Saturday, October 11, 2014

उपचार अधिकार: नेताको मात्रै कि असहाय बालकको पनि

गोपीकृष्ण ढुंगाना

२०७१ आस्विन १५ बुधवार
1
1
 
काठमाडौं : सरकारी ढुकुटीबाट स्वास्थ्य उपचारका लागि नेताहरूले करौडौं रूपैयाँ बुझेको समाचार आउँदा चार वर्षीय प्रदीपकुमार साह कानु राजधानीका सडक र अस्पताल धाइरहेका छन् तर सहयोग जुरेको छैन। जन्मेदेखि नै दुवै कान नभएका प्रदीपकुमारले स्वास्थ्य विज्ञान र निजी तथा सरकारी अस्पतालको 'सोसल कर्पोरेट रेस्पोन्सीवीलीटी' लाई पनि चुनौति दिइरहेका छन्। विज्ञहरूका अनुसार कानको उपचार सम्भव छ तर शल्यक्रियापछि रा नुपर्ने उपकरणको मूल्य करिब १० लाख पर्ने भएकाले त्यो समस्या बन्न पुगेको छ। 
 
प्रदीपकुमारका बाबु बिहारी साह कानु झण्डै एक महिनादेखि अस्पताल र प्रभावशाली नेताहरूलाई भेटी सहयोगको गुहार लगाइरहेका छन् तर कतैबाट त्यो जुटेको छैन। अहिलेसम्म उनले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, एमाले अध्यक्ष केपी ओलीसहित केही अन्यलाई भेटेका छन् र स्वास्थ्य मन्त्रालयमा सहयोगका लागि निवेदन दर्ता गराएका छन्। 
 
 
जन्मजात दुवै कान नभएका प्रदीपको देब्रे खुट्टा भाँचिएको छ। ४.५ प्लस पावरको चस्माबाट उनी मुस्किलले हेर्छन् र बोल्न सक्दैनन्। उपचारका लागि रौतहटबाट छोरालाई लिएर २७ दिनअघि राजधानी आएका २९ वर्षीय बाबु बिहारी हेर्दा ५० वर्ष नाघेजस्ता देखिन्छन्। अस्पतालले उपचारका लागि १० लाख रुपैयाँ लाग्छ भनेपछि खर्च कसरी जुटाउने भन्‍ने चिन्ताले रन्थनिएका बिहारी मागेर खान्छन्, फुटपाथमै सुत्छन् तर आश मारेका छैनन्। उनले भने, 'छोराको उपचारका लागि काठमाडौं आएको हजुर। अस्पताल लाखौं रुपैयाँ माग्छ। मसँग पेट भर्ने पैसासम्म छैन। मागेर खाँदैछु। दिनहुँजसो सडकपेटीमा सुत्दैछु।' 
 
काठमाडौं आएपछि उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा छोराको सिटिस्क्यानसम्म गराएछन्। उनले भने, 'गाउँकै हृदयनारायण साहले फोन गरेकाले अस्पतालमा तीन हजार पाँच सय रुपैयाँ लागेन।' छोराको कानको शल्यक्रियापछि चिकित्सकले मेसिन राख्नुपर्छ भनेको उनले सुनाए। आफू सुकुमबासी भएको बताउने बिहारी गाउँमा कबाडीको काम गर्छन्। गाउँकै आयुर्वेद चिकित्सक नन्दकिशोर झाले पाँच सय रुपैयाँ बाटोखर्च दिएपछि काठमाडौं आएको उनले अन्‍नपूर्णसँग भने। 
 
चिसो सडकपेटीमा सुत्नुपर्दा अहिले छोराको पेट पनि दु न थालेको उनी बताउँछन्। 'शनिबारदेखि ज्वरो आएको छ। गौशालामा एउटा औषधि पसलमा मागेर दबाई खुवाएको छु', फाटेको र मैलो टिसर्ट लगाएका बिहारीले झोला देखाउँदै भने, 'ओढ्ने एउटा पातलो मजेत्रो र एउटा तन्‍ना छ।' आफ्नो क्षेत्र रौतहट क्षेत्र ३ का सभासद् प्रभु साहलाई उनले सहयोगका लागि धेरैपटक फोन गरे तर फोन उठेन, भेट्ने त कुरै भएन। बिहारीका अनुसार उनले एमाओवादी नेता बाबुराम भट्टराईलाई भेटिसकेका छन्। 'भट्टराईबाट सरकारलाई भनिदिने आश्वासन पाएको छु।' 
 
प्रधानमन्त्री सुशील कोइरालालाई भेट्न धेरैपटक धाए पनि सकेका छैनन्। बिहारीले भने, 'उहाँ पनि उपचारकै लागि अमेरिका जानुभएको रहेछ।' एमालेका अध्यक्ष केपी ओलीलाई पनि भेटेर उनले भनेका रहेछन्, 'हजुर, हामी गरिब मान्छे। छोराको उपचार गर्नुपर्‍यो।' तर कुनै सहयोग हात लागेको छैन। 
 
त्रिवि शिक्षण अस्पतालको नाक, कान, घाँटी विभागको बोलीसुनाइ शाखाका प्रमुख डा. सुरेश्वरलाल कर्णले प्रदीपको शल्यक्रियापछि राख्नुपर्ने उपकरणका लागिमात्र १० लाख रुपैयाँ लाग्ने बताए। उनले भने, 'शल्यक्रियाका लागि लाग्ने खर्च सहयोग गर्न अस्पतालमा कुरा चलिरहेको छ। त्यसपछि बोल्ने र सुन्ने तालिमका लागि दुईदेखि तीन वर्षसम्म तालिम दिनुपर्छ।' असोज ६ गते स्वास्थ्यमन्त्रीलाई उपचारखर्चका लागि दिएको निवेदन देखाउँदै बिहारीले भने, 'सबैबाट सहयोगको आशा गरेको छु। राष्ट्रिय वाणिज्य बैंक सिंहदरबारमा ११३००४८२७४१० नम्बरको खाता खोलेको छु।'

उनले आफ्नो मोवाइल नम्बर ९८४१२२६५७९ पनि तत्काल दिन्छन् सहयोगको आसमा। २०४२ सालको जन्ममिति भएको नागरिकता देखाउने बिहारी स्वयं पनि १० वर्षदेखि नसाको रोगी छन्। भारतको बनारसमा गएर जचाएका उनी अझै औषधि खाँदैछन्। 

No comments:

Post a Comment