Saturday, October 11, 2014

गिटी बालुवाको भाउ दोब्बरभन्दा बढी

गोपीकृष्ण ढुंगाना

२०७१ आस्विन ९ बिही
0
0
 
व्यापारी 'मौकामा चौका' छोप्दै, सरकार मौन
 
काठमाडौं : घर निर्माणका लागि जेठमा एक ट्रिपर गिटीको १८ हजार तिरेका भक्तपुरस्थित कटुञ्जे-३ सुशीला भैरवस्थानका निशिराज ढुंगेलले गतसाता त्यति नै परिमाणको गिटीका लागि ३० हजार रुपैयाँ तिर्न बाध्य भए। गिटीमात्र होइन, १७ हजार पर्ने एक ट्रिपर बालुवालाई २७ हजार र १५ हजार पर्ने चिप्सलाई २७ हजार रुपैयाँसम्म तिरेका छन्। 
 
गिटी प्रतिट्रिपर ४० हजार रुपैयाँ मागेपछि आफू अन्योलमा परेको ढुंगेलको भनाइ छ। 'झन्डै एक महिनाअघि गिटी, बालुवा पाउँदैन भने। चाहियो भनेपछि प्रतिट्रिपर ४० हजार रुपैयाँ पर्छ भने', उनले अन्‍नपूर्णसँग भने, 'फर्मा ठोकेर राखेको थियो, बर्खाको मौसम भएकाले कुहिने डर भए पनि एक साता यसै बसें। 
मनले मानेन, ३० हजारमा कुरो मिलेपछि मगाएँ।' गिटी र बालुवाको कारोबार गर्नेले निजी घर बनाउनेसँग मात्र दोब्बरभन्दा बढी रकम असुलेका छैनन्, सरकारी कामका लागि पनि उनीहरूले उत्ति नै रकम असुलेका छन्। 
 
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रमुख श्याम खरेलले पनि प्रतिक्युबिक ४०, ४२ रुपैयाँ पर्ने गिटी वा बालुवा एक सय रुपैयाँभन्दा बढी तिर्न बाध्य भएको बताए। उनले भने, 'आयोजनाले सीधै खरिद गर्दैन, तर मलाई यसको जानकारी आएको छ। 
 
जसरी पनि काम सक्नुपर्ने हुन्छ, नकिनेर पनि भएन भन्छन् ठेकेदारहरू। कतिले काम गर्न सक्दैनौं भनेका छन्, कतिले मूल्य घटोस् त्यसपछिमात्र काम गर्छौं भनेका छन्।' 
 
तिनकुने-माइतीघर सडकखण्डको बानेश्वर ग्रिनबेल्ट क्षेत्रको ठेक्का पाएका अनिल गुप्ताले पहिले चलेको दरमा नौ क्युबिक मिटर गिटी पाइने भए पनि अहिले बढेको ३५ हजार रुपैयाँ तिर्दा पनि साढे सात क्युबिक मिटरमात्र ट्रिपरमा गिटी पाइने बताए। 
 
 
गिटी र बालुवाको कारोबार गर्नेले निजी घर बनाउनेसँग मात्र हैन, सरकारी कामका लागि पनि उनीहरूले उत्ति नै रकम असुलेका छन्। 
 
उनले भने, 'अझ हामीले त एकैपटक धेरै मगाउँदा ३५ हजारमा पायौं, एक दुई ट्रिपर मगाउनेहरूले ४०, ४२ हजार रुपैयाँसम्म तिरका छन्।' उनले दोब्बरभन्दा बढी रकम असुल्दा सरकारदेखि सर्वसाधारणसम्मलाई ठूलो मार परेको बताउँदै सोबारे निर्माण व्यवसायी महासंघमा जानकारी गराउँदा पनि सुनुवाइ नभएको गुनासो गरे। 
 
उनले भने, 'जिल्ला विकास समितिहरूमा बुझ्दा न्यूनतम दर देखाउने गरेको पायौं, तर उपभोक्तालाई सीधै दोब्बर र सोभन्दा बढी असुल्ने गरेका छन्। सरकारले अनुगमन र कारबाही नगरेरै हो यसरी सबैलाई सास्ती भएको।' 
 
नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका महासचिव दीपक भण्डारीले उद्योगमा भाउ नबढाएको दाबी गरे। उनका अनुसार, प्रतिट्रिपर गिटी वा बालुवाको दर यति भन्ने निश्चित पनि हुँदैन। 
 
उनले भने, 'डिपो वा खोलाबाट लगेको, कति दूरीमा लैजाने, कति उत्पादन गरेको हो र कस्तो मेसिन प्रयोग गरेकोजस्ता कुराले दर निर्धारण हुन्छ।' क्रसरव्यवसायीको आफ्नो गाडीले ढुवानी नगरिने भएकाले बिचौलियाले मौकाको फाइदा उठाएको उनको दाबी छ। 
 
सरकारले मुलुकभरका सबै जिल्ला विकास समितिले बर्खाको समयमा खोला खन्न नदिने नियमअनुसार असार, साउन र भदौ महिना ढुंगा, गिटी र बालुवा उत्पादनमा रोक लगाउँदै आएको छ। यस वर्ष सरकारले चुरे संरक्षण क्षेत्र लागू गरी क्षेत्रबाट उत्खनन गर्नसमेत रोक लगायो। 
 
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको विकेन्द्रित कार्ययोजना समन्वय शाखाका प्रमुख रमेश केसीले गिटी र बालुवाको मूल्य दोब्बर लिएको गुनासो आएको जानकारी दिए। 'यसमा वाणिज्य विभाग वा मन्त्रालयले अनुगमन गर्नुपर्छ', उनले भने, 'जिविसमार्फत ढुंगागिटी र बालुवाको उत्पादन हुने गरे पनि नियमन निकाय मन्त्रालय होइन।
 
सम्बन्धित जिविसलाई जानकारी गराएर व्यवसायीले ऐनकानुनले तोकेको कर तिरेर बिक्रीका लागि लैजान पाउँछन्।' उनका अनुसार स्थानीय स्वायत्त शासन नियमावली २०५६ ले ढुंगा, गिटी र बालुवा आदिमा जिविसले प्रतिक्युबिक फिट दुई रुपैयाँसम्म निकासी कर लगाउन सक्छ। 
 
यो हिसाबले प्रतिट्रिपर एक हजार रुपैयाँ कर व्यवसायीले सरकारलाई तिर्नुपर्छ। वाणिज्य विभागका महानिर्देशक नारायणप्रसाद बिडारीले यसबारे आफू अनभिज्ञ रहेको बताए। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र वातावरण मन्त्रालयको काम भएको उनको भनाइ छ। 
 
वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दीपक सुवेदीले मन्त्रालयले खाद्य र पानीको अनुगमन, निरीक्षण र कारबाही गर्ने अधिकार भएको बताए। उनले भने, 'यो स्थानीय विकास मन्त्रालयले गर्नुपर्ने हो। क्षेत्राधिकार नभए पनि प्रधानमन्त्रीको कार्यालयले निर्देशन दिए अनुगमन र कारबाही गर्न तयार छौं। 
 
विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका प्रवक्ता रामआधार साहले पनि गिटी बालुवाको नियमनबारे थाहा नभएको बताए। उनले भने, 'यो हाम्रो सरोकारको विषय नै होइन।' 
 
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौलाले यसको अनुगमन वाणिज्य विभागले गर्नुपर्ने बताए। उनले भने, 'स्थानीय निकायहरूले असोजदेखि खुला गरेकाले अब उचित मूल्यमा पाइनेछ।' 

उपचार अधिकार: नेताको मात्रै कि असहाय बालकको पनि

गोपीकृष्ण ढुंगाना

२०७१ आस्विन १५ बुधवार
1
1
 
काठमाडौं : सरकारी ढुकुटीबाट स्वास्थ्य उपचारका लागि नेताहरूले करौडौं रूपैयाँ बुझेको समाचार आउँदा चार वर्षीय प्रदीपकुमार साह कानु राजधानीका सडक र अस्पताल धाइरहेका छन् तर सहयोग जुरेको छैन। जन्मेदेखि नै दुवै कान नभएका प्रदीपकुमारले स्वास्थ्य विज्ञान र निजी तथा सरकारी अस्पतालको 'सोसल कर्पोरेट रेस्पोन्सीवीलीटी' लाई पनि चुनौति दिइरहेका छन्। विज्ञहरूका अनुसार कानको उपचार सम्भव छ तर शल्यक्रियापछि रा नुपर्ने उपकरणको मूल्य करिब १० लाख पर्ने भएकाले त्यो समस्या बन्न पुगेको छ। 
 
प्रदीपकुमारका बाबु बिहारी साह कानु झण्डै एक महिनादेखि अस्पताल र प्रभावशाली नेताहरूलाई भेटी सहयोगको गुहार लगाइरहेका छन् तर कतैबाट त्यो जुटेको छैन। अहिलेसम्म उनले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, एमाले अध्यक्ष केपी ओलीसहित केही अन्यलाई भेटेका छन् र स्वास्थ्य मन्त्रालयमा सहयोगका लागि निवेदन दर्ता गराएका छन्। 
 
 
जन्मजात दुवै कान नभएका प्रदीपको देब्रे खुट्टा भाँचिएको छ। ४.५ प्लस पावरको चस्माबाट उनी मुस्किलले हेर्छन् र बोल्न सक्दैनन्। उपचारका लागि रौतहटबाट छोरालाई लिएर २७ दिनअघि राजधानी आएका २९ वर्षीय बाबु बिहारी हेर्दा ५० वर्ष नाघेजस्ता देखिन्छन्। अस्पतालले उपचारका लागि १० लाख रुपैयाँ लाग्छ भनेपछि खर्च कसरी जुटाउने भन्‍ने चिन्ताले रन्थनिएका बिहारी मागेर खान्छन्, फुटपाथमै सुत्छन् तर आश मारेका छैनन्। उनले भने, 'छोराको उपचारका लागि काठमाडौं आएको हजुर। अस्पताल लाखौं रुपैयाँ माग्छ। मसँग पेट भर्ने पैसासम्म छैन। मागेर खाँदैछु। दिनहुँजसो सडकपेटीमा सुत्दैछु।' 
 
काठमाडौं आएपछि उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा छोराको सिटिस्क्यानसम्म गराएछन्। उनले भने, 'गाउँकै हृदयनारायण साहले फोन गरेकाले अस्पतालमा तीन हजार पाँच सय रुपैयाँ लागेन।' छोराको कानको शल्यक्रियापछि चिकित्सकले मेसिन राख्नुपर्छ भनेको उनले सुनाए। आफू सुकुमबासी भएको बताउने बिहारी गाउँमा कबाडीको काम गर्छन्। गाउँकै आयुर्वेद चिकित्सक नन्दकिशोर झाले पाँच सय रुपैयाँ बाटोखर्च दिएपछि काठमाडौं आएको उनले अन्‍नपूर्णसँग भने। 
 
चिसो सडकपेटीमा सुत्नुपर्दा अहिले छोराको पेट पनि दु न थालेको उनी बताउँछन्। 'शनिबारदेखि ज्वरो आएको छ। गौशालामा एउटा औषधि पसलमा मागेर दबाई खुवाएको छु', फाटेको र मैलो टिसर्ट लगाएका बिहारीले झोला देखाउँदै भने, 'ओढ्ने एउटा पातलो मजेत्रो र एउटा तन्‍ना छ।' आफ्नो क्षेत्र रौतहट क्षेत्र ३ का सभासद् प्रभु साहलाई उनले सहयोगका लागि धेरैपटक फोन गरे तर फोन उठेन, भेट्ने त कुरै भएन। बिहारीका अनुसार उनले एमाओवादी नेता बाबुराम भट्टराईलाई भेटिसकेका छन्। 'भट्टराईबाट सरकारलाई भनिदिने आश्वासन पाएको छु।' 
 
प्रधानमन्त्री सुशील कोइरालालाई भेट्न धेरैपटक धाए पनि सकेका छैनन्। बिहारीले भने, 'उहाँ पनि उपचारकै लागि अमेरिका जानुभएको रहेछ।' एमालेका अध्यक्ष केपी ओलीलाई पनि भेटेर उनले भनेका रहेछन्, 'हजुर, हामी गरिब मान्छे। छोराको उपचार गर्नुपर्‍यो।' तर कुनै सहयोग हात लागेको छैन। 
 
त्रिवि शिक्षण अस्पतालको नाक, कान, घाँटी विभागको बोलीसुनाइ शाखाका प्रमुख डा. सुरेश्वरलाल कर्णले प्रदीपको शल्यक्रियापछि राख्नुपर्ने उपकरणका लागिमात्र १० लाख रुपैयाँ लाग्ने बताए। उनले भने, 'शल्यक्रियाका लागि लाग्ने खर्च सहयोग गर्न अस्पतालमा कुरा चलिरहेको छ। त्यसपछि बोल्ने र सुन्ने तालिमका लागि दुईदेखि तीन वर्षसम्म तालिम दिनुपर्छ।' असोज ६ गते स्वास्थ्यमन्त्रीलाई उपचारखर्चका लागि दिएको निवेदन देखाउँदै बिहारीले भने, 'सबैबाट सहयोगको आशा गरेको छु। राष्ट्रिय वाणिज्य बैंक सिंहदरबारमा ११३००४८२७४१० नम्बरको खाता खोलेको छु।'

उनले आफ्नो मोवाइल नम्बर ९८४१२२६५७९ पनि तत्काल दिन्छन् सहयोगको आसमा। २०४२ सालको जन्ममिति भएको नागरिकता देखाउने बिहारी स्वयं पनि १० वर्षदेखि नसाको रोगी छन्। भारतको बनारसमा गएर जचाएका उनी अझै औषधि खाँदैछन्। 

मन्दिरमा महिला पुजारी

गोपीकृष्ण ढुंगाना

२०७१ आस्विन १६ बिहीवार
0
0
 
काठमाडौं : राजधानीको मरुटोलनिवासी ५७ वर्षीया बिना शाक्य पूजाका लागि सबेरै काष्ठमण्डप परिसरमा रहेको धनुषा मन्दिर पुग्छिन्। मानिसको चहलपहल सुरु हुनुअघि साढे पाँच बजेभित्र उनी मन्दिरबाट बाहिरिसक्छिन्। सोही टोलका धेरैलाई थाहै हुँदैन उनले मन्दिरमा पूजा गरेको। तान्त्रिक पूजा पनि गर्नसक्ने बिना वैदिक पूजामात्र गर्ने गरेको बताउँछिन्। 
 
गुठी संस्थानअन्तर्गतका राजगुठीमार्फत सञ्चालन हुने मठमन्दिरमा भने महिला पुजारी छैनन्। तर निजी, संस्थागत र नगरपालिकाले सञ्चालन गर्ने मन्दिरमा भने महिला पुजारीले पूजा गर्दै आएका छन्। 'बाजेबराजुदेखि धनुषा (नास देव) मन्दिरमा पूजा गर्दै आएकाले अहिले यो जिम्मेवारी मैले समालेकी छु', बिनाले अन्नपूर्णसँग भनिन्, 'भाइहरू बिदेसिएपछि ६ वर्षदेखि पूजा गर्दैछु तर भक्तजनका लागि मन्दिर दिनभर खोल्न सकिएको छैन। उचित व्यवस्थापन नहुँदा मन्दिरमा तान्त्रिक पूजा गर्न पनि सकिएको छैन।' 
 
मन्दिरमा प्रत्येक वर्ष दसैंको महानवमी र विजयादशमीका दिन विशेष पूजा गर्नुपर्ने र राँगो बली दिनुपर्ने भए पनि दिन नसकेकोमा उनको गुनासो छ। उनले राँगोको सट्टा नरिवल, अन्डा र माछाको भोग दिएर मन्दिरमा पूजा गर्छिन्। यो मन्दिर इन्द्रजात्राको एक साताअघि कायाअष्टमीका दिन भने दिनभर खुल्ने उनले बताइन्। यसका साथै १२ बर्से सिकाली माजु मेलामा पनि यो मन्दिर दिनभर खोलिन्छ। काठमाडौं महानगरपालिकाका तत्कालीन कार्यकारीअधिकृत केदार अधिकारी र दरबार क्षेत्र हेर्ने हरि श्रेष्ठले गुठी संस्थानसँग समन्वय गरी मासिक एक हजार पाँच सय रुपैयाँ दिने गरी आफूलाई पूजा गर्ने जिम्मा दिएको बिनाको भनाइ छ। 
 
यसैगरी मालीगाउँस्थित अष्टसिद्धि गणेश मन्दिरमा पनि महिला पुजारी छन्। स्थानीय बासिन्दाले २०४७ सालमा बनाएको उक्त मन्दिरमा हीरालाल महर्जन पुजारी थिए। नौ महिनाअघि महर्जनको निधन भएपछि टोलबासीले उनकी पत्नी ५३ वर्षीया रामकुमारीलाई पुजारी बनाएका हुन्। त्यस मन्दिरको संरक्षक पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा हुन्। यो मन्दिर दिनभर खुल्छ। बिहान नित्य पूजा र साँझ आरती हुने उक्त मन्दिरमा वर्षमा एकपटक अक्षयतृतीयाका दिन विशेष पूजा हुन्छ। रामकुमारीले भनिन्, 'उहाँले २३ वर्ष पूजा गर्दा सबै सहयोग गर्ने मै भएकाले पूजाको सबै विधि सिकेकी छु। अब म रहुन्जेल मन्दिरको पूजा मैले नै गर्ने हो।' बिनाजस्तो रामकुमारीले मासिक तलब भने पाउँदिनन्। 
 
ज्ञानेश्वरस्थित शिव मन्दिरको आडमा रहेको आनन्दभैरव मन्दिरमा पनि महिला पुजारी छन्। सातामा एकपटक पालो पर्ने गरी मोहनदेवी राजभण्डारी, लक्ष्मी श्रेष्ठ र सरिता श्रेष्ठले पूजा गर्दै आएका छन्। खासगरी बालबालिका निरोगी हुने र विघ्नबाधा नाश हुने विश्वासका साथ पुग्ने भक्तजनले चढाएको भेटी नै पुजारीहरूको आम्दानी हो। हाँडीगाउँ निवासी ६६ वर्षीया राजभण्डारीले भनिन्, 'बिहान पाँच बजेदेखि साँझ आठ बजेसम्म मन्दिर खोल्छौं। यहाँ नित्य पूजा गर्नु पर्दैन। तर शनि, मंगल र बिहीबार दर्शनका लागि बढी आउँछन्।' यसअघि फुपू र त्यसअघि फुपूकी सासूले पूजा गरेको जानकारी दिँदै उनले आफू मासिक समस्यामा रहँदा बुहारी मन्दिराले पूजा समाल्ने गरेको बताइन्। 
 
गुठी संस्थान केन्द्रीय कार्यालयका उपप्रशासक जयप्रसाद रेग्मीले राजगुठीबाट सञ्चालित मठमन्दिरहरूमा महिला पुजारी राख्ने चलन नभएको बताए। उनले भने, 'महिलामा मासिक श्राव भइरहन्छ। उनीहरू शुद्ध हुन सात दिन लाग्छ। अशुद्ध भएर पूजा गर्न पनि मिल्दैन र सात दिनलाई अर्को पुजारी राख्‍न पनि समस्या हुने भएकाले महिला पुजारी राख्दैनौं।' 
 
संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगले बडादसैंमा समेत भगवतीको पूजा गरिने भएकाले महिलालाई पूजा गर्न दिन कुनै समस्या नरहेको बताउँछन्। ललितपुरको बज्रबाराही मन्दिरको उदाहरण दिँदै उनले भने, 'पहिले घनाजंगलबीच मन्दिर हुन्थे। त्यस्तो अवस्थामा महिलालाई जिम्मा दिन उचित हुँदैनथ्यो। त्यसैले महिला पुजारी नराखिएको हो। अब सहज हुँदै आएको छ। दीक्षा पाएकाहरूले पूजा गर्दा हुन्छ।' 

कुरूप बन्दै महानगर

गोपीकृष्ण ढुंगाना

२०७१ आस्विन २५ शनिबार
0
0
 
काठमाडौं : सार्वजनिक भित्ता, आकासे पुल र बिजुलीका खम्बामा टाँसिएका पम्पलेट, पोस्टर, भित्तेलेखन र अनधिकृत विज्ञापनका बोर्डले महानगरपालिकाको सौन्दर्य बिगारिदिएका छन्। सार्वजनिक स्थानमा टाँसिने, टाँगिने र झुन्ड्याइने यस्ता सामग्री हटाउन र सहरी सौन्दर्य बढाउन सम्बन्धित निकायको ध्यान गएको पाइँदैन। 
 
रत्‍नपार्क, भद्रकाली, सिंहदरबार, अनामनगर, पुतलीसडक, बागबजार, कलंकी, नयाँबसपार्क, जडीबुटीलगायत स्थानमा निर्मित आकासेपुल भित्तेलेखन, पम्पलेट, पोस्टर र अनधिकृत विज्ञापन बोर्डहरूले कुरूप बनाएको पाइएको छ। सिंहदरबारको उत्तर, पूर्व, दक्षिणका पर्खालमा लेखिएका नारा र विज्ञापन, टाँसिएका पोस्टर, पम्पलेटले दृश्य प्रदूषण बढाएको छ। 
 
सार्वजनिक स्थलमा विज्ञापनका लागि टाँसिएका र झुन्ड्याइएका पोस्टटर र तुल च्यातिएर लथालिंग हुँदासमेत हटाइएको छैन। कोटेश्वरनिवासी पुरुषोत्तम पराजुलीले सरोकारवाला निकायको बेवास्ताका कारण सहरको सौन्दर्य दिनप्रतिदिन गुम्दै गएको बताए। 
 
उनले भने, 'सम्बन्धित निकायले न अनुगमन गरेका छन्, न त अनधिकृत काम गर्नेहरूलाई कुनै कारबाही गरेका छन्।' बागबजारकी रमिला श्रेष्ठ भने महानगर सफा रा न नागरिक सचेत हुनुपर्ने बताउँछिन्। उनी भन्छिन्, 'आफूले गरेको फोहोर आफैं सफा गर्नुपर्छ भन्ने भावना विकास नभएसम्म यस्तै हुन्छ।' 
रत्‍नपार्क, भद्रकाली, सिंहदरबार, अनामनगर, पुतलीसडक, बागबजार, कलंकी, नयाँबसपार्क, जडीबुटीलगायत स्थानमा निर्मित आकासेपुल भित्तेलेखन, पम्पलेट, पोस्टर र अनधिकृत विज्ञापन बोर्डहरूले कुरूप बनाएको पाइएको छ।
महानगरपालिकाको १९औं नगरपरिषद्ले जारी गरेको विज्ञापन बोर्ड तथा प्रचार सामग्री नियमन नीति २०७० को ४ को (क )मा महानगर क्षेत्रभित्रका सार्वजनिक स्थानमा अनधिकृत ढंगले राखिएका सम्पूर्ण होडिङ बोर्ड तथा प्रचार सामग्री हटाउने र पु:न राख्न निषेध गर्ने उल्लेख भए पनि हालसम्म सोको कार्यान्वयन भएको छैन। यसैगरी ४ (ख)मा सबै प्रकारका घरका कौसी, छानामा राखिएका सम्पूर्ण बोर्ड हटाउने उल्लेख छ। तर व्यवहारमा ठीक उल्टो देखिन्छ। 
 
वातावरणीय विकास तथा संरक्षण कानुन मञ्चका अध्यक्ष पदम श्रेष्ठले महानगरपालिका, फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र, सहरी विकास मन्त्रालय, स्थानीय विकास मन्त्रालय, विज्ञान तथा वातावरण मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा केही समयअघि मुद्दा दायर गरेका थिए। 'महानगर सफा रा न आदेश होस् भनेर मैलै मुद्दा हालेको हुँ', उनले भने। गत साउन १४ गते महानगरपालिकाको सुन्दरता निखार ल्याउन तत्कालै स्वच्छ वातावरण कायम गर्ने कार्यको थालनी गर्नूगराउनू भनी विपक्षीका नाममा सर्वोच्च अदालतले अन्तरिम आदेशसमेत जारी गरिसकेको छ। 
 
महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख रवीनमान श्रेष्ठले ऐनकानुन र अदालतसमेतको आदेशविपरीत सहरी सौन्दर्य प्रदूषित बनाउनेमाथि कारबाही हुने बताए। उनले अटेर गर्नेहरूलाई फोहोरमैला व्यवस्थापन ऐनअनुसार बढीमा एक लाख जरिबाना, तीन महिना कैद वा दुवै सजाय हुने पनि बताए। स्थानीय विकास मन्त्रालयका वातावरण व्यवस्थापन शाखाप्रमुख चक्रपाणि शर्माले सहरी सौन्दर्य बिग्रिएको स्वीकार्दै भने, 'यसका लागि महानगरपालिकालाई अधिकतम कारबाही गर्न निर्देशन दिइसकेका छौं।' 

Tuesday, October 7, 2014

आज आकाशमा रातो चन्द्र देखिने

गोपीकृष्ण ढुंगाना

२०७१ आस्विन २२ बुधवार
 493
 6
 

काठमाडौं : नेपालभर बुधबार साँझ रातो चन्द्रग्रहण (ब्लड मुन) देखिने भएको छ। मध्याह्न २:५९ बजेदेखि खण्डग्रास चन्द्रग्रहणले स्पर्श सुरु गर्ने, साँझ ५.४० बजे ग्रहण लाग्न सुरु हुने, ५.५१ बजे प्रस्ट देखिने र ६.२० मिनेटमा सकिनेछ। 
 
नेसनल एरोनउटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) ले बुधबार देखिने चन्द्रग्रहणलाई ‘ब्लड मुन' नाम दिएको खगोल शास्त्रसम्बन्धी अनुसन्धान गरिरहेका केशव चौलागाईंले जानकारी दिए। 
 
यो चन्द्रग्रहण वर्षको पहिलो हो। अर्को चन्द्रग्रहण चैत्र शुक्ल पूर्णिमाका दिन देखिनेछ। ‘ब्लड मुन भनेको चन्द्रमा रातो देखिनु हो। यो पनि वर्षमा ए·पट· हुन्छ। ·हिले देखिन्छ ·हिले देखिन्‍न ', उनले भने, ‘चन्द्रग्रहण नांगो आँखाले पनि हेर्न सकिन्छ। तर मिल्छ भने टेलिस्कोप, बाइनाकुलर वा क्यामेराको सहायताले हेर्दा राम्रो हुन्छ।' नासाले ब्लु मुन, हार्भेस्ट मुन गरी १२ वटा नाम·रण गरेको छ। एउटै अंग्रेजी महिनामा दुईवटा पूर्णिमा परे दोस्रो पूर्णिमामा लाग्ने चन्द्रग्रहण ब्लु मुन र वसन्त ऋतुमा पर्ने पूर्णिमामा लाग्ने चन्द्रग्रहणलाई हार्भेस्ट मुन नामले चिनिन्छ। 
 
खगोलविद् जयन्त आचार्यले अमेरिकाको हवाईबाट चन्द्रग्रहण पूर्णरूपमा देखिने बताए। उनले भने, ‘त्यहाँ सूर्योदय हुनुअघिदेखि खग्रास चन्द्रग्रहण देखिनेछ। नेपाल, भारत र पाकिस्तानबाट साँझमा चन्द्रमा उदाउँदा ग्रहण लागिरहेको देखिनेछ।' उनका अनुसार वर्षमा बढीमा तीनवटा चन्द्रग्रहण र चारवटा सूर्यग्रहण लाग्छन्। 
 
चन्द्रग्रहण लागेको बेला ब्याक्टेरियाको प्रभाव बढ्ने भएकाले यो समयमा केही नखान खगोलशास्त्रीले सुझाव दिएका छन्। उनीहरूले यसमा धार्मिकमात्र नभई वैज्ञानिक कारण पनि भएको जानकारी दिए। 
 
ज्योतिषीहरूका अनुसार मिथुन, मकर, तुला र वृष राशि हुनेलाई चन्द्रग्रहण हेर्दा फाइदा हुनेछ। चन्द्रग्रहण हेर्दा मेष राशिलाई खर्च हुने, वृष राशिलाई लाभ हुने, मिथुन राशीलाई सुख हुने, कर्कटलाई मानहानि हुने, सिंहलाई कष्ट हुने, कन्यालाई स्त्री पीडा हुने, तुलालाई सुख हुने, वृश्चिकलाई चिन्ता बढ्ने, धनुलाई व्यथा लाग्ने, मकरलाई श्री प्राप्ति हुने, कुम्भलाई घात हुने र मीनलाई अनिष्ट हुने योग छ। 
 
‘एउटा सर्वसाधारण मानिसका लागि चन्द्रग्रहण वा सूर्यग्रहण आश्चर्यलाग्दो खगोलीय घटना हो', आचार्यले भने, ‘उनीहरूले यस्तो घटनालाई अलौकिक' र विरलै हुने घटनाका रूपमा लिन्छन्।' 

- See more at: http://annapurnapost.com/News.aspx/story/590#sthash.ukJobE5I.VFdNNYsl.dpuf

बली चढाएर मनाए इस्लामले इद उल जोहा

गोपीकृष्ण ढुंगाना

२०७१ आस्विन २१ मंगलवार
 387
 4
 
काठमाडौं : इस्लाम धर्मावलम्बीले सोमबार इद जोहा पर्व मनाएका छन्। अरबी क्यालेन्डरको १२ औं महिना 'जिलेजाह' को १० तारेखमा यो पर्व विश्वभरका इस्लाम धर्मालम्बीले मनाउँछन्। काठमाडौंको घन्टाघरस्थित जामे मस्जिदमा भेला भएका मुसलमान समुदायले बिहान साढे आठ बजे नमाज पढे। 
 
इदको समयमा इस्लाम धर्मावलम्बी नमाजका लागि ठूलो मस्जिद पुग्नैपर्छ। इदबाहेकका दिनमा बिहान साढे पाँच बजे फजर, दिउँसो साढे एक बजे जोहर, साढे चारमा असर, साँझ ६ बजे मगरिब र साढे सात बजे इसा पढ्ने चलन छ। 
 
सातामा एक दिन दिउँसो एक बजे जुमा पढ्ने गरिन्छ। विश्वव्यापी भाइचारा देखाउन इद उल फितर र इद उल जोहामा ठूलो मस्जिदमा भेला हुने परम्परा रहेको नेपाली जामे मस्जिदका सहसचिव अब्दुल समिमले बताए। 'आज इद उल जोहाको मुख्य दिन हो।
 
सबेरै उठी स्नान गरी सफा पहिरनमा यो पर्व तीन दिनसम्म मनाइन्छ', उनले भने, 'जोसँग साढे सात तोला सुन वा ५२ तोला चाँदी वा सो बराबरको रकम छ उसले अनिवार्य बलि चढाउनुपर्छ। बलिपछि तीन भाग लगाएर एक भाग गरिबलाई, एक भाग छिमेकी र आफन्तलाई र एक भाग आफूलाई राख्ने चलन छ।' यसलाई सुन्‍नत भनिन्छ। उनका अनुसार इबराहिम अलैहिस सलामको यो सुन्नतजस्तै फर्द (अनिवार्य दान गर्नुपर्ने) र वाजिव (कुरानमा नभएको तर मौखिक आदेशमात्र भएको) इदका क्रममा मनाइन्छ। 
अरबी क्यालेन्डरको १२ औं महिना 'जिलेजाह' को १० तारेखमा यो पर्व विश्वभरका इस्लाम धर्मालम्बीले मनाउँछन्।
मुस्लिमले सलामलाई भगवान् (अल्लाह) मान्छन्। करिब चार सय वर्षअघि इराकको उर भन्ने ठाउँमा इबराहिम अलैहिस सलामको जन्म भएको थियो। मस्जिदका अध्यक्ष फरिद खानका अनुसार सलामका बुबा आजर पण्डित थिए। उनलाई छोरो सलामका गतिविधि मन पर्दैनथ्यो। सलाम एउटा ईश्वर मान्नुपर्छ, तस्बिर वा मूर्ति पूजा गर्न हुन्‍ने भन्‍ने विचारका थिए। 
 
बुबा र मानिआएको विचारकै विरोधी सलामको त्यो कुरा राजासामु पुग्यो। कुरा सुनेर राजा पनि खुबै रिसाए। सलामसँग थुप्रै परीक्षा लिइयो। 'आगोमा पनि हालियो र अन्त्यमा बुबाले घर निकाला गरे', उनले भने, 'सलामको ८० वर्षसम्म सन्तान भएन। त्यसपछि अल्लाहले छोरो दिनुभयो। छोरो स्माइल दिएपछि अल्लाहले फेरि सलामको परीक्षा लिनुभयो।' उनका अनुसार तिम्रो प्यारो छोरो मलाई अर्पण गर, त्याग गर भनेर अल्लाहले भनेपछि सलाम अलमलमा पर्नुभयो। त्यसपछि सलामले अल्लाहलाई अन्य बलि दिए। तर स्वीकार भएन। छोरो नै खोजेपछि सलामले स्माइलसँग सल्लाह गरे। 
 
स्माइलले हाँस्दै भने, 'ईश्‍वरले दिएको उपहार उहाँले नै माग्नुहुन्छ भने तपाईं सुम्पिदिनु होस्।' सलामले छोरो स्माइल बली चढाउन छुराले हलाल गर्न खोजे तर आँखामा पट्टी लगाएको अध्यक्ष खानले बताए। उनले भने, 'सलाम तयार भएपछि अल्लाहले रोके र भने तिमी परीक्षामा पास भयौ। कुर्बानी प्रथा यहींबाट सुरु भएको हो।' 
 
मस्जिदका सचिव मन्सुर हुसेनले सलामजस्तै तिमीहरू पनि उनले गरेका कुराहरूको अनुशरण गर भनेर अल्लाहले भनेकाले आजसम्म इद उल जोहा मनाइरहेको बताए। उनले भने, 'आधुनिक समाजमा प्यारो वस्तु पैसा भएको छ। जसको जति सामथ्र्य छ त्यो गरिबका लागि खर्चिनुपर्छ।' 
 
जामे मस्जिदमा भेटिएका ठमेलनिवासी ५४ वर्षीय मकबुल हुसैनले भने, 'यो समय मक्कामदिना जाने पनि हो। गत वर्ष साउदी अरेबियास्थित मक्कामदिना गएको थिएँ। यस वर्ष चौपायाको प्रसाद बाँड्दैछु।'

- See more at: http://annapurnapost.com/News.aspx/story/545#sthash.dtoSN5AW.NnizJCu5.dpuf