनि मालतीमंगले गीतिनाटक त्यसै उत्कृष्ट भएको होइन भन्छन्। 'उनी संगीतको साधना पनि निरन्तर गरिरहन्थे', माधव भन्छन्, 'रेडियो नेपालमा जाँदा पनि कयौंपटक वाद्यवादन तयार भएर पनि अहिले म गाउँदिनँ भनेर उनी छोडेर हिँडेका छन्। मेरै मालती मंगलेमा पनि पहिले संगीत सिर्जना गराएर ल्याउनु अनिमात्र म यसमा गाउँछु भनेका थिए।'
 
... 
 
संगीतकार अमर गुरुङ र नारायणगोपालको पहिले मिलन गाढा थियो। उनीहरूले मीतसमेत लगाएका थिए। तर दिन सधैं आफ्नो नियन्त्रणमा हुँदैन भनेझैं दुईबीच मतान्तर भयो। आफूसँग काम गर्ने दुवैको बोलचाल बन्द हुनुले घिमिरेलाई पनि मजा भएन। 
 
'यसले धेरैतिर ठूलो असर पुग्छ भन्ठानेर मैले मिलाउने प्रयत्न गरेँ', उनी स्मरण गर्छन्, 'ती दुवैलाई मिलाउन सफल भएँ। सायद त्यसकै मीठो संगम हुनुपर्छ, मालती मंगले अझै अमर छ। जहाँ उनको स्वर कालजयी बनेर बसेको छ।' मालती मंगलेमा नारायणगोपालले नायकको भूमिकामा स्वर दिएका छन्। वसन्त श्रेष्ठले गीतमा प्राण भर्दै नृत्यको सिर्जना गरे। तर घिमिरेलाई नारायणसँगको पहिलो भेट सम्झना छैन। 
 
९६ वर्षीय माधव भन्छन्, 'तर उनले आजै र राति के देखेँ सपना मै मरी गएको... बोलको गीत गाएका छन्। यो सामान्य भेट होइन। एउटा साहित्यकारको अर्को गतिलो कलाकारसँगको हदयस्पर्शी र अविस्मरणीय भेटलाई मैले पनि मनभरि सँगालिरहेको छु।' 
 
गीत गाउनकै निम्ति लेखिन्छ। त्यसै हुनाले त्यो गीतमा तीनैथरीको योगदान उत्तिकै रह्यो। सायद नातिकाजीको संगीत नभएको भए पनि यति लोकप्रिय हुने थिएन कि? घिमिरे प्रश्न तेस्र्याउँछन्। घिमिरेको गीत लेखनबारे नातिकाजीले भनेका रहेछन्, 'घिमिरेका गीतहरू पढ्नासाथै त्यसमा संगीतको स्फुरण पनि हुन्छ। यता उति तानतुन गर्नै पर्दैन।' 
 
... 
 
घिमिरे भन्छन्, 'मेरो गीत राम्रो हुनाले जसले पनि संगीत हाने राम्रो हुन्छ भन्ने होइन तर नातिकाजीले सिर्जना गरेका संगीतहरूले मेरा गीतका भावहरू अझ स्पष्ट बनाउने खालका छन्।' 
 
उनका अनुसार, गीतकारले सानो बिन्दुमा भावलाई भेटे पनि त्यसलाई फैलाउँदै जान्छ र त्यसले गर्दा त्यो केन्द्रबिन्दुमा रहेको भाव ओझेलमा रहन पनि सक्छ जसले संगीतकारलाई झन् गीतको उल्टो भावमा बरालिदिन सक्छ। तर नातिकाजीले सिर्जना गरेका संगीतले आफ्ना गीतलाई ठीक मात्रामा समातेर हदयस्पर्शी बनाएको उनी तर्क गर्छन्। 
 
नारायणगोपाल नेपाली आधुनिक गीतका गायकहरूमा सबैभन्दा जनप्रिय र प्रसिद्ध रहेको घिमिरेको ठम्याइँ छ। यसमा उनका बुबाको सितारवादनको शास्त्रीय सुरले उनलाई प्रभावित पारेको माधवको बुझाइ छ। 
 
'बाल्यकालदेखि नै बुबाबाट प्रभावित भएका रहेछन्', उनी थप्छन्, 'आधुनिक संगीत पूर्व र पश्चिम दुवैथरीले पनि उनलाई प्रभावित पारेको पाएको छु। यी तिनै संगीतका कारण मौलिक स्वर बनाउन, गायनमा जम्न र पृथक् पहिचान पस्किन सकेका हुन्।'
 
२०७१ मङ्शिर २० शनिबार

Narayan Gopal n Madhav Ghimire


Hoarding Board @ Airport


Lead Ghar n School


Lead Ghar n School 1