Saturday, December 21, 2013

अब महानगरका कौसीमा तरकारी

अब महानगरका कौसीमा तरकारी
गोपीकृष्ण ढुंगाना
काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगर स्वच्छ, हराभरा र समृद्ध बनाउन कौसी खेतीको अवधारणा अघि सारेको छ। महानगरका घर वा भवनका कौसीका तरकारी र फलफूल खेती गर्ने नीतिगत व्यवस्था गर्न लागिएको हो।
'सामाजिक सचेतनाका आधारमा स्वेच्छिक रूपमा सञ्चालन गर्नसके महानगर हराभरा बनाउन सकिने भएकाले कौसी खेतीसम्बन्धी नीति निर्माण गरेका हौं', महानगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मण अर्यालले भने, 'अर्गानिक तरकारी र रोजगारीका लागि पनि कौसी खेती आवश्यक छ। त्यसैले यसलाई व्यवस्थित ढंगले लैजानुपर्छ। मापदण्ड बनाउँदैछौं।' उनले पुस अन्तिम साता बस्ने महानगर परिषद्ले नीति पारित गर्ने बताए।
कौसी खेतीले कार्बनडाइअक्साइडजस्ता मानव स्वास्थ्य प्रतिकूल ग्यास न्यूनीकरणमा सहयोग पुर्‍याउनुका साथै 'ग्लोबल वार्मिङ' र 'क्लाइमेट चेन्ज' बाट हुने असर कम गर्न मद्दत पुग्ने विश्वास महानगरको छ। यसबारे महानगरपालिकाले नगरवासीलाई तालिम दिनुका साथै प्राविधिक र आर्थिक सहयोग गर्नेछ।
वातावरणविद् सूर्यमान शाक्यले कौसी खेती दीर्घकालीन प्रक्रियाका रूपमा विकास गर्नुपर्ने बताए। उनले भने, 'यसलाई पटके होइन, सदाबहार खेती बनाउनुपर्छ। कौसी खेतीको नेतृत्व महानगरपालिकाले गर्नुपर्छ।' नीतिका मस्यौदाकार शाक्यले कौसीमा खेती गर्नसके फोहोरमैला घरमै व्यवस्थापन हुने बताए। उनले भने, 'यसले सार्वजनिक निजी साझेदारी गर्नुका साथै निजी क्षेत्रको सहभागिता प्रवर्द्धन गर्नेछ।
कौसी खेतीबाट आम्दानी वृद्धि र ताजा अनि पौष्टिक फलफूल र तरकारी पनि खान पाइन्छ।' शाक्यले कौसी खेतीका लागि महानगरपालिकाले छुट्टै शाखा खोलेर जनशक्ति र बजेटसहित अघि बढ्नुपर्ने बताए। उनले भने, 'सुरुका केही वर्ष महानगरपालिकाले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्रोत खोजेर नगरवासीलाई यस कार्यमा उत्साहित बनाउनुपर्छ।'
महानगरपालिका वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले कौसी खेतीबाट प्रत्येक घरपरिवारले स्वस्थ तरकारी र फलफूलको ८० प्रतिशत आपूर्ति गर्ने दाबी गरे। उनले भने, 'उत्पादन आदानप्रदानबाट सामाजिक सद्भावसमेत बढ्नेछ।' महानगरपालिकाको सहयोगमा यसअघि एक सय ५० घरपरिवारले खेती गरिसकेका छन्।
नीति लागू गरेर चालू आर्थिक वर्षमा कम्तीमा पाँच सय घरमा कौसी खेती गरिने श्रेष्ठले बताए। जनसंख्या वृद्धि र सहरीकरणका कारण खेतीयोग्य जमिन र हरियाली लोप हुन थालेकाले कौसी खेती आवश्यक भएको उनको भनाइ छ।

No comments:

Post a Comment