Showing posts with label तुलसी दिवस. Show all posts
Showing posts with label तुलसी दिवस. Show all posts

Saturday, September 20, 2014

अक्षरमाडौं

गोपीकृष्ण ढुंगाना 
दसैं संघारमा छ। शुभकामना आदानप्रदान हुन थालेको छ। कस्तो हुन्छ जब यो बेला साहित्यले पनि दसैंलाई स्वागत गर्छ ? राजधानीमा शुक्रबारदेखि भइरहेको एनसेल नेपाल लिटरेचर फेस्टिभलले यसै गरिरहेझैं भान भइरहेको छ।
त्यसो त साहित्यको कुनै निश्चित धर्म हुँदैन। सम्प्रदाय हुँदैन। त्यसैले दसैंलाई साहित्यसँग जोडनु प्रकारान्तरले सही पनि हुँदैन। तर, यहाँ पर्वमा मानव मनमा हुने उल्लासलाई यहाँ जोड्न खोजिएको हो।
बुकवर्म फाउन्डेसनको आयोजनामा हुने चारदिने फेस्टिभलमा भने इटाली, अफगानिस्तान, बेलायत, बंगलादेश र भारत गरी पाँच देशका ६ जना साहित्यकार सहभागी हुनेछन्। वरिष्ठ साहित्यकार डा. बानिरा गिरीले उद्‌घाटन गर्ने महोत्सवमा समाजशास्त्री डा. चैतन्य मिश्रले मुख्य मन्तव्य दिनेछन्।
'जातको कथा' माथि उनी बोल्नेछन्। भारतका पूर्वराज्यमन्त्रीसमेत रहेका वरिष्ठ साहित्यकार शशि थरुरले समापन मन्तव्य दिनेछन्, जर्ज अरवेलबारे। फेस्टिभलले गैरसाहित्यिक सन्दर्भहरूलाई पनि मजैले समेटेको छ।
फेस्टिभल निर्देशक अजित बराल साहित्यिक पाठक सीमित भएकाले गैरसाहित्यिक विषयलाई पनि समेटिएको बताउँछन्। उनी भन्छन्, 'गैरसाहित्यिक मानिसलाई ल्याएर साहित्यमा रुचि जगाउने एउटा उद्देश्य र साहित्यकारहरूलाई पनि गैरसाहित्यिक विषयमा रुचि बढाएर नयाँ विषयवस्तुमा रुचि जगाउने अर्को उद्देश्यका साथ महोत्सव गर्दैछौं।' महात्सवलाई एनसेलले प्रायोजन गर्न थालेको यो चौथौं वर्ष हो।
त्यसो त राजधानी अहिले अर्को कारणले पनि साहित्यमय भइरहेको छ। याम्बुरी बुक प्वाइन्ट र घोस्ट राइटिङ नेपालले भदौ २७ गतेदेखि सुरु भएको 'बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी तथा साहित्यिक यात्रा महोत्सव २०७१' असोज ५ गतेसम्म चल्दैछ।
याम्बुरीका प्रबन्धनिर्देशक कुयाङ लामा भन्छन्, 'यो महोत्सवले साहित्यिक सिन्डिकेटलाई चिरेको छ। एकआपसमा अस्वस्थ्य प्रतिस्पर्धा गर्दै आएका हामी प्रकाशकबीचको कालो बादल केही हदसम्म महोत्सवले हटाउनेछ।' 
...
डेनमार्कमा हुने साहित्यिक महोत्सवका लागि नेपालबाट एक साहित्यकार पुगे। उनी अचम्म परे, अचम्म पर्नुको कारण अरू केही थिएन। आयोजकले नै अचम्म तुल्याएको थियो उनलाई। अचम्म पार्ने आयोजक थियो टुबोर्ग बियर अनि अचम्मित हुने साहित्यकार प्राडा अभि सुवेदी।
साहित्य अनुत्पादक क्षेत्र हो भन्नेहरूलाई चुनौती थियो त्यो। र अरू थुप्रै संघसंस्था जसले साहित्यमा लगानी गर्न चाहँदैनन्, तिनलाई पनि एउटा उदाहरण हो त्यो। नेपालमा पनि केही वर्षदेखि मोबाइल 'सिम' बेच्ने कम्पनी एनसेलले 'साहित्य' प्रवर्द्धनमा लगानी गरिरहेको छ।
सुवेदी भन्छन्, 'मुख्य कुरा हामी लेखक साहित्यकारहरूले चरित्र गुमाउनु हुँदैन, साहित्यलाई प्रवद्र्धन गर्छन् भने जसले लगानी गरे पनि भयो।'
केही वर्षयता नेपालमा बर्सेनि साहित्यिक महोत्सवहरू आयोजना भइरहेका छन्। त्यो कहिले राजधानी काठमाडौं हुन्छ त कहिले नेपालको पूर्वी मेची अनि कहिले सुदूरपश्चिम महाकालीमा। महोत्सवले माहोल तताइरहेको छ।महोत्सवहरूमा मोफसल समेटिन थालेका छन्।
अनि समेटिन थालेका छन् विदेशी लेखक र विदेशी लेखन पनि। एकदिने, चारदिने हुँदै दस दिनेसम्म साहित्यिक महोत्सव हुनुले साहित्यिक संकेत 'शुभ' भइरहेको प्रस्ट छ। तिनमा हुने दैनिक चारपाँच विषयका छलफलले नयाँ कुरो जन्माइरहेछ। त्यसले शक्ति दिएको छ साहित्यकारलाई।
कवि तुलसी दिवस विदेशी लेखकहरूबाट महोत्सवमार्फत अनुभव, अनुभूति र अक्षरहरूमा खेल्ने अभ्यासबारे प्रशस्त ज्ञान लिन सके नेपाली साहित्यकारले आफूलाई पनि गुणस्तरीय बनाउन सक्ने बताउँछन्। भन्छन्, 'लेखकको प्रभाव लिने होइन, उसले कसरी, के लेखिरहेछ, त्यो जान्नु र बुझ्नु नै अर्को लेखकका लागि गतिलो खुराक हो।'
महोत्सवले मोफसललाई जोड्न बर्सेनि थुप्रै पुल बनाइरहेका छन्। कुनै समय थियो, साहित्य राजधानीमा मात्र फुल्थ्यो। र फैलिएर साम्राज्य जमाएको थियो। प्रविधिको बढ्दो आधुनिकीकरण एकमात्र प्रमुख कारण बन्दै गइरहेको छ एउटा प्रश्नको उत्तरका लागि, 'के नेपाली साहित्यमा अझै मोफसल बाँकी छ?'
हुन त यो आजका दिनसम्म बहसकै विषय छ। तर त्यसलाई 'ग्लोबल भिलेज' झैं बनाउँदैछन् राजधानी र राजधानीबाहिर हुने गरेका साहित्यिक महोत्सवले। पोखराकी साहित्यकार सरस्वती प्रतीक्षा भन्छिन्, 'सापेक्षताको तराजुमा तौलेर हेर्दा राजधानीवाद कति कमजोर वा शक्तिशाली हुन्छ भन्‍ने कुरा मोफसल कति सक्रिय वा निष्क्रिय छ, त्यसमा पनि भर पर्दछ। जति जति मोफसल सक्रिय हुँदै जान्छ, त्यति त्यति राजधानीवाद कमजोर हुँदै जान्छ।'
महोत्सवमा विषय, सन्दर्भ र शैली पृथक् हुनुले साहित्य विकासको गुणस्तरमा पार्ने प्रभावमा सायदै कसैको दुई मत रहला। प्राध्यापक दिवस भन्छन्, 'भिन्न उमेर, क्षेत्र, जातजाति र संस्कृतिलाई अगाडि ल्याएर महोत्सवले साहित्यक संगम गराउनुपर्छ।
प्रत्येकलाई आफ्ना कुरा बाहिर जनमानसमा ल्याउने अवसर जुटाउनुपर्छ।' 'प्रकाशकका बजारमा लेखक साहित्यकार छौं, हाम्रो बजारमा उनीहरूलाई ल्याउने वातावरण बन्‍नुजरुरी छ', महोत्सवले भारतीय नेपाली पाठकसम्म लेखकलाई पुर्‍याउन नसकेको गुनासो गर्दै डा. सुवेदी फरक मतमा यसरी उभिन्छन्, 'युवा राजनीतिमा बढी छन्, जसमा निराशा बढिरहेछ। उनीहरूको त्यो ऊर्जालाई साहित्यले चुम्बकझैं तान्न सक्नुपर्छ, जुन संकेत महोत्सव र पुस्तक प्रदर्शनीहरूले दिइरहेका छन्।' 
...
एनसेल नेपाल लिटरेचर फेस्टिभलमा यसपटक बंगलादेशकी फरह गुज्नामी, बेलायतकी तिस्हानी दोषी, इटालीका कार्लो पिज्जाती, भारतका हर्तोष बाल सिंह र अफगानिस्तानका म्याथ्यु आइकिन्सका साथै लेखक, विद्वान र पत्रकार गरी एक सय ४० जना छलफलमा सहभागी हुनेछन्।
जहाँ पत्रकारिताका सम्पादकीय स्वतन्त्रता, विचार पृष्ठका आधारदेखि फिल्म : पैसा कि कला, कला : अन्तरसम्बन्धको अनुशासन, लोग्ने मान्छे भएर रुनु हुन्न रे :इन्टरोगेटिङ जेन्डर, नारायणगोपालको युग, बालसाहित्य, इकोनोमिक डिप्लोमेसी, मातृभाषा र दलित साहित्यको सौन्दर्य, जलस्रोतहुँदै वरिष्ठ साहित्यकारका कहाँ गए ती दिनसम्मलाई स्थान दिइएको छ।
कवि एवं गीतकार श्रवण मुकारुङ पीडित नेपाली लेखकका दिन महोत्सवले फर्काएको बताउँछन्। भन्छन्, 'महोत्सव र प्रदर्शनीले पुस्तक बिक्री गर्ने र एउटा पुस्तक खोज्न दसतिर भौतारिने पाठकका दु:खका दिन गएको संकेत गरेका छन्।
लेखक दसवटा पुस्तक बिक्री गर्न दिएर पारिश्रमिक उठाउन ५० वटा पुस्तकको मूल्य चुकाउन बाध्य भइरहेको सन्दर्भमा महोत्सवहरू 'सहजताको पुल' बनेका छन्।'
प्रकाशकहरूले पनि अब पारदर्शी भएर लेखकसाहित्यकारलाई 'खुसी' दिन दिनुपर्नेमा उनको जोड छ। थप्छन्, 'साहित्यिक महोत्सवमा निजी क्षेत्रले धेरै गरेको छ, अब सरकार पनि 'साहित्य' मा जोडिनुपर्छ।'
मिति : २०७१ असोज, ४ शनिबार
- See more at: http://annapurnapost.com/en/news/specialpage/13943/%E0%A4%85%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%B0%E0%A4%AE%E0%A4%BE%E0%A4%A1%E0%A5%8C%E0%A4%82.htm#sthash.gIRrS7hz.dpuf

Saturday, November 2, 2013

अन्तर्मनका यात्रीको अवसान

Monday, October 28, 2013

देशजस्तै कविताको अनुहार

- गोपीकृष्ण ढुंगाना

काठमाडौं : सभ्यताको विकाससँगै कविताको पनि विकास भएको पाइन्छ। सुवानन्ददेखि सुरु भएको नेपाली कविताको लेखन परम्परा पछिल्लो पुस्ताकी सरस्वती प्रतीक्षासम्म आइपुग्दा लगभग उस्तै देखिन्छ। उही सामाजिक परिवेश र उस्तै भोगाइ अहिले पनि कवितामा पोखिँदै आएको छ। बुकवर्मले राजधानीमा आयोजना गरेको ‘एनसेल नेपाल लिटेरेचर फेस्टिभल’ को तेस्रो दिन ‘वर्तमान कविताको अनुहार’ मा वरिष्ठकवि तुलसी दिवस र पछिल्लो पुस्ताकी प्रतीक्षाको बीच उभिएका विक्रम सुब्बाको स्वीकारोक्ति थियो, यो।
‘वर्तमान समयमा कविताको सान्दर्भिकता कति छ?’ प्रस्तोता हेमन यात्रीले प्रश्न गरे। जसमा प्रतीक्षाको उत्तर थियो, कविता कविताकै लागि लेखिन्छ। कुनै बेला जन्मने र त्यसपछि मर्ने काम हुँदैन। थपिन्, ‘हिजोका कविता मारेर आज कविता जन्माइने होइन।’
यसै अवसरमा विक्रम सुब्बाले भने, कविता पढिसक्दा पाठकले मज्जाले ‘यो चाहिँ कविता हो’ भनेर प्रशंसा गर्नुपर्छ। ‘गणतन्त्र आएपछि छोटे राजाहरूविरुद्ध, समाजका विद्यमान अमिल्दा विषय, नारीका कथाव्यथा र मुक्ति का कुरा, सीमान्तकृत र सांस्कृतिक विविधताका कुरा राम्रोसँग मुखरित भएका छन्’, वर्तमान कविताको अनुहार प्रतिविम्बित गर्दै उनले थपे। दिवसले कवितालाई हेर्ने दृष्टिकोणमै परिवर्तन आएको बताए। कविता जुठो र बासी हुनु हुँदैन, उनको तर्क थियो। भने, ‘कविले समय र स्थानसँग कवितालाई जोड्नुपर्छ। जहाँ संस्कृति समेटिन्छ। कविको शक्ति र सामथ्र्यले कविता ताजा र चोखो हुन्छ।’
करिब आधा शताब्दीको कवितायात्रामा भेटिएका कविताका अनुहारको सन्दर्भमा दिवसले भने, ‘अरूजस्तै कविता पनि परिवर्तन छ, किनकि प्रत्येक कविसँगै विचारमा बहुलता आएको छ। कविता वर्तमानसँगभन्दा भावनासँग जोडिएको हुन्छ।’ यात्रीले नयाँ पुस्तालाई कविता लेखनमा परेको जोखिमलाई कोट्याए। प्रतीक्षाले विम्बात्मक ढंगले उत्तर दिइन्, ‘राष्ट्रकवि माधव घिमिरे उसबेलादेखि अहिलेसम्म अर्थात् ९५ वर्षको उमेरसम्म महाकाव्य लेखिरहनुभएको छ।’ समयसीमा एकआपसमा फेरिने र ‘ओभरल्यापिङ’ भएको उनको भनाइ थियो।
उनले पश्चिमाभन्दा पूर्वी नेपालका कवि, भारतमा झुल्किएका नेपाली युवा पुस्ता र डायस्पोराका साहित्यकारजस्ता थुप्रै अनुहार वर्तमानमा उदीयमान बनेर आएको बताइन्। उनले भनिन्, ‘समग्र मूल्यांकन गर्ने हो भने देशजस्तै संक्रमणकालीन अवस्थामा छन् वर्तमान कवि र कविता।’
सुब्बाले अघिल्लो पुस्ताले राम्रा कविता दिएकाले वर्तमान पुस्तालाई चुनौती रहेको बताए। यात्रीको ५० वर्षको अवधिमा कवितामा देखिएका उतारचढाव बारेको प्रश्नमा दिवसले प्रत्येक राजनीतिक परिवर्तनसँगै २००७, २०१७, २०३६, २०४६ र २०६३ हुँदै आजसम्म कवि र कविता परिवर्तनमा रहेको बताए। ‘कवि र कविता राष्ट्रजस्तै निर्माण र विनिर्माण भइरहेका छन्’, दिवसले थपे, ‘मानक बनेर कुनै कवि र कविता बसिरहनु हुँदैन, नयाँ मानक बनाउने कविता लेखिनुपर्छ तर निर्देशित रूपमा होइन।’ सुब्बाले राजनीतिक परिवर्तनका लागि कविताले प्रेरक भूमिका खेल्ने बताए।
लेखनमा पुस्ताबीच देखिएको परिवर्तनबारे प्रतीक्षाले भनिन्, ‘पहिलेका कविले कविताको निधारभन्दा बढी शृंगार, बौद्धिकता र प्रयोग गरे, जसले पाठक गुमाए। तर वर्तमान पुस्ताले त्यसलाई सीमाभित्र समेट्दै छ।’ युवाका केही कविता पाठकले उखान टुक्का जसरी नै प्रयोग गरेको उनको भनाइ थियो।
कविताको लोकप्रियता र अलोकप्रियताका बारेमा प्रतीक्षाले शाश्वतता र समकालीनता गरी दुईवटा तत्त्वमा लेखिने बताइन्। ‘जहाँ शब्दहरू जीवन्त छन्’ भन्ने नाराका साथ सञ्चालन भइरहेको फेस्टिभलमा दिवसले कविताको अनुहारलाई यसरी प्रस्ट पारे, ‘अरूलाई भन्न नसक्दा आफैंसँग गरिने संवाद कविता हो, त्यसैले कवि लेखनमा जहिले पनि इमानदार हुनुपर्छ। यो नै सबैभन्दा ठूलो आविष्कार पनि हो।’