Sunday, February 1, 2015

पुराना र खोजमूलक पुस्तक कता हराए ?

गोपीकृष्ण ढुंगाना२०७१ माघ १८ आईतवार

फोटो :अन्नपूर्ण (मेलामा पुस्तक हेर्दै पाठकहरु)
दोस्रो राष्ट्रिय पुस्तक मेला
काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको 'नेपालका वैज्ञानिकहरू' खोज्दै पुस्तक मेलामा केही फन्का लगाए प्राध्यापक डा. साम्बराज आचार्यले। प्रतिष्ठानसँगको सहकार्यमा नेपाल राष्ट्रिय पुस्तक विक्रेता तथा प्रकाशक संघले राजधानीमा आयोजना गरेको दोस्रो राष्ट्रिय पुस्तक मेलामा शनिबार पुगेका उनले भने, 'पुराना, ऐतिहासिक र खोजमूलक पुस्तकहरू पाइँदैनन्।' 
 
आचार्यले ज्योतिषसम्बन्धी सिद्धान्तका पुस्तक पनि पाएनन्। ज्योतिषका प्राध्यापक एवं नेपाल पञ्चांग निर्णायक समितिका पूर्वसदस्य उनले भने, 'पुस्तक मेला वा प्रदर्शनी भन्नेबित्तिकै पुगिहाल्छु तर भनेजस्ता पुस्तक पाउन कठिन छ।' उनलाई पछिल्ला समयमा प्रकाशित नयाँनयाँ पुस्तक पनि उपयोगी र समय सान्दर्भिक लाग्छन्। 
 
'नयाँ लेखकका नयाँ पुस्तकहरू देख्छु जसले मजस्तो पुरानो पुस्तालाई समय र युवा पुस्तासँग भिज्न र उनीहरूलाई बुझ्न मद्दत गरेको छ तर पुराना नपाउँदा समस्या पक्कै हुँदोरहेछ', उनले भने। मेलामा व्युत्पत्तिमूलक शब्द भएको नेपाली शब्दकोशको पनि नपाइएको ७२ वर्षीय आचार्यले बताए। 
 
डा. उज्ज्वल खड्काले सौराई नामक उपन्यास खरिद गरे। उनले भने, 'आख्यानमा पनि पृथक् कृति बढी मन पर्छ। पुस्तक मेलामा आएर पुस्तकहरूबीचमा रहँदामात्र पनि मन सन्तोष हुन्छ। आनन्द लाग्छ।' यसअघिको पुस्तक प्रदर्शनीमा लैनसिंह बाङ्देलको माइतीघर खरिद गरेर पढेको उनले बताए।
 
चिकित्सा क्षेत्रमा कार्यरत उनी स्वयं लेखक हुन्। उनले भने, 'नेपालको पुस्तक प्रदर्शनी वा मेलामा सकभर सबै लेखकहरूसँग पाठकको साक्षात्कार गराउन आयोजक चुकेका छन्।' 
 
मेलामा वृद्धदेखि विद्यार्थीसम्म सहभागी छन्। शिक्षण अस्पतालस्थित महाराजगन्ज क्याम्पसमा मास्टर इन हेल्थ प्रोमोसन एन्ड एजुकेसनमा अध्ययनरत वसन्त चालिसेले सामाजिक अनुसन्धान पद्धति, स्टाटिस्टक र राजनीतिक विचारधारा र वादहरू गरी तीनवटा पुस्तक खरिद गरे। उनले भने, 'प्रदर्शनमा आएपछि साहित्य पनि पढ्न मन लाग्छ। तर कोर्सकै पुस्तक पढ्दापढ्दै समय पुग्दैन।' 
 
कमलपोखरीकी चन्दा थापा मेलामा महिलासम्बन्धी पुस्तक खोज्दै थिइन्। विश्व प्रसिद्ध महिलाहरू नामक पुस्तक बोकेकी उनले भनिन्, 'महिला सशक्तीकरणसम्बन्धी पुस्तकहरू खोजिरहेकी छु तर भनेजस्तो भेटेकी छैन।' 
 
घरमा बसेर घन्टौं टेलिसिरियलमा समय बिताउने महिलालाई पुस्तक मेलामा आएर पुस्तक किनेर अध्ययन गर्न सुझाव दिन्छिन् उनी। गहकिला पुस्तक पढे मानिसलाई नै परिवर्तन गर्न सक्ने सामथ्र्य राख्ने उनको बुझाइ छ। मेला २४ गतेसम्म हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म चल्नेछ। 
 
नेपाल राष्ट्रिय पुस्तक विक्रेता तथा प्रकाशक संघका महासचिव लिखतप्रसाद पाण्डेका अनुसार मेलामा ३५ प्रकाशकले पुस्तक राखेका छन्। मेलामा लेखकसँग साक्षात्कार, बालसाहित्य विशेष, विमोचन, लेखन र चित्रकला कार्यशाला र हास्यव्यंग्य आदि कार्यक्रम पनि राखिएको छ। 

No comments:

Post a Comment