Saturday, March 1, 2014

ब्रह्मपुत्र, बाटुलादेवी र बगेको मन


तयारी तेजपुरको थियो। सबै नयाँ ठाउँको भ्रमणको कल्पनामा थिए। भारतको शोणितपुर जिल्लाको पानीभण्डारामा रुमल्लिएको तीन दिन भइसकेको थियो। नेपालबाट त्यहाँ पुगेका दुई दर्जन हामी असम राज्यकै तेजपुर जाने खुसियालीमा रमाइरहेका थियौं।
मार्च १५, २०१३ अर्थात् गत वर्षको चैत २ गते। बिहान करिब ८ बजेको थियो। नेपालबाट आएको टेलिफोनको दुई शब्दले मलाई एकाएक 'शब्दविहीन' तुल्यायो। बोलीहरू बन्द भए। वरपरका केटाकेटी र चराचुरुंगीका आवाज पनि मध्यरातमा जस्तै चकमन्न भएझैं भयो। बोलिरहने म बोल्न छोडेपछि गोपाल दाइले सोध्नुभयो, 'के भयो, कुनै नराम्रो खबर हो?' भनिदिएँ, 'हो दाइ, मेरी घरकी हजुरआमा...।'
अघिल्लो दिनको कार्यक्रम राति अबेरसम्म चलेकाले शिव आचार्यकै घरमा सुतेको थिएँ। मर्निङ वाक गर्दै आफ्नो बासस्थान फर्किंदा म बस्ने गरेको घरका दाइ गोपाल पौडेलले आफ्नो मोबाइल दिँदै भनेका थिए, 'भाइ, घरबाट बुहारीको फोन आएको छ।' यसअघि पनि सम्पर्कका लागि उनले त्यही नम्बरमा घन्टी बजाउने गर्थिन् केवल शुभ समाचारका लागि।
असम नेपाल साहित्यिक मितेरी समारोहमा पुगेका हामीलाई 'होम स्टे' जसरी बस्ने व्यवस्था मिलाइएको थियो। अझ भनौं, पाहुनाझैं। मेरो हकमा त म त्यो घरमा बस्ने एक्लै थिएँ। आफ्नै घरभन्दा केही फरक थिएन। गोपाल दाइकी पत्नी गीता लुइँटेलकी छोरी भएकाले चिनजानमै उनले मलाई 'दाइ' सम्बोधन गरिन्। त्यसैले पकाउनुअघि मेरै 'च्वाइस' सोधिन्थ्यो।
मोबाइलको सूचनाले मेरो मनलाई सुटुक्क हरण गरेको थियो। मर्निङ वाकबाट पुनर्ताजगी बनेको फूर्ति एकाएक सकियो, थचक्क बसेँ। तेजपुर जाने जोश क्षणभरमै लोप भयो। असम जाने भनेर काठमाडौंबाट हिँडेपछि फत्तेपुरस्थित मावलबाट फोन आएको थियो, 'हजुरआमा सकिनुभयो।' सुनेपछि बाटो काट्न मिलेन। झापाकी हजुरआमालाई भेटेर असम जान यात्रा तय गरेको म सप्तरी फत्तेपुर मोडिएको थिएँ।
असम जाने काठमाडौंको टोली छोडेर एक दिनअघि म झापा हानिएको थिएँ, काँकडभिट्टामा भेट्ने योजनामा। मावलकी हजुरआमा नन्दकुमारी पराजुलीलाई नजिकैको त्रियुगा नदीमा सदाका लागि बिदा गरेर झापा गौरादह पुगेको मैले घरकी हजुरआमा बाटुलादेवीलाई भने अन्तिम भेट गर्न पाएको रहेछु।
घरछेउको सडकमा दुईवटा गाडी रोकिए। आवाजसँगै बजेको चर्को हर्नले म हडबडाएँ, तेजपुर जाने हाम्रो टोली आइपुगेछ। हजुरआमाको गए राति भएको निधनले मलाई पानीभण्डाराबाट झापाको गौरादह पुर्‍याएको थियो। हुलमुलमा हिँडौं, मन सबैबाट एक्लिएको छ। नहिँडौं, दिमागलाई तनाव र मनलाई झनै सास्ती। मैले मावली हजुरआमाको पाँचदिने जुठो बारिसकेको तेस्रो दिनमात्रै भएको थियो।
टोलीले मावलको हजुरआमाको घटनापछि पनि असमसम्म आइसकेको प्रसंग सम्झाउँदै तेजपुरका लागि कर गर्न थाले। 'शोकमाथि शोक' थपिएपछि मलाई बोल्न मनै लागेन। यात्रामा मेरा लागि गीता बैनीले खानेसम्मको व्यवस्था मिलाइसकेकी रहिछन्। जान करै लाग्यो। हिँड्ने मनस्थिति तयार पारेँ एउटै सर्तमा, 'हजुरआमाको स्वर्गीय यात्रामा म किन बाधक बनूँ? हजुरआमाले दु:ख बिसाउनुभयो भन्नु नै जाति लाग्यो।'
गाडी एकपछि अर्को गर्दै घरहरूलाई पछाडि पारेर अघि बढ्यो। तर, मेरो मन भने पछाडि नै दौडिइरह्यो, 'नोस्टाल्जिक' भयो। अल्जाइमर रोगले चार वर्षदेखि समस्याग्रस्त जीवन भोगेकी हजुरआमाले दु:ख बिसाए पनि मेरो मनले त्यो मान्न तयारै भएन। रोगले गति लिँदै गर्दा २०६८ भदौको २७ गते हजुरबुबा पुष्पलालले हाम्रो साथ छोड्नुभएको थियो। हजुरबुबाको अन्तिम चाहना पनि अधुरै भएको थियो, 'आफूभन्दा अघि पत्नीलाई बिदा गर्ने।'
बरु हजुरआमाले नै बिदाइ गर्नु पर्‍यो पतिलाई, होशमा होइन बेहोशमा। उहाँले न हजुरबुबा निधन भएको पत्तो पाउनुभयो न औपचारिक बिदाइ नै। त्यति बेला डाँको छोडेर रुनुभएको थियो बाटुलादेवी। तर, पतिसँग वियोग हुँदैछ भन्ने थाहा पाएर होइन। अन्तरआत्माबीच जोडिएको हुनुपर्छ बिछोड हुन लागेको संकेतको तार। हजुरआमा कहिले बाटो हिँड्ने मान्छेलाई बोलाउनुहुन्थ्यो त कहिले बेहोशीमै दौडिने त कहिले सानो नानीझैं रोइदिने। यस्तै मनोदशामा तीन वर्षदेखि गुज्रिनुभएको थियो उहाँ।
चारैतिर छरिएका र जथाभावी चिरिएका जस्ता लाग्ने बाटा छिचोल्दै गाडीले ब्रह्मपुत्र नदी पुर्‍याएछ। बाटामा एउटै सिटमा रहेकी बाबा बस्नेत दिदीले आफ्नो पारिवारिक कथा सुनाइरहनुभएको थियो। दिदी आफ्नै नदी बगाइरहनु भएको थियो, म भने आफ्नै नदीमा बगिरहेको थिएँ। ब्रह्मपुत्रको नदीमा रहेको तीन किलोमिटरभन्दा लामो पुलमा पुगेका रहेछौं।
पानीभण्डारा पुगेकै दिन ब्रह्मपुत्र नदीको पहिलो स्पर्श पाएको थिएँ। बाबा दिदीले ब्रह्मपुत्र पुगिहाल्ने हतारो लगाएपछि सेन्ट्रोमा सोही दिन पाँचजना पुगेका थियौं। डुंगा चढेर पारिको थुम्को घुमेका थियौं। लामो नदी ब्रह्मपुत्र असम राज्यको धेरै ठाउँ छोएर बगेको रहेछ। प्रेमिकाजस्तो प्रत्येक पल आँखामा ठोक्किएजस्तो ऊ हाम्रो यात्रामा जता पनि ठोक्किन आइपुग्थ्यो। एकपटक होइन, पटकपटक अँगालोमा बेरिरह्यो ब्रह्मपुत्रले हामीलाई। सहयात्री साहित्यकार सबै त्यो लामो पुलमा रमाए, म भने ब्रह्मपुत्रसँगै विलीन भएर मन बगाइरहेको थिएँ।
गाडीले नदीमाथिको पुलमा आफ्नो गति नापिरहेको थियो। समुद्रझैं सोत्तर परेर आफ्नो सिमाना लुकाएको ब्रह्मपुत्र नदीको क्षितिज नियालिरहेका थियौं हामी। चारैतिर जता हेरे पनि देखिरहेका थिएनौं त्यसको अन्त्य, पुलको बीचमा पुगेका हामीले। हो, त्यसरी नै देखिरहेको थिइनँ मैले पनि मेरी हजुरआमाको श्वासबिनाको खास आकृति। उहाँ पनि ब्रह्मपुत्रझैं पारि कतै अन्तहीन लाग्ने सीमामा हुनुहुन्थ्यो सायद।
मध्याह्न १२ बजेको थियो। ब्रह्मपुत्रमाथि दौडिरहेको शरीरलाई छोडेर मेरो मन कृष्णी खोलामा पुग्यो। छरछिमेकले चिता बनाइरहेका होलान्। कोही आमा र फुपू दिदीहरूलाई 'नरुन' सम्झाइरहेका होलान्। दुई वर्षअघि बुबा गुमाएका चारैजना बुबालाई दोस्रो झड्काले कति पछारेको होला? बुबा दीनानाथ आमाले खुवाएको, हुर्काएको, माया गरेको सबैसबै सम्झिरहनुभएको होला, सामुन्नेको आमाको 'मुढो' शरीरलाई साक्षी राखेर।
मलामीहरू चितामा आगो लगाउन हतारिइरहेका होलान्। बिदाइ गर्ने मन नहुँदानहुँदै पनि दागबत्तीको आगो मुखमा पुर्‍याउँदै हुनुहुन्छ होला। दसकौंदेखि आमासरह पालेकी सासूको अन्तिम बिदाइमा मेरी आमा चन्द्रकला कति विक्षिप्त हुनुभएको होला। यसअघि बुबासरह स्याहारसुसार गरेका ससुराले अन्तिम बिदाइ लिँदा भक्कानिँदै लडेको दृश्य मेरो सामुन्ने आयो।
आठ दिनअघिमात्र जन्म दिने आमा नन्दकुमारीले सदाका लागि छोड्दा त्रियुगा घाटसम्म पुगेर रोइरहँदा बेहोश हुनुभएको पनि झल्झली आँखाभरि दृश्यहरू चलायमान भए। 'होइन, यो भाइ त 'अँ' 'हो' मात्रै भनिरहन्छन्, मेरो कुरा सुनेकै छैन कि क्या हो?', तेजपुर विश्वविद्यालय मोडिने बेलामा बाबा दिदीले मेरो बगेको मनमा अचानक बाँध हाल्दिनुभयो।
पानीभण्डाराबाट तेजपुर करिब सय किलोमिटर दूरीमा रहेछ। सय किलोमिटरको दौडाइपछि २५ जनाको तन र मन दुवै तेजपुर पुग्यो। मेरो भने मन पुन: क्षणभरमै हजारौं किलोमिटर दूरीको यात्रा तय गरी नेपालको झापा गौरादहस्थित घाट रहेको कृष्णी खोला पुग्यो।
सानैदेखि हजुरबुबा हजुरआमाको 'प्यारो नाति' मैले हजुरबुबालाई त आँखाले बिदाइ गर्न पाएको थिएँ तर हजुरआमालाई पाइनँ। चार छोरा र दुई छोरीका १६ नाति र पाँच नातिनीमध्ये बढी माया पाएको अनुभूतिले नै हुनुपर्छ, सयौं सहरपारि पुगेको मनलाई हजुरआमाले तानेको।
कर्मथलो काठमाडौंबाट हजुरआमाको अल्जाइमरका चार वर्षमा केहीपटक घर पुगेको थिएँ। तर, छुट्टिँदा हजुरआमालाई ढोगेर हिँडेको थिइनँ। असम जाने दिन बिहान बिदा माग्दै खुट्टामा ढोगेको थिएँ। अन्तिम बिदाइको ढोगाइ रहेछ त्यो। मलाई प्रस्ट थाहा छ, मैले हजुरआमासँग मागेको त्यो अन्तिम बिदाइ उहाँलाई थाहा थिएन।
लागिरहेछ, अचेत भएर साता दिनदेखि सुतेकी हजुरआमाबाट मैले 'आशीर्वाद' ग्रहण गरेँ। विचरी हजुरआमालाई वर्षौंदेखि बिछ्यौनामा पल्टिँदा रातदिन आफ्नै हड्डी कति बिझाएको थियो होला? पछिल्लो एक वर्षयता त ८७ वर्षीया उहाँको शरीरमा मासु थिएन भने पनि हुन्छ।
शोणितपुरको राजधानी तेजपुर पनि ब्रह्मपुत्रकै किनारामा लुटपुटिएको रहेछ। गणेश घाट हुँदै भव्य पार्कका लागि अघि बढ्दै थियौं। गणेश घाटले फेरि एकपटक कृष्णी घाट सम्झायो। एकोहोरो शंखको ध्वनि गुञ्जियो कानभरि। लाग्यो, 'चिताको खरानी पखालेर बुबा, आमा, आफन्त र छिमेकी घर पुगिसके।'
घरमा पुगेर आँगनमा कपाल खौरिएका बुबाहरू सेतो वस्त्रमा चुपचाप बसेको नियालेँ पार्कको भव्य हरियाली र सुन्दर फूलहरूको बीचबाट। घुमघामपछि राति अबेर फर्कियौं। गोपाल दाइ र गीता बैनी भोटे ताल्चा लगाएर साहित्यिक समारोहको सांस्कृतिक कार्यक्रममा जानुभएको रहेछ। छेउको घरकाले बिछ्यौनाको व्यवस्था गर्दिए। 'हामीलाई निद्रा लागेन, हाम्रो मनले मानेन' भन्दै दिनभरिको भोको मेरा लागि त्यो घरकी दिदी सुक्खा रोटी पकाउन लागिन्।
बाटोमा फलफूल खाएको छु भनेर आआफ्नो बिछ्यौनामा पुगेका हामी फेरि उठ्यौं। मध्यरातको १२ बजेको रहेछ। एकातिर नेपालीको वर्चश्व रहेको शोणितपुरका नेपालीको मन सम्झेर अबेरसम्निद्रा लागेन, अर्कातिर असम्भव बनेको हजुरआमासँगको पुनर्भेट। म आज वर्ष दिनपछि पुन: 'नोस्टाल्जिक' बनिरहेछु। नोस्टाल्जिक हुनुको एउटै कारण हो- हजुरआमाले छोडेको पनि फागुन २० गते तिथिले वर्ष दिन पुग्दैछ।

मिति : २०७० फागुन १७, शनिबार

No comments:

Post a Comment