Sunday, March 9, 2014

अब बत्तीको जस्तै खानेपानीको पनि तालिका

गोपीकृष्ण ढुंगाना
काठमाडौं : महानगरपालिकाभित्रका धारामा कतै १० दिनमा एकपटक पानी आउँछ। कतै वर्षौं सम्म पनि थोपा चुहिएको छैन। यस्तोमा महानगरवासीले पिउने पानी वितरणमा पनि लोडसेडिङजस्तै तालिका मागेका छन्।
पानी आउने तालिका उपलब्ध गराउन काठमाडौं क्षेत्र आठका सभासद् नवीन्द्रराज जोशीले अगुवाइ गरेका छन्। उनले पानी नआउने ठाउँलाई सुख्खा क्षेत्र घोषणाको माग लिएर केही स्थानीयसहित काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) पुगेर तालिका बनाउन माग गरेका हुन्।
पानी दिने समय र दिन तोक्नुपर्ने माग राखेपछि केयूकेएलले चैत दोस्रो सातादेखि पानी तालिका बनाएर वितरण गर्ने भएको छ।
'पानी नआउने ठाउँलाई सुख्खा क्षेत्र घोषणा गरी साताको दुई दिन पानी दिनुपर्‍यो', जोशीले भने, 'भोट माग्दा जनताले मलाई पानी मागेका थिए।' महानगरका केही स्थानमा भने अहिले पनि फाट्टफुट तालिकाअनुसार पानी वितरण भइरहेको छ।
केयूकेएलका महाप्रबन्धक चन्द्रलाल नकर्मीले पानी नपुग्ने, कम पुग्ने क्षेत्रको पहिचान गरी तालिका बनाएर पानी वितरण गर्न दुई साता गृहकार्य गर्ने बताए। उनले भने, 'पानी नपुगेका स्थानमा सम्भव भए सातामा दुईपटक र नभए सातामा एकपटक निश्चित समयमा पानी दिने गरीको तालिका बनाएर चैत १५ गतेदेखि लागू हुने गरी काम गर्नेछौं।' जोशीसँगै पुगेको समूहले राति पानी वितरण गरे पनि समय निश्चित नहुँदा तालिका आवश्यक भएको गुनासो गरेको थियो।
जोशीले केयूकेएलले नगरवासीलाई जेनतेन पानी दिए पनि आवश्यक पानी वितरण गर्नेबारे गृहकार्य नगरेको आरोप लगाए। उनले भनेका थिए, 'केयूकेएल पानी उपलब्ध गराउने आधिकारिक कार्यालय भएकाले समय तालिका बनाएर सातामा कम्तीमा दुईपटक देओस्, नत्र पानी म दिन्छु।'
जोशी आफैंले पानीको व्यवस्था गर्छु भनेपछि नकर्मीले जोशीसँग तालिका मिलाउन दुई साताको म्याद मागेका हुन्। सभासद् जोशीले पानी नआउने स्थानमा ट्यांकरमार्फत वितरण गर्नुपर्ने, पानी नआएमा तत्काल समाधान गर्न एक विशेष युनिट खडा गरी कार्यान्वयन गर्नुपर्ने, चुहावट भएका स्थानमा २४ घन्टाभित्र मर्मत गर्नुपर्ने र खानेपानीमा ढल मिसिइने समस्या भएकाले त्यसको मर्मत गर्ने साथै पानीको गुणस्तर जाँच गर्ने कामलाई प्राथमिकता दिनुपर्ने माग गरेका थिए।
मिति : २०७० फागुन २४, शनिबार

छैसठ्ठी वर्षपछि जुरेको संयोग

गोपीकृष्ण ढुंगाना
काठमाडौं : उमेरले ९५ टेकेका राष्ट्रकवि माधव घिमिरे उस्तै हँसिला देखिन्थे। ९४ पुगेका सत्यमोहन जोशी त 'जुरेली' नै भए। ९१ पुगेका मदनमणि दीक्षित ठमठम हिँडेरै आए। ८९ पुगेका श्यामदास वैष्णवको जोश उस्तै। यस्ता ६० वरिष्ठ स्रष्टाको भेलाले शनिबार नेपाल प्रज्ञाप्रतिष्ठानमा बेग्लै रौनक थप्यो। वरिष्ठ स्रष्टा भनिरहेका थिए, 'साहित्यमा यो ऐतिहासिक जमघट हो।'
भेलापछि परिसरमा रहेको डबलीमा तीन लाइनमा सजिए स्रष्टा। फोटोपत्रकारले त्यो ऐतिहासिक क्षणको तस्बिर खिचे। राष्ट्रकवि घिमिरेले तत्काल प्रतिक्रिया दिए, 'आज स्रष्टाहरूको ऐतिहासिक भेला भयो। यी फोटा केही बेरमै विश्वव्यापी बन्नेछन्। अद्भुत समयसँगै विकास भएको प्रविधिले नेपालको यो ऐतिहासिक क्षण सबैले थाहा पाउनेछन्। म आज सबैको साथमा बसेर फोटो खिच्दा रोमाञ्चित छु।'
८४ वर्ष पुग्दा बाँचेको खुसियालीमा उत्सव मनाएको स्मरण गर्दै उनले थपे, 'वास्तवमै नब्बे नाघेका स्रष्टासहितको यो भेला सहज विषय होइन, थाहा छैन हामीमध्ये को कति समयसम्म कतिन्जेल बाँचौंला।'
यो मौका जुराइदिएको थिया- लेखक सूर्य सुवेदी र उनको पुस्तक 'सिर्जना र दृष्टिकोण'का प्रकाशक हिमालय बुक स्टलले। यस्तो ऐतिहासिक क्षण यसअघि राजधानीको त्रिचन्द्र क्याम्पसको सरस्वती सदनमा २००४ सालमा भएको वरिष्ठ साहित्यकारबताउँछन्।
त्यसको संयोजन केदारमान व्यथित र जगदीशशमशेर राणाले गरेका थिए। उक्त तस्बिर चित्तरञ्जन नेपालीसँग छ। राजधानीबाहिर इलामको करफोकमा २००९ सालमा यस्तै अर्को ऐतिहासिक जमघट भएको थियो जसको संयोजन नरेन्द्रनाथ बास्तोला र महानन्द सापकोटाले गरेका थिए। त्यसको तस्बिर डा. तारानाथ शर्मासँग छ।
नब्बे नाघेका स्वामी प्रपन्नाचार्य र धर्मराज थापा भने कार्यक्रममा आउन सकेनन्। २००५ साल र सोभन्दा अघि जन्मिएर दशकौं साहित्यमा सेवा गरेका ५९ जनाको अन्तर्वार्ता छापिएको 'सिर्जना र दृष्टिकोण' पुस्तक लोकार्पणपछि श्यामदासले भने, 'प्रशंसनीय ऐतिहासिक यो भेला अन्तर्राष्ट्रिय जगत्मा नेपाली वाङ्मयको महत्त्व देखाउन उदाहरणीय हुनेछ।'
कृतिमा अन्तर्वार्ता समेटिएकामध्ये विजय मल्ल, यदुनाथ खनाल, महानन्द सापकोटा, भानुभक्त पोखरेल, जगदीश घिमिरे र माधवलाल कर्माचार्यको भने निधन भइसकेको छ। उच्च रक्तचाप, मधुमेह र मिगौलाको रोगले पीडित कृष्णप्रसाद पराजुलीले भेलाले आफूलाई कृति लेख्न हौस्याएको बताए। उनले भने, 'मेरो आयु लम्बिएको अनुभूति गर्न पाएँ।' सत्यमोहनले भेलालाई 'इन्साइक्लोपेडिया'को संज्ञा दिए।
डा. खगेन्द्रप्रसाद लुइँटेलले ऋषितुल्य स्रष्टाको जमघटले साहित्यको उचाइमा अर्को इँटा थपेको बताए। प्राध्यापक तुलसी दिवसले वरिष्ठ स्रष्टाहरूको अन्तर्वार्ता प्रकाशनमात्र नभई श्रव्य र दृश्यसमेतको सँगालो तयार पार्नुपर्ने बताए। भुवन ढुंगानाले वरिष्ठ महिला स्रष्टाको पनि ऐतिहासिक जमघट हुनु आवश्यक भएको बताइन्। भनिन्, 'महिलानेत्रीहरूले भित्रैदेखि आन्दोलित भएर यस्तो काम गरे हलचल ल्याउन सक्छ।'
सम्पादक एवं संयोजक सुवेदीले भोकै निरन्तर स्रष्टा किन लेखिरहेछन् भन्ने भित्री रहस्य पत्ता लगाउन ४१ वर्ष पहिलेदेखि लिएका अन्तर्वार्ता समेटेर कृति तयार पारेको बताए। उनले अन्नपूर्णसँग भने, 'राष्ट्रका सम्पत्तिसमेत बनेका स्रष्टाले आफैंले आफ्नाबारेमा के भन्दा रहेछन् भनेर खोतल्ने प्रयास हो यो।' कृतिले स्रष्टाका व्यक्तित्व, कृतित्वका साथै करिब सय वर्षको साहित्यिक सेरोफेरोबारे समग्र खुराक दिनेछ।
कार्यक्रममा कमल दीक्षित, परशु प्रधान, श्यामप्रसाद शर्मा, तारानाथ शर्मा, रत्नशमशेर थापा, राजेश्वर देवकोटा, लोकेन्द्रबहादुर चन्द, गोविन्दप्रसाद लोहनी, तेजेश्वरबाबु ग्वंग:, गीता केशरी, यादव खरेल, रामदयाल राकेश, वासुदेव त्रिपाठी, शिव रेग्मी, माया ठकुरी, पद्मावती सिंह, पुष्कर लोहनी, गोपीकृष्ण शर्मा, दुर्गालाल श्रेष्ठ, तोया गुरुङलगायत थिए।
मिति : २०७० फागुन २५, आइतबार

Sunday, March 2, 2014

दक्षिणा कम भयो भन्दै जोगीहरूद्वारा गुठीका शाखाप्रमुखमाथि हातपात

गोपीकृष्ण ढुंगाना





महाशिवरात्रीमा आएका जोगीहरू शनिबार दक्षिणा बुझ्दै। गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दक्षिणा दिएका थिए।

काठमाडौं : महाशिवरात्रीका लागि पशुपति आएका जोगीलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दक्षिणा दिएर बिदा गरेका छन्। दक्षिणाका लागि कार्ड वितरण गर्ने क्रममा गुठी संस्थान काठमाडौं शाखाका प्रमुख जयप्रसाद रेग्मीमाथि शनिबार राम मन्दिर परिसरमा जोगीले आक्रमण गरेका छन्। एक जोगीले रकम कम भएको भन्दै रेग्मी र एक प्रहरीलाई हिर्काएका थिए।



कार्ड वितरणपछि जोगीको नङमा रङ लगाइदिने काम हुँदै थियो। 'केही जोगी रङ पुछेर दोहोर्‍याएर आउन थाले। कसैले बढी पैसा पाउने कार्डको माग गर्न थाले', रेग्मीेले भने, 'उनीहरूका कारण एकाएक वातावरण तनाउग्रस्त बन्यो। एक जोगीले पहिले प्रहरीलाई हात हाले। त्यसको १५ मिनेटपछि मलाई पछाडिबाट ढाडमा हाने।' प्रहरीले हस्तक्षेप गरी तनाउ साम्य पारेको थियो।



संस्थानले पशुपति गोश्वारा कार्यालयमार्फत करिब पाँच हजार जोगीलाई पाँच दिनसम्म खाना र धुनीका लागि दाउरासमेत उपलब्ध गराएको कार्यालयप्रमुख खिमा वलीले बताइन्। उनले भनिन्, 'संस्थानको नियमअनुसार उपयुक्त दक्षिणा दिएका हौं।'



उनका अनुसार नागा सम्प्रदायका दिगम्बर र थानापतिहरूलाई एक हजार एक सय, लालमोहरीलाई सात सय ५१, विभिन्न सम्प्रदायका प्रतिष्ठित तथा महन्थलाई पाँच सय ५१, साधुसन्तलाई तीन सय ५१, फकिरहरूलाई दुई सय ५१ र फिरन्ते तथा माग्नेहरूलाई एक सय ५१ रुपैयाँ उपलब्ध गराइएको छ।' उनले जोगीहरूलाई यसपटक करिब १३ लाख रुपैयाँ दक्षिणा बाँडिएको बताइन्।



तीन वर्षदेखि दक्षिणा दिन थालेको कोषले यसपटक पनि जोगीहरूको स्तरअनुसार एक सय एकदेखि पाँच हजार एक रुपैयाँसम्म दिएको छ। कोषले प्रत्येक जोगीलाई दक्षिणासँगै रूद्राक्षको माला दिएको थियो।



कोषका निर्देशक रमेश उप्रेतीका अनुसार वरिष्ठ जोगीलाई पाँच हजार एक, दण्डीलाई एक हजार एक, नागा प्रथमलाई सात सय एक, नागा द्वितीयलाई पाँच सय एक, नागा तृतीयलाई तीन सय एक, सामान्यलाई दुई सय एक र फिरन्तेलाई एक सय एक रुपैयाँ दिइएको छ। उनले छुटेकालाई एक सातासम्म दक्षिणा उपलब्ध गराइने जानकारी दिए।



जोगीहरू नेपाल र भारतका विभिन्न स्थानबाट पशुपति आएका थिए। कोही पहिलोपटक आएका थिए भने कोही बर्सौंदेखि आइरहेका थिए। पहिलोपटक आएका जोगी भने दक्षिणाबाट सन्तुष्ट भेटिए। बाराबाट पहिलोपटक आएका ४९ वर्षीय सदै गिरी दुई सय ५१ रुपैयाँ पाए पनि खुसी थिए। उनले भने, 'आफ्नै देशको राजधानी पहिलोपटक आउने अवसर शिवरात्रीले जुरायो। मलाई दक्षिणाभन्दा पनि शिवको आराधना गर्न पाउँदा खुसी लागेको छ।'



राममन्दिरमा कार्ड वितरणका क्रममा सामान्य झडप भएपछि ६० वर्षीय जोगी दुखा परियारले कार्ड पाउन सकेनन्। १० वर्षअघि क्यान्सरका कारण दाहिने खुट्टा गुमाएका महोत्तरीका परियारले भने, 'अरूका कारण कर्मचारी रिसाउँदा हामीजस्ताले कार्ड पाएनौं। गाडीभाडा र बाटोमा खानका लागि चाहिन्छ भनेर दुईपटक माग्यौं। अब कतिपटक माग्ने?'



कोषका सदस्यसचिव गोविन्द टन्डनले सांसारिक मोहत्याग गरिसकेका जोगीले दानदक्षिणाका लागि लोभ गर्न नहुने बताए। उनले भने, 'गुठी संस्थानले दिइरहेकै छ। कोषले पनि जोगीको वर्गीकरण गरी आवश्यकताअनुसार रकम दिएकै छ। अनावश्यक झगडा गर्नुपर्ने कुनै काम नै छैन।'

मिति : २०७० फागुन १८, आइतबार

Saturday, March 1, 2014

ब्रह्मपुत्र, बाटुलादेवी र बगेको मन photo


ब्रह्मपुत्र, बाटुलादेवी र बगेको मन


तयारी तेजपुरको थियो। सबै नयाँ ठाउँको भ्रमणको कल्पनामा थिए। भारतको शोणितपुर जिल्लाको पानीभण्डारामा रुमल्लिएको तीन दिन भइसकेको थियो। नेपालबाट त्यहाँ पुगेका दुई दर्जन हामी असम राज्यकै तेजपुर जाने खुसियालीमा रमाइरहेका थियौं।
मार्च १५, २०१३ अर्थात् गत वर्षको चैत २ गते। बिहान करिब ८ बजेको थियो। नेपालबाट आएको टेलिफोनको दुई शब्दले मलाई एकाएक 'शब्दविहीन' तुल्यायो। बोलीहरू बन्द भए। वरपरका केटाकेटी र चराचुरुंगीका आवाज पनि मध्यरातमा जस्तै चकमन्न भएझैं भयो। बोलिरहने म बोल्न छोडेपछि गोपाल दाइले सोध्नुभयो, 'के भयो, कुनै नराम्रो खबर हो?' भनिदिएँ, 'हो दाइ, मेरी घरकी हजुरआमा...।'
अघिल्लो दिनको कार्यक्रम राति अबेरसम्म चलेकाले शिव आचार्यकै घरमा सुतेको थिएँ। मर्निङ वाक गर्दै आफ्नो बासस्थान फर्किंदा म बस्ने गरेको घरका दाइ गोपाल पौडेलले आफ्नो मोबाइल दिँदै भनेका थिए, 'भाइ, घरबाट बुहारीको फोन आएको छ।' यसअघि पनि सम्पर्कका लागि उनले त्यही नम्बरमा घन्टी बजाउने गर्थिन् केवल शुभ समाचारका लागि।
असम नेपाल साहित्यिक मितेरी समारोहमा पुगेका हामीलाई 'होम स्टे' जसरी बस्ने व्यवस्था मिलाइएको थियो। अझ भनौं, पाहुनाझैं। मेरो हकमा त म त्यो घरमा बस्ने एक्लै थिएँ। आफ्नै घरभन्दा केही फरक थिएन। गोपाल दाइकी पत्नी गीता लुइँटेलकी छोरी भएकाले चिनजानमै उनले मलाई 'दाइ' सम्बोधन गरिन्। त्यसैले पकाउनुअघि मेरै 'च्वाइस' सोधिन्थ्यो।
मोबाइलको सूचनाले मेरो मनलाई सुटुक्क हरण गरेको थियो। मर्निङ वाकबाट पुनर्ताजगी बनेको फूर्ति एकाएक सकियो, थचक्क बसेँ। तेजपुर जाने जोश क्षणभरमै लोप भयो। असम जाने भनेर काठमाडौंबाट हिँडेपछि फत्तेपुरस्थित मावलबाट फोन आएको थियो, 'हजुरआमा सकिनुभयो।' सुनेपछि बाटो काट्न मिलेन। झापाकी हजुरआमालाई भेटेर असम जान यात्रा तय गरेको म सप्तरी फत्तेपुर मोडिएको थिएँ।
असम जाने काठमाडौंको टोली छोडेर एक दिनअघि म झापा हानिएको थिएँ, काँकडभिट्टामा भेट्ने योजनामा। मावलकी हजुरआमा नन्दकुमारी पराजुलीलाई नजिकैको त्रियुगा नदीमा सदाका लागि बिदा गरेर झापा गौरादह पुगेको मैले घरकी हजुरआमा बाटुलादेवीलाई भने अन्तिम भेट गर्न पाएको रहेछु।
घरछेउको सडकमा दुईवटा गाडी रोकिए। आवाजसँगै बजेको चर्को हर्नले म हडबडाएँ, तेजपुर जाने हाम्रो टोली आइपुगेछ। हजुरआमाको गए राति भएको निधनले मलाई पानीभण्डाराबाट झापाको गौरादह पुर्‍याएको थियो। हुलमुलमा हिँडौं, मन सबैबाट एक्लिएको छ। नहिँडौं, दिमागलाई तनाव र मनलाई झनै सास्ती। मैले मावली हजुरआमाको पाँचदिने जुठो बारिसकेको तेस्रो दिनमात्रै भएको थियो।
टोलीले मावलको हजुरआमाको घटनापछि पनि असमसम्म आइसकेको प्रसंग सम्झाउँदै तेजपुरका लागि कर गर्न थाले। 'शोकमाथि शोक' थपिएपछि मलाई बोल्न मनै लागेन। यात्रामा मेरा लागि गीता बैनीले खानेसम्मको व्यवस्था मिलाइसकेकी रहिछन्। जान करै लाग्यो। हिँड्ने मनस्थिति तयार पारेँ एउटै सर्तमा, 'हजुरआमाको स्वर्गीय यात्रामा म किन बाधक बनूँ? हजुरआमाले दु:ख बिसाउनुभयो भन्नु नै जाति लाग्यो।'
गाडी एकपछि अर्को गर्दै घरहरूलाई पछाडि पारेर अघि बढ्यो। तर, मेरो मन भने पछाडि नै दौडिइरह्यो, 'नोस्टाल्जिक' भयो। अल्जाइमर रोगले चार वर्षदेखि समस्याग्रस्त जीवन भोगेकी हजुरआमाले दु:ख बिसाए पनि मेरो मनले त्यो मान्न तयारै भएन। रोगले गति लिँदै गर्दा २०६८ भदौको २७ गते हजुरबुबा पुष्पलालले हाम्रो साथ छोड्नुभएको थियो। हजुरबुबाको अन्तिम चाहना पनि अधुरै भएको थियो, 'आफूभन्दा अघि पत्नीलाई बिदा गर्ने।'
बरु हजुरआमाले नै बिदाइ गर्नु पर्‍यो पतिलाई, होशमा होइन बेहोशमा। उहाँले न हजुरबुबा निधन भएको पत्तो पाउनुभयो न औपचारिक बिदाइ नै। त्यति बेला डाँको छोडेर रुनुभएको थियो बाटुलादेवी। तर, पतिसँग वियोग हुँदैछ भन्ने थाहा पाएर होइन। अन्तरआत्माबीच जोडिएको हुनुपर्छ बिछोड हुन लागेको संकेतको तार। हजुरआमा कहिले बाटो हिँड्ने मान्छेलाई बोलाउनुहुन्थ्यो त कहिले बेहोशीमै दौडिने त कहिले सानो नानीझैं रोइदिने। यस्तै मनोदशामा तीन वर्षदेखि गुज्रिनुभएको थियो उहाँ।
चारैतिर छरिएका र जथाभावी चिरिएका जस्ता लाग्ने बाटा छिचोल्दै गाडीले ब्रह्मपुत्र नदी पुर्‍याएछ। बाटामा एउटै सिटमा रहेकी बाबा बस्नेत दिदीले आफ्नो पारिवारिक कथा सुनाइरहनुभएको थियो। दिदी आफ्नै नदी बगाइरहनु भएको थियो, म भने आफ्नै नदीमा बगिरहेको थिएँ। ब्रह्मपुत्रको नदीमा रहेको तीन किलोमिटरभन्दा लामो पुलमा पुगेका रहेछौं।
पानीभण्डारा पुगेकै दिन ब्रह्मपुत्र नदीको पहिलो स्पर्श पाएको थिएँ। बाबा दिदीले ब्रह्मपुत्र पुगिहाल्ने हतारो लगाएपछि सेन्ट्रोमा सोही दिन पाँचजना पुगेका थियौं। डुंगा चढेर पारिको थुम्को घुमेका थियौं। लामो नदी ब्रह्मपुत्र असम राज्यको धेरै ठाउँ छोएर बगेको रहेछ। प्रेमिकाजस्तो प्रत्येक पल आँखामा ठोक्किएजस्तो ऊ हाम्रो यात्रामा जता पनि ठोक्किन आइपुग्थ्यो। एकपटक होइन, पटकपटक अँगालोमा बेरिरह्यो ब्रह्मपुत्रले हामीलाई। सहयात्री साहित्यकार सबै त्यो लामो पुलमा रमाए, म भने ब्रह्मपुत्रसँगै विलीन भएर मन बगाइरहेको थिएँ।
गाडीले नदीमाथिको पुलमा आफ्नो गति नापिरहेको थियो। समुद्रझैं सोत्तर परेर आफ्नो सिमाना लुकाएको ब्रह्मपुत्र नदीको क्षितिज नियालिरहेका थियौं हामी। चारैतिर जता हेरे पनि देखिरहेका थिएनौं त्यसको अन्त्य, पुलको बीचमा पुगेका हामीले। हो, त्यसरी नै देखिरहेको थिइनँ मैले पनि मेरी हजुरआमाको श्वासबिनाको खास आकृति। उहाँ पनि ब्रह्मपुत्रझैं पारि कतै अन्तहीन लाग्ने सीमामा हुनुहुन्थ्यो सायद।
मध्याह्न १२ बजेको थियो। ब्रह्मपुत्रमाथि दौडिरहेको शरीरलाई छोडेर मेरो मन कृष्णी खोलामा पुग्यो। छरछिमेकले चिता बनाइरहेका होलान्। कोही आमा र फुपू दिदीहरूलाई 'नरुन' सम्झाइरहेका होलान्। दुई वर्षअघि बुबा गुमाएका चारैजना बुबालाई दोस्रो झड्काले कति पछारेको होला? बुबा दीनानाथ आमाले खुवाएको, हुर्काएको, माया गरेको सबैसबै सम्झिरहनुभएको होला, सामुन्नेको आमाको 'मुढो' शरीरलाई साक्षी राखेर।
मलामीहरू चितामा आगो लगाउन हतारिइरहेका होलान्। बिदाइ गर्ने मन नहुँदानहुँदै पनि दागबत्तीको आगो मुखमा पुर्‍याउँदै हुनुहुन्छ होला। दसकौंदेखि आमासरह पालेकी सासूको अन्तिम बिदाइमा मेरी आमा चन्द्रकला कति विक्षिप्त हुनुभएको होला। यसअघि बुबासरह स्याहारसुसार गरेका ससुराले अन्तिम बिदाइ लिँदा भक्कानिँदै लडेको दृश्य मेरो सामुन्ने आयो।
आठ दिनअघिमात्र जन्म दिने आमा नन्दकुमारीले सदाका लागि छोड्दा त्रियुगा घाटसम्म पुगेर रोइरहँदा बेहोश हुनुभएको पनि झल्झली आँखाभरि दृश्यहरू चलायमान भए। 'होइन, यो भाइ त 'अँ' 'हो' मात्रै भनिरहन्छन्, मेरो कुरा सुनेकै छैन कि क्या हो?', तेजपुर विश्वविद्यालय मोडिने बेलामा बाबा दिदीले मेरो बगेको मनमा अचानक बाँध हाल्दिनुभयो।
पानीभण्डाराबाट तेजपुर करिब सय किलोमिटर दूरीमा रहेछ। सय किलोमिटरको दौडाइपछि २५ जनाको तन र मन दुवै तेजपुर पुग्यो। मेरो भने मन पुन: क्षणभरमै हजारौं किलोमिटर दूरीको यात्रा तय गरी नेपालको झापा गौरादहस्थित घाट रहेको कृष्णी खोला पुग्यो।
सानैदेखि हजुरबुबा हजुरआमाको 'प्यारो नाति' मैले हजुरबुबालाई त आँखाले बिदाइ गर्न पाएको थिएँ तर हजुरआमालाई पाइनँ। चार छोरा र दुई छोरीका १६ नाति र पाँच नातिनीमध्ये बढी माया पाएको अनुभूतिले नै हुनुपर्छ, सयौं सहरपारि पुगेको मनलाई हजुरआमाले तानेको।
कर्मथलो काठमाडौंबाट हजुरआमाको अल्जाइमरका चार वर्षमा केहीपटक घर पुगेको थिएँ। तर, छुट्टिँदा हजुरआमालाई ढोगेर हिँडेको थिइनँ। असम जाने दिन बिहान बिदा माग्दै खुट्टामा ढोगेको थिएँ। अन्तिम बिदाइको ढोगाइ रहेछ त्यो। मलाई प्रस्ट थाहा छ, मैले हजुरआमासँग मागेको त्यो अन्तिम बिदाइ उहाँलाई थाहा थिएन।
लागिरहेछ, अचेत भएर साता दिनदेखि सुतेकी हजुरआमाबाट मैले 'आशीर्वाद' ग्रहण गरेँ। विचरी हजुरआमालाई वर्षौंदेखि बिछ्यौनामा पल्टिँदा रातदिन आफ्नै हड्डी कति बिझाएको थियो होला? पछिल्लो एक वर्षयता त ८७ वर्षीया उहाँको शरीरमा मासु थिएन भने पनि हुन्छ।
शोणितपुरको राजधानी तेजपुर पनि ब्रह्मपुत्रकै किनारामा लुटपुटिएको रहेछ। गणेश घाट हुँदै भव्य पार्कका लागि अघि बढ्दै थियौं। गणेश घाटले फेरि एकपटक कृष्णी घाट सम्झायो। एकोहोरो शंखको ध्वनि गुञ्जियो कानभरि। लाग्यो, 'चिताको खरानी पखालेर बुबा, आमा, आफन्त र छिमेकी घर पुगिसके।'
घरमा पुगेर आँगनमा कपाल खौरिएका बुबाहरू सेतो वस्त्रमा चुपचाप बसेको नियालेँ पार्कको भव्य हरियाली र सुन्दर फूलहरूको बीचबाट। घुमघामपछि राति अबेर फर्कियौं। गोपाल दाइ र गीता बैनी भोटे ताल्चा लगाएर साहित्यिक समारोहको सांस्कृतिक कार्यक्रममा जानुभएको रहेछ। छेउको घरकाले बिछ्यौनाको व्यवस्था गर्दिए। 'हामीलाई निद्रा लागेन, हाम्रो मनले मानेन' भन्दै दिनभरिको भोको मेरा लागि त्यो घरकी दिदी सुक्खा रोटी पकाउन लागिन्।
बाटोमा फलफूल खाएको छु भनेर आआफ्नो बिछ्यौनामा पुगेका हामी फेरि उठ्यौं। मध्यरातको १२ बजेको रहेछ। एकातिर नेपालीको वर्चश्व रहेको शोणितपुरका नेपालीको मन सम्झेर अबेरसम्निद्रा लागेन, अर्कातिर असम्भव बनेको हजुरआमासँगको पुनर्भेट। म आज वर्ष दिनपछि पुन: 'नोस्टाल्जिक' बनिरहेछु। नोस्टाल्जिक हुनुको एउटै कारण हो- हजुरआमाले छोडेको पनि फागुन २० गते तिथिले वर्ष दिन पुग्दैछ।

मिति : २०७० फागुन १७, शनिबार