गोपीकृष्ण ढुंगाना
काठमाडौं : इन्द्रजात्रामा लगातार आठ दिन प्रदर्शन गरिने दस अवतार झाँकी यसपटक पहिलो दिन नै प्रदर्शन हुन सकेन। काठमाडौं महानगरपालिकाले समयमै रकम उपलब्ध नगराउँदा काठमाडौंको संस्कृतिसँग गाँसिएको इन्द्रजात्रा यसपालि खल्लो भएको छ। दस अवतार प्रदर्शन तथा प्रवर्द्धन समाजसँग रकम अभाव भएकाले वर्षौंदेखि महानगरपालिकाको सहयोगमा जात्रा सञ्‍चालन हुँदै आएको थियो।indrajatra
दस अवतार झाँकीका मूल नाइके दीपकप्रसाद श्रेष्ठले १३ वर्षदेखि झाँकी प्रदर्शन गर्दै आइरहेका छन्। यसपालि रकम अभावका कारण झाँकी प्रदर्शन गर्न नसकिएकोमा उनले खिन्नता प्रकट गरे। अन्नपूर्णसँग भने, ‘यसअघि बराजु, बाजे, बुबा र दाजुहरूले चलाउँदा कहिल्यै रोक्नु परेको थिएन। महानगरपालिकाले समयमै रकम उपलब्ध नगराउँदा यो अवस्था आएको हो।’
उनका अनुसार समाजसँग पनि दस अवतार सञ्चालनका लागि रकम छैन। थपे, ‘समाजले यसअघिका वर्षमा दस अवतारका लागि लिएको हजारौं रकम नै तिर्न बाँकी छ।’ इन्द्रजात्रा व्यवस्थापन समितिका उपाध्यक्षसमेत रहेका श्रेष्ठले दस अवतार प्रदर्शन गर्न चाहिने आवश्यक लुगाफाटो प्रत्येक पाँच वर्षमा फेर्नुपर्ने नियम रहेको बताए। तर, रकम अभावमा सात वर्ष बितिसक्दा पनि नयाँ लुगाफाटो खरिद गर्न नसकिएको लाचारी सुनाए। भने, ‘२०५६ सालमा मन्त्रीस्तरीय निर्णयले नै दस अवतारका लागि प्रयोग हुने लुगाफाटो प्रत्येक पाँच वर्षमा फेर्नुपर्ने निर्णय गरेको थियो। हामीले निवेदन दिएको पनि दुई वर्ष बितिसक्यो। मन्त्रालयबाट रकम निकासा भएको छैन।’
दस अवतार झाँकी प्रदर्शन गर्न ५५ जना जनशक्ति आवश्यक पर्छ। त्यसमा ससाना केटाकेटी ३५, गुठीयार १०, शृंगारकर्ता र पोस्टर मिलाउने १० र महिला चारजना चाहिन्छ। यो झाँकी इन्द्रजात्रा सुरु भएको दिनदेखि सम्पन्न नहुन्जेल प्रत्येक दिन राति ८ देखि करिब ११ बजेसम्म प्रदर्शन गरिन्छ। दस अवतारमा विष्णुका दस अवतार प्रदर्शन गर्ने परम्परा छ। यसमा महाभारत, रामायणलगायतका झलक प्रस्तुत गरिन्छ।
यसअघि इन्द्रजात्राका लागि भनेर संस्कृति मन्त्रालयले एक साताअघि नै ६ लाख ४० हजार रुपैयाँ निकासा गर्ने गथ्र्यो। पाँच वर्षयता त्यो क्रम टुटेको छ। त्यसको सट्टा काठमाडौं महानगरपालिकाले जात्रा सञ्चालनका लागि जात्रामा आबद्ध करिब ३० गुठीलाई चार लाख ५० हजार रुपैयाँ दिँदै आइरहेको थियो। श्रेष्ठका अनुसार इन्द्रजात्रामा सरदर ४५ लाख रुपैयाँ खर्च हुन्छ।
समितिका अध्यक्ष गौतम शाक्यले पनि समयमै रकम नपाउँदा दस अवतारको आवश्यक तयारी गर्न नसकेका कारण सोमबार प्रदर्शन गर्न नसकिएको बताए। उनले भने, ‘रकम प्राप्त भए मंगलबारदेखि सुचारु गर्छौं।’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता भरतमणि सुवेदीले यसअघि सीधै समितिलाई रकम दिने गरिए पनि केही वर्षयता बर्सेनि रकम दिन नसकिएको बताए। महानगरपालिकाअन्तर्गतको हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख हरिकुमार श्रेष्ठले जात्राका लागि रकम दिने भनेर निर्णय भइसकेको बताए। ‘तर प्रक्रिया लामो हुने भएकाले समयमा उपलब्ध गराउन सकिएन’, उनले भने, ‘नदिने भए महानगरपालिकाले नीतिगत निर्णय गरेर समितिसँग सम्झौता गर्ने नै थिएन नि।’