Saturday, September 20, 2014

गायक दीपलाई बिपनीमै ऐंठन

गोपीकृष्ण ढुंगाना
धोबीखोलाको बाढी बस्तीमा
काठमाडौं : 'हररात सपनीमा ऐंठन हुन्छ, गाउँमा सायद पहिरो गयो कि...।' सहरमा बस्ने गाउँलेलाई हुने बर्खायामको पीडा समेटिएको यो चर्चित गीत गाउने दीप श्रेष्ठले कहिल्यै सोचेका थिएनन्, सहरबासी आफैंले कुनै दिन बाढीको पीडा भोग्नुपर्ला भनेर।
राजधानीको अनामनगरवासी श्रेष्ठको घरमा बिहीबार मध्यरातमा धोबीखोलाको बाढी पस्यो र उनले उहिल्यै आफूले गाएको उक्त बोलको गीत सम्झन पुगे। यो घटनाले उनलाई सपनीमा होइन बिपनीमै ऐंठन बनाएको छ।
श्रेष्ठको बस्तीमा पहिरो त गएन तर मध्यरातमा परेको मुसलधारे पानीका कारण घरको भुइँतला डुबानमा परेपछि उनको मनमा पहिरो गएको छ। अन्नपूर्णकर्मी शुक्रबार मध्याह्न घरमा पुग्दा उनी भिजेको तानपुरा, तबला र सीडी बजाउने स्पीकर आँगनमा सुकाउँदै थिए।
'मेरो सांगीतिक कोठामा भएका दुई हजारभन्दा बढी सीडी, भिसिडी कामै नलाग्ने गरी पानीले डुबायो', उनले भने, 'सहरमा बसेर पनि बाढीपीडित भइयो, सुकुमबासीलाई जस्तो समस्या भयो।' मोटर लगाएर घरभित्र पसेको पानी फालेको बताउँदै उनले होन्डा सिटी गाडी पनि डुबानमा परेकाले सफा गर्न ग्यारेज पठाएको जानकारी दिए।
पत्‍नी सोफियाले भनिन्, 'सरकारले धोबीखोला करिडोर बनाउँदा इन्जिनियरिङ पाटोमा गम्भीर भएन। खोलाको भर हुँदैन भन्‍ने थाहा पाउँदापाउँदै इन्जिनियरहरूले पनि यस्तो हेल्चेक्र्याइँ गर्न हुँदैनथ्यो। करिडोर बनाएपछि दुवैतर्फ कम्तीमा तीन मिटर अग्लो पर्खाल उठाउनुपर्थ्‍यो ।'
धोबीखोला करिडोरनजिकै घर भएका पूर्वसिँचाइमन्त्री उमाकान्त झा पनि शुक्रबार दिउँसो पानीले भिजेको भान्छाकोठाको पार्केटिङ निकाल्दै थिए। आँगनमा रहेको १० हजार लिटरको खानेपानी ट्यांकीमा लेदो भरिएको देखाउँदै पूर्वमन्त्री झाले भने, '४६ सालदेखि यहाँ बस्दै आएको छु तर कुनै दिन यस्तो भएको थिएन।
यहाँका हामी बासिन्दा मिलेर मदन भण्डारी क्याम्पसछेउमा सजिलोका लागि पुल बनाएका थियौं। आज त्यही पुलले यो गति बनायो।' उनका अनुसार बागमती नदीमा जस्तै दायाँबायाँ ठूलाठूला ह्युमपाइप राखेको भए यस्तो अवस्था हुने थिएन।
माथिल्लो तलामा सुत्‍ने झा दम्पतीले मध्यरातमा छिमेकीले टेलिफोन गरेपछिमात्र घरमा बाढी पसेको थाहा पाएका रहेछन्। त्यसपछि उनले विद्युत् प्राधिकरणमा फोन गरेर बिजुली लाइन काट्न लगाएका थिए। उनकी पत्‍नी सभासद् इन्द्रा झाले भनिन्, 'मेरो महिन्द्रा गाडीमा धेरै क्षति भयो।'
बाढीको पानी पसेर मदन भण्डारी क्याम्पस र आसपासका करिब एक हजार घरपरिवार प्रभावित भएका छन्। क्याम्पसको उत्तरतर्फको सानो पुलको रेलिङ र सडकतर्फको भाग बाढीले बगाउँदा सवारीसाधन चल्न सकेका छैनन्।
क्याम्पसको दक्षिणतर्फ बनाएको नयाँ पुलमा रेलिङ अड्किँदा पानी बस्तीमा पसेको थियो। पुलछेउको बनारसी बुक्स एन्ड स्टेसनरीकी प्रमिला आचार्यले भनिन्, 'बनेपाबाट बिहान ६ बजे पसल खोल्न आउँदा पो बाढी पसेको थाहा पाएँ।
सटर खोल्दा त धेरै क्षति भइसकेको रहेछ।' पसलछेवैमा रहेको चलचित्रकर्मी शम्भु प्रधानको नूतन स्टुडियो रहेको घरको भुइँतला पनि लेदोले भरिएको थियो। खोलाको दायाँबायाँ हिला ये थियो।
पीडित धनेश झाले एक लाख १० हजारको एउटा र केही कम मूल्यका दुईवटा सोफा, महँगा कार्पेट, दस बोरा चामललगायत खाद्यसामग्री नष्ट भएको जानकारी दिए। उनले भने, 'बाढीले रातभर टोलवासीलाई तनाव दियो।
कोठा, कपडा र सामान सफा गर्दा दिनभर सास्ती भयो।' क्याम्पस उत्तरतर्फका टेकनाथ काफ्लेले पनि घरमा बाढी धेरै सामान क्षति भएको बताए। शिवालयको पर्खाल भत्काएर बाढी बस्तीमा पसेको थियो। काठमाडौं उपत्यका विकास प्राधिकरणका नायब विकास आयुक्त भाइकाजी तिवारीले क्याम्पसछेउमा बनाएको पुलका कारण बाढी बस्तीमा पसेको बताए।
मिति : २०७१ असोज, ४ शनिबार
- See more at: http://annapurnapost.com/en/news/entertainment/13917

No comments:

Post a Comment