Wednesday, August 13, 2014

तेह्रदिने मृत्युसंस्कार छोट्ट्याउन अभियान

गोपीकृष्ण ढुंगाना



काठमाडौं : हिन्दु धर्ममा आस्था राख्‍ने केही पाका र प्रतिष्ठित व्यक्तित्वले आफ्नो मृत्युसंस्कार छोटो गर्न आफन्तसमक्ष इच्छा व्यक्त गरेका छन्। तेह्रदिने संस्कार खर्चिलो र आफन्तका लागि कष्टकर हुने भन्दै उनीहरूले बढीमा पाँच दिनमै आफ्नो मृत्युसंस्कार पूरा गर्न आग्रह गरेका हुन्।
पूर्वमन्त्री हरिबहादुर बस्नेत मृत्युसंस्कार १३ दिन नै गर्नुपर्छ भन्ने पक्षमा छैनन्। उनले छोरा अनुपलाई लेखेरै दिएका छन्, 'धर्मशास्त्रले गर्नैपर्ने कुरा जतिसक्दो छोट्ट्याएर गर्नू तर १३ दिन किरियापुत्री नबस्नू।' उनले तीन वा पाँच दिनमा किरिया सके हुने बताएका छन्। अनुपले पनि सोहीअनुसार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बस्नेतले ९० प्रतिशतभन्दा बढीले देखाउनका लागिमात्रै १३ दिने मृत्युसंस्कार गर्ने गरेको बताए। उनले भने, 'समाजलाई देखाएरमात्र केही हुन्न। जुन ढंगले बस्नुपर्ने हो त्यसरी नबसेपछि के अर्थ? विधि नटुटाई तीन दिनमा पिण्ड र दुई दिनमा अन्य काम सकिने तर्क आएका छन्, म त्यसमा सहमत छु।'
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वसहसचिव डिल्लीरमण आचार्य र पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यका ८३ वर्षीय बुबा दुर्गाप्रसाद र ७९ वर्षीया आमा इन्दिरा पनि १३ दिने मृत्युसंस्कार छोट्ट्याउनुपर्ने पक्षमा छन्।
६ छोरा र ६ छोरीका बुबा दुर्गाले भने, 'मैले मेरो जुठो तीन दिनभन्दा बार्नु पर्दैन र संस्कार पनि पाँच दिनमा टुंग्याउनू भनेको छु।' जेठा छोरा डिल्लीरमणले पनि बुवाको इच्छाअनुसार नै आफूहरूले गर्ने बताए। बुवाआमाको निधनपछि पाँच दिनमा काजकिरिया सक्ने विषयमा आफू र मधुरमणले सहमति जनाएको पनि उनले बताए।
मृत्युसंस्कार छोट्ट्याउन क्रियाशील अभियन्ता शंकरप्रसाद पोखरेलले तीन दिनमा १० पिण्ड दिन मिल्ने बताएका छन्। उनका अनुसार पहिलो दिन एक, दोस्रो दिन चार र तेस्रो दिन पाँच पिण्ड दिन मिल्छ। त्यसैगरी चौथो दिन ११ औं दिनमा गरिँदै आएको काट्टो खुवाउने, शय्या दान गर्ने र पाँचौं दिन बाह्रौं दिनमा गरिँदै आएको सपिण्डीकरणको काम गर्न सकिने उनको भनाइ छ। यद्यपि, हिन्दू परम्परामा विश्वास गर्ने अर्को पक्ष यसको विरोधमा छ।
राजधानीको गोठाटार बस्दै आएका इलामका खगेन्द्रनाथ शर्मा अधिकारीेले पनि छोराछोरीलाई मृत्युसंस्कार छोट्ट्याउन सुझाव दिएका छन्। ८० वर्षीय अधिकारीले भने, 'मैले त छोराछोरीलाई काम लाग्छ भने शरीर अस्पताललाई दिनू भनेको छु।
छोराछोरीले मृत्युसंस्कार छोट्ट्याएर गर्नेमा सहमत जनाएका छन्।' तत्कालीन केन्द्रीय पञ्चायत प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक र २०१७ सालमा इलाम क्याम्पसका संस्थापक प्रिन्सिपल रहेका अधिकारीले पुरानो समयमा बनाएको बोझिलो संस्कार पछ्याइरहे आधुनिक युवा पुस्ताले अँगाल्नै छोड्ने तर्क गरे। उनले भने, 'मैले सामाजिक पक्षबाट संस्कार छोट्ट्याउनेमा सहमति जनाएको हुँ।'
सेनाबाट जागिर सुरु गरेर विराटनगरस्थित हुलाक जिन्सी खानाको प्रमुखबाट निवृत्त भएका मेघप्रसाद उपाध्याय दाहालले त आफ्नो मृत्युसंस्कार तीन दिनमात्र गर्न चार पृष्ठको खुला चिठी नै लेखेका छन्। 'राजर्षी मनुले १६ संस्कार र अन्तिम संस्कार अन्त्येष्टि भनेका छन्।
सत्रौं छैन तर २० भन्दा बढी संस्कारको अभ्यास ठगलीला हो', ७३ वर्षीय उनले भने, 'निधनपछि श्राद्ध हुन्न, जन्माउने, हुर्काउने बुबाआमा हुँदै श्रद्धाका साथ तृप्त पार्नुपर्छ, त्यही नै श्राद्ध हो।'
भारतीय प्राध्यापक सिद्धान्तालंकार विद्यावाचस्पति विद्यामार्तण्यको कृ ति 'सत्य सनातन वैदिक धर्म प्रश्नोत्तर' अनुवाद गर्ने वेदका ज्ञाता दाहालले भने, 'मृत शरीर भष्म भएपछि घर फर्केर मानिस मरेका ठाउँमा हवन र स्नान गर्ने, शुद्ध हुने, शोक गर्ने र तेस्रो दिन जलाएका ठाउँमा गएर अस्थिशंचयन गरी घर आई स्नानपछि हवन गर्नुपर्छ।'
पोखरेलका अनुसार दुई सयभन्दा बढी प्रतिष्ठित हिन्दू धर्मावलम् बीले आफ्नो मृत्युसंस्कार तीन वा पाँच दिनमा सीमित गर्न सहमति जनाएका छन्। पोखरेलले भने, 'यसबारे जनचेतना कार्यक्रम छिट्टै गरिनेछ।

मिति : २०७१ साउन, २९ बिहीबार 
- See more at: http://www.annapurnapost.com/en/news/social/12229

No comments:

Post a Comment