Saturday, September 13, 2014

भाग्य हेर्नेको 'भविष्‍य'

गोपीकृष्ण ढुंगाना
'बुढेसकाल ढुक्कको देखेको छु', भविष्यवक्ता हुन सजिलो नभएको बताउने ज्योतिषी चिन्तामणि पोखरेल आफ्नै भविष्यबारे भन्छन्। 'नाईले आफ्नो कपाल आफैं काट्दैन' भन्‍ने लोकोक्ति भए पनि पोखरेल व्यावसायिक भएयता आफ्नो भविष्य आफैं हेर्छन्। दिल्लीमा बाटोको रूखमुनि बसिरहेका एक ज्योतिषीले भनेका थिए, 'बेटे, नोकरी मत करो, खुदका बिजनेस करो।'
रेल्वे इन्डियनमा कार्यरत उनलाई त्यो कुरो मजैले गढ्यो र उनले समाते ज्योतिष काम। उनी भन्छन्, 'उता विद्यार्थी जीवनमै प्यूठानमा हुँदा महिला ज्योतिषले पनि ३६ वर्षको भएपछिमात्र कमाएर खान्छस् भनेकी थिइन्, त्यस्तै पुग्यो।'
पोखरेल भविष्यबारे कुनै नराम्रो संकेत देखे त्यसमा योगसाधना गर्छन् र सम्भावित खतरा वा दु:ख कम गर्छन्। तर, एउटा कुरो भने ज्योतिषीको कुरो पुगेन। भन्छन्, '२१ वर्षमा राजयोग छ, धनसम्पत्ति प्राप्ति हुन्छ भनेका थिए एक ज्योतिषीले तर उल्टै त्यो समयमा बसबाट सामान्य दुर्घटना भएर दाहिने कुममा समस्या भयो।' ब्रह्मशक्ति र छैटौं इन्द्रिय (अतिन्द्रेय) विकास नहुनेले भविष्यवाणी गर्न नसक्ने पोखरेलको भनाइ छ।
उनले दिल्लीमै दुईवटी पत्नी हुने सूचना पाइसकेका थिए। नभन्दै भयो पनि त्यस्तै। २०४१ मंसिरमा दोस्रो विवाह हुँदाका समयसम्म उनलाई ज्योतिषमा त्यति विश्वास थिएन। अरूको भाग्य हेरेरै १३ वर्ष बिताएका उनले आफ्नो भाग्य भने सहजभन्दा असहज परिस्थिति आउँदा बढी हेरेका छन्।
बुबा सिकिस्त भएको बेला २०६९ सालको सुरुमै उनले चिना हेरे। वृहस्पति दशा गएपछि र शनि सुरु भएपछि त्यो घटना भएको थियो। भन्छन्, 'गुरुले पढाउँदा भनेझैं अष्टमेशको दशा चल्दा पितृको निधन भयो। शनि सुरु भएको पाँच दिनमै बुबालाई गुमाउनु प:यो। मैले गाउँकालाई भनेकै थिएँ, यस्तो देखिएको छ भनेर।'
प्यूठानका पोखरेल यति बेला जोरपाटीमा छन्। हस्तरेखा हेर्ने ५६ वर्षीय पोखरेलले सानैमा प्यूठान, दाङ, गुल्मी, काठमाडौं हुँदै र दिल्लीमा समेत आफ्नो भविष्य देखाएका थिए। तीन महिनाअघि कान चिलायो उनको। जोरपाटीको स्तूपादेखि वीर अस्पतालसम्म पुगे। केही गरे पनि निको भएन।
आफैं चिना हेरे, 'राहुको महादशा, शनिको अन्तरदशा र योगिती दशा रहेछ। जब संकटा सकियो तब गत साता कान कोट्याउँदा जेलपेनको टुप्पोमा रहेको निप छोप्ने प्लास्टिकको टुक्रो निस्कियो।'
चिनाबाट संवयको भविष्‍य थाहा पाउन सकिने बताउँदै भोलानाथ थप्‍छन, वृहस्पतिले कस्तो रस दिन्‍छ, कुन बेला कस्तो ग्रह आएको छ र परिवारलाई कहिले के भनेर सजग गराउनजस्ता कुरा फाइदा हुन्‍छ।'
भावी जीवन पहिल्‍यै देखिने भएकाले रोग, दु:ख र सुखबारे सचेत हुन पाइने उनको भनाई छ। ज्‍योतिषीलाई हेराउनु भनेको जोगिने उपाय हो, यसबाट ग्रहरहरुको सन्तुलन गर्न सकिन्‍छ। पानी पर्दैछ भने छाता बोक्‍न पाएजस्तै हो, थाहा नहुँदा निथ्रुक्‍क भिज्‍न सकिन्‍छ।'
भर्खरै म बिरामीबाट उठेँ, एकदमै कमजोर भएको छु। मेरो चिना हेर', उनका बुवाले भेट हुनेबित्तिकै भनेका थिए। बुवा वेदान्ती भएकाले भोलानाथ खरेलले पनि प्रस्ट भनेका थिए, 'चैत महिना हो।' फेरि प्रश्न तेर्सियो, 'तैंले मेरो प्राण भेट्छस्?' उनले भनेका थिए, 'भेट्ने योग छैन।'
संखुवासभामा रहेका उनका बुवाको उमेर ८३ थियो। उनी भेट्न गएका थिए। नभन्दै उनी इटहरी आएर फर्किन भ्याएनन्। उनका बुवा फागुन ५ गते बिते। भन्छन्, 'आयु तोक्न धेरै गाह्रो हुन्छ।'
असी पुगेपछि बसी खाने उमेर भए पनि सुनसरी इटहरीका भोलानाथ खरेल ज्योतिषकर्ममा व्यस्त छन्। उनले आफ्नो बाँकी जीवनबारे पनि हेरिसकेका छन्। पत्नीलाई अघि लगाउने योग गरेको बताउने उनी भन्छन्, 'अन्तिम वर्षहरू नराम्रा छैनन्। अब धेरै वर्ष पनि छैनन्।'
चिनाबाट स्वयंको भविष्य थाहा पाउन सकिने बताउने खरेल थप्छन्, 'वृहस्पतिले कस्तो रस दिन्छ, कुन बेला कस्तो ग्रह आएको छ र परिवारलाई कहिले के भनेर सजग गराउनेजस्ता कुरा फाइदा हुन्छ।' भावी जीवन पहिल्यै देखिने भएकाले रोग, दु:ख र सुखबारे सचेत हुन पाइने उनको भनाइ छ।
'ज्योतिषीलाई हेराउनु भनेको जोगिने उपाय हो, ग्रहहरूको सन्तुलन गर्न सकिन्छ', थप्छन्, 'पानी पर्दैछ भने छाता बोक्न पाएजस्तै हो, थाहा नहुँदा निथ्रुक्क भिज्न सकिन्छ। यो आफूमा पनि लागू हुन्छ।' भविष्यवाणी गर्न यो विद्या पढेरमात्र हुँदैन। भावहरू जन्मकुण्डलीहरूमा कसरी परेका छन् सोहीअनुसार फलहरूको अपेक्षा गर्न र सुधार गर्न सकिने उनको बुझाइ छ।
२०१६ सालमा पहिलोपटक नै खरेलले आफ्नो चिना हेरेका थिए। उनी भावी कहाँ बसेको छ, दशा र महादशाहरूको अवस्था के छ? उनी आफ्नाबारेमा यिनै कुरा हेर्छन्।
उनका अनुसार महादशाहरू शनि १२ वर्ष आठ महिना, राहु १२ वर्ष, वृहस्पति सूर्यको चार र चन्द्रमाको ६ वर्ष आठ महिना, मंगलको चार वर्ष आठ महिना चल्छन्। यसैगरी गोतरीलगायतका साना दशासँगको भाव मिलाएर आफ्नो र अरूको भविष्य हेर्ने उनले बताए।
भन्छन्, 'म अरूको भविष्य हेरेर रमाउने मान्छे, आफ्नोबारे कौतूहल लाग्दैन। काम परेमात्र हेर्छु।' 'म आध्यात्मिक बन्ने र नाम छोडेर जाने अर्का ज्योतिषीले भनेका छन्, मैले पनि त्यो देखेकी छु', काठमाडौं काँडाघारी बस्दै आएकी झापा दमककी राधा बाँस्कोटा आफ्नो भविष्य यसरी बताउँछिन्।
एक छोरी र एक छोरा कक्षा १२ मा विज्ञान विषय पढिरहेका छन् उनका। उनीहरूले चाहे भने बिदेसिने योग छ दुवैको। भन्छिन्, 'उनीहरूको चिना हेर्दा गरी खाने देखिएकाले चिन्ता गर्नुपर्ने अवस्था छैन।' आफूले चिना नहेर्दै छोरी रिसाएपछि राधा ज्योतिषीकहाँ पुगिन्।
ज्योतिषीले काल सर्प योग छ, औंठी बनाएर ल्याउनू, म दोष हटाइदिन्छु भने। उनले पनि त्यसै गरिन्। 'पछि आफैंले चिना हेर्दा त्यो केही रहेनछ', उनी भन्छिन्, 'काल सर्प योग हुन उल्टो घुम्ने राहु र केतुका बीचमा बाँकी सबै ग्रह हुनुपर्छ। एउटा ग्रह पनि बाहिर छ भने आंशिक काल सर्प योग हुन्छ। मेरो आंशिक छ।'
'आफ्नो भविष्य आफैं हेर्दा पूर्वाग्रहीपन आउँछ' भन्ने उनको नौमध्ये तीनवटा ग्रह बलवान् भए भने मानिसको जीवन सुखमय हुने बुझाइ छ। खासमा जन्मँदाको समयको ग्रहदशाले मरणसम्मलाई भविष्यवाणी गर्न सकिने उनी बताउँछिन्।
ज्योतिष विद्या पढेपछि राधालाई थाहा भयो, 'खराब ग्रहहरू छन् भन्‍ने पूर्वसूचना भयो भने तिनलाई शान्त गर्न सकिन्छ। त्यसपछि ती ग्रह छोएरमात्र जान्छन्, गाडिएर बस्दैनन्।' कतिपय कुरा सही भए पनि सोझै भन्दा त्यसले उल्टै ठूलो हानि हुने उनको भनाइ छ। उनका अनुसार विवाह र व्रतबन्ध गर्दा अनि विदेश जाँदा ज्योतिषी हेराउनु उत्तम हुन्छ।'
उनलाई ज्योतिषीले भनेका थिए, '१५ वर्षको उमेरदेखि उल्काले घेरेको हुनाले घर छोडाउने योग छ भनेका थिए, मेरो १६ वर्षमै विवाह भयो।' ३२ वर्षीया उनलाई सामाजिक संस्थामा काम गरिरहेका बेला २०६१ माघ २७ गते तत्कालीन माओवादीले अपहरण गरे।
४८ घन्टापछि मुक्त भएकी उनले भनिन्, 'त्यो समयमा मलाई ज्योतिषशास्त्रमा पटक्कै विश्वास लाग्दैनथ्यो, नत्र पूर्वसचेत हुन्थेँ होला। हुने कुरा भएरै छोड्छ भन्ने लाग्थ्यो।'
राधाको वृहस्पति लग्नमा छ। यस्तो अवस्थामा एक लाख दोष नाश गर्ने उनको बुझाइ छ। यति हुँदाहुँदै पनि उनले आफ्नो भविष्य हेर्दा थुप्रै उतारचढाव देखेकी छन्। यसले उनलाई सतर्क गराएको छ। भन्छिन्, 'तीन वर्षअघि दुर्घटनामा परेँ। पछि हेर्दा अझै चोटपटक लाग्ने देखिएकाले जोगिनुपर्छ।
आफ्नो नामबाट सवारीसाधन खरिद गर्न हुन्न मैले।' दुई वर्षअघि पहिलोपटक चिना हेर्दा आफू किन नडराउने, नलजाउने र हठी स्वभावकी छु भनेर हेरिन् उनले। सिंह लग्नबाट सुरु भएका कारण मानिस निडर प्रकृतिको हुने र भगवान्को गुरु वृहस्पति लग्नमा बस्दा एक लाख दोष नाश हुने भएको थाहा पाएको उनको भनाइ छ।
कुनै काम गर्नुअघि चिना हेर्ने सन्दर्भमा धादिङका माधवराज पाण्डे भन्छन्, 'ज्योतिषी भए पनि म भाग्यवादीमात्र होइन, कर्मवादी मानिस पनि हुँ। यसलाई सहायक तत्त्वका रूपमा मात्र लिन्छु पूर्ण भन्‍ने लाग्दैन।' तर, उनलाई ज्योतिषीले भविष्यवाणी गरेका प्राय: सबै कुरा पुगेका छन्।
आफ्नै हजुरबुवा ज्योतिषी भएकाले यस क्षेत्रमा तानिएको बताउने उनलाई हजुरबुवाले दुईवटा कुरा भनेका रहेछन्, 'विवाह गर्दैनस्, गर्दा पनि कि ढिलो कि निकै अप्ठ्यारो पर्छ। दोस्रो, जागिर खान खोज्छस् तर हुँदैन। भए पनि टिक्दैन।' नभन्दै त्यस्तै भएको छ उनको जीवनमा।
४० वर्षको उमेरमा विवाह गरेका उनले लोकसेवा आयोगमा नाम निकाल्न सकेनन्। जागिरको सट्टा उनी यति बेला राजनीतिमा छन्। अंग्रेजी पढ्ने इच्छा भएका उनी यति बेला ज्योतिषी पेसामा रमाएका छन्।
पाण्डेले पछि आफ्नो चिना आफैं हेरे, देखे, 'सुख स्थानमा सूर्य निचो र राहु पनि बसेको छ साथमा।' उनले काठमाडौंमा घर बनाउन खोजेको केही समय भयो तर सम्भव भइरहेको छैन। थप्छन्, 'मसँग सम्पत्ति नभएको पनि होइन तर ग्रहदशाका कारण कहिलेकाहीँ सोचेको र गर्न खोजेको काम पनि नहुँदो रहेछ।' 
ज्योतिषी लोकराज पौडेललाई देखाउँदा उनले राजनीतिमा व्यवधान हुने बताएका रहेछन्। नभन्दै नेपाली कांग्रेसबाट गत निर्वाचनमा टिकट पाउने उनले पाएनछन्। तर पनि फलिफाप हुने संकेत पाएपछि आफैं चिना हेर्दा धनु राशिका उनले शनि उच्च भएको पनि बुझेका थिए।
भन्छन्, 'सायद त्यही भएर होला, टिकट नपाए पनि नेपाल ज्योतिष परिषद्को महाधिवेशनमा अध्यक्षमा निर्वाचित भएको छु। अब अपूरा काम पूरा र केही नयाँ काम गर्नेछु।' ज्योतिषीले उनको कान्छो छोरोबारे देखाउँदा राजयोग रहेको बताउँछन्।
तर, निमोनिया बिग्रिएको १२ वर्षीय उनको छोरो सुस्त नस्थितिको छ। थप्छन्, 'ज्योतिषीले सबै मिलाउँछन् वा मिलाउँछौं भन्‍ने हुँदैन। अब भाग्य, असावधानी वा ज्योतिष विद्या खै कसलाई दोष दिने?'
'सानामा ज्योतिषी हेराइनँ, आमाले पनि देखाउनुभएको थाहा छैन। क्याम्पस पढ्ने भएपछि हेराएँ, त्यति बेलै शिक्षा क्षेत्रमा भविष्य छ भनेका थिए', प्राध्यापन पेसामा रहेका बागबजारनिवासी प्रेमराज घिमिरे भन्छन्, 'अहिले बागबजारमै स्कुल खोलेको छु। मलाई अहिले अर्को क्षेत्रमा जान मन लाग्दैन।
मैले पनि भविष्य शिक्षा क्षेत्रमै देखेँ।' सूर्य पाप ग्रह हो। बुध अर्धपाप र अर्धपुण्य ग्रह हो। उनी अरूलाई छिट्टै विश्वास गर्छन् र अरूले त्यसलाई स्वार्थसँग जोड्छन्।
तर, अन्त्यमा प्रेमको वास्तविकता बुझेपछि आफूअनुकूल हुने बताउने उनी भन्छन्, 'सूर्य बुधको छेउमा बसेकाले यस्तो भएको रहेछ।' एउटी छोरीका बाबु उनले अर्को सन्तानका रूपमा छोरो हुने देखेका छन्।
युवामा घिमिरे ज्योतिष कामलाई धार्मिक दृष्टिले हेर्ने र ठगी खाने भाँडो हो भनी बुझ्दथे। तर, यो विज्ञान पनि रहेछ र साँच्चै जीवनसँग जोडिएको र पूर्वसचेत हुने अवसर पनि भएको ४० वर्षीय उनको बुझाइ छ।
भन्छन्, 'सामूहिक व्यापार वा कुनै काम गर्नु परे म तिनको नाम, राशि र नक्षत्र हेर्छु, चल्तीको नामबाट उनीहरूले थाहै नपाई पछिसम्मको सम्बन्ध र फलिफाप हुने हेर्छु, अनिमात्र हात हाल्छु वा यस्तै सल्लाह अरूलाई दिन्छु।' केही ज्योतिषीले चिना हेरेर विदेशको योग छ भने पनि आफूलाई विदेशम मन नलाग्ने उनी बताउँछन्।
ज्योतिषी बनेपछि उनले आफ्नो चिना नै गल्ती बनाइएको पुष्टि गरे। थप्छन्, 'कतिपयको भविष्य जुन ज्योतिषीले हेरे पनि सही देखिन्नँ किनकि उसको चिना बनाउँदा वा जन्ममिति टिपाउँदा नै गलत टिपाइएको हुन्छ।'
सहायक पेसाका रूपमा ज्योतिषी पेसा अँगालेका उनी अरूको भविष्य हेर्नेभन्दा बढी यस क्षेत्रमा अनुसन्धान गर्न चाहन्छन्। 'विद्यालयमा फरक खालका विद्यार्थीमाथि ज्योतिष विद्याले काम गरिरहेछ।
कुनै विद्यार्थी किन फरक छ, किन पढ्दैन, किन रिसाउँछ वा कसैलाई पिट्छ आदिमा अध्ययन गरिरहेकै हुन्छु', भन्छन्, 'मनोविज्ञान नबुझी जबर्जस्ती पढाउने वा ठीक पार्छु भन्‍ने निर्णयले दुर्घटना भएका छन्। भ्रामरीको समयले राहुकेतुले बास गरेको छ छैन बुझेर काम गर्नुपर्छ। मेरो पनि साढे साती सकिएको छ, अब राम्रो हुन्छ।'
विज्ञानसँग हुबहु
टेकराज शास्त्री, सिद्धान्त ज्योतिषशास्त्री
वेदको मुख व्याकरण हो भने आँखा ज्योतिष। यसले देख्ने वा देखाउने काम गर्छ। गणितको माध्यमद्वारा गणना गरेर अरूलाई बाटो देखाउने व्यक्ति ज्योतिषी हो।
आफ्नो भविष्यका लागि पनि उसले चिना, हात आदि हेर्न सक्छ। तर कतिपय कुरा नमिल्नसक्ने भएकाले आफ्ना हकमा भने अरू ज्योतिषीको परामर्श लिनुपर्छ। सम्पूर्ण आचार्यहरूका पुस्तक पढेर निचोड निकाल्नुपर्ने भएकाले पनि अरूसँग सल्लाह लिने प्रचलन छ।
ज्योतिष भनेको विज्ञान हो। ज्योतिषीहरूले चन्द्र, सूर्य, सात बार, नौ ग्रह, १२ राशि र २७ नक्षत्रका साथै खगोलीय आधारबाट मानिसको भविष्य हेर्ने भएकाले यसलाई विज्ञान मान्न सकिन्छ। त्यसैले विज्ञानसँग हुबहु मिलेको हुन्छ।
विज्ञान आधुनिक प्रविधि प्रयोग गरेर निकै अघि बढ्यो तर हामी पुराना पुस्तकहरूका आधारमा अल्झिएकाले पछि परेका हौं। ज्योतिषी गणितीय आधारमा छ भने फेल हुन्न। तर, उसले पढेरमात्र हुन्न, निरन्तर साधनाका साथमा आत्मबुद्धि र आत्मनिर्णय पनि चाहिन्छ।
 मिति : २०७१ भदौ, २८ शनिबार
- See more at: http://annapurnapost.com/en/news/specialpage/13651/%E0%A4%AD%E0%A4%BE%E0%A4%97%E0%A5%8D%E0%A4%AF-%E0%A4%B9%E0%A5%87%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A5%87%E0%A4%95%E0%A5%8B-'%E0%A4%AD%E0%A4%B5%E0%A4%BF%E0%A4%B7%E0%A5%8D%E2%80%8D%E0%A4%AF'.htm#sthash.pjReZiiD.dpuf

No comments:

Post a Comment