Showing posts with label न्ह्यु वज्राचार्य. Show all posts
Showing posts with label न्ह्यु वज्राचार्य. Show all posts

Saturday, April 19, 2014

क्या बोर भो !


जिन्दगीका थुप्रै वर्षमा कवि एवं गीतकार क्षेत्रप्रताप अधिकारीले धेरै कुरा गरे। आफैंले लेखेको प्रस्तुत गीतको स्थायीजस्तै धेरै काम र कुरा गर्न बाँकी पनि रहे होलान्। उनले स्थायीलाई बिट मार्दै लेखेको दोस्रो वाक्यजस्तै ठूलो कुरो भने अब गर्न बाँकी रहेन। गत शनिबार उनले जिन्दगीको सबैभन्दा ठूलो कुरो फत्ते गरे।
अधिकारीले यो गीत गाउन नारायणगोपाललाई दिने सोच बनाएका थिए। यहीबीचमा नारायणगोपालको निधन भयो। त्यसपछि उनले गायिका अरुणा लामालाई दिने तयारी गरे। त्यो साइत पनि समयले जुराएन। ‘त्यसपछि मलाई प्रस्ताव आएको रहेछ’, गायक रामकृष्ण ढकाल भन्छन्, ‘प्रस्ताव आउँदा यी सबै पृष्ठभूमिका साथै आयो। कालसम्बन्धी विषय। दोधार भएँ। तर, गुरु चन्दन श्रेष्ठले रूढिवादी नबनौं भनेपछि गाउने टुंगोमा पुगेको थिएँ।’
२०५६ सालमा तयार पारिएको यो गीत एकाएक चर्चित भयो। २०५७ सालको हिट्स एफएम अवार्डमा अधिकारीले पाए, ‘उत्कृष्ट गीतकार’को पुरस्कार। जुन गीतले दुवैलाई चिनायो, कालजयी बनायो। ‘अधिकारी दाइ आफ्नै गीतमा भनेजसरी नै जानुभयो’, ढकाल भन्छन्।
१९९९ सालमा मिर्लुङ बयापानी तनहुँमा जन्मिएका उनले एमएसम्मको औपचारिक अध्ययन पूरा गरेका थिए।
२०२४ सालमा ‘रहर लागेर’ कवितासंग्रहबाट साहित्यिक यात्रा अघि बढाएका उनले गामबेसीको गीत, पहाडदेखि पहाडसम्म, लालीगुँरास, नफुलेका फूलहरू, फेरि एउटा परिवर्तन, तर देश हारिरहेछ र जापानी साहित्यको इतिहासजस्ता कृति लेखेका थिए भने केही कृतिको सम्पादन र अनुवाद गरेका थिए। उनले छिन्नलता र साझा पुरस्कार पाएका थिए।
राष्ट्रकवि माधव घिमिरे पनि क्षेत्रप्रताप अधिकारीलाई गामबेसीका गीतकारका रूपमा चिन्छन्। भन्छन्, ‘मन पर्ने गीतकारमध्येका हुन् उनी। किनकि, राष्ट्रिय भावनाका गीत लेख्थे। जनजीवनबाट टिप्ने विम्बले उनका गीतलाई गम्भीर बनाएका हुन्।’
म त लालीगुराँस भएछु, मनैभरि फुलिदिन्छु वनैभरि फुलिदिन्छु... घिमिरेलाई सर्वाधिक मन पर्ने गीत हो। अधिकारीको यो गीतले उनलाई जवानीको विम्ब दिएझैं लाग्छ।
अधिकारी साझा प्रकाशनमा महाप्रबन्धक भएलगत्तै राष्ट्रकविलाई भेट्न घरैमा पुगे। युनेस्कोको काठमाडौंस्थित कार्यालयले एसिया प्रशान्त क्षेत्रको लोकसाहित्य प्रकाशन गर्न लागेको सूचना लिएर उनी पुगेका थिए।
घिमिरे सम्झन्छन्, ‘मैले पनि माग भएबमोजिम ‘मनचिण्डे मुरली’ नामको कथा दिएँ। यो अंग्रेजीमा पनि छापियो। प्रसिद्ध भयो। मलाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउने काम अधिकारीले नै गरे।’ भौगोलिक हिसाबले पनि गाढा सम्बन्ध रहेको बताउँदै उनी थप्छन्, ‘म उनको गीतको र उनी पनि मेरा गीतका प्रशंसक रहेछन्।’
अध्ययनका लागि अधिकारी तनहुँबाट काठमाडौं आए। २०१४ सालतिरको त्यो समयमा गाउँले ठिटो राजधानी आउनु ठूलै साहस मानिन्थ्यो। प्राध्यापक डा. वासुदेव त्रिपाठी प्रवेशिका परीक्षाको तयारीमा थिए। उनी भने कक्षा ७ मा। जुद्दोदय हाइस्कुलकै विकास भवनमा रात्रिकक्षा सञ्चालन हुन्थ्यो। त्यहाँ अध्ययन गर्ने अधिकारी लोकगीतहरू मजैले गाउँथे।
‘उनी मुनामदन मीठो भाकामा गाउँथे। लोकगीत, भजन र खैंजडीहरू पनि साँच्चै मीठो गरी गाउने। तत्कालै रचेर पनि गाउने अनि नाच्न पनि निकै सिपालु’, त्रिपाठी विगत सम्झन्छन्, ‘काठमाडौं आइपुग्न ६ दिन हिँड्नु पर्थ्यो। कष्टले पढेका थिए उनले।’
नेपाली भाषा प्रकाशिनी समितिलाई साझा प्रकाशन बनाएपछि निम्न वैतनिक तलबी कर्मचारीबाट काम सुरु गरेको त्रिपाठीको भनाइ छ। थप्छन्, ‘क्षमता देखेर क्रमश: उनलाई बढुवा गर्दै महाप्रबन्धक र पछि अध्यक्ष पनि बनाइयो।’
अधिकारी साझा प्रकाशनमा महाप्रबन्धक हुँदा कमलमणि दीक्षित अध्यक्ष थिए। ‘उनी कवि गीतकार अनि म लेखक’, २०२० सालतिरको साझाको कुरा स्मरण गर्दै दीक्षित भन्छन्, ‘उहाँ मलाई चोभारसम्म लगेर कविता सुनाउनुहुन्थ्यो।
गीत राम्रा थिए उनका तर म उनको गीतको पारखी भने होइन।’ नारायणगोपाल नभएको भए अधिकारीले आफूलाई सायद त्यति चर्चाको शिखरमा पुर्‍याउन नसक्ने दीक्षितको भनाइ छ।
अधिकारी ‘सिनियर’ न्ह्यु वज्राचार्य ‘जुनियर’। त्यसैले आफूले माग्दा गीत दिनुहुन्थ्यो हुन्थेन, न्ह्युलाई शंकै थियो। तर पनि आँट गरेर मागे उनले। ‘मागेपछि गीत पाएँ, खुसी त भएँ तर ‘ट्युन’ गर्नै सकिनँ’, संगीतकार न्ह्यु भन्छन्, ‘सोध्नुहुन्थ्यो, खै के भयो? भनेर। तर, मसँग उत्तर थिएन, त्यसपछि म उहाँको छेउमै पर्न चाहन्नथेँ।’ अचानक जम्काभेट भयो, नारायणगोपाल संगीत कोषमा। अर्को अप्ठेरो पनि, प्रकाश सायमीले भन्दिहाले, ‘क्षेत्र दाइ, तपाईंको गीत त न्ह्युजस्ताले पो कम्पोज गर्नुपर्छ त।’ अधिकारीले रिसाएको भावमा भन्नुभयो, ‘न्ह्युले गर्दैन। कहाँ गर्छ र ट्युन?’ सायमीले थपिदिए, ‘एउटा नयाँ दिएर त हेर्नोस्।’
भोलिपल्टै फोन आयो, ‘गीत तयार छ, ल टिप्नोस्।’ न्ह्युले टिपे। यो पनि ‘ट्युन’ गर्न नसके मुख देखाउनै नहुने स्थिति आउला भनेर उनी फेरि झस्किए।
‘मैले तयार पारेपछि दाइलाई डराई डराई सुनाएँ’, झन्डै १५ वर्षअघिको सन्दर्भ सम्झँदै न्ह्यु भन्छन्, ‘तर मेरो भाग्य, उहाँले एकदमै मन पराउनुभयो।’ सबैको मन जित्न सफल गीत थियो-
‘आउँछु भन्यौ पर्खी बसेँ,
तिमी आइनौ।
क्या बोर भो...।’

मिति : २०७१ बैशाख ६, शनिबार