Saturday, May 24, 2014

चिता पखाल्न पनि पानी छैन बागमतीमा



काठमाडौं : पशुपति आर्यघाटमा लास जलाएपछि चिता पखाल्न पानी अभाव भएको छ। सरकारले बागमतीमा ढल रोकेपछि एक सातादेखि आर्यघाट क्षेत्र पानी बग्न छाडेको हो।
चोभारका राधाकृष्ण केसीले बागमतीमा पानी नहुँदा चिता पखाल्न समस्या भएको बताए। उनले अन्नपूर्णसँग भने, 'हामी त कहिलेकहीं आउने हो तर दैनिक २०-३० वटा लास जलाउन पानीका कारण ठूलै समस्या रहेछ।' बंगलादेशमा पढ्न गएको भतिज पवनको दाहसंस्कार गर्न उनी आर्यघाट पुगेका थिए। उनीसँगै रहेका श्याम केसीले थपे, 'सरकारले पिउनका लागि एक गाग्री पानी त उपलब्ध गराउन सकेको छैन, बागमतीमा बगाउन पानी पु:याउला भनेर कसरी अपेक्षा गर्नु?'
बागमतीमा लास जलाउने भागपट्टि कुलेसो बनाएकाले केही पानी जमेको छ। बाँकी भागमा सुकेको बालुवा छ। एक सातादेखि पानी नबग्दा घाटेहरू चिता पखालेको पानी पुन: प्रयोग गर्न बाध्य छन्। ३० वर्षदेखि लास जलाउने काम गर्दै आएका विवेक अर्यालले भने, 'अस्तु गाड्छौं र बाल्टीमा पानी ल्याएर चिता पखाल्छौं।' बारम्बार चिता पखालेको बाक्लो पानी पुन: प्रयोग गर्नुपरेको उनको गुनासो छ।
'अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमतीमा मिसाइएका लगभग सबै ढल रोकेपछि र पानी नपरेका कारण बागमतीमा एक सातादेखि पानी बग्न सकेको छैन', पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. गोविन्द टन्डनले भने, 'लासको खरानी बगाउन समस्या भएपछि समितिलाई डिप ट्युबवेलमार्फत पानी बगाउने वातावरण मिलाउन आग्रह गरेका छौं।' उनले पानी नहुँदा जनसमस्या सम्बोधन गर्न नसकेको बताए। उनले थपे, 'दैनिक दर्जनौं लास आउँछन्, तर हामीले न्यूनतम सेवासमेत दिन सकेका छैनौं। समितिले ट्युबवेलमार्फत तत्काल पानी बगाउने आश्वासन दिएको छ।' समितिका एक विज्ञ रामदयाल यादवले बागमती सरसफाइ अभियानअन्तर्गत नदीको मुहानदेखि माीनभवनसम्म दुवैतिर ढल मिसाउन बन्द गरेकाले पानीको बहाव कम भएको हो। 'यसअघि त्यही फोहोर पानी नदीमा बग्थ्यो तर अहिले पानी पनि नपरेको र ढल पनि जोड्ने काम भएकाले पानी सुकेको हो', उनले भने, 'समितिले मुहानमा चारपाँचवटा बाँध बनाएर वर्षाको पानी संकलन गर्ने र दुईदेखि अढाइ फिटसम्म पानी बाह्रै महिना बगाउने योजनाअनुसार काम गरिरहेको छ।' उनका अनुसार यसका लागि दाता तयार भई आठ महिनादेखि काम सुरु गरिसकेकाले अबको २८ महिनाभित्र पानी बग्नेछ।
यसैबीच मुख्यसचिव लीलामणि पौड्यालले शुक्रबार सिंहदरबारमा बसेको बैठकमा पनि समितिका सदस्यसचिव गजेन्द्रकुमार ठाकुरलाई ढलबाट आउने पानी प्रशोधन गरी नदीमा बगाउन निर्देशन दिएका छन्। उनले भने, 'अहिले बागमतीमा पानीको अवस्था दयनीय छ, सुख्खा मौसमले पनि समस्या थपेको छ। चाँडै गर्नोस् जति प्रशोधन गरेको छ त्यत्ति नै भए पनि नदीमा खसाइदिनु।'

मिति : २०७१ जेठ, १० शनिबार

No comments:

Post a Comment