Sunday, December 10, 2017

काठमाडौंको बास वायू प्रदूषणको त्रास

वायु प्रदूषणको मुख्य कारक उपत्यकाको भौगोलिक अवस्था पनि हो । चारैतिर डाँडाले घेरिएको र बीचमा कचौराजस्तो आकारमा गहिरो खाल्डो भएकाले उपत्यकामा वायु प्रदूषण हुने वातावरणविद्को भनाइ छ । उनीहरूका अनुसार दिनभरको धुलो र धुवाँ साँझ उत्सर्जन भई प्रदूषित वायु आकाशमा गई रातभर चिसिने र बिहानपख तल झर्ने भएकाले सो समय वायु धेरै प्रदूषित हुने गर्छ ।
काठमाडौंमा ४५ लाख, ललितपुर र भक्तपुरमा १५ लाख गरी उपत्यकाको जनसंख्या करिब ६० लाख पुगेको छ । उपत्यकाको जनसंख्या वृद्धिदरलाई एसियामै उच्च मानिन्छ ।
दिनप्रतिदिन बढिरहेको जनसंख्याकै कारण द्रूत सहरीकरण बढेको छ र त्यसले अनेक खालका वातावरणीय समस्या निम्त्याएका छन् । सहज र उच्च जीवनशैलीका लागि देशभरबाट नागरिक राजधानी आउँछन्, तर तिनले त्यसको सट्टा पाउँछन् धुवाँ, धुलो, दुर्गन्ध, प्रदूषित ढल र खोला ।
प्रदूषण आकाशमा फैलिएर उपत्यका बाहिर जान असमर्थ हुने र प्रदूषित वायु पचाउन पनि नसक्ने अवस्थाले मानिसमा रोगको संक्रमण बढिरहेको हो । त्यस्तै जनसंख्या र सवारी साधनको संख्या उच्च चाप, घनाबस्ती, फोहोरको उचित व्यवस्थापन नहुनु, नदीमा ढल र फोहर मिसाइनु, जथाभावी सडक खन्नु, समयमै मर्मत र कालोपत्रे नहुनु, उपत्यकाभित्र इँट्टाभट्टाजस्ता धुवाँ फाल्ने उद्योग हुनु पनि प्रदूषणका कारक हुन् ।
अधिवक्ता पदमबहादुर श्रेष्ठले २०७३ माघ १३ मा सर्वोच्च अदालतमा सरोकारवाला १८ निकायलाई विपक्षी बनाएर वातावरणकै विषयमा मुद्दा दायर गरे ।
सर्वोच्चले माघ १७ मा उपत्यकामा वायु प्रदूषणका कारण जनस्वास्थ्यमा गम्भीर असर परेकाले उपत्यकाभित्र मेलम्ची खानेपानी पाइप राख्ने, ढल विस्तार र सडक विस्तारसमेत एकैसाथ भएकाले मापदण्डभन्दा कयौं गुणा बढी प्रदूषण हुँदा भयावह अवस्था सिर्जना भएको भन्दै उक्त काम छिटो सक्नू भनी अन्तरिम आदेश दिएको थियो । आदेशअनुसार सरकारले कार्यान्वयन गर्न व्यवधानसमेत नफुकाएको श्रेष्ठको गुनासो छ । २०७४ पुस ४ गते निर्णय सुनाउने अन्तिम फैसलाका लागि मिति तोकिएको छ ।
उपत्यकाको वायु प्रदूषणको अवस्था
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार वायु पीएम २.५ पच्चीस माइक्रोग्राम प्रतिघनमिटरभन्दा कम भए वातावरण प्रदूषित हुँदैन । नेपाल सरकारको मापदण्ड फरक छ, पीएम २.५ चालीस माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्छ, तर पछिल्लो पाँच वर्षमा ९० माइक्रोग्राम प्रतिघनमिटरसम्म पुग्ने गरेको छ । वायु प्रदूषणका कारण हुने रोगहरू श्वासप्रश्वास, दम, मुटु रोग, स्ट्रोक आदिबाट प्रत्येक वर्ष १० हजार मानिसले ज्यान गुमाउने गरेका छन्।
त्रिभुवन विश्वविद्यालयको नेसनल एट्मोस्फेयरिक रिसोर्स एन्ड इन्भाइरोमेन्टल रिसर्च ल्याबोरेटोरीका प्रमुख वैज्ञानिक डा. रामप्रसाद रेग्मीले २०५८ सालमा गरेको अध्ययनअनुसार विश्व स्वास्थ्य संगठनको मापदण्ड ४० माइक्रोग्राम पर क्युबिक मिटर हुँदा काठमाडौंमा त्यो ५२ प्रतिशतले बढी भएको देखाएको थियो ।
काठमाडौंमा २००४ सालदेखि सवारी-साधन दर्ता प्रक्रिया सुरु भएको थियो । तर २००७ सालदेखि ट्राफिक व्यवस्थापनका लागि राम दलको स्थापना भएको देखिन्छ ।
जमिनबाट दुई सय ५० मिटर माथिसम्म प्रदूषित हावाको तह भएकाले बनेपा र पनौतीसमेत जोखिममा रहेको उनको भनाइ छ । उनी भन्छन्, ‘२०५८ सालमा बनेपासहित १४ लाख जनसंख्या हुँदा वार्षिक ३६ हजार किलोलिटर पेट्रोल, ५४ हजार किलोलिटर डिजेल, ८४ हजार किलोलिटर मट्टीतेल र नौ मेट्रिक टन एलपी ग्याँस खपत हुन्थ्यो ।’
नेपाल आयल निगमको आव २०७३÷७४ को तथ्यांकअनुसार पेट्रोल चार लाख सात हजार दुई सय ७८ किलोलिटर, डिजेल १३ लाख १९ हजार आठ सय ७३ किलोलिटर, मट्टीतेल १९ हजार ६ सय सात किलोलिटर र तीन लाख १२ हजार नौ सय २८ मेट्रिक टन एलपी ग्याँस खपत भएको थियो ।
एयर क्वालिटी इन्डेक्सका अनुसार पीएम १० को मात्रा ० देखि ५० सम्मलाई राम्रो मानिन्छ भने ४०१ देखि ५०० सम्म भए वायुको अवस्था अति हानिकारक मानिन्छ । ५० देखि १०० लाई मध्यम, १०० देखि २०० लाई प्रदूषित, २०१ देखि ३०० लाई हानिकारक र ३०१ देखि ४०० लाई एकदमै प्रदूषित मानिन्छ ।
राणाशासनको अन्त्य र प्रजातन्त्रको उदयसँगै उपत्यकामा आधुनिकीकरणको सुरुआत भएको देखिन्छ । आधुनिकीकरणसँगै खासगरी उपत्यकामा वायु प्रदूषणको मात्रा बढ्दै गएको हो । २०३३ सालमा काठमाडौंमा चक्रपथ बनेपछि बसोवास र सवारीसाधनको मात्रा बढेको पाइन्छ ।
अवैज्ञानिक र अनियन्त्रित सहरीकरणका कारण काठमाडौं उपत्यकाको वायु प्रदूषण उच्च भएको हो । क्लिन एयर नेटवर्क नेपालले तीन वर्षअघि गरेको अध्ययनमा उपत्यकाका सवारी साधनको धुवाँबाट ३८, धुलोबाट २५, कृषि क्षेत्रबाट १८, इँटाभट्टाहरूबाट ११, अन्य उद्योगबाट ३, घरभित्रबाट ३ र अन्य स्रोतबाट २ प्रतिशत पीएम- १० उत्सर्जन भइरहेको देखिएको थियो । समयमै वायु प्रदूषण नियन्त्रणका उपाय नअपनाउँदा, पर्याप्त ऐनकानुन नहुँदा र भएको कानुनसमेत पालना नगर्दा उपत्यकावासीको जीवन जोखिममा परेको हो ।
उपत्यकामै ११ लाख सवारीसाधन
काठमाडौं उपत्यकामा पहिलोपटक १९५८ सालमा सवारी साधन भित्रिएको थियो । राणाहरूले छिमेकी मुलुक भारतबाट मानिसलाई बोकाएरै भीमफेदी हुँदै काठमाडौं भित्याएको इतिहास छ । तर १९७० को दशकबाट मात्र सर्वसाधारणले सवारी साधनको प्रयोग गर्न पाएका थिए । सवारी साधनको संख्या थपिँदै जाँदा हाल उपत्यकामा मात्रै झन्डै ११ लाख पुगेको यातायात व्यवस्था विभागका उपसचिव अनुज घिमिरेको भनाइ छ ।
विभागको तथ्यांकले पछिल्लो वर्षमा वार्षिक सरदर एक लाखको संख्यामा सवारी साधन भित्रिएको देखाउँछ । यस हिसाबले २० वर्षको अवधिमा बागमतीमा करिब ७३ गुणा अर्थात् सात हजार दुई सय ९३ प्रतिशतले वृद्धि भएको छ ।
आर्थिक वर्ष २०५३÷५४ मा बागमती अञ्चलभित्र दर्ता भएका सबै प्रकारका सवारी साधनको संख्या १४ हजार २ सय ५६ थियो । विभागको यो तथ्यांकमा वृद्धि भएर अहिले आव २०७३÷७४ मा आइपुग्दा १० लाख ४२ हजार आठ सय ५६ पुगेको छ । २० वर्षको अवधिमा बागमती अञ्चलमा मात्रै सवारी साधनको संख्या १० लाख २८ हजार ६ सय थपिएका छन् ।
यसबाहेक मुलुकभरबाट उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको संख्या दैनिक हजारौं हुन्छ । गत आर्थिक वर्ष सवारी साधन दर्ता हुने संख्याले एक लाख नघाएको छ । अझ सवा लाखको हाराहारीमा तथ्यांक देखिनुले प्रदूषणमा झनै ठूलो समस्या थप्ने वातावरणविद् एकमत छन्।
विभागको तथ्यांकमा बागमती अञ्चलमा आर्थिक वर्ष २०४६÷४७ सम्म दर्ता भएका सवारी साधनको संख्या जम्मा ३४ हजार ६ सय ६ मात्र देखिन्छ । मुलुकभर सबै प्रकारका सवारी साधनको दर्ता संख्या २७ लाख ८३ हजार चार सय २८ पुगेको छ, जसमा सबैभन्दा बढी संख्या मोटरसाइकलको छ । हालसम्म मुलुकभर मोटरसाइकलको संख्या २१ लाख ८९ हजार ९९ छ ।
बागमतीमा मात्र दर्ता भएका सबै सवारी साधन १० लाख ४२ हजार ८ सय ५६ छन् भने यसमध्ये आठ लाख १७ हजार चार सय ७३ पुगेको छ । विभागले बीसबर्से सार्वजनिक सवारीमाथि २०७३ फागुनदेखि उपत्यकामा प्रतिबन्ध लगाएको छ । देशभर यस्ता सवारीको संख्या गणना गर्ने काम गरिरहेको विभागले पुनः २०७४ चैत १ गतेदेखि मुलुकभर पूर्णरूपमा प्रतिबन्ध लगाउने भएको विभागका प्रवक्ता टोकराज पाण्डेको भनाइ छ ।
काठमाडौंमा २००४ सालदेखि सवारी साधन दर्ता प्रक्रिया सुरु भएको थियो, तर २००७ सालदेखि ट्राफिक व्यवस्थापनका लागि रामदलको स्थापना भएको पाइन्छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार २०१२ सालमा केन्द्रीय ट्राफिक कम्पनीका रूपमा एक सय २५ को संख्यामा ट्राफिक प्रहरीले काम गर्ने गर्थे ।
महाशाखाको प्रमुख प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालका अनुसार उपत्यकामा हाल एक हजार तीन सय ४६ कार्यरत छन् । काठमाडौं उपत्यकाभित्र हाल एक हजार पाँच सय किलोमिटरको हाराहारीमा सडक छ । महाशाखाका अनुसार सवारी-साधन ओहोर-दोहोर गर्ने मुख्य सडक भने चार सयदेखि पाँच सय किलोमिटर मात्र रहेको छ ।
नदी, फोहोरमैला र इँटाभट्टाबाट प्रदूषण
उपत्यकाभित्रका बागमती, रुद्रमती (धोबी खोला), विष्णुमती, मनोहरा, हनुमन्ते, गोदावरी र बल्खु खोलामा मिसाइएका ढलबाट निस्कने प्रदूषणले पनि वातावरणलाई नकारात्मक रूपमा प्रभावित पारेको छ ।
नदी किनारमा रहेका सुकुम्वासी बस्ती, तिनले उत्पादन गर्ने फोहोर र अतिक्रमणका साथै सहरवासीले नदीमा फाल्ने फोहोर र दिसापिसाबसमेतले नदीका अवस्था दयनीय बन्दै गएको छ । विगतमा गलैंचा कारखानाको फोहोर फाल्नेदेखि मरेका र मारिएका जीवजन्तु र पशुपक्षी फाल्ने कामसमेत नदीमा हुन थालेपछि यी नदी प्रदूषित हुन थालेका हुन् ।
२०५१ सालमा बनाइएको वृत्तचित्र ‘बागमती अर्को छैन’ मा दुई दसकअघि बागमती, विष्णुमतीजस्ता उपत्यकाका खोला, नदी शुद्ध र पवित्र तीर्थस्थल भएकोमा बालाजु औद्योगिक क्षेत्र र विभिन्न ठाउँका गलैंचा कारखानाका फोहोर, मरेका र मारिएका जीवजन्तु साथै पशुपक्षी नदीमै फालिने गरिएको उल्लेख छ ।
यता २०५० पुस १८ गतेदेखि स्थानीय वासिन्दाले गोकर्णमा काठमाडौंको फोहोरमैला व्यवस्थापन गर्न नदिएपछि उत्पन्न समस्या २४ वर्ष बित्दा आजका दिनसम्म पनि ‘ज्यूँका त्यूँ’ छ । २०५१ वैशाख २० गते टेलिभिजनबाट प्रसारित ‘आँखीझ्याल’ कार्यक्रमको अंक १ मा गोकर्णमा २०४३ सालदेखि फोहोर फाल्न थालिएको उल्लेख छ ।
काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार २०६२ सालमा नुवाकोटको सिसडोलमा तीन वर्षका लागि फाल्न थालिए पनि अझैसम्म सरकारले विकल्प खोज्न सकेको छैन । सिसडोलछेउकै बञ्चरेडाँडामा ५० वर्षका लागि व्यवस्थापन गर्न मिल्ने भनेर दुई दसकदेखि काम थाले पनि सरकार निचोडमा पुग्न नसकेको उनको भनाइ छ ।
सिसडोलको विकल्प नहुँदा स्थानीयको विरोध र चर्को मागले बारम्बार राजधानीमै फोहोर थुप्रिने गरेको छ । अहिले काठमाडौं र ललितपुर महानगरसँगै भक्तपुरको समेत गरी दैनिक करिब आठ सय मेट्रिक टन फोहोर संकलन हुन्छ ।
उपत्यकामा इँटाभट्टाको संख्या एक सय आठ छ । इँटाभट्टा उद्योग महासंघको तथ्यांकअनुसार देशभर करिब आठ सय इँटाभट्टा भए पनि दर्ता पाँच सयको मात्र छ । भट्टाहरूको चिम्नीबाट निस्कने कार्बनडाइअक्साइड, ब्ल्याक कार्बनजस्ता तत्वयुक्त धुवाँले मानव जीवनमा प्रत्यक्ष असर परेको छ । सरकारले भट्टाबाट बाहिरिने धुवाँ र चिम्नीको उचाइबारे २०६४ सालमा मापदण्ड बनाए पनि कार्यान्वयन फितलो हुँदा जनजीवन संकटमा परेको छ ।
प्लास्टिक डढाएको धुवाँले क्यान्सर !
वायु प्रदूषणले पछिल्ला वर्षमा आम नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पारेको छ । संविधानको धारा ३० को उपधारा १ मा प्रत्येक नागरिकले स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारको सुनिश्चित गरिएको छ भने उपधारा २ मा वातावरणीय प्रदूषणका कारण पीडित भए प्रदूषकबाट कानुनबमोजिम क्षतिपूर्ति भराउन पाउने प्रावधान पनि छ । ‘तर यो लागू गराउने निकाय खै ? ’, जनस्वास्थ्यविद् डा. रवीन्द्र समीर प्रश्न गर्छन्, ‘मुटु, मष्तिस्क र फोक्सोमा समस्या आउनुमा ३० प्रतिशत कारण धुवाँ र धुलो हो ।’
डा. समीरका अनुसार एउटा स्वास्थ्य मानिसले औसतमा प्रतिमिनेट १२ देखि १५ पटक सास फेर्छ भने बालबालिकाले ३० देखि ४० पटकसम्म । धुलो र धुवाँ श्वासप्रश्वासबाट शरीरमा प्रवेश गर्ने गर्छ । भनाइ छ, मानिसले खानाविना तीन साता र पानीविना तीन दिन बाँच्न सक्छ, तर हावाविना तीन मिनेट पनि बाँच्न सक्दैन ।
उनी थप्छन्, ‘अक्सिजन नहुँदा रगत सर्दैन र सेल÷कोशिकाहरू मर्न थाल्छन् ।’ फोहोरमा प्लास्टिक वातावरणीय दृष्टिले अत्यन्तै हानिकारक मानिन्छ । यो सयौं वर्षसम्म पनि सड्दैन, गल्दैन र कुहिँदैन । नेपालमा सन् १९७० देखि प्लास्टिकका समान उत्पादन भएको पाइन्छ ।
एक तथ्यांकअनुसार नेपालले २०५६ वैशाखमा वार्षिक ६० हजार मेट्रिक टन प्लास्टिक उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ विदेशबाट आयात गरेको देखिन्छ । डा. समीर थप्छन्, ‘प्लास्टिक डढाएमा निस्कने विषाक्त ग्याँसले सुरुआतमा रुघाखोकी, दम र दीर्घकालमा मुटु, फोक्सोमा समस्या हुँदै क्यान्सरसम्म हुने गर्छ ।’ जनचेतनाका अभावमा राजधानीभित्रै टोलटोलमा डढाउने गरेको पाइन्छ ।
प्रदूषित धुवाँ र धुलोका कारण बर्सेनि उपत्यकामा करिब पाँच हजार बालबालिकालाई लहरेखोकी र करिब २० हजार मानिसलाई दम रोग लागेको अनुसन्धानकर्ता डा. खेमबहादुर कार्कीको भनाइ छ । श्वासप्रश्वास र मुटुसम्बन्धी रोग लाग्नुका साथै आँखा नाकमा थुप्रै समस्या देखिएको छ । उनी भन्छन्, ‘धुवाँ र धुलोले सयजना बिरामी परे भने ७२ जनालाई मुटु, १४ लाई फोक्सो (श्वासप्रश्वास, दम आदि) र १४ लाई क्यान्सर हुने भयावह अवस्था गतवर्ष सार्वजनिक गरिएको विश्व स्वास्थ्य संगठनको अध्ययनले देखाएको छ ।’
संगठनकै क्यान्सर रोगसम्बन्धी अनुसन्धान गर्ने संस्था इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सरको एक अनुसन्धानमा उल्लेख छ, ‘वायु प्रदूषण नै मानिसको फोक्सो र ब्लाडरमा हुने क्यान्सरको सबैभन्दा ठूलो कारण हो ।’ संस्थाकै सन् २०१० पछिको तथ्यांकमा दुई लाख ३० हजार मानिसको फोक्सोको क्यान्सरका रोगीको मृत्यु भएको थियो ।यी सबै समस्याले निम्त्याएको वातावरणीय प्रभावबाट सरकारदेखि नागरिकसम्म सबै जानकार छन् । तर यसको बेलैमा निराकरणका लागि सरकार न नागरिक समाजको तदारुकता देखिँदैन ।
हालसम्मका प्रयास
२०७४ मंसिर १ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले वायु प्रदूषण नियन्त्रणका लागि द्रूत कार्यान्वयन टोली (क्विक एक्सन टिम) गठन गरेको छ । कार्यालयका सहसचिव डा. नारायणप्रसाद रेग्मीको नेतृत्वमा गठित उक्त टोलीले काठमाडौं उपत्यकामा हाल उच्चस्तरमा भइरहेको वायु प्रदूषण नियन्त्रणका लागि चाल्नुपर्ने कदमबारे सरकार र गैरसरकारी संस्थाका प्रतिनिधिसँग छलफलसमेत गरिसकेको छ । वातावरण विभागले गत वर्ष नै उपत्यकाको वायु प्रदूषण नियन्त्रण कार्ययोजना प्रस्तुत गरेको थियो ।
टोलीले १२ वटा क्षेत्रको क्रियाकलापको प्रभावकारी कार्यान्वयन गराउने, अनुगमन गर्ने तथा कार्यालयलाई मासिक प्रतिवेदन बुझाउने भएको छ । कार्ययोजनामा वायु गुणस्तर मापन तथा अनुसन्धान गर्ने, सहरी क्षेत्रमा हरियाली प्रवद्र्धन गर्ने, उपत्यकामा रहेका इँटाभट्टा तथा अन्य उद्योगबाट उत्सर्जन हुने धुलो तथा धुवाँ न्यूनीकरण गर्ने, हिँड्न र साइकल चलाउन प्रोत्साहन गर्ने, सार्वजनिक यातायातमा सुधार गर्ने, ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने, विद्युतीय तथा हाइब्रिड सवारी साधनलाई प्रवद्र्धन गर्ने, सवारी साधनबाट उत्सर्जन हुने धुवाँ नियन्त्रण गर्ने, सडकमा उड्ने धुलो नियन्त्रण गर्ने र खुलारूपमा आगो बाल्न वा जलाउन प्रतिबन्ध लगाउने गरी १२ क्षेत्र तय भएका छन् ।
आयोगको योजना प्रभावकारी टोलीले निर्माण तथा मर्मत गर्न लागिएका सडकको काम द्रूत गतिमा सम्पन्न गर्न, ती सडकमा दैनिक दुईपटक पानी छर्कन, वायु प्रदूषण उपकरणले देखाएको तथ्यांक डिस्प्लेमा देखाउने, मापदण्ड नाघेको पाइएमा कारबाही योजना बनाउने जस्ता निर्णय गरेको छ । बढी प्रदूषण हुने क्षेत्रको पहिचान, कारकतत्वको नियन्त्रण, हरियो स्टिकरको प्रभावकारी कार्यान्वयन र युरो ६ मापदण्ड लागू गर्ने विषयमा पनि टोलीले छलफल गरेको छ । काठमाडौं महानगरपालिकाले वातावरण संरक्षण ऐन संशोधनका लागि एक महिनाभित्र मस्यौदा तयार पार्नेछ ।
सरकारले पछिल्लो समय मुलुकभरि ५६ वटा वायु प्रदूषण मापन केन्द्र स्थापना गर्ने तयारी गरेको थियो । पाँच वर्षअघि सरकारले तीनवटा केन्द्रमार्फत प्रदूषण मापन गरिरहे पनि पुतलीसडक, भक्तपुर र मच्छेगाउँका केन्द्रमा समस्या आएको जनाएको थियो । वातावरण विभागका सिनियर डिभिजनल केमिस्ट शंकरप्रसाद पौडेलका अनुसार उपत्यकाका रत्नपार्क, पुल्चोक, महाराजगञ्जस्थित शंखपार्क, भैंसेपाटी, भक्तपुरस्थित वीरेन्द्र सैनिक मावि र कीर्तिपुर (सञ्चालन गर्न बाँकी) मा वायु गुणस्तर मापन केन्द्र राखिएका छन् ।
उनका अनुसार मोबाइल भ्यानको प्रयोग गर्न खोजे पनि अर्थ मन्त्रालयले ठूलो बजेट भन्दै प्रक्रिया अघि नबढाएपछि काम हुन सकेको छैन । उनी भन्छन्, ‘सवारी, सडकलगायत सरोकारवाला क्षेत्र र तिनले गर्नुपर्ने जिम्मेवारीसहितको कार्ययोजना कार्यान्वयनका लागि मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएका थियौं, प्रक्रिया अघि बढेको छ । कार्यान्वयन भयो भने अवस्था सामान्य हुनेछ ।’
विश्वका विकसित देशलाई हेर्ने हो भने धुवाँ, धुलोमा उनीहरू सचेत छन् । जलवायु परिवर्तनको विश्वव्यापी समस्या सबै देशको साझा समस्या हो । नेपालमा प्रयास भए पनि तिनले मूर्तरूप लिन सकेको छैन । वायु प्रदूषणको जति पनि अध्ययन-अनुसन्धान, बैठक, गोष्ठी गरिए पनि अथवा ऐनकानुन बनाइए पनि कार्यान्वयन नहुँदासम्म उपत्यकाको वातावरणमा सुधार हुने देखिँदैन । वायु प्रदूषण नियन्त्रणका लागि सरकार मात्रै जिम्मेवार छैन, नागरिक सचेतना, सरोकारवालाका भूमिकासँगै सामाजिक प्रतिबद्धता पनि आवश्यक छ।
सहरबीच बग्ने धेरै देशका नदी सफा र जीवन्त छन्, तर काठमाडौं उपत्यकाभित्रका नदी सफा र जीवन्त बनाउनु ठूलो चुनौती बनिसकेको छ । बागमती सफाइ महाअभियानबाट विशेष पहल भए पनि नदीलाई पुरानै अवस्थामा पठाउन महाभारत छ । राजनीतिक एवं सामाजिक प्रतिबद्धताबाट मात्रै बागमतीलगायतका नदीको सभ्यता फर्काउन सम्भव छ ।
नदीप्रतिको आस्था र अस्मिता जोगाउन सके सभ्यता मात्र होइन, वातावरणसमेत जोगाउन सकिन्छ । नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले २०५४ फागुनदेखि २०५६ असारसम्म सरोकारवालासँग गरेको अन्तक्र्रियाको निचोडमा भनिएको थियो, ‘यसले दिगो विकासमा प्रत्यक्ष प्रभाव पारिरहेको छ ।’ वायु प्रदूषणको बढ्दो गतिले जसरी प्रत्येक क्षण उपत्यकावासीलाई प्रहार गरिरहेको छ, यसको परिणाम त्यति नै भयावह हुनेमा शंका छैन ।
नेफेजले २०४९ सालमा प्रकाशित गरेको ‘वातावरण संरक्षणका विश्वव्यापी समस्याहरू’ मा मानवका बढ्दा क्रियाकलापले प्रकृतिको सन्तुलन डग्मगाउन थालेको र पृथ्वीको भविष्यलाई लिएर अनेकौं प्रश्न खडा हुन थालेको उल्लेख छ । हेमबहादुर बिष्टले लेखेको उक्त पुस्तकमा भनिएको छ, ‘पृथ्वी नरहे वातावरण रहला ? वातावरण नरहे हामी रहौंला ? ’ हामी सबै मिलेर यसको जवाफ खोज्नुपर्ने बेला आएको छ किनकि पृथ्वी अर्को छैन । हामी बस्ने काठमाडौं उपत्यका वा नेपाल पृथ्वीभित्रै पर्छ । त्यसैले उपत्यकाको वायु प्रदूषणमा सरकारसँगै सरोकारवाला र समाजसमेतको चिन्ता र चिन्तन अत्यावश्यक देखिन्छ ।

टिप्पणी
वायु प्रदूषण नाप्ने पर्याप्त यन्त्र नै छैन
-भूषण तुलाधर
विगत २० वर्षदेखि काठमाडौंमा वायु प्रदूषणको मात्रा बढ्दो छ र यसले यहाँको वातावरण, जनस्वास्थ्य र अर्थतन्त्रमा समेत गम्भीर असर पारिरहेको छ । सरकारको तर्फबाट यसलाई रोक्ने प्रयास अहिलेसम्म खासै भएको छैन । उपत्यकामा वायु प्रदूषणको प्रमुख कारण सवारी साधन नै हुन् । यहाँ सवारी साधनको वृद्धि बर्सेनि करिब एक सय ३५ प्रतिशतको दरले वृद्धि भइरहेको छ जुन यहाँको जनसंख्याको वृद्धि दरभन्दा करिब तीन गुणा बढी छ ।
त्यसैले पक्कै पनि यहाँको वायु प्रदूषण बढिरहेको छ भन्न सकिन्छ । तर विगत २० वर्षको वायु प्रदूषणको भरपर्दो तथ्यांक नभएको अवस्थामा ठ्याक्कै कति बढ्यो भन्न गाह्रो छ । तथ्यांकले के पनि देखाउँछ भने जाडोमा अथवा पुस, माघ र फागुनमा वायु प्रदूषणको मात्रा वर्षाको तुलनामा तीन गुणाले बढ्ने गरेको पाइन्छ ।
दिनभरिको तथ्यांक हेर्ने हो भने बिहान आठ देखि १० बजेसम्मको समयमा वायु प्रदूषणको मात्रा सबैभन्दा बढी हुने गर्छ । काठमाडौं उपत्यकाको वायु प्रदूषण नाप्ने पर्याप्त यन्त्रको अभावमा उपत्यकामा वायु प्रदूषणको स्तर यकिन गर्न सरकारलाई हम्मे परेको छ ।
विश्व स्वास्थ संगठनका अनुसार उपत्यकामा वायु प्रदूषणको मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा पाँच गुणाले बढी छ । यो भनेको काठमाडौं संसारकै प्रदूषित सहर नभए पनि विश्वका प्रदूषित सहरहरूको सूचीमा ‘उल्लेख्य १०५’ मा पर्छ ।
अहिले पनि काठमाडौंको वायु प्रदूषण दिल्लीमा जस्तो अत्यन्तै हानिकारक स्तरमा पुगेको छैन, यद्यपि अक्सर खतराको तहमा नै हुने गरेको छ । काठमाडौंमा वायु प्रदूषणको मुख्य कारण भनेको यहाँको हावामा भएका मसिना कण हुन् । यी कण श्वासप्रश्वास प्रणालीबाट मानव शरीरमा पसेपछि यसले फोक्सो, मुटुलगायत विभिन्न संवेदनशील अंग तथा प्रणालीमा हानि पुर्‍याउन सक्छ । अझ डिजेल गाडीको धुवाँमा हुने कार्सिनोजेनिक तत्वका कारण यसले क्यान्सरसमेत निम्त्याउन सक्छ ।
सामान्यतया डिजेलबाट निस्कने प्रदूषणमा पीएम २.५ भन्दा मसिना कणहरू हुने गरेकाले यी कण हावामा लामो समयसम्म तैरेर बस्न सक्छन् र मानव शरीरमा पनि भित्रसम्म पुग्न सक्छन् । केही वर्षअघि एक सातामा मात्रै उपत्यकामा वायु प्रदूषणको स्तर पाँच गुणाले बढेको थियो । यो ‘खतरा’ को सूची हो भनेर बुझ्नुपथ्र्यो, तर सरोकारवाला निकाय गम्भीर भएको देखिएन ।
काठमाडौं उपत्यकाको वायु प्रदूषण नाप्ने पर्याप्त यन्त्रको अभावमा उपत्यकामा वायु प्रदूषणको स्तर यकिन गर्न सरकारलाई हम्मे परेको छ । सडकलगायतका भौतिक संरचना निर्माणसँगै केही वर्षदेखि धुलो पनि अधिक रूपमा बढेको र यसको मात्रा १० पीएमभन्दा बढी हुने भएकाले मानव स्वास्थ्यमा थुप्रै समस्या निम्तिने गरेको छ । यस विषयमा अब पनि सचेत नहुने हो मानव जीवन जोखिममा पर्ने मात्र होइन, ज्यानै जान सक्छ ।
-तुलाधर वातावरणविद् हुन् ।
http://annapurnapost.com/news-details/85075

Air Pollution @ Kathmandu Vally


Pradesh news Provinance