Showing posts with label रमेश ढुंगेल. Show all posts
Showing posts with label रमेश ढुंगेल. Show all posts

Saturday, June 14, 2014

मृत्युसंस्कार सुधारमा विज्ञहरु के भन्छन् ?

प्रस्तुति : गोपीकृष्ण ढुंगाना

कुनै समय थियो, वृद्धा होस् वा युवती मृत पतिसँग जिउँदै जल्नुपथ्र्यो। त्यति बेलाको समाजका मानिस सोच्न पनि सक्दैनथे, यो संस्कार हटाउन सकिन्छ भनेर। चिता जलिरहँदा भाग्ने पत्नीलाई लौरो वा ढुंगाले हिर्काएर तिनै समाजका मानिसले मार्थे। तर, यो चेतनासँगै हट्यो। केही वर्षअघिसम्म विधवाले रातो सारी, टीका, चुरा लगाउने क ल्पनासम्म गर्दैनथे। तर, अहिले त्यो पनि समयले सहज बनाइदिएको छ। जसले छोए पनि खानपिउन मिल्छ भन्ने कुरा सामान्य भइसक्यो।
मृत्युसंस्कार पनि यही समाजमा चलिआएको १३ दिने संस्कृति हो। यसमा पनि २० वर्षअघि र अहिले काजकिरिया गर्ने तौरतरिकामा धेरै फरकपन पाइन थालेको छ। मानिस व्यस्त हुन थालेका छन्, १३ दिन बस्दा स्वास्थ्य बिग्रने गरेको छ, खर्चका हिसाबले पनि यो धेरै बोझिलो छ। हाल नेपालमा रहेको दुई करोड १६ लाख हिन्दूको मृत्युसंस्कार भइसक्दा प्रतिकामबाट एक लाख रुपैयाँका दरले जोगाउने हो भने सात अर्ब रुपैयाँ बच्ने र त्यसबाट समाज निर्माणमा लगानी गर्न सकिने तर्क पनि उठेका छन्। यही सन्दर्भमा अन्नपूर्ण पोस्ट्मा सामाजिक सुधारका लागि बहसका रूपमा 'मृत्युसंस्कार तीन दिन' शीर्षकमा समाचार प्रकाशित भयो। त्यसपछि सुधार हुनुपर्छ र पर्दैन भन्ने अनेक प्रतिक्रि या आए। यही सन्दर्भमा अन्नपूर्ण पोस्ट्ले तीनकुनेस्थित कार्यालयमा आयोजना गरेको 'अन्नपूर्ण राउन्ड टेबल' मा प्रस्तुत भएका विचार :


तीन दिनमा झारौं
शंकरप्रसाद पोखरेल
- लेखक, प्रकाशोन्मुख कृति 'मृत्युसंस्कारको सरलीकृत अवधारणा'
विराटनगरमा छँदै केही वर्षअघिदेखि मृत्युसंस्कार चलिरहँदा दु:ख पाएको सन्दर्भ चल्थे। तीन महिनाअघि पशुपतिस्थित आर्यघाट आएँ। लास जलिरहँदा काजकिरिया बस्ने विषयमा बूढापाकाहरूको पनि सुधार भए हुन्थ्यो भन्ने अपेक्षा देखियो। अरूको पनि आशय र भनाइले आवश्यकता त्यही रहेछ भन्ने बुझेँ। सबैको आवश्यकतालाई कसरी सम्बोधन गर्ने भन्ने जिज्ञासाले निर्णय सिन्धु, धर्म सिन्धु, परासर स्मृतिजस्ता शास्त्र र पुराणको अध्ययन गर्न थालेँ।
१३ दिने काजकिरियालाई घटाएर सात, पाँच वा तीन दिनसम्मको बनाउन सकिने शास्त्रीय प्रमाण भेटिएका छन्। शास्त्रीय प्रमाणका आधारमा काजकिरियाको दिन घटाउन सकिन्छ भनेर मैले चार वर्षदेखि तर्क अघि सार्दै आएको थिएँ। यो समयको पनि माग हो भन्ने बुझेपछि अध्ययन, चिन्तन र मननमा लागेको हुँ। दिन घटाए आशोच बार्नेलाई सात दिन राहत, अरूलाई किरियाका लागि राख्नु नपर्ने, पुरोहितको कार्यक्षमतामा ६२ प्रतिशत वृद्धि हुने, छोटो हुँदा निष्ठा, एकाग्रता र श्रद्धा बढी हुने, सरकारी बिदा कटौती भई सेवाग्राहीलाई सहज हुनेजस्ता फाइदा पाएको छु। काजकिरिया गर्ने कतिपयले भित्रभित्रै शोकजुठो बार्न छाडेको र आँटिलाहरूले हाकाहाकी संस्कारमै कटौती गर्न थालेको अवस्था छ। धर्म सिन्धुको पेज ७३५ मा लेखिएको छ- तीन दिनको आशौचमा छ, त्यस्तो पर्णशर दाह आदिमा पहिलो दिन एक पिण्ड, दोस्रो दिन चार पिण्ड, तेस्रो दिन पाँच पिण्ड। यस विधिले दसवटा पिण्डदानको कार्य सम्पन्न गर्दा, शास्त्रअनुसार मृतक व्यक्ति प्रेत बन्ने काम तीन दिनमा पूरा हुन्छ र त्यसपछि सोही दिन ढिकुरो फुटाइन्छ। चौथो दिन ११औं दिनको काम गर्ने र पाँचौँ दिनमा १२औँ दिनको काम गरेर छोट्याउन सकिन्छ।
कलियुगमा पराशरस्मृति ठीक छ। परासरस्मृतिमा लेखिएको छ- ब्राह्मणहरू जुठोमा तीन दिनमा शुद्ध हुन्छन्, क्षत्रीय १२ दिनमा, वैश्य पन्ध्र दिनमा र शुद्र एक महिनामा शुद्ध हुन्छन्। यो पराशर (ऋषि)को मत हो। भारतीय योगगुरु स्वामी दयानन्द सरस्वतीद्वारा लिखित संस्कारविधिमा तीन दिनसम्म बिहान र बेलुका होम गरिसकेपछि मृतकका नातेदार स्मशान भूमिमा गएर सबै अस्थी (चितामा जलाई छोड्दा नडढेको) उठाएर अर्कै ठाउँमा गाडिदिई फर्कनुपर्छ। बस्, योभन्दा बाहेक अरू कुनै कर्म मृतकका लागि छैन। यजुर्वेदको प्रमाणले प्रस्ट भएको छ, 'मरिसकेपछि दाहकर्म र अस्थीसञ्चयदेखि बाहेक अरू कुनै कर्म कर्तव्य छैन।'
बाह्र, तेह्र दिनको संस्कार अवधिमा किरियापुत्री भएर बस्नेदेखि आशौच बार्नेसम्मको खानपानको उचित प्रबन्ध नमिलेका कारणले १३ दिनभित्रै मृत्यु भएका र रोगी भई धेरै दु:ख पाएका घटना पनि धेरै छन्। यस विषयका दिग्गज बुद्धिजीवीहरूले बृहत् विचारगोष्ठीमा दिएका रायसल्लाह र व्यक्तिगत लिखत प्रमाणहरूलाई आधार मानी दाँजेर हेर्दा पनि न्यूनतम तीनदेखि सात दिनसम्मको वस्तुगत आवश्यकता र चाहना प्रकट भएको पाइयो। वैदिक महापुराणको १६औं अध्यायमा पनि तीन दिनमा शुद्ध हुने लेखिएकाले सोही विधानलाई नै देश, काल, परिस्थितिअनुसार स्वीकार गर्दा सबै वर्णका लागि सहज, सरल र स्वीकार्य हुने देखिएको छ।
निर्णय सिन्धुको ३६९ र ३७१ मा लेखिएको छ, 'शौच गर्न नसक्ने बूढो मानिस, वैद्यले औषधि गर्न नसकेको रोगी मानिस, पहाडबाट लडेको मानिस, व्रत गर्दैमा मरेको मानिस, पानीमा डुबेर वा आगोमा डढेर मरेको वा अनशन (भोकभोकै)मा मरेको मानिसको तीन रात आशौच लाग्छ।' यी सबै हिसाबले घटाउन सक्छौं भन्ने लाग्छ। अहिले झट्ट सुन्दा, हेर्दा तीन वा पाँच दिनमा झार्ने काम पाखण्डी हो कि भन्ने होला। दुर्योधनले त्यति बेला पाँच गाउँ दिएको भए युद्ध हुन्थेन। मलाई लागेको कुरो, औंलो दिँदा शरीर बच्छ भने औंलोको लोभ नगरौं। १३ दिने झन्झटिलो संस्कारको सट्टा तीन दिनेले श्रद्धा जाग्छ र संस्कार जोगिन्छ भने किन नघटाउने भन्ने मेरो आशय हो। मैले विधि छोट्याउनुपर्छ भनेकै होइन, विधि नघटाई दिनमात्र घटाऔं भन्ने मेरो तर्क हो। त्यो त्याग गर्न तयार होऔं।

संस्कार बच्ने भएपछि दिनहरू कटौती गरौंला
डा. रमेश ढुंगेल
- संस्कृति अन्वेषक
मृत्युसंस्कारको विषयमा अहिले जे बहस चलिरहेछ त्यो भौतिक व्याख्या भयो। आध्यात्मिक पक्षको व्याख्या समावेश त हुन्छ नै। यसमा यदि सरकारले निर्णय ग:यो भने हेजेमोनी हुन्छ। लिम्बू जातिमा यसको खर्च कति छ भने हामीहरू त एकदमै कम खर्च गर्छौं।
यो संस्कारले शरीरमा कष्ट दिने काम गर्छ। परालमा सुत्नेजस्ता भावनात्मक कुरा आउँछन्। मृतकलाई कति कष्ट खेपेर सम्मान गर्न चाहन्छ भन्ने देखाउने अवस्था पनि छ। कोही पिँढीमै सुत्छन् भने त्यो उनकै कुरो हो, सरकारले केही भन्दैन। अहिले परिवर्तन आएको छ- ग्याँसमा पकाएर खाने, म्याटमा सुत्ने। कुनै बेला थियो, चीनका बादशाह मर्दा सबै सरकारी कर्मचारीले १५ दिनसम्म सेतो लुगा लगाउने। अहिले छैन। नेपाली हामी एक सय २८ जातका छौं। अन्त्येष्टि अरू जातिका झन् खर्चिला छन्। हामी बरु लचिलो छौं यो मानेमा पनि।
हामी थाम्न सक्छौं भने १३ दिने यो संस्कारलाई थामौं। नाश हुने अवस्थामा भएकाले बचाउने कति भन्ने प्रश्न छ यहाँ। बच्ने भएपछि दिनहरू कटौती गरौंला। विदेशीले ३३ कोटी देवता हावादारी कुरो हो भनिहाल्छन्, त्यसैले।

युगअनुकूल हुनुपर्छ
आचार्य ज्ञानानन्द
- वेदका ज्ञाता
संस्कार विवेक लगाएर जोगाउनुपर्छ। संस्कार नै संस्कृति बन्छ। भौतिक सुधारका लागि पुराणहरू बनिएका हुन्। व्यासले लेखेका हुन् पुराण। त्यसैले शास्त्रमा लेखिएको विषयलाई त्यही रूपमा छोडिरहने वा चलाइरहने भन्ने होइन, युग अनुकूल 'फिट' हुने गरी व्याख्या गर्दै अघि बढ्नुपर्छ। तर, विद्वान्हरूबाट गरिने समयानुकूल व्याख्या भने समाज र मानव उत्थान हुने गरी हुनुपर्छ जसले देशलाई अग्रगमनका लागि सहयोग पुर्‍याओस्।
दुई घन्टा बढी बहस चल्यो तर फेद पनि पाइएन, टुप्पो पनि पाइएन र निर्णय पनि आएन। विषयवस्तुमा विचारले प्रवेश नै पाएन। गम्भीर र समसामयिक यो बहसलाई गहन ढंगले विश्लेषण गर्नुपर्छ। शंकर पोखरेलसँग चिनजान भएको आज तेस्रो दिन हो। मृत्युसंस्कारकै क्रममा भेट भएको थियो राजधानीमै। उहाँको कार्यपत्रले प्रमाणसहित उपयुक्त बाटो दिएकाले समर्थन जनाएको हुँ। उहाँले विधि घटाउने कुरो गर्नुभएको छैन, दिनमात्र घटाएर समयानुकूल बनाऊँ भन्नुभएको छ। देहान्तपछि संस्कार गरिन्छ किन? उपलब्धि के छ? पिण्डदान, शय्या दान किन गरिन्छ? आधिकारिक कर्मकाण्डीबाट शास्त्रसम्मत ढंगले यो संस्कार गरिनुपर्छ। धर्मगुरुहरूले बुझ पचाएर बस्ने हो भने मेरो केही लाग्दैन।
पूर्वीय दर्शन विश्वकै दर्शन हो। जन्मदेखि मृत्युपर्यन्त १६ वटा संस्कार छन् आर्य हिन्दू संस्कृतिअनुसार। १६ वटैलाई आत्मसात् गर्न सकियो भने राष्ट्रकै भलाइ हुन्छ। भगवान् एउटा आस्था हो, जन्मे मरेको केही थाहा हुन्न हामीलाई। हिन्दू धर्म पनि आक्रमणमा परिरहेको छ, सम्प्रदाय दंगामा कति मुलुक जलिसके। यी कुरामा धर्मगुरु र सत्तामा बस्नेले किन सोच्दैनन्। यदि धर्म र संस्कार मान्नुपर्छ भने लिम्बूले मृत्युसंस्कार तीन दिन गर्दा हामीले किन नहुने? उही मानिस नै हौं। हामी १३ दिन बार्छौं, कृष्ण प्रणामीहरू मान्दैनन्। नेपालमा ४५ वटा धर्म छन्, विश्वमा तीन सय ४५। अब धर्मगुरुहरूले बुझ पचाउन मिल्दैन।
मुलुकमा प्रजातन्त्र आयो, लोकतन्त्र पनि आयो अनि गणतन्त्र पनि। तर जे आए पनि म मानवतन्त्र आएको बुझ्छु। समाज उत्थान गर्न धर्म र संस्कृतिमा सुधार हुनुपर्छ। मान्छे सानो पनि छैन, ठूलो पनि होइन, संस्कृतिलाई जे जसरी छोपिएको छ त्यो छोपुवा फ्याँक्नुपर्छ। सही सत्य कुरा बाहिर आउनुपर्छ। छोपुवामा कोही बस्नुपर्ने अवस्थामा अब कोही छैन। संस्कारमा शुद्धता आउनु जरुरी छ, ल्याउनु जरुरी छ।

मृत्युसंस्कार संवेदनशील विषय हो
प्राडा माधव भट्टराई
- पूर्वअध्यक्ष, पञ्चांग निर्णायक समिति, नेपाल
सभा वा बहसमा पुगेपछि नबोलेर पनि भएन, बोल्दा तर्कसम्मत रूपमा बोल्नुपर्छ। यो बोल्न कठिन हुने विषय हो। यो यस्तो संवेदनशील विषय पनि हो अनि कतिपयको हकमा सहज पनि छ, किरिया नगरे पनि हुन्छ। ठूला मानिसले किरिया गरेका छैनन् भनेर सञ्चारमाध्यममा नेताका नाम पनि आए। तर, प्रचण्ड, निनु चापागाईं आदिको सन्दर्भ लिएर उदाहरण पेस हुनुलाई सही र राम्रो पनि मान्दैनन् सबैले।
धर्म र संस्कृतिमा वेद मूल संविधान हो। अरूको भन्दा याज्ञवल्क्य र मनुस्मृतिको निर्णयलाई आधार मान्नु सही र उचित हुनेछ। खासमा मृत्युसंस्कारका आधार चारवटा हुन्छन्- शास्त्र, परम्परा, देशाचार र कुल परम्परा। यो संस्कार यी चार परिधिभन्दा टाढा गएर सम्भव छैन। केही साताअघि नुवाकोटमा पण्डितहरूको सम्मेलन भएको थियो, सञ्चारमाध्यममा 'मृत्युसंस्कार तीन दिन' भन्ने शीर्षकको समाचारप्रति बहस चल्यो। आधार नमिल्ने भन्दै सम्भव नहुने कुरो उठेको थियो। १० पिण्ड दिनैपर्छ, ढिकुरो फोरेपछि सपिण्डी दिनैपर्‍यो। १३औं दिन त चोखिनेमात्र हो। बरु यसमा भएका खर्च कटौती गर्न सकिन्छ, विकृति हटाउन सकिन्छ। खानपिनमा सहजता अपनाउन सकिन्छ। बरु सेतो लुगा लगाउनैपर्छ भन्ने छैन। शुद्ध चाहिन्छ भनिएको छ शास्त्रहरूमा। शुद्धलाई सेतोमा परिणत गरिएकोमात्र हो। लोकाचारका लागि सेतो कपडा पहिरिँदै आएको हो।
एक वर्ष मंसिरमा एक दिनको मात्र लगन थियो। त्यो दिन ४४ हजार विवाह भए। मानिस किन लगन नै खोज्छ? कोर्ट म्यारिज गर्नेहरू पनि साइत पर्खिन्छन्। यसैगरी मृत्युसंस्कार पनि संवेदनशील कुरो हो, लहडी पाराले कुरा गर्न र बहससँगै निष्कर्ष निकाल्न मिल्दैन। बरु नगर्ने मन भएकाहरूले नगरे केही हुन्न। चल्दै आएकै पनि छ। जेठो छोरोले बारेर बसे पुग्ने व्यवस्था पनि छ। अरू भाइहरू बजार पुगेको पाएकै छौं। आपत् धर्ममा आठ दिनमा आउनेले पनि मिसिएर सँगै किरिया सक्न पाउने व्यवस्था छँदैछ। शास्त्रले भनेकै छ नि विधि पुर्‍याएर गर्नु तर ठूलो नगर्नू। विधर्मीले हिन्दूको विकृतिको व्याख्या गरिदिन्छ, त्यसैले आफैं गर्नुपर्छ। मन्थन चलाऊँ। अब हुने राष्ट्रियस्तरको पण्डित सम्मेलनमा पनि यो कुरा उठाऔं।

गुनासा आउँदैमा परिवर्तन गर्नु पर्दैन
- डम्बर चेम्जोङ
मानवशास्त्री
मृत्युसंस्कार खर्चिलो भयो भन्ने कुरो अर्थशास्त्रीय हो। मृत्यु भयो भने कोलाहल हुन्छ, त्यसपछि काजकिरिया सुरु हुन्छ। यो सामाजिक कुरो हो। व्यक्तिको आयु समाप्त हुनु सामाजिक जीवनलाई आयु थप्नु हो। म लिम्बू हुँ। पुरुषको चार दिन र महिलाको तीन दिनमा मृत्युसंस्कार गर्ने मानिस हुँ। बिजोर बार बनाउनुपर्ने हुन्छ श्वास जाँदाजाँदै।
सामाजिक-सांस्कृतिक विशिष्टताले निरन्तरता पाउने कसरी? भन्नेमात्र हो। प्रसंगमा मात्रै म मृत्युलाई हेर्छु। १३ दिने समस्या भोगेर हैरान हुने होलान्। कतिलाई ठीकजस्तो पनि लाग्छ। बिदेसिएकाले भेट गर्न पाउँछन्। गुनासा आए भन्दैमा परिवर्तन गरिहाल्नुपर्छ भन्ने पनि होइन। व्यक्तिको मात्र होइन, समाजको जीवनको कुरो पनि हो यो। जन्म पनि एकै दिनमा हुँदैन, यसको पनि प्रक्रिया हुन्छ, केही महिना लाग्छ। त्यस्तै हुन्छ मृत्युको पनि प्रक्रिया। म त तीनचारदिने हो, १२/१३ दिने होइन। तर, १३ दिनका फाइदा पनि छन् है। किनकि संस्कार व्यक्तिका लागि भन्दा पनि समाजका लागि बढी हो।

पण्डितले भनेर हुँदैन
- डा. गोविन्द टण्डन
सदस्यसचिव, पशुपति क्षेत्र विकास कोष
हामी नेपाली अनेकतामा एकता खोज्ने मानिस हौं। संस्कार र संस्कृतिभित्र विकृति छैनन् भन्ने कुरो होइन। त्यसैले मृत्युसंस्कारमा पनि परिवर्तन गर्न सकिन्छ, तीन दिन पनि हुनसक्छ तर बहस चलाउनुपर्छ। कसैले भन्दैमा वा निर्णय गर्दैमा यो १३ बाट तीन दिनमा झर्छ भन्ने होइन।
अलेक्जेन्डरको एउटा कथा छ- सबैमा एकरूपता ल्याउँछु भन्दै विश्व एक बनाउने। आफ्नो पहिचान आफैं खोज्नुपर्छ। वैदिक सनातनीलाई मात्र १३ दिनको कुराले काम गर्छ। अरू जातिको आआफ्नै संस्कार होला। १३ दिनको हुँदा आफन्तको बिछोडको पीडालाई संसार यस्तै रहेछ भनेर बुझ्न मानसिक रूपमा उपचार अवश्य मिल्छ। तर, दिएका दसदसवटा पिण्ड कहाँ जान्छन्? यसमा अल्मलिनु पनि हुन्न। कुनै परिवारलाई धर्म र संस्कार के हो, किन मनाइन्छ? आदि केही पनि थाहा छैन। कोही कट्टर छन्। तर, थाहा नपाउनेले पनि मृत्युसंस्कारमा परिवारलाई सान्त्वना दिन विचार र फलफूल लिएर पुग्छ। केही सिक्छ र जीवन पनि बुझ्छ।
मृत्युसंस्कार कति दिन भन्ने विषयमा टुंगो लगाउने अधिकार धार्मिक गुरुहरूसँग पनि हुन्न। पारस्परिक चेतनाले हुन्छ। सतीप्रथालाई धर्मसंस्कृतिसँग जोड्यौं। चिताबाट खस्दा पनि हामीले नै लौरो र ढुंगाले हिर्काएर मार्‍यौं। हजारौं आमा, चेलीलाई जिउँदै जलायौं। कुनै बेला चलाउन हुन्न भन्ने यो संस्कार पनि हट्यो। मृत्युसंस्कारबारे कुनै विद्वान् पण्डितले बोल्देला र गरौंला भन्ने हुँदैन। विधवाले पनि रातो टीका र साडी लगाउन हुन्न भन्ने थियो। प्रताडना हट्यो, सहज महसुस गर्न थाले। सामाजिक सुधारका संकेत देखिएका छन्।
१३ दिन घट्ने सन्दर्भ आफसेआफ हुने कुरो हो। सोचौं न, बच्चा हुँदादेखि आजसम्मका केही दसकमा हामीमा कति चेतना आएको छ। पोखरीको पानीजस्तो बसे केही पनि सुधार हुन्न, नदीझैं विचार बगाउन सक्नुपर्छ। बुवाको पालामा महिलाले घुँडा देखिने कपडा लगाउँदैनथे तर अहिले कतिसम्म छोटो लगाउँछन् भन्नै पर्दैन। तर पनि स्वीकारिएकै अवस्था छ। चेतना फैलाउने सञ्चारमाध्यमले हो। नयाँनयाँ विषय उठाएर बहस गर्नु सञ्चारमाध्यमको कर्तव्य पनि हो। सार्थक हुनसक्छ। १३ दिन बस्नेले पनि पुरस्कार पाएका छैनन्, नबस्नेले सजाय पनि पाएका छैनन्। पशुपतिमा दुई दिन बसेर बीचैमा भागेका पनि छन्। हिन्दू धर्म लचिलो छ। गाईलाई पुज्ने छन्, गाईकै मासु खाने पनि छन्। हिन्दू धर्मले संसारलाई आँखा देखाएको छ। त्यसैले संस्कारभित्रका ऐँजेरूहरू हटाउँदै जानुपर्छ।
किरिया भन्ने कुरो हिजोको जमानाको हो। आज आमपरिवर्तन भइसक्यो। १३ दिन पनि परिवर्तन हुनसक्छ।

मिति : २०७१ जेठ, ३१ शनिबार 

Saturday, January 11, 2014

किन मनाउने एकता दिवस ?



जगमान गुरुङ नेपालको वर्तमान अवस्थामा पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्नु सान्दर्भिक ठान्छन्। ‘नेपाल राष्ट्रको अस्तित्व नै खतरामा परेको छ। नेपाली संस्कृति कच्पचिएको छ। नेपालको राष्ट्रियता धमिलिएको छ। नेपाल राष्ट्र विखण्डनको दिशातर्फ धकेलिएको छ’, जगमान भन्छन्, ‘यस्तो अवस्थामा नेपाल राष्ट्रको निर्माणमा अहम् भूमिका निर्वाह गर्ने पृथ्वीनारायण शाहको योगदानको कदर गर्दै उनको मार्गनिर्देशन अनुसरण गर्नु अपरिहार्य छ।’
दोस्रो जनआन्दोलनपछि पृथ्वीनारायण शाहका सालिक र मूर्ति तोडफोड भए। सरकारले पनि परम्म्म् परागत रूपमा मनाउँदै आएको राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्ती मनाउन छोड्यो। त्यतिमात्र होइन, उक्त दिनलाई सार्वजनिक बिदा दिने परम्परा पनि तोडियो। जगमानका अनुसार राष्ट्रिय एकता दिवस बिनाको मुलुक संसारमा कुनै छैनन्।
‘अहिले नेपाल एकता दिवसविहीन देश बनेको छ’, जगमान भन्छन्, ‘नेपालीले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा मानेर आआफ्नो पहिचानसहित मुलुकको सुदृढीकरण, राष्ट्रियताको विकास र अग्रगमनतिर जुट्नुपर्छ। यसका लागि प्राज्ञिक चिन्तन र बौद्धिक अभ्यासको खाँचो छ।’
विगत नै वर्तमानको आधार हो। गणतन्त्रवाद आत्मसात् गर्ने कतिपय मानिस विगतलाई स्वीकार्न तत्पर छैनन्। यसले गर्दा पनि राष्ट्रिय एकता दिवस मनाउन राज्यले कज्युस्याईं गरिरहेको छ। कसैकसैको मान्यता छ, एकता दिवस र पृथ्वी जयन्ती मनाउनु भनेको शाहवंश वा राजतन्त्रलाई प्रवर्द्धन गर्नु हो।
इतिहासविद् रमेश ढुंगेल दिवस र जयन्ती मनाउने सन्दर्भलाई शाहवंशको जगेर्ना र राजतन्त्र फर्काउनेसँग जोड्नु गलत बुझाइ भएको बताउँछन्। भन्छन्, ‘त्यतिमात्र भएको छैन, पृथ्वीनारायणका उपदेशको अपव्याख्यासमेत भइरहेका छन्। उनको योगदान र राष्ट्रिय चिन्तन अवलम्बन गर्नुपर्छ भन्ने सोचसम्म देखिँदैन।’
हरेक नेपालीले नेपालप्रति गर्व गर्छ भने उसले पृथ्वीनारायणलाई सम्झिनैपर्ने ढुंगेलको तर्क छ। पुस २७ गतेलाई विगतका वर्षजस्तै सार्वजनिक बिदा घोषणा गरी सरकारले नै राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्ती मनाउने घोषणा गर्नुपर्ने उनको माग छ।
उनी थप्छन्, ‘पृथ्वीनारायणको योगदानको उचित मूल्यांकन र कदर गर्दै एउटा सरकारी तहमा र एउटा नागरिक तहमा समिति बनाउनुपर्छ। यतिले मात्र पुग्दैन, पृथ्वीनारायणको योगदान पाठ्यक्रममै समावेश गर्नुपर्छ।’ राज्यले उपेक्षा गरे पनि जनताले राष्ट्रिय एकता दिवस तथा २९२ औं पृथ्वी जयन्ती नागरिक मूल समारोह समिति गठन गरेका छन्। रमेश ढुंगेलको संयोजकत्वमा बनेको यो एक हजार एक सदस्यीय समितिले पृथ्वीनारायणको दिवस र जयन्ती मनाउँदैछ। पृथ्वीनारायणको योगदानको कदर गर्दै पुन: सार्वजनिक बिदा दिनुपर्छ भन्दै अभियान नै चलाइरहेको छ।
इतिहासविद् वीणा पौड्याल पनि विगतमा भएका त्रुटिसँग सबै घटनालाई जोडेर लत्याउन नमिल्ने बताउँछिन्। भन्छिन्, ‘जातीयता र क्षेत्रीयताका आँखाले नेहेर्ने हो भने १७औं शताब्दीको अन्त्यको त्यो समयमा गरेको एकीकरणको प्रयास चानचुने होइन।’ युरोप र अफ्रिकामा गरिएका यस्ता प्रयासलाई पछिल्लो पुस्ताले सम्मान गरेको सन्दर्भ सुनाउँदै उनी थप्छिन्, ‘तत्कालीन समयमा आर्थिक अवस्था, कम संख्यामा सेना र भौगोलिक परिवेशले समेत कमजोर हुँदाहुँदै पनि पृथ्वीनारायण शाह मनोबलकै भरमा नेपाललाई एकसूत्रमा बाँध्न सफल भएकै हुन्। उनलाई अहिलेको परिवेशमा तुलना गरेर कम आँक्नै मिल्दैन।’
खासमा यतिबेला गुमेको साख फर्काउने अभियान चलेको छ। ढिलो चाँडो स्वतन्त्र मस्तिष्कले आफूलाई राष्ट्रप्रति समर्पित गर्नेहरूले दिवस र जयन्तीलाई समर्थन गर्नेछन् भन्नेमा इतिहासविद् विश्वस्त छन्। पृथ्वीनारायणले दुई सय ५० भन्दा बढी टुक्रे राज्यलाई एकताको सूत्रमा बाँध्न ठूलै जोखिम मोलेको इतिहास सबैसामु छर्लंग छ।
सबैभन्दा ठूलो चुनौती अंग्रेजसँगको डर हुँदाहुँदै पनि लडाइँ गरिरहनु र एउटा राज्यको मात्र राजा भएर सीमित सोचमा नबस्नुजस्ता विशेषताले उनलाई जीवित तुल्याएको छ। वीणा पौड्याल भन्छिन्, ‘गोरखाकै भएर पनि उनले आफूलाई नेपालीको पहिचानमा स्थापित गर्नु महान् कार्य हो।’
‘मेरा साना दु:खले आज्र्याको मुलुक होइन, सबै जातको साझा फूलबारी हो’ भन्ने पृथ्वीनारायणको राष्ट्रियता खतरामा पर्दैछ भन्ने आधारहरू वर्तमान नेपाली राजनीति हेरे पाइन्छ। वर्तमान अवस्थामा देखिएको हरेक क्षेत्रको कमजोर र दयनीय अनि अस्थिी अवस्थाले यसको प्रमाणित गरिरहेको छ।
वास्तवमा पुर्खाको रगत र पसिनाले सिञ्चिएको नेपाली भूमिको अस्मितामाथि आइपरेको खतरा पन्छाउन सम्पूर्ण नेपाली एकजुट हुन आवश्यक देखिएको इतिहासविद् बताउँछन्। एकता दिवस तथा पृथ्वी जयन्ती नागरिक मूल समारोह समितिका पूर्वसंयोजक मोदनाथ प्रश्रित भन्छन्, ‘दुई ठूला शक्तिशाली मुलुक भारत र चीनको बीचमा रहेको सानो देश नेपालभित्र हामी आपसी झगडा, द्वेष र विभाजनकारी चर्का नारा लगाएर होइन, आपसी मेलमिलाप, एकता र पारस्परिक सम्मानको भाव चढाएरमात्र शान्ति र सुरक्षासहित बस्न सक्छौं।’ उनी यसबाट मात्र पृथ्वीनारायणको सम्मान हुने बताउँछन्।
अर्का इतिहासविद् त्रिरत्न मानन्धर भारतमा भारत स्वतन्त्र भएको सन्दर्भमा महात्मा गान्धीको जयन्ती मनाउने प्रसंग उल्लेख गर्दै भन्छन्, ‘आधुनिक नेपालको निर्माणकर्ता म् अथवा नेपालको एकीकरण गर्ने व्यक्ति अरू को छ र? पृथ्वीनारायणको योगदानको कदर गर्दै सम्मान स्वरूप दिवस र जयन्ती किन नमनाउने?’ उनी दिव्योपदेशका कतिपय वाक्यहरू अझै पनि सान्दर्भिक भएकाले तिनलाई अनुसरण गर्न आग्रह गर्छन्।
इतिहासविद् दिनेशराज पन्त नेपालमा रहनु परेकाले दु:ख भइरहेछ भन्नेहरूका लागि भने पृथ्वीनारायणको योगदान महत्त्वको नहुनसक्ने बताउँछन्। भन्छन्, ‘नेपाल र नेपालीको स्वार्थका लागि पनि पृथ्वीनारायण अपरिहार्य छन्। हामीले उनको वीरता र साहसको पाठ कति र कसरी बुझ्यौं भन्ने हो।
बुझ्नेले उनलाई कदर गर्छ नै।’ इतिहास नपढेका र गलत इतिहास पढेकाहरूले पृथ्वीनारायणको जयन्ती र एकता दिवस नमान्ने घृष्टता गरेको हुनसक्ने उनको बुझाइ छ। थप्छन्, ‘युगसापेक्ष अघि बढ्न पृथ्वीनारायणलाई सम्मान गर्दै र सम्म् झँदै अघि बढ्न जरुरी छ।’