Sunday, December 30, 2012

बिम्बहरूसँग सरुभक्त

बिम्बहरूसँग सरुभक्त



जुलुसमा कुनै झण्डा छैन

किनभने बहुलाही आमाहरुको कुनै झण्डा हुँदैन

जुलुसमा कुनै नारा छैन

किनकी बहुलाही आमाहरुको कुनै नारा हुँदैन

सम्सुद्दीनका आक्रमणहरुदेखि बेखबर

पशुपतिनाथ र स्वयम्भूनाथका बाँदरहरु

पिंजडामा तित्रा बोकेर

छाती भरिभरि

छातीमा नअटाउने गरी

‘मञ्जूश्रीपट्ट’ का विशिष्ट पदकहरु टाँसेर

भण्डारखालतर्फ कूचमार्च गर्दा

जंगबहादुरहरुको छालाको शिकार खेल्न

देशमा बहुलाही आमाहरुको जुलुस निस्केको छ...

‘ बहुलाही आमाहरुको जुलुस’ शीर्षकको यो कविता समकालीन नेपाली साहित्यमा सर्वाधिक सशक्त, सिर्जनशील र क्रियाशील हस्ताक्षरका रुपमा परिचित सरुभक्तको हो। पोखरामा स्थापित साहित्यकार सरुभक्त सरोकार केन्द्रले आइतबार राजधानीमा आयोजना गरेको ‘बिम्बहरुका साथ सरुभक्त’ नामक एकल कविता वाचनमा छोरी मानिएकी सरस्वती प्रतिक्षाले उक्त कविता वाचन गरेकी थिइन्। करिब दुई दर्जन कविता वाचन गरेर सरुभक्तले राजधानीका साहित्यिक मनहरुलाई घरी भावुक बनाए त घरी इतिहास सम्झाए। अनि कुनै कविताले कीर्तिपुर र काठमाडौंको सेरोफेरोको सफर गराए त कुनै कविताले पोखरा र मुक्तिनाथसम्म पुयाए।

नोस्टाल्जिक हुनेक्रममा सरुभक्तले भने, ‘तीन दसकअघि विद्यार्थीहुँदा कीर्तिपुर र काठमाडौं अनि आसपासलाई बिम्ब बनाएर लेखेको कविता आज अहिले कीर्तिपुरमा पढिरहेका विद्यार्थीलाई समर्पण गर्दै सुनाउन चाहन्छु ‘कीर्तिपुर मलाई माफ गर।’ लगत्तै उनी हिमाल पारीको जिल्ला भनिएको मुस्ताङको मुक्तिनाथ पुगे। २०५० सालमा उनले गाउँ गाउँ गएर बिम्बहरु टिपेर कविता लेख्ने अभियान नै चलाए। सोहीक्रममा २०५५ सालमा मुक्तिनाथ पुग्दा उनले संरक्षण कविता सुरु गरेका थिए र पाँच सूत्रीय घोषणापत्र जारी गरेका थिए। जुन मन्दिरमा देशभित्र र बाहिरका धर्मावलम्बीहरु वर माग्न पुगेको देखे, त्यहाँ उनले त वर माग्नुको सट्टा वर नदिनु भन्ने आग्रह गरेछन्। उनले क्षणलाई समेटेर लेखेको कविता पनि सुनाए, ‘मुक्तिनाथ मलाई मुक्तिको वर नदेऊ।’ एकल कविता वाचनको यात्रामा उनले हलभित्रका स्रोतालाई आफ्नै ठाउँ पोखराको लुम्ले पुयाए, ‘भेडाच्याङ्ग्राहरुको देश’। भोटबाट भेडाच्याङ्ग्रा पोखरा ल्याएको दृष्यले सिर्जना गराएको यो कवितामा उनले कविताको अन्य यसरी गरेका थिए, ‘...सायद, भेडाच्याङ्ग्राहरुको देशमा भेडाच्याङ्ग्राहरुलाई मृत्युको अर्थ थाहा हुँदैन।’

वाचनका क्रममा सरस्वतीझैं सरुभक्तलाई अर्को विश्राम दिएका थिए, अनुप बरालले। उनले सरुभक्तलाई कवितालाई जीवनको एकदमै नजिक लगेर अदृष्य रुपमा व्यक्त गर्ने कविका रुपमा चिनेका रहेछन्। उनले भने, ‘सरुभक्त मेरा आदर्श साहित्यकार र शिक्षक हुनुहुन्छ, उहाँले कहिले प्रेमी र कहिले पागल भएर कविता, नाटक र उपन्यास लेख्नुभयो।’ सरुभक्तले पुनः वाचनको क्रम जोड्दै निरीह पशुपंक्षीका आदिम बिम्बहरुमा जीवन समेट्ने कोशिस गरे। ‘साइकल र कुखुराहरु’ शीर्षकको कविता प्रस्तुत गर्दै उनले थपे, ‘कुखुराले आकाशलाई भूइँमा देखे अनि भूइँलाई आकाश।’

‘सर्वहारा धर्तीमाथि धर्तीका काला घोडाहरु’ जस्ता लामा कवितादेखि ‘प्रेम र बम बिस्फोटन’, ‘समय’ जस्ता छोटा कविताहुँदै सरुभक्तले ‘गाउँ’, ‘भोको पेट’ र ‘सभ्यता’ जस्ता मुक्तकसम्म सुनाएर स्रोतालाई विविधता प्रदान गरे। देश, समाज, जीवन र दर्शनसम्बन्धीका पाँच मुक्तकले स्रोतालाई भिन्न भिन्न दुनियाँमा दौडाए । जीवनका व्यस्तताबीच छोटा कविताको आफ्नै महत्व हुन्छ भन्दै उनले सुनाएको प्रेम र बम बिस्फोटनको अनुभव र अनुभूतिले पाठकलाई जुरुक्क जुरुक्क पारेको थियो । २०१२ सालमा जन्मिएर २०३४ सालदेखि साहित्य सिर्जनाको ढोका उघारेका सरुभक्तले हालको शासन व्यवस्था गणतन्त्रका मात्र कविता सुनाएनन्। राणाकालीन समयको यथार्थ प्रतिबिम्ब बोकेको ‘समय’ शीर्षकको कवितामा उतिबेला गाउँघरका चेलीबेटी काठमाडौं आउँदा कसरी राणाका दरबारमा पुग्थे भन्ने तीतोसत्यलाई समेत सुनाउन भ्याए ।

कविता, गीत, मुक्तक, एकांकी र पूर्णांकी नाटक, विज्ञान कथा, बालसाहित्य र उपन्यासजस्ता साहित्यका विविध विधामा कलम चलाएर आफ्नै पाठकको पोखरी बनाइसकेका सरुभक्तका नाममा २०६० सालमै ‘साहित्यकार सरुभक्त सरोकार केन्द्र’ खोलिसकिएको छ । उनले नाटक र कवितामा नेपालका सर्वोत्कृष्ट पुरस्कारहरु पाइसकेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसमेत रहेका सरुभक्तले नेपाल र विदेशमा एकल कविता वाचनका कार्यक्रमहरु सम्पन्न गरिसकेका छन् । विदेशिने क्रममा वा स्वदेशमै विदेशी आउँदा भेट भएकी मारियालाई सम्झिएर लेखेको कविता पनि उनले कार्यक्रममा सुनाए। उनले अदालतमा भित्र ढाँटे पनि बाहिर साँचो बोल्छु भन्ने प्रण गरेको नाटक नगर्ने गरी कविता लेखनमा प्रस्ट बोल्ने बताउने सरुभक्तले ‘म कवि, प्रेमी र पागल’ भन्दै अर्को कविता वाचन गरे, ‘मारिया म तिमीलाई प्रेम गर्न सक्दिनँ ।’ आफ्नो हुन नसकेकी वा बनाउन नसकेकी प्रेमीकादेखि गौतम बुद्धको शुन्यवादसम्मका कविता सुनाउँदा स्रोताले विश्व परिवेशकै भ्रमण गरेको अनुभूतिसमेत गरेका थिए । प्रयोगवादीहरु मोहन कोइराला, वैरागी काइँला र ईश्वर वल्लभबाट प्रभावित भएको बताउँदै उनले थपे, ‘संसारका कविता लेख्ने सबै कविजति नै होलान् सिद्धान्त पनि ।’

सरुभक्तले डार्बिनको विकासवादी सिद्धान्त सम्झिए अनि सम्झिए नित्से, महर्षी अरबिन्द, माक्र्स आदि । सामुन्नेको ड्यासमा बसेर राष्ट्रकवि माधव घिमिरे, प्रज्ञा प्रतिष्ठानका कूलपति वैरागी काइँला, उपकूलपति गंगाप्रसाद उप्रेति, ललितकला प्रज्ञा प्रतिष्ठानका कूलपति किरण मानन्धर, संगीत तथा नाट्य प्रतिष्ठानका उपकूलपति प्रचण्ड मल्ल, प्राडा तारानाथ शर्मा, नेमकिपाका अध्यक्ष एवं साहित्यकार नारायणमान बिजुक्छे, गजलकार बुँद राना, चलचित्र निर्देशक तुलसी घिमिरे र उनकी पत्नी एवं कलाकार भारती गजमेर लगायत दर्जनौं वरिष्ठहरुले सरुभक्तका बौद्धिक कविताको खुलेरै प्रसंशा गरेका थिए । सरुभक्तले कविताक्रममा फ्रायड र उनको अवचेतन मनको प्रसंग पनि सम्झिए, ‘प्रेम अवचेतन मनमा घटित हुन्छ, हिमखण्डजस्तै अनि आइसवर्गजस्तै हुन्छ प्रेम ।’ उनले थपे, ‘प्रेमका नाममा दर्शन र इतिहासहरु अनि कयौं कविता जन्मिए, रचिए अनि धेरै सभ्यताहरु ध्वस्त भए, निर्माण पनि गरिए ।’ एकल कविता वाचनको रोचक पक्ष थियो, लगभग एउटै सासमा वाचन गरिएको कविता अनि समाचारमूलक शैलीमा वाचन गरिएको कविता, ‘अवचेतन’ ।
मेरो twitter

Thursday, September 20, 2012

बोलीमै वाङ्मय


-गोपीकृष्ण ढुंगाना

साहित्यको संसार छुट्टै हुन्छ। कसैको यसले मनै हर्छ तर कसैले यसलाई एक रत्ति मन पराउँदैनन्। कृति निकालेरमात्र कुनै पनि साहित्य आमपाठकमाझ पुग्छ भन्ने छैन। त्यसलाई आमपाठकसम्म पुयाउनु छ भने आमसञ्चार माध्यमको सहारा लिनैपर्छ। चाहे त्यो छापा होस् चाहे विद्युतीय। विद्युतीयमा पनि रेडियोका माध्यममार्फत् प्रभावकारी ढंगबाट सर्वसाधारणसम्म साहित्य पुयाउन लागिपर्नेहरुको जमात पनि कम छैन। नेपालमा २०२८ सालदेखि सुरु भएको रेडियो साहित्य अहिले दर्जनौं एफएमरेडियोमा विस्तारित भइसकेको छ। कोही साहित्यका शुभचिन्तक छन् त कोही साहित्यकार। अनि यसका सञ्चालक स्नातकोत्तर तह सक्नेहरु पनि छन्। कोही झर्रा शब्द र रसिक शैलीको प्रस्तुति गर्ने छन् त कोही आगन्तुक शब्दमा निर्भर अनि पाठकलाई आफ्नो स्वरमा भुल्याउन नसक्ने पनि। पछिल्लो तथ्यांकअनुसार, नेपालभर एफएमको संख्या चार सय ७५ पुगेको छ। अधिकांशले साहित्यिक कार्यक्रम सञ्चालन गर्दैआएका छन्, फुर्सदले यसपटक प्रतिनिधि पात्रका रुपमा केही सञ्चालकलाई जमघट गराउने प्रयत्न गरेको छ। अन्नपूर्णकर्मी गोपीकृष्ण ढुंगानाको आलेख ः

एउटा इरानी चरा बुलबुल, बुलबुल, बुलबुल...। एचबिसी एफएमबाट प्रत्येक राति नौबजेदेखि एक घण्टा यसरी नै बुलबुल नामक साहित्यिक कार्यक्रम बज्थ्यो। युवा पुस्तामाझ लोकप्रिय गजलविशेष यो कार्यक्रमका श्रोता पनि विशेष नै थिए। तिनको प्रतिक्रिया पनि धेरै नै । धेरैले बुलबुलका कार्यक्रमसञ्चालक अच्यूत घिमिरेलाई चिन्दैनथे तर उनको आवाजमा मदहोस हुनेहरु प्रशस्त थिए । अच्यूतको आवाजमा लठिनेहरु बुधबारको प्रतिक्षामा हुन्थे । उनको बोलीमै वाङ्मय। तर दुर्भाग्य नै भन्नुपर्छ, एचबिसी एफएम बन्द भयो र बुलबुल पनि।

रिटिङरिटिङ बज्यो बिनायो,

खुल्यो साहित्यसंसारको दैलो।

जदौ जदौ जदौ श्रोता। त्यसपछि छन्दको कवितांश वाचन हुन्छ। जदौ म दाहाल यज्ञनिधि, आजको कार्यक्रमको दैलो उघारें ल। यसरी नै सुरु हुन्थ्यो, रेडियो नेपालको साहित्यिक कार्यक्रम ‘साहित्य संसार’। मृगौलाको समस्याले अहिले ओछ्यान परेका दाहाल अहिले केवल श्रोतामात्र छन् साहित्यिक कार्यक्रमका। विविध किसिमबाट किसानका भाषा र शैली बढी ल्याउने ठेट र झर्रो नेपाली शब्द प्रयोगमा ल्याइरहने उनका पुराना श्रोता अहिले पनि उनको रसिलो शैली पुनः सुन्न पाउने अपेक्षामा छन्। उनको पनि बोलीमा वाङ्मय सलल बग्थ्यो। लाग्थ्यो, उनले जे बोले पनि साहित्य। यो रेडियो नेपालमा केही वर्षअघिसम्म लामो समय गुञ्जिएको आवाज हो । रेडियो नेपालमा २०२८ सालदेखि साहित्यिक कार्यक्रम सुरु भएको हो। संभवत यही नै पहिलो हो । यसकै निरन्तरता हो दाहालको साहित्य संसार २०३६ सालदेखि। उनीपछि गीता कार्की र निलम कार्की निहारिकाले केही समय यसलाई निरन्तरता दिए। ‘नेपाली भाषाको ठेट स्वरुप कता छ भनेर थाहा नपाई लेख्य नेपालीले थिचिएको भाषा बोल्दैछन् अहिलेका कार्यक्रम सञ्चालक’ उनी चित्त नबुझेको कुरो राख्छन्। अहिले साहित्य संसार उद्गारमा परिणत गरेका छन् रमेश पौडेलले । रसिलो बोली नबोल्ने पनि साहित्यिक कार्यक्रम चलाउनेप्रति यज्ञनिधिको गुनासो छ। थप्छन्, ‘रोचक बनाउन कलात्मक खेल खेल्नुपर्छ, स्वर भ्रष्ट हुनुहुँदैन। ललित सिद्धान्तको भाषिक उच्चारणमा पहिले अभ्यस्त हुनुपर्छ । श्रुतिमाधुर्यका बारेमा बेग्लै अभ्यास गर्नुपर्छ।’

‘उद्गार’ रेडियो नेपालबाट बिहीबार बिहान साढे आठदेखि आधा घण्टा सञ्चालन हुन्छ। समाचारमा काम गर्ने आफूलाई कवि भनेर साहित्यको जिम्मेवारी आइलागेकाले २०५६ सालदेखि सञ्चालन गर्दै आएको उनी बताउँछन्। ‘आभासित आलाप’ लगायतका केही कृति लेखिसकेका गीतकार उनी भन्छन्, ‘उद्गार कार्यक्रमको मुख्य विशेषता भनेकै ओझेलमा परेका प्रतिभा खोजेर प्रकाशमा ल्याउनु हो । खासगरि सञ्चारमाध्यमबाट टाढा परेका र दूरदराजमा रहेर आवाज कतै पुयाउन नपाएकाहरुलाई मैले समेट्दै आएको छु।’ रेडियो नेपाल अहिले १०० मेघाहर्ज र इन्टरनेटमा पनि सुन्न सकिन्छ। तनहुँका रमेश मुलुकभर सुनिने रेडियो नेपालबाट साहित्यिक कार्यक्रम चलाउन पाउनुमा गर्व गर्दै अन्य एफएमभन्दा आधिकारिकता हुनेमा विश्वस्त छन् । उनले ‘अभिव्यक्तिको अर्को माध्यम उद्गार’ भन्ने नारा राखेर कार्यक्रम चलाउँदै आएका छन्। रेडियो नेपालमै सोमबार राति १० बजेपछि एक घण्टा ‘गजलगंगा’ कार्यक्रम पनि छ। नवीन दाहालले चार वर्षदेखि सुरु गरेको यो कार्यक्रममा गजल पढ्ने र स्रस्टा बोलाएर वाचन गर्न लगाउने काम गरिन्छ।

‘साहित्यको स्पन्दन र संगीतको सरगममा भरौं देशको धून र बनाऔं शान्त र सम्वृद्ध नेपाल नमस्कार म तपाईहरुको सुखदुखको साथी नवराज लम्साल’ रेडियो नेपालमै शुक्रबार बिहान १० बजेदेखि एक घण्टा सञ्चालन हुने ‘मधुवन’ कार्यक्रम यसरी नै सुरु हुन्छ। यो सुरु भएको पनि १६ वर्ष भइसक्यो । गीतकार एवं कवि लम्साल साहित्यिक कार्यक्रम गर्ने कुरामा युवा पुस्तालाई सम्बोधन गर्नुपर्छ भन्ने मान्यता बोकेर उदाएका थिए । ‘सिक्दै गरेकाले टेलिफोनबाट प्रत्यक्ष सुनाउँछन् कविता, गीत, गजल, मुक्तक आदि। वरिष्ठ साहित्यकारहरुलाई बोलाएर सैद्धान्तिक बहस पनि गर्छु।’ मधुवनको छुटटै संसार बनिसकेको छ। मधुवन साहित्यक प्रतिष्ठान गठन भएको चार वर्ष भयो। यसले ‘मधुवन’ साहित्यिक त्रैमासिक म्यागजिनको छैठौं अंक निकालिसकेको छ । यसको नारा पनि छ, ‘लेखन र प्रसारणमा मौलिकपन मधुवन’। आरआर क्याम्पसमा शनिबार दिउँसो सिर्जना वाचन को एक सय ४५ अंक पूरा गरिसक्यो प्रतिष्ठानले । मधुवनका ९० वटा श्रोता क्लब थिए । २३ वटाले हवाइ खालका पत्रिका निकाले । अनि हराए पनि। यिनैमध्येबाट भेला भएर अन्ततः अहिले प्रतिष्ठान सञ्चालनमा छ । लम्सालकै कथावाचनको ‘सुरसंगम’ पनि मधुवनसँगै सुरु भएको थियो। ‘ दोस्रो जनआन्दोलनदेखि हरायो । कथाका नाममा राजनीति आयो। पढ्दिनँ भने निलम्बनमा परियो’, सुरसंगमको इतिहास सम्झन्छन् उनी।

झापा बिर्तामोडकी लीला अनमोलले कञ्चनजंघा एफएममा १० वर्षसम्म साहित्यिक कार्यक्रम चलाईन्। केही महिनायता उनी यसबाट अलगिएकी छन्। आफैं एफएम खोल्ने तयारीमा छिन्। भन्छिन्, ‘खोलेपछि साहित्यकै कार्यक्रम चलाउने हो, तीन चारवटा पो चलाउँंछु।’ मोफसलमा रहेर पनि उनले प्रज्ञा प्रतिष्ठानका कूलपति वैरागी काइलादेखि भारत दार्जिलिङनिवासी आयमेली कवि इन्द्रबहादुर राईसम्मलाई आफ्नो कार्यक्रममा ल्याइन्। ‘१७ वर्षको केटाकेटी उमेरदेखि नै साहित्यिक कार्यक्रम चलाएँ झापाको पहिलो रेडियो कञ्चनजंघा एफएममा। साहित्य सहज लाग्छ, मोफसलमा छु भन्ने महसुस कहिल्यै भएन’, उनी भन्छिन्। उनी झापा आउने साहित्यकारलाई एफएफमा लगिहाल्थिन्। इमेल इन्टरनेट भएकाले मोफसल भनेर कार्यक्रम चलाउन हिच्किचाउनुपर्ने अवस्था नरहेको उनको भनाइ छ। उसो त रेडियो तरंगमा महिला आवाज कम छ त्यसमाथि साहित्यिक कार्यक्रममा झनै कम। सरला गौतम, सरु पोख्रेललगायतले पनि साहित्यिक कार्यक्रम चलाएका छन्।

भरतभूर्तेलले क्यापिटल एफएम खोले। उनैले शीर्षक जुराए, ‘पुस्तक संसार’। र बोलाए कृष्ण धराबासीलाई । ‘विभिन्न पुस्तक बजारमा आउँथे । परिचर्चा गरिन्थ्यो । लेखकको बारेमा केही सूचना दिइन्थ्यो’, धराबासी भन्छन् ‘महत्वपूर्ण अंश वाचन गरिन्थ्यो । उत्कृष्ट लेखक र प्रकाशकलाई फाइदा हुन्थ्यो । पाठकमा नपुगी थुप्रिएका स्तरीय कृतिको चर्चाले पुन बजार पाउँथे ।’ भरत साथी भएकाले स्रोता बढ्छन् साहित्यिक कार्यक्रम चाहिन्छ भनेपछि धराबासी कार्यक्रम चलाउन थालेको बताउँछन्। ‘भरतजीले एफएम लोकप्रिय र स्थापित हुन्छ भन्नुुहुन्थ्यो’, कञ्चनजंघा एफएम स्थापनाकालदेखि २०६४ सालसम्म लीला अनमोलसँग ‘हाम्रो साहित्य’ कार्यक्रम चलाउने उनी थप्छन्। एउटा कार्यक्रमको झापामा डेढ सय, काठमाडौंमा पाँच सय पाएको उनले सुनाए। एउटा कार्यक्रम बनाउन दुई तीन दिन लाग्छ, पढ्नु, भेट्नु, बजार बुझ्नु, भाडा जाँदाआउँदा, स्टुडियो कुर्नुपर्दा चारपाँच घण्टा । ‘लगानीमात्र एक हजार रुपैयाँं हुन्छ’ भन्ने धराबासी अहिले दिने पारिश्रमिकले केही फाइदा नहुने बताउँछन्। ‘चाहिन्छ पनि भन्ने तर पैसा पनि नदिने एफएमले संकट थपेका छन्। सञ्चालकलाई यथोचित सम्मान दिनुपर्छ । स्थापितलाई बोलाउँदैनन् रहर गर्नेलाई बोल्न पाइस् त भनेजस्तो गरेर दिएजस्तो गर्छन्’ उनको बुझाइ छ।

नेपाल वाणी ८७.६ रेडियो उपत्यकामा र नेपालवाणी डट कममा संसारभर सुनिन्छ। मंगलबार साँझ नौदेखि १० बजेसम्म सञ्चालन गरेको तुलसा पाठकले भदौमा वर्ष दिन पुग्छ । कलंकीनिवासी तेह्रथुमकी उनले अहिले ‘सिर्जना र अनुभूति’ चलाउँछिन् । यसअघि धराबासीसँग क्यापिटल एफएम तीन वर्ष पुस्तक संसार चलाइन्। सुरुका दुई वर्ष धराबासी र एक वर्ष एक्लै। उनको पनि रुची साहित्य नै हो । सानैदेखि रेडियोमा आकर्षित थिइन्। बोल्न पाउनु सपना थियो। दाहाल यज्ञनिधिको साहित्य संसारकी फ्यान । ‘महिला सञ्चालक कम हुनुको कारण रेडियो सञ्चालक कमर्सियल कार्यक्रमप्रति आकर्षित हुनु हो। घरव्यवहारले किचेको पनि हुनसक्छ’, ‘सहरभित्र गाउँको मन’ नामक गीतिसंग्रह निकालेकी उनी भन्छिन्। यद्यपि एफएमका लगानीकर्ता साहित्यिक कार्यक्रमले बौद्धिक पाठक समेट्ने र तिनले चर्चा बढी गर्ने भएकाले साहित्यिक कार्यक्रम अनिवार्र्य ठान्ने उनको बुझाइ छ।

नुवाकोट चौघडाका विक्रम तिमिल्सिना २०६५ सालदेखि बखुन्डोल ललितपुर रेडियो सगरमाथा १०२.४ मेघाहर्जमा ‘संगीत आकाश’ चलाउँछन्। २०६१ सालमा सोही एफएममा ‘गजलमाला’ चलाउने २९ वर्षीय उनी सातै दिन कार्यक्रम चलाउँछन्। बालाजुनिवासी उनले अंग्रजी साहित्यमा एमए गरेका छन्। अर्का सञ्चालक मधु पाठकले दुई विषयमा स्नातकोत्तर सकेका व्यक्ति हुन्। साहित्यिक कार्यक्रम चलाउनेहरु बौद्धिक र साहित्यिक दुवै पनि छन्। उमेरले २९ टेकेका विक्रमदेखि ५० नाघेकाहरु पनि छन्। बालाजुनिवासी नुवाकोट चौघडाका उनी रेडियो सगरमाथामा हरेक दिन साँझ सवा नौदेखि पौने ११ २०५० अघिका नेपाली गीत बजाउने र बुधबार संगीत र साहित्यका सर्जकसँग कुराकानी गर्छन्। शुक्रबार गजलकेन्द्रीत कार्यक्रम प्रस्तुत गर्छन् उनी । ‘अलिअलि चोटहरू’ नामक गजलसंग्रह निकालेका उनले २०६१ सालदेखि ‘गजलमाला’ र त्यसपछि २०६५ देखि ‘संगीत आकाश’ सञ्चालन गर्दै आएका छन्। सानैदेखि रेडियो सुन्ने र पत्र पठाउने उनलाई रेडियोमा बोल्ने ठूलो मान्छेजस्तो लाग्थ्यो। भन्छन्, ‘सायद यसैको परिणाम हो यो। यसले आत्मसन्तुष्टि मिलेको छ। दिनभर पढाएर राति रेडियोमा कार्यक्रम चलाउँदा जनसम्पर्क पनि बढ्छ साथै साहित्य, कला र संगीतको ज्ञान थप र अद्यावधिक हुन्छ।’

पुराना नेपाली गीतमात्र बज्ने भएकाले श्रोता यसमा रमाउने विक्रमको बुझाइ छ। ‘सरकारी रेडियोबाट खेल्नुपर्ने भूमिका यसले खेलेको छ। हरेक रात पुराना गीतसंगीतको इतिहासलाई बचाएको छ’ भन्छन्, ‘नयाँ पुस्ताले नरुचाउने पनि छन्। नेटमा छ। नयाँले सूची पनि पुरानाको पठाउँछन्।’

मातातीर्थ काठमाडौंका मधु पाठक प्रत्येक बिहीबार बिहान आठदेखि नौ बजेसम्म ९८.८ मेघाहर्जको रेडियो सिटीमा बोलीमै बाङ्मय बोकेर ‘समर्पण’ चलाउँछन् । शनिबार नौबजे अजरसंगीत पनि चलाउँछन्। भन्छन्, ‘साहित्यकारका अन्तरमनको जानकारी र विश्वसाहित्यका बारेमा अपडेट हुने र श्रोतालाई दिन पाइने पाइन्छ। मेरो विशेषता भनेको म नलेखी बोल्छु र अनौपचारिक ढंगले गफ गरेजसरी सञ्चालन गर्छु ।’ घनेन्द्र विमल साहित्यलाई प्रवद्र्धन गर्ने भएकाले रेडियो सिटीमा कार्यक्रम चलाउने वातावरण मिलिरहेको उनको भनाइ छ। थप्छन्, ‘साहित्यको फरक कार्यक्रम चलाउने मन छ, एकैपटक चारपाँचजना साहित्यकार राखेर टक सो चलाउने सोच छ।’

महाराजगञ्जस्थित रेडियो राजधानी १००.६ मेघाहर्जमा सातै दिन राति सवा १० देखि ११ बजेसम्म गुञ्जिन्छ । राजेश खनालले चलाउने साहित्य र संगीतको संगालो कार्यक्रममा आइतबार गजलगाथा भनेर खासगरि युवा साहित्यकारलाई केन्द्रित गरिएको छ। मंगलबार साहित्य र कला, बिहीबार कथावाचन र अन्य दिन पुराना गीत बजाउने र सिर्जना वाचन गर्ने काम हुन्छ । गुडनाइट एफएमबाट रेडियोमा प्रवेश गरेका खनाल भन्छन्, ‘पाठकले प्रत्येक दिन फरक स्वाद पाउँछन्।’ इमेज एफएम सुरु हुनुअघिको केएटिएच एफएममा २०५९ सालदेखि साहित्यिक कार्यक्रम चलाउन थालेका उनलाई साहित्यमा रुची भएकै कारण यसतर्फ आकर्षित भएका हुन्। जोरपाटीनिवासी जलेश्वर महोत्तरीका उनी धेरैले सुनुन् भन्दा पनि विज्ञहरुले आफ्नो कमीकमजोरी औंल्याइदिए खुसी लाग्ने बताउँछन् । भन्छन्, ‘कान्तिपुर एफएममा प्रत्येक बुधबार शरदराज गौतमले दर्शनसम्बन्धी कार्यक्रम तरेली चलाउनुहुन्थ्यो त्यो मेरा लागि ‘आइडल प्रोगाम’ हो जुन अहिले इमेज एफएममा बुधबार नै बज्दैछ।’

सयपत्री सुनाखरी चुल्ठो भरिभरि,

चमेली र बाबरीको रुप थरिथरि।

आफ्नै आँगन देखूँ लाग्छ मलाई घरिघरि

फुलिरहोस् जस्तो लाग्छ सधैं सुनाखरि

यसैभन्दै सुरु हुन्छ स्पन्दन। विगत ११ वर्षदेखि साहित्यिक कार्यक्रम चलाउँदै आएका हेम भण्डारी कान्तिपुर एफएम ९६.१ मेघाहर्जमा मंगलबार राति साढे नौदेखि स्पन्दन र आइतबार बिहान साढे सातबजेदेखि शुभप्रभात कार्यक्रम आधाआधा घण्टा सञ्चालन गर्छन्। उनको बोलीमा पनि जादू छ वाङ्मय छ। चाबहिलनिवासी इलामका उनको अर्को पेशा शिक्षक हो । उनी विद्यार्थी जीवनदेखि नै साहित्यमा रुची राख्ने र पत्रिका निकाल्थे। तालिम लिनेक्रममा फरक कार्यक्रम भए एफएममा स्थान दिने भएपछि ११ वर्षअघि उनले साहित्यको कार्यक्रम चलाउन सुरु गरेका थिए। उनी नवोदित प्रतिभाहरुलाई अघि बढाउन र पुराना स्रस्टालाई आमपाठकमाझ पुयाउन पाइने भएकाले खुसी छन्। आफूले मोफसलमा रहेका स्रस्टालाई समेट्ने उनको भनाइ छ। तर पनि उनी साहित्यिक कार्यक्रममा फरकपन कसैले ल्याउन नसकेको स्वीकार्छन्। भन्छन्, ‘समालोचना, नाटक, निबन्ध आदि विधाका लागि कार्यक्रम छैनन्। भएका पनि सबै एकैनाशका छन्।’

ईलामकै अर्का स्रस्टा चेतोनाथ गौतम ९४.४ क्यापिटल एफएममा ‘सिर्जनाको डबली’ चलाउँछन्। उनी मंगलबार साँझ सातदेखि आठबजेसम्म प्रत्यक्ष प्रसारण गर्छन्। पाहुनाले छानेका गीत बजाएर सिर्जना वाचन गराउँदै वार्ता गर्छन् चेतोनाथ। साहित्यिक कार्यक्रमका श्रोतका बारेमा उनको मत प्रस्ट छ। ‘पाठक बौद्धिक र सचेत हुन्छन्’, ‘रित्तो कथाको तस्विर’ का कृतिकार उनी भन्छन्, ‘उनीहरु गम्भीर खालका पनि हुन्छन्, अक्षरस सुनेर पृष्ठपोषण दिन्छन्।’ उनी खरर रेडियोमा पाँच मिनेट बोल्नु राम्रो सञ्चालकका लागि चुनौति भएको बताउँछन्। ‘हामी कतिपय नेपाली साहित्यको कार्यक्रम चलाएर पनि शुद्ध बोल्दैनौं। हिन्दी र अंग्रेजी शब्दमा बढी रमाइरहेका छौं’, चाइना रेडियो इन्टरनेशनलको नेपालका प्रमुख संवाददातासमेत रहेका गौशालानिवासी गौतम बताउँछन्। एफएमहरुमा साहित्यिक कार्यक्रम चलाउनेहरुबीच अनुभव आदानप्रदान साटासाट गर्ने वातावरण आवश्यक भएको र त्यसका लागि आफूले लवि सुरु गरेको उनको भनाइ छ।

मीनभवन निवासी अर्घाखाँचीका ठाकुर बेलबासे २०६३ सालदेखि इमेज एफएममा साहित्यिक कार्यक्रम चलाउन थाले। ‘सागरको वरिपरि मनहरुको समारोह’ २०५९ र हालै ‘अचानक यो साँझ’ कृतिका लेखक उनी १०३.६ मेघाहर्जमा ‘आरोह’ र ‘भावसागर’ कार्यक्रम चलाउँछन्। साहित्यकारहरुसँग वार्ता गर्दा साहित्यिक उत्थान र सिर्जनाको सम्प्रेषण हुने उनको विश्वास छ। ‘साहित्यको संवृद्धि हुन्छ । नवप्रतिभा अघि बढ्दै जान्छन, अग्रजबाट धेरै सिक्न पाइन्छ’, उनी भन्छन्, ‘पाठकले खोजेको कुरा दिन पाइन्छ। साहित्यकारलाई अवसर दिलाएँ र आफूले पनि उपभोग गरें भन्ने लाग्छ।’ उनी सामान्यत भाषा साहित्यका कुरा गर्छन्।

साहित्यिक कार्यक्रम चलाउनेमा पनि विविधता छ। टंक भट्टराई उद्योग मन्त्रालयमा अधिकृत छन्। उनले गोर्खा एफएममा डेढ वर्षदेखि ‘सम्बोधन’ सञ्चालन गर्दै आएका छन्। साहित्यिक कार्यक्रम प्रायजसो एफएम रेडियोहरुले सञ्चालन गर्दै आएकाले आपसमा प्रतिस्पर्धा भएको बताउँछन्। सर्जकमात्र नभएर स्रोतालाई पनि सिर्जना सुनाउन र कार्यक्रमबारे प्रतिक्रिया दिन महिनामा एउटा कार्यक्रम छुट्याएको बताउने टंक भन्छन्, ‘प्रतिस्पर्धा हुनु जरुरी छ, नत्र गुणस्तरमा सञ्चालकको ध्यान नजान सक्छ। आफ्नो प्रस्तुतिमा फरक शैली र मौलिकता ल्याएर पाठक तान्नुपर्छ।’

एक दसक चलाएपछि २०५७ सालमा एचबिसी बन्द भए पनि अच्यूत घिमिरेको साहित्यिक मन बन्द भएन। उनी बुलन्द बनेर अचेल उज्यालो ९० एफएममा बुधबार राती ९ः१५ बजे बुलबुल, मंगलबार र शुक्रबार राती ९ः१५ बजे श्रुति संवेग चलाउँछन् । दुई दिन बेग्लाबेग्लै कृतिहरुको वाचन हुन्छ । नेपालीमात्र होइन, विदेशी कृतिहरु क्लियोपाटा, कल्याणी धरती, द अलके मिष्ट अहिले वाचित भइरहेका छन्। उनी आवाजबाट चिनिन रुचाउँछन् । भन्छन्, ‘त्यसैले सकेसम्म सार्वजनिक कार्यक्रमहरुमा सरिक हुन्न किनभने म आफैंमा सर्जक हैन । रेडियो तालिमहरुको सिलसिलामा भने म विभिन्न जिल्लाहरुमा पुगेको छु । बुटवल, हेटौंडा, सर्लाही, प्युठान, धरान लगायत विभिन्न ठाउँहरुमा मैंले रेडियो व्यवसायिक तालिम दिइसकेको छु । कार्यक्रम लोकप्रिय भएपछि यस किसिमका तालिमहरुका लागि अफर आउँछन् ।’

घिमिरे आवाजलाई यस्तो परिचयका रुपमा लिन्छन् जसका माध्यमबाट निश्चल प्रेम पैदा गर्ने बताउँछन् । ‘अधिकाँश पछिल्लो पुस्ताका गजलकारहरु जन्माउनमा बुलबुलको ठूलो योगदान रहेको छ । श्रुति संवेगमा वाचन भएका कृतिहरु बढी बिक्री हुने गरेको ती कृतिका श्रष्टाहरुको भनाइ छ’, घिमिरे थप्छन्, ‘त्यसैले अचेल त नवोदितदेखि स्थापित लेखकहरुले पनि आफ्नो कृति वाचन गरिदिनका लागि आग्रह गर्नुहुन्छ । प्रायः मसंग वाचनका लागि थुप्रै कृतिहरु क्यू मा रहने गर्छन् । कुन वाचन गर्ने र नगर्ने निर्णय गर्नै मुश्किल पर्छ ।’

Friday, June 15, 2012

Worldwide Literature

बाँच्न जानेदेखि...




-गोपीकृष्ण ढुंगाना



बाँच्न जानेदेखि खेल रै’छ जीवन,

नत्र चिसो छिँडी जेल रै’छ जीवन ।



नाँच्नै नजाने नि ईश्वर दाइना भए,

मज्जाले पाकेको बेल रै’छ जीवन ।



ढंगले नाँचे नि भागमै नभए,

चढ्न लाग्दा छुटेको रेल रै’छ जीवन ।



संसारै अचम्म हुनेकै सबैथोक,

रित्तो भए आँसुको भेल रै’छ जीवन ।



जन्माउने प्रभु मार्ने पनि उनै,

सृष्टिको अचम्म मेल रै’छ जीवन ।



काव्यकुञ्ज डट कम, भक्तपुर, नेपाल