Showing posts with label दिलबहादुर रानाभाट. Show all posts
Showing posts with label दिलबहादुर रानाभाट. Show all posts

Friday, January 31, 2014

संसार देख्दाको आनन्द



आँखा हुँदा र नहुँदा के फरक पर्छ ? यो फरक आँखा देख्नेहरुलाई नसोधे हुन्छ। यहाँ तीनजना पात्र छन्, जोसँग आँखा नदेखेको र देखेको दुइवटै अनुभव छ। उनीहरुका निम्ति आँखाको दृष्टिकोण आफ्नै किसिमको छ। तिलगंगा आँखा अस्पतालले २०५१ भदौ ३१ गतेदेखि हालसम्म झन्डै १० हजारजनालाई आँखाको नानी प्रत्यारोपण गरिसकेको छ। हालसम्म ४५ हजारजनाले आँखादानको प्रतिबद्धता जनाएका छन्। अन्नपूर्णकर्मी गोपीकृष्ण ढुंगानाले तीन प्रतिनिधिसँग कुराकानी गरेका छन्। उनीहरुसँगको आँखा अनुभवः


जीवनकै धेरै खुसी


भागिरथी शाह
डडेल्धुरा, हाल कीर्तिपुर

त्यति खुसी यसअघि न कहिल्यै भएकी थिएँ न अब हुनेछु। मेरा लागि आँखाको नानी दान गर्दिने त्यो नचिनेको मान्छेलाई बारम्बार धन्यवाद दिइरहेकी छु। अनि आँखाको नानी फेर्न मिल्ने प्रविधि बनाउने र फेर्ने डाक्टरलाई पनि म जीवनभर बिर्सन्नँ।
दुई वर्षअघि देब्रे आँखाको नानी फेरेपछि संसारलाई भिन्नै दृष्टिले महसुस गर्न पाएकी छु। नानी फेरेको रात दुखेको र भोगेको व्यथा बिर्साइदियो, पर्सिपल्ट आँखा खोलेको क्षणले। त्यति बेला मैले आफ्नो खुसी नियन्त्रण गर्न सकिनँ।
त्यसअघि आँखा कम देख्दा मनमा एकदमै चिन्ता हुन्थ्यो। सम्भावनाको अर्को पाटो कायमै थियो, स्नातक पढिरहेकी छु, योग्य छु। कति आँखा नदेख्नेहरू छन्, तिनले त गरिखाएका छन् भने म किन केही नगरूँला?
बीबीए अन्तिम वर्ष पूरा गरेँ। पक्कै पनि जीवनलाई सार्थक बनाउने छु। मलाई यस्तै लाग्थ्यो। डडेल्धुरा मेरो गृहजिल्ला। कक्षा ८ मा पढिरहँदा आँखा चिलाउन र बिझाउन थाल्यो। नजिकको औषधि पसलमा गएँ। चिकित्सकको सल्लाहअनुसार आँखामा ‘ड्रप’ हाल्न थालेँ। समस्या समाधान भएन, झन् चर्किंदै गयो।
आफन्त र छरछिमेकीको सल्लाहले राजधानी आएँ। तिलगंगा अस्पतालमा डा. सन्दुक रुइतलाई देखाएँ। केही राहत भयो। अरू बेला त ठीक भयो तर गर्मी मौसममा भने समस्या ज्यूँ का त्यूँ। एलर्जीले मेरो आँखा क्रमश: कमजोर हुँदै गयो। दाहिने आँखामा भने कुनै समस्या छैन।
जतिजति कमजोर हुँदै गयो त्यतित्यति चस्माको पावर थप्दै गएँ। त्यसपछि प्रत्येक साता कीर्तिपुरकै क्लिनिकमा भवानी पन्तलाई आँखा जाँच गराइरहन थालेँ। अत्यन्तै कमजोर भएपछि मलाई उहाँले लायन्स क्लब पठाउनुभयो। क्लबबाट फेरि तिलगंगा आँखा अस्पताल पठाइयो।
मैले आँखा नदेख्ने समस्या मेरो परिवारबाहेक कसैलाई बताइनँ। आँखा कमजोरमात्र भन्थेँ, साथीहरू क्याम्पसमा अगाडिको बेन्चमा बस्न सहयोग गर्थे। कहिलेकाहीँ क्याम्पसमै लड्थेँ तर थाहा नपाउने गरी उठ्थेँ। साथीले हेप्लान् भनेर भित्री कुरो खोलिनँ।
म क्याम्पसमा पढ्नुका अतिरिक्त रिभर भ्याल्लीमा पढाउँथे पनि। कडा घाम लागेको समयमा ‘सन ग्लास’ लगाउँछु, अरू बेला ‘पावर ग्लास’। बाहिरी संसारमा एउटा आँखाको हेराइ कम भएर के भयो र? भित्री मनको फराकिलो र आत्मविश्वासले भरिएका आँखाले मलाई शक्ति दिएकै थियो। प्रविधि विकासले समस्या सधैं नहोला भन्ने लागेर चिन्ता लिन्नथेँ।
कीर्तिपुरमा म जहाँ बस्छु, त्यसको छेवैमा दृष्टिविहीन पनि बस्छन्। म उनीहरूलाई बेलाबखतमा सहयोग गर्छु। आँखाको ज्योति गुम्न लाग्दा चिन्ता त मनभरि हुँदो रहेछ तर दृष्टिविहीनको विवाह भएको, उनीहरूले छोराछोरी पाल्न सकेको, जागिर खाएको र सहयोगबाट जताततै पुगिरहेको देख्दा त्यसले मेरो आत्मविश्वास बढाएको छ। अझ दुई वर्षअघि नानी फेरेपछि मैले त पुनर्जीवन नै पाएको छु। ‘आँखा दान महादान’ भनेर केही वर्षदेखिको नारा अभियानकै रूपमा चलाइएको छ। मृत्युपछि गरिने आँखा दानका लागि कुनै उमेर वा रोगले फरक नपर्ने भएपछि दान गर्न पनि समस्या हुने कुरै भएन। आँखा दान महादानले मेरो चिन्ता दूर गरेको छ। म जीवनदेखि खुसी छु।

खुसीले रोयो मन


दिलबहादुर रानाभाट
पशुपति वृद्धाश्रम

युवापुस्ता त संसार हेर्न चाहन्छ नै। वृद्धवृद्धा हुँदाको पीडा, त्यसमाथि आँखा बन्द। झन् कति पीडा होला? क ल्पना गर्दा पनि कस्तोकस्तो हुन्छ। म ३५ वर्षदेखि वृद्धाश्रममा बस्दै आएको छु। वर्षले ९३ मा छु। वर्षौंको यातनापछि आँखाको ज्योति पाएँ।
तीन दशकभन्दा बढी भएछ वृद्धाश्रममा परिवार, आफन्त र छरछिमेक सबैलाई छोडेर एक्लै बसेको। तैपनि स्वर्गको बास भएको ठानेको छु। यसको एउटा महत्त्वपूर्ण कारण हो, फेरिएको आँखा। त्यति बेला इन्डियन लाहुरे थिएँ। परेलाले घोचेजस्तो भयो, अस्पतालमा भर्ना भएँ। सेनाको अस्पताल हुँदै वीर अस्पताल आइपुगेको भोलिपल्टै आँखा तिरमिर हुन थाल्यो। अन्तत: अलिअलिमात्र देख्ने भएँ।
आँखा नदेख्ने भन्दै ‘लाहुरे’ बाट हटाए। उपदानस्वरूप पाएको एघार सय रुपैयाँ कता पुग्यो कता। दुईचार वर्ष कान्छी १३ वर्षकी युवतीसँग बिहे गरेर भारत गएँ। बिदामा एकपटक स्याङ्जास्थित घर पुगेँ र दुई महिनाजति परिवारसँग बसेँ। पछि उनलाई आफ्नो मनोदशाका कारण घर फर्कन मन लागेन।
आँखाले धोका दिएपछि मैले घरबाट अंश लिन पनि उचित ठानिनँ। त्यसैले केही नभएको म ‘गरिखान’ बाराको निजगढतिर पुगेँ। कम देख्ने आँखाका कारण मुस्किलले धान काट्नेजस्ता खेतीको काम गर्न थालेँ। केही गर्‍यो कि लडिजाने, कतै हिँडे पनि लडिहाल्ने हुन्थ्यो। मनको बह कसैलाई नकह भनेझैं चुपचाप दिन बिताउँदै गएँ। अति भएपछि काठमाडौं फर्किएँ।
भोट हालेका प्रधानपञ्चको सहयोगमा तिलगंगा पुगेँ। आँखामा नयाँ नानी हालेँ। तिलगंगा आँखा अस्पतालकी डाक्टर रीता गुरुङले ‘नानी फेर्नुपर्छ आँखा देखिन्छ’ भनेपछि खुसीले गद्गद् भएँ। १८ वर्षअघिको प्रसंग हो, त्यति बेला उहाँले नानी खोजेर आउँछौं अनि फेरौंला भन्नुहुँदा मन खुसीले रोएको थियो।
केही सातापछि बोलाइयो। सुई लगाउनुभयो, बोल्दाबोल्दै नानी फेर्दिनुभएछ। त्यसपछि देब्रे आँखाको नानी पनि फेर्नुपर्‍यो। वृद्धाश्रममै बस्दै आएका वल्लभबहादुर भुजेल बित्नुभयो। अस्पतालले उहाँकै नानी मेरो आँखामा राखिदियो। उहाँलाई सधैं आशिक दिइरहन्छु, स्वर्गमा बास होस् भनेर।


आँखाले धोका नदेओस्


ध्रुवरत्न स्थापित
लगन, काठमाडौं

जीवनको कुनै एक क्षण म हदैसम्म हतोत्साही बनेँ जति बेला मेरा दुवै आँखा बन्द भए। अब जिन्दगी नै सकियो भन्ने लागेको थियो। ‘टेन्सन’ त कति हो कति? हरेश पनि थोरै खाइएन। आँखाको उपचारमा खर्च के लाग्छ? त्योभन्दा कयौं गुणा त ‘टेन्सन’ हुँदो रहेछ। एक किसिमले ‘डिप्रेसन’ नै भएको महसुस गरेँ मैले।
वर्षले ४७ लागेको छु। यत्तिका सहज ढंगले जीवन चल्ला भन्ने क ल्पना पनि गर्न नसक्ने अवस्था पार गरेँ। ठूलो कुरो त आँखाले काम नगरेपछि जति बेला पनि अरूको सहारा लिनुपर्ने कुराले मलाई ज्यादै निरीह बनाएको थियो। केही गर्न मन नलाग्ने, कसैसँग बोल्न मन नलाग्ने। सहाराबिनाको जीवन बाँच्न पाए हुन्थ्यो भन्नेमात्र लागिरहन्थ्यो।
मलाई बच्चैदेखि आँखाको इन्फेक्सन हुन्थ्यो। भाइरल संक्रमण हुँदा आँखामै आक्रमण हुन्थ्यो। आँखा रातो हुँदै जान्थ्यो र अन्तिममा नानीमा प्वाल पर्थ्यो। ज्योतिभवनस्थित होन्डाको सो रुममा काम गर्छु। मैले यो उमेरसम्ममा तीनपटक आँखाको नानी फेरिसकेँ।
पछिल्लो सात वर्ष ढुक्क छु। अहिले संसारलाई आफ्नै आँखाले हेर्न पाएको छु। चर्को घाम लागे सुरक्षाका लागि ‘चेन्जेबल ग्लास’ लगाएको छु। ढुक्क भए पनि धूलो र धूवाँबाट जोगिन्छु। भगवान्सँग मेरो एउटै आग्रह छ, ‘आँखाले कसैलाई पनि धोका नदेओस्।’
 gopiji2065@gmail.com