Tuesday, August 5, 2014

धादिङमा पशु वधशाला, राजधानीलाई बिक्री केन्द्र बनाइने

 गोपीकृष्ण ढुंगाना

काठमाडौं : काठमाडौं उपत्यकाभित्र खपत हुने मासुका लागि धादिङमा पशु वधशाला बनाइने भएको छ। सरकारलगायतको सहयोगमा काठमाडौं महानगरपालिकाले करिब ५५ करोड रुपैयाँमा पशु वधशाला बनाउने भएको हो। जीवनपुर गाविसको करिब ७० रोपनी क्षेत्रफलमा वधशालाबाट वर्ष दिनभित्रमा मासु उत्पादन हुनेछ भने संरचना पूरै बन्‍न भने पाँच वर्ष लाग्नेछ।
महानगरपालिका जनस्वास्थ्य तथा सामाजिक विकास विभागका प्रमुख सनतबहादुर थापाले उपत्यकाभित्र पशुवध गर्दा धेरै समस्या भएको र जनस्वास्थ्यमा प्रत्यक्ष असर पर्ने मासु खानुपर्ने अवस्था रहेकाले उपत्यकाबाहिर वधशालाको निर्माण गर्न लागिएको जानकारी दिए।
उनले मंगलबार अन्नपूर्णसँग भने, 'राजधानीमा दैनिक आठ सयसम्म राँगा वध गरिन्छन्। तर यहाँका वधस्थलहरू सफा नहुँदा स्वस्थ मासु उत्पादन हुन सकिरहेको छैन। स्थान अभाव र अन्य प्राविधिक कारणले उपत्यकाभित्र पशु वध उपयुक्त नभएको सरकारी ठहर छ।' हालका ६० वटाजति वधस्थल बराबरको पशु वधशाला बनाउने सरकारी तयारी छ। वधशाला बनेपछि उपत्यकावासीले सरकारी छाप लागेको गुणस्तरीय मासु खान पाउने उनको भनाइ छ।
उनका अनुसार, उपत्यकामा मासु र मासुजन्य पदार्थको खपतमा करिब १३ अर्ब रुपैयाँ हुन्छ। तर मासुको आयात कुल ग्राहस्थ्य उत्पादनको दुई प्रतिशत मात्र हुन्छ। वधशाला निर्माणका लागि सरकारले ३० करोड रुपैयाँ छुट्ट्याएको छ भने महानगरपालिकाले पाँच करोड रकम विनियोजन गरेको छ।
सरकारलगायतको सहयोगमा काठमाडौं महानगरपालिकाले करिब ५५ करोड रुपैयाँमा पशु वधशाला बनाउने भएको हो। जीवनपुर गाविसको करिब ७० रोपनी क्षेत्रफलमा वधशालाबाट वर्ष दिनभित्रमा मासु उत्पादन हुनेछ भने संरचना पूरै बन्‍न भने पाँच वर्ष लाग्नेछ।
यसैगरी, ललितपुर उपमहानगरपालिकाले चार करोड, भक्तपुर, मध्यपुरठिमी र कीर्तिपुर नगरपालिकाले दुई करोड ५० लाखका दरले, मासु व्यवसायीका तर्फबाट पाँच करोड ५० लाख, स्थानीय संघसंस्था र व्यवस्थापन समूहले एक करोड ५० लाखका दरले रकम दिने भएका छन्। पहिलो पटक बन्न लागेको पशु वधशालाका लागि सञ्चालक समिति गठन गरिएको छ। पशुसेवा विभागका सहसचिव संरक्षक रहने गरी महानगरपालिकाका कार्यकारी अधिकृत अध्यक्ष र ललितपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत सदस्यसचिव रहने गरी सरोकारवाला समेटेर १३ सदस्यीय समिति गठन गरिएको हो।
महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रविलास बज्राचार्यले पाँचवर्षे परियोजना भए पनि वधशालाबाट वर्ष दिनभित्र मासु उत्पादन थाल्ने योजना रहेको बताए। उनले भने, 'त्यसपछि सरकारले काठमाडौं उपत्यकाभित्र पशुवध गर्ने, अझ उपत्यकामा पशु प्रवेशमै रोक लगाउनेछ।
उपत्यकामा भएका पशु वधस्थललाई आवश्यक सुधार गरी मासु बिक्री केन्द्र बनाइने छ।' उनका अनुसार अब बन्ने वधशालामा दैनिक एक हजार दुई सय राँगा वध गर्न सकिनेछ। एउटा राँगो औसत एक सय ५० किलो भयो भने दैनिक एक सय ८० मेट्रिक टन मासु उत्पादन हुनेछ। वधशालामा लगिने पशुको पशुचिकित्सकबाट स्वास्थ्य परीक्षण गर्ने सरकारी योजना छ। पशुचिकित्सकले सिफारिस गरेपछि ती पशुलाई टाँचा लगाइनेछ। पूर्ण अस्वस्थ्य पशुवध गर्न नपाइने उनले जानकारी दिए।
महानगरपालिकाले धादिङको जीवनपुरको जग्गा व्यक्तिबाट खरिद गर्ने तयारी गरेको हो। ६९ रोपनी १० आना दुई पैसा एक दाम क्षेत्रफलको जग्गा साझेदार सबै मिलेर कम्पनी बनाउने र कम्पनीको नाममा दर्ता गर्ने योजना छ।


मिति : २०७१ साउन, २१ बुधबार

    No comments:

    Post a Comment