Thursday, February 27, 2014

शिवदर्शन गर्न नौ घन्टा


 
शिव दर्शनका लागि पालो पर्खिरहेका भक्तजन। (तस्बीर: रजेन्द्र केसी)
 
शिव दर्शनका लागि पालो पर्खिरहेका भक्तजन। (तस्बीर: रजेन्द्र केसी)






काठमाडौं : महाशिवरात्रीका अवसरमा शिवको दर्शन गर्न बिहीबार बिहान ९ बजेदेखि लाममा बसेकी वनस्थलीकी लक्ष्मी श्रेष्ठ नौ घन्टापछि मात्र मन्दिरमा पुगिन्।
६३ वर्षीया लक्ष्मी ६७ वर्षीय पति सुरेन्द्रसँग लाममा बसेकी थिइन्। 'आधा घन्टामा दर्शन हुन्छ भनेकाले आएकी थिएँ तर चार घन्टामा आधा बाटो पनि छिचोलिएन’, लक्ष्मीले भनिन्।
कपनबाट आएका तोकबहादुर र तुलसी गुरुङले पनि नौ घन्टा लाम बस्दा मात्रै शिवदर्शन गर्न पाए। एअरपोर्टदेखि लाममा बसेका उनीहरू दिउँसो तीन बजे भष्मेश्वर आश्रमअगाडि पुगेका थिए। ‘आठ घन्टा भइसक्यो लाममा बसेको, खोइ कहिले दर्शन गर्न पाइन्छ?’ थकित देखिएका गुरुङदम्पतीले भने।
पशुपति विकास कोषले भक्तजनलाई आधा घन्टामा दर्शन गर्ने व्यवस्था मिलाएको बताए पनि व्यवस्थापन अस्तव्यस्त थियो। पाँच घन्टाभन्दा कममा थोरै दर्शनार्थी मात्रै मन्दिर पुगे।
बिहान साढे ३ बजेदेखि जयबागेश्वरीबाट लाममा बसेकी रेजिना पाण्डेले मध्याह्न ११ बजेमात्र दर्शन गरेको बताइन्। पश्चिमढोकामा भेटिएकी सातदोबाटोनिवासी उनले भनिन्, ‘झन्डै नौ घन्टा लगाएर पहिलोपटक दर्शन गरियो।’
दर्शन गर्नका लागि बालबालिका र वृद्धवृद्धा पनि आएका थिए। मनमैजुबाट अभिभावकका साथ आएका तीन बालिकाले पनि लाममा बसेरै दर्शन गरे। १० वर्षीया कृपा पाण्डे, रानी गुप्ता र रोशनी गुप्ता पनि बिहान नौ बजेदेखि चाबहिलचोकदेखि लाममा बसेका थिए। उनीहरूले पाँच घन्टा लागेको बताए। मन्दिर पस्ने बेलामा ठेलमठेल भइरहेको थियो।
कोषका सदस्यसचिव गोविन्द टन्डनले मन्दिरको नियमित पूजा तथा राष्ट्रपति रामवरण यादव र उपराष्ट्रपति परमानन्द झाको दर्शनले लाम बस्नेले दुईतीन घन्टा बढी दु:ख पाउनुपरेको बताए। मध्याह्न २ बजे मन्दिर पुगेका यादवले १० मिनेट र सवा १ बजे पुगेका झाले २० मिनेट दर्शन गरेका थिए।
राष्ट्रपति पशुपति पुगेकै बेला हेलिकोप्टरबाट पशुपति परिसरमा पुष्पवृष्टि गरिएको थियो। दर्शनका लागि संस्कृतिमन्त्री भीम आचार्य र सिँचाइमन्त्री एनपी साउद पनि पुगेका थिए।
टन्डनले करिब सात लाख पशुपति आए पनि तीन लाखले दर्शन गरेको जानकारी दिए। दर्शन व्यवस्था उपसमितिका संयोजक एवं कोषका कोषाध्यक्ष तारानाथ सुवेदीले बढीमा एक घन्टाभित्र दर्शन गराउने गरी व्यवस्था गरिएको भए पनि भनेजस्तो सहज दर्शन गराउन नसकिएको बताए।
बनकालीस्थित हंसमण्डप र अन्य केही ठाउँमा भजनकीर्तन दिनभरिजसो चलेको थियो। छेवैको खाली जग्गामा भारतको वैष्णोदेवी मन्दिर दर्शनको विशेष व्यवस्था गरिएको थियो। एक दर्जनभन्दा बढी संस्थाले नि:शुल्क स्वास्थ्योपचारको व्यवस्था गरेका थिए।
पशुपति परिसरमा खाना, फलफूल, चिया, पानी, सर्वतको नि:शुल्क व्यवस्था थियो। तिलगंगा आँखा अस्पतालदेखि चाबहिलसम्मको सडकमा कपडा, घरायसी सरसामान, फलफूल, मेहन्दी र खेलौनाको व्यापार पनि चम्किएको थियो।
मिति : २०७० फागुन १५, बिहीबार 

No comments:

Post a Comment