Saturday, January 4, 2014

लाखौं हस्तलिखित ग्रन्थ नष्ट हुँदै





राष्ट्रिय अभिलेखालयमा नष्ट भएका हस्तलिखित ग्रन्थमा माइक्रोफिल्म ।
राष्ट्रिय अभिलेखालयमा नष्ट भएका हस्तलिखित ग्रन्थमा माइक्रोफिल्म ।




काठमाडौं : तीन दशक लगाएर संग्रहित झन्डै दुई लाख ऐतिहासिक हस्तलिखित ग्रन्थ नष्ट हुन लागेका छन्। जर्मन सरकारको सहयोगमा नेपाल-जर्मन माइक्रोफिल्म परियोजनाअन्तर्गत तयार पारेर राष्ट्रिय अभिलेखालयमा राखिएका ती ग्रन्थ अम्लीय निर्माण (एसिड फर्मेसन) का कारण नष्ट बिग्रन थालेका हुन्।
६ वटा रिलका सयभन्दा बढी ग्रन्थ नष्ट भइसकेका छन् भने दुई सयवटा फिल्ममा समस्या देखिएको छ।
'राष्ट्रिय महत्त्वका ऐतिहासिक, धार्मिक, पुरातात्त्विक र सांस्कृतिक हस्तलिखित ग्रन्थ बिग्रन थालेका छन्', राष्ट्रिय अभिलेखालयका प्रमुख प्रकाश दर्नालले अन्नपूर्णसँग भने, 'जर्मन सहयोगमा २०२६ सालदेखि ३२ वर्ष लगाएर तयार पारेका करिब दुई लाख ग्रन्थको माइक्रोफिल्म एसिडिकको प्रभावले बिग्रन थालेका हुन्। परियोजना सकिएको १३ वर्ष हुँदा ६ वटा फिल्मका सय भन्दाबढी ग्रन्थ बिग्रिएका छन्।'
यसको तत्काल विकल्प नखोजे सबै माइक्रोफिल्म बिग्रने उनको भनाइ छ। उनले नष्ट भएका रिलमा दुर्गन्ध आउनुका साथै च्यापच्याप लाग्ने र अक्षर उड्ने समस्या भएको जानकारी दिए। 'वर्ष दिनअघि सामान्य दुर्गन्ध आएको थियो तर परिणाम आकलन गर्न सकेनौं', उनले भने, 'समस्या गम्भीर महसुस भएपछि जापानिज विज्ञलाई देखायौं तर तत्काल संरक्षण नगर्ने हो सबै नष्ट हुने अवस्था छ।'
नेपाल संवत् ३१६ सम्म लेखिएका कर्मकाण्ड, पुराण, तन्त्र, ज्योतिष, आयुर्वेद, व्याकरण आदि विषयका एक सय ५० भन्दा बढी ग्रन्थका फिल्म नष्ट भएको दर्नालले बताए। ती ग्रन्थहरू नेवारी, संस्कृत र हिन्दी भाषाका छन्।
अभिलेखालयका सहायक छविकार ज्योति न्यौपानेले माइक्रोफ ल्म सुरक्षित राख्दाराख्दै पनि समस्या देखिएको बताए। उनले नेपाल-जर्मन हस्तलिखित ग्रन्थ सूचीकरण परियोजना सञ्चालनका क्रममा फिल्ममा यस्तो समस्या देखिएको बताए। उनले भने, 'जुन तापक्रम र आद्रतामा राख्नुपर्ने हो त्यो समायोजन गरेका छौं। तर पनि सयभन्दा बढी ग्रन्थ नष्ट भइसकेका छन्।'
उनका अनुसार एउटा रिल सय फिटको हुन्छ भने एक फिटमा ६ वटा स्न्याप हुन्छन्। परियोजनाअन्तर्गत एक लाख ८१ हजार पाँच सय ग्रन्थ माइक्रोफिल्ममा संग्रहित गरिएको उनको भनाइ छ। उनले भने, 'यी ग्रन्थका आठ हजार नौ सय ९५ वटा नेगेटिभ (मास्टर कपी) छन् भने नौ हजार पाँचवटा पोजिटिभ छन्। नेगेटिभबाट नक्कल गरेर पोजिटिभ बनाइन्छ।'
अनुसन्धानकर्ताले ग्रन्थ माग गरे अभिलेखालयले निश्चित रकम लिएर पोजिटिभ उपलब्ध गराउँछ। नेगेटिभ मूल प्रति हो भने पोजिटिभ सेवा प्रति हो। सेवा प्रति कामचलाउमात्र हुन्छ। पूर्णरूपमा नष्ट भएका ६ वटा रिलको अब सेवा प्रतिमात्र अभिलेखालयमा रहेको उनले जानकारी दिए।
अभिलेखालयका प्रमुख छविकार कुमार श्रेष्ठले नष्ट भएका ग्रन्थका फिल्मलाई समयमै डिजिटल रूपमा उतार्नुपर्ने बताए। हालसम्म नेपालमा माइक्रोफिल्म सादा (ब्ल्याक एन्ड ह्वाइट) मा संग्रहित छन्। श्रेष्ठले भने, 'पोजिटिभबाट अर्को रिलमा कसरी सारेर जोगाउने भन्ने समस्या छ।' महँगो पर्ने भए पनि तिनलाई स्क्यानिङ गरेर डिजिटल रूपमा लैजानु उपयुक्त हुने उनको भनाइ छ। माइक्रोसफ्ट फिल्ममा संग्रहित ग्रन्थलाई दुई सय प्रतिशतसम्म ठूलो पारेर हेर्न सकिन्छ।
अभिलेखालय प्रमुख दर्नालले फिल्मलाई 'डिजिटाइज्ड' गर्नका लागि नयाँ मेसिन चाहिने बताए। उनले भने, 'गुणस्तरीय मेसिन किन्न सरदर एक करोड रुपैयाँ पर्छ। यसका लागि पुरातत्त्व विभागमार्फत संस्कृति मन्त्रालयलाई जानकारी गराउनेछौं।'

मिति : २०७० पुस २०, शनिबार [56 पटक पढिएको]

No comments:

Post a Comment