Thursday, January 1, 2015

कलकत्तामा बाङ्‌देल पुरस्कार

गोपीकृष्ण ढुंगाना

 0
 0
 

कलकत्ता : लैनसिंह बाङ्देलले जसवीर तामाङकी बहिनीलाई मन पराउँथे। दुवैले एकआपसलाई अत्यन्तै माया गर्न थाले। बाङ्देलको ९० औं जन्मजयन्तीका अवसरमा यसै साता लैनसिंह बाङ्देल स्मृति पुरस्कार पाएका दार्जिलिङ निवासी साहित्यकार राजनारायण प्रधानले विगत सम्झिए, 'बाङ्देल हल्यान्ड वा पेरिस जानुपर्ने थियो, खिडीरपुर डक (बन्दरगाह) मा पुर्‍याउन म पनि गएको थिएँ, उनी पनि रुने अनि बाङ्देल सर पनि रुने। दुईतर्फी रुवावासीले मलाई पनि प्रेमको महत्त्व बुझाएको थियो।' 
 
७९ वर्षीय प्रधानलाई बाङ्देलका नामबाट यसरी पुरस्कार पाउँला भन्ने कल्पनासम्म रहेनछ। कलकत्तामा रहेका नेपाली भाषीले साहित्यका नाममा स्थापना गरेको पहिलो पुरस्कार हो यो। सानो छँदा दाजु चित्र सिक्न जाने क्रममा प्रधानले पनि बाङ्देललाई गुरु मानेका थिए। 
 
बाङ्देलले आफूलाई भने कहिले १० वटा रूखका नाम त कहिले १० वटा फूलका नाम लेख्न लगाउँथे। जुन उनका लागि अत्यन्त कठिन कार्य हुन्थ्यो। उनले भने, 'पछि नेपालको तेह्रथुमको आठराईमा शिक्षण गर्ने मदन थापा (पछि शारदा हाइस्कुलका प्रधानाध्यापक) की दिदीलाई बिहे गर्नुभयो।' 
 
उनलाई कलकत्तामा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले पुरस्कार प्रदान गरे। 'यस्तो मीठो संयोगको पनि कल्पना थिएन मलाई', उनले भने, 'दुवै कुराले खुसी लागेको छ। 
 
पुरस्कारको राशि (पाँच हजार भारतीय रुपैयाँ) ठूलो कुरो होइन, मलाई पाठकले पढ्दा र रुचाउँदा रहेछन् भन्ने बलियो प्रमाण हो। मलाई यो संयोगले अत्यन्तै उत्साहित बनाएको छ।' 
 
प्रधानको मूल विधा जीवनी लेखन नै हो। उनले विश्वका '१५ प्रसिद्ध पुरुष', विश्वका 'नौ नामी नेता' र नेपालका समेत गरी '६० विख्यात प्रतिभा' जस्ता कृति लेखेका छन्। 
 
प्रधानले जसको नाम (बाङ्देल) बाट पुरस्कार पाए, उनबाट परेको प्रेमको प्रभावलाई आफ्नो जीवनमा कसरी उतार्नु भयो? भन्ने प्रश्नमा झनै रोचक प्रसंग सुनाए। 
दार्जिलिङमा प्रधान कक्षा ४ मा पढ्दा उनी २ मा। कक्षा १० मै पढ्दै गर्दा केटीको बिहे भयो। तर त्यो लाहुरेले पाँच वर्षका लागि माइतमै छोडेर गयो। 

केटीकी आमाले घरमै ट्युसन पढाउन प्रस्ताव गरिन् प्रधानलाई। के खोज्छस् कानो आँखो भनेझैँ भयो रे उनलाई। धनी परिवारकी केटी तर उनी गरिब। आमाका कारणले बिहे भएको र आफू अझै पनि मन पराउँछु भन्ने कुराकानी भए ट्युसनमा। 
 
'मलाई साँच्चै माया गर्ने हो भने भगाएर लैजानू भनिन्', उनले सम्झे, 'थरर कामें केटीका कुराले। मेरो त्यो बेला त्यत्रो हिम्मत भएन।' प्रधानका अनुसार, उनको उनीसँग अझै खर्साङमा भेट भइरहन्छ। 
 
बाङ्देल प्रतिष्ठानले आयोजना गरेको पुरस्कार वितरण समारोहमा भारतका तर्फबाट सिलिगुढी निवासी बुद्धदेव देवान र नेपालका तर्फबाट राधेश्याम लेकालीलाई सम्मान गरिएको थियो। 

 २०७१ पौष १८ शुक्रबार

No comments:

Post a Comment