Monday, September 8, 2014

मनाइयो इन्द्रजात्रा : कुमारीको रक्षा गर्ने सिंह नै असुरक्षित

रथले धक्‍का दिएपछि भुइँमा खसेको कुमारीको रक्षक मानिले सिंहको आकृति। तस्बिर: अन्‍नपूर्ण
रथले धक्‍का दिएपछि भुइँमा खसेको कुमारीको रक्षक मानिले सिंहको आकृति। तस्बिर: अन्‍नपूर्ण
काठमाडौं : पूजाका लागि आमालाई मनपर्ने पारिजातको फूल चोरी गरेपछि भगवान् इन्द्रलाई समातेर डोरीले बाँधी सजाय दिइएको सन्दर्भ स्मरण गर्दै सोमबार राजधानीमा इन्द्रजात्रा मनाइएको छ। भाद्र कृष्ण चतुर्दशीदेखि सुरु हुने आठदिने जात्राको मुख्य दिन सोमबार कुमारी, गणेश र भैरवको रथ तानियो।
इन्द्रजात्रा हेर्न अपराह्न ४ बजेर ३१ मिनेट जाँदा हनुमानढोका दरबार क्षेत्र पुगेका राष्ट्रपति डा. रामवरण यादवले स्वीकृति दिएपछि कुमारीको रथ तानिएको थियो। करिब आधा घन्टा कुमारी शक्ति जागृत गर्न गरिने पूजा सकिएपछि चार बजेर ४५ मिनेटमा कुमारीलाई रथमा पुर्‍याइएको थियो।
रथ तान्दा असन्तुलित बन्न गई त्यसले कुमारी घर प्रवेश गर्ने मूलढोकाअगाडि दुईतिर राखिएका कुमारीका रक्षक मानिने सिंहका आकृतिमा धक्का दिएको थियो। रथले लागेर प्रवेशद्वारको देब्रेतर्फको रहेको सिंहको आकृति दुई टुक्रा भए पनि भुइँमा झरेन तर दाहिनेपट्टिको सिंहको आकृति टुक्राटुक्रा भएर भुइँमा खसेका थिए।
जात्रामा सहभागी एक वृद्धले भने, 'कुमारीको रक्षा गर्ने सिंह नै असुरक्षित भए।' संस्कृतिविद् ओम धौभडेलले यस्तो घटना पहिलोपटक भएको हुन सक्ने बताउँदै भने, 'गुठीका मानिसले संयमित भएर रथ तान्नुपर्ने थियो।
राणाकालदेखि नै राज्यले मान्दै आएको कुमारीको रक्षक सिंहको आकृति ढल्नुलाई शुभसंकेत मानिन्‍न।' गणेशको रथलाई बाटो दिन प्रवेशद्वारको केही अघि पु:याइएको कुमारीको रथ पछि सार्न पाँचपटकसम्म प्रयास गर्नुपरेको थियो।
इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपतिसँगै उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला, सभामुख सुवास नेम्बाङ, मन्त्री, विभिन्न देशका राजदूत, सेना र प्रहरीका प्रमुख तथा सरकारी उच्च अधिकारी पनि पुगेका थिए। उनीहरूले ५ बजेर ११ मिनेटसम्म जात्रा अवलोकन गरेका थिए। सर्वसाधारणको उपस्थिति पनि बाक्लो थियो।
कुमारी क्लबका अध्यक्ष राजक ल्याण ताम्राकारका अनुसार तत्कालीन राणा प्रधानमन्त्रीहरूले बेलायतीहरूलाई नेपालको पृथक संस्कृति देखाउन इन्द्रजात्रा देखाउने गर्थे। उनले भने, 'वीरशमशेरको पालादेखि नेपालमा राजदूत भएर आउनेलाई देखाउन थालिएको थियो।' इन्द्रजात्रा कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाशको पालादेखि सुरु भएको हो।
जात्राको पहिलो दिन वसन्तपुरको काल भैरवअगाडि लिंगो ठड्याइन्छ भने आठौं दिन ढालेर सेलाइन्छ। ताम्राकारले भने, 'पञ्चांग निर्णायक समितिले १५ दिनअघि लिंगो गाड्ने र ढाल्ने साइत जुराएर पठाउँछ, तिथिका आधारमा तय गरिने यो जात्रा सामान्यतया आठदिने भए पनि यसपटक सात दिनमा सकिँदैछ।' उनका अनुसार जात्राको अन्तिम दिन भदौ २७ गते राति २ बजेर ३ मिनेटमा लिंगो ढालिनेछ।
कुमारी, गणेश र भैरवको रथ सुरु हुनुअघि इन्द्रको वाहन ऐरावत हात्ती अर्थात् पुलुकिसी प्रदर्शन गरिएको थियो। जात्रा हेर्न पुगेका हजारौं भक्तजनले पुलुकिसी र रथयात्राको तालीले स्वागत गरेका थिए। तीनवटै रथको प्रदर्शनपछि तिनलाई रथसँग सम्बन्धित स्थानीय युवाले लगन, इन्द्रचोक, बांगेमुडा, भीमसेनस्थानमा पु:याई नगर परिक्रमा गराएका थिए।
सो क्रममा वर्षभरि दिवंगत भएका नेवार समुदायका आफन्त रथको पछि लाग्ने चलन छ। वर्षा र सहकालका देवताको प्रतीकका रूपमा रहेका इन्द्रको पूजाआराधना गरी सोमबार काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे र दोलखाका नेवार समुदायले यो जात्रा मनाएका छन्।
जात्राका क्रममा हनुमानढोका र आसपासका क्षेत्रमा इन्द्रध्वजा फहराइएको छ। किंवदन्तीअनुसार प्राचीन काष्ठमण्डप (काठमाडौं) अर्थात् नेपाल मण्डलमा एक दिन देवताका पनि राजा इन्द्रले पूजाका लागि आमालाई मन पर्ने फूल पारिजात टिपेका थिए।
फूल चोरीको आरोपमा त्यहाँका स्थानीय बासिन्दाले उनलाई समातेर डोरीले बाँधी सजाय दिएका थिए। पछि परिचय खुलेपछि उनकी आमालाई बोलाइयो। 'अनर्थ भयो' भन्दै प्रत्येक वर्ष सोही दिन इन्द्रको नाममा जात्रा मनाउने सहमति भएको थियो। सरकारले पनि इन्द्रजात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने गरेको छ।
मिति : २०७१ भदौ, २४ मंगलबार 
- See more at: http://annapurnapost.com/en/news/social/13457

No comments:

Post a Comment