Friday, August 1, 2014

मोदीको स्वागतको लागि सहरमा के के हुँदैछ?

गोपीकृष्ण ढुंगाना

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको पूर्वसन्ध्यामा काठमाडौं महानगरपालिकाले राजधानीका मुख्य सडकको व्यापक सरसफाइ गरिरहेको छ। महानगरपालिकाले नगरप्रहरीसहित वातावरण विभागका कर्मचारीको 'इको एक्सन टिम' परिचालन गरी सफा गरेको छ।सडकमा फोहोर फाल्नेलाई तत्काल कारबाही गरिने भएको छ।
महानगरपालिकाको वातावरण व्यवस्थापन महाशाखाका प्रमुख हरिप्रसाद कुँवरले इको एक्सन टिमले मोदी भ्रमणभर कसैले फोहोर सडकमा फाले तत्काल कारबाही गर्न थालेको बताए। उनले भने, 'अटेर गरेर फाल्नेलाई तत्काल जरिबाना गर्नेछौं। नदेखी फालेको पाइएमा नजिकैको पसल वा घरलाई कारबाही गर्नेछौं।' यसबाहेक महानगरपालिकाले वडा, विभाग र केन्द्रस्तरीय अनुगमन टोलीसमेत गठन गरी काम थालेको छ।मोदी हिँड्ने सडकले २४ वटा वडा भेट्ने भएकाले त्यस क्षेत्रका सडक र आसपासका क्षेत्रमा महानगरपालिकाले सरसफाइ व्यापक बनाइएको छ।सडकमा राखिएका डिभाइडर हटाउने काम पनि धमाधम भइरहेको छ। नेपाल टेलिकमले उक्त क्षेत्रमा रहेका सडकमा अस्तव्यस्त रूपमा लतारिएका टेलिफोनका तारलाई डोरीले बाँधेर समेट्ने काम गरिरहेको छ। सडक विभागले मूलसडकको आसपासमा रहेको ढल र फोहोर सफा गरिरहेको छ।
महानगरपालिकाको नगरप्रहरी सई बद्रीमान नगरकोटीले सडक छेउछाउमा रहेका पोस्टर, पम्प्लेट र फोहोर देखिने गरी टाँसिएका कागज आदि हटाउने काम भइरहेको बताए। त्रिभुवन विमानस्थलदेखि सिनामंगल, तीनकुने हुँदै बानेश्वरसम्मको काममा नगरप्रहरीले शुक्रबार सरसफाइ गरेका थिए। उनका अनुसार झ्याल छोपिने खालका, छड्के पारेर राखिएका र कोस्पोन्सर गरिएका पोस्टर, पम्प्लेट हटाइएका हुन्। यसका साथै उनीहरूले सडकछेउमा रहेका संरचना, टेबलकुर्सी आदि र मोटरसाइकल ग्यारेजले प्रयोग गरेको बाटो खाली पारेका छन्।नगर प्रहरीले काठमाडौंलाई बानेश्वरपूर्व, टेकुपश्चिम, दरबारमार्गउत्तर गरी क्षेत्र छुट्याएर पोस्टर, पम्प्लेट, संरचना आदि हटाउने काम गरिरहेको छ।
काठमाडौं उपत्यका नगर विकास प्राधिकरण जिल्ला कार्यालय काठमाडौंका प्रमुख भाइकाजी तिवारीका अनुसार प्राधिकरणले शनिबार बिहान तीनकुनेमा सयवटा बिरुवा रोप्ने भएको छ। उनले भने, 'सहर सुहाउँदा र ठूला खालका हरियाली देखिने करिब सयवटा रूख रोप्दैछौं।' प्राधिकरणले तीनकुनेदेखि माइतीघरसम्म आइल्यान्ड बनाउन बाँकी क्षेत्रमा तीव्र रूपमा काम गरिरहेको छ। बिजुलीबजारदेखि माइतीघरसम्मको दाहिने भागमा बिरुवा रोपिएका ठाउँमा उम्रिएको झार उखिएलेको छ। तिवारीले आइल्यान्डको त्यो ठाउँमा स्थायी खालको हरियाली दुबो लगाउने जानकारी दिए।उनले भने, 'आइल्यान्ड बनेको बाँकी भागमा पनि आइतबारभित्र रूख रोप्नेछौं।' महानगरपालिकाले विमानस्थल बाहिर, पशुपतिनाथ मन्दिर पस्ने गौशाला चोकछेउ, संसदभवन बानेश्वर, राष्ट्रपति कार्यालयछेउमा ठूला मुख्य स्वागतद्वार बनाउने भएको छ।
महानगरपालिकाले त्रिभुवन विमानस्थलदेखि बानेश्वर, कालीमाटी, चाबहिल, बौद्ध र राष्ट्रपति कार्यालयसम्म जाने सडकको दायाँबायाँ घरघरमा नेपाल र भारतका गरी करिब पाँच सय झन्डा फहराउने भएको छ।पशुपति क्षेत्र विकास कोषले पनि पशुपति परिसरमा सरसफाइ थालेको छ।
२०७१ साउन, १७ शनिबार 

No comments:

Post a Comment