- गोपीकृष्ण ढुंगाना

काठमाडौं : सभ्यताको विकाससँगै कविताको पनि विकास भएको पाइन्छ। सुवानन्ददेखि सुरु भएको नेपाली कविताको लेखन परम्परा पछिल्लो पुस्ताकी सरस्वती प्रतीक्षासम्म आइपुग्दा लगभग उस्तै देखिन्छ। उही सामाजिक परिवेश र उस्तै भोगाइ अहिले पनि कवितामा पोखिँदै आएको छ। बुकवर्मले राजधानीमा आयोजना गरेको ‘एनसेल नेपाल लिटेरेचर फेस्टिभल’ को तेस्रो दिन ‘वर्तमान कविताको अनुहार’ मा वरिष्ठकवि तुलसी दिवस र पछिल्लो पुस्ताकी प्रतीक्षाको बीच उभिएका विक्रम सुब्बाको स्वीकारोक्ति थियो, यो।
‘वर्तमान समयमा कविताको सान्दर्भिकता कति छ?’ प्रस्तोता हेमन यात्रीले प्रश्न गरे। जसमा प्रतीक्षाको उत्तर थियो, कविता कविताकै लागि लेखिन्छ। कुनै बेला जन्मने र त्यसपछि मर्ने काम हुँदैन। थपिन्, ‘हिजोका कविता मारेर आज कविता जन्माइने होइन।’
यसै अवसरमा विक्रम सुब्बाले भने, कविता पढिसक्दा पाठकले मज्जाले ‘यो चाहिँ कविता हो’ भनेर प्रशंसा गर्नुपर्छ। ‘गणतन्त्र आएपछि छोटे राजाहरूविरुद्ध, समाजका विद्यमान अमिल्दा विषय, नारीका कथाव्यथा र मुक्ति का कुरा, सीमान्तकृत र सांस्कृतिक विविधताका कुरा राम्रोसँग मुखरित भएका छन्’, वर्तमान कविताको अनुहार प्रतिविम्बित गर्दै उनले थपे। दिवसले कवितालाई हेर्ने दृष्टिकोणमै परिवर्तन आएको बताए। कविता जुठो र बासी हुनु हुँदैन, उनको तर्क थियो। भने, ‘कविले समय र स्थानसँग कवितालाई जोड्नुपर्छ। जहाँ संस्कृति समेटिन्छ। कविको शक्ति र सामथ्र्यले कविता ताजा र चोखो हुन्छ।’
करिब आधा शताब्दीको कवितायात्रामा भेटिएका कविताका अनुहारको सन्दर्भमा दिवसले भने, ‘अरूजस्तै कविता पनि परिवर्तन छ, किनकि प्रत्येक कविसँगै विचारमा बहुलता आएको छ। कविता वर्तमानसँगभन्दा भावनासँग जोडिएको हुन्छ।’ यात्रीले नयाँ पुस्तालाई कविता लेखनमा परेको जोखिमलाई कोट्याए। प्रतीक्षाले विम्बात्मक ढंगले उत्तर दिइन्, ‘राष्ट्रकवि माधव घिमिरे उसबेलादेखि अहिलेसम्म अर्थात् ९५ वर्षको उमेरसम्म महाकाव्य लेखिरहनुभएको छ।’ समयसीमा एकआपसमा फेरिने र ‘ओभरल्यापिङ’ भएको उनको भनाइ थियो।
उनले पश्चिमाभन्दा पूर्वी नेपालका कवि, भारतमा झुल्किएका नेपाली युवा पुस्ता र डायस्पोराका साहित्यकारजस्ता थुप्रै अनुहार वर्तमानमा उदीयमान बनेर आएको बताइन्। उनले भनिन्, ‘समग्र मूल्यांकन गर्ने हो भने देशजस्तै संक्रमणकालीन अवस्थामा छन् वर्तमान कवि र कविता।’
सुब्बाले अघिल्लो पुस्ताले राम्रा कविता दिएकाले वर्तमान पुस्तालाई चुनौती रहेको बताए। यात्रीको ५० वर्षको अवधिमा कवितामा देखिएका उतारचढाव बारेको प्रश्नमा दिवसले प्रत्येक राजनीतिक परिवर्तनसँगै २००७, २०१७, २०३६, २०४६ र २०६३ हुँदै आजसम्म कवि र कविता परिवर्तनमा रहेको बताए। ‘कवि र कविता राष्ट्रजस्तै निर्माण र विनिर्माण भइरहेका छन्’, दिवसले थपे, ‘मानक बनेर कुनै कवि र कविता बसिरहनु हुँदैन, नयाँ मानक बनाउने कविता लेखिनुपर्छ तर निर्देशित रूपमा होइन।’ सुब्बाले राजनीतिक परिवर्तनका लागि कविताले प्रेरक भूमिका खेल्ने बताए।
लेखनमा पुस्ताबीच देखिएको परिवर्तनबारे प्रतीक्षाले भनिन्, ‘पहिलेका कविले कविताको निधारभन्दा बढी शृंगार, बौद्धिकता र प्रयोग गरे, जसले पाठक गुमाए। तर वर्तमान पुस्ताले त्यसलाई सीमाभित्र समेट्दै छ।’ युवाका केही कविता पाठकले उखान टुक्का जसरी नै प्रयोग गरेको उनको भनाइ थियो।
कविताको लोकप्रियता र अलोकप्रियताका बारेमा प्रतीक्षाले शाश्वतता र समकालीनता गरी दुईवटा तत्त्वमा लेखिने बताइन्। ‘जहाँ शब्दहरू जीवन्त छन्’ भन्ने नाराका साथ सञ्चालन भइरहेको फेस्टिभलमा दिवसले कविताको अनुहारलाई यसरी प्रस्ट पारे, ‘अरूलाई भन्न नसक्दा आफैंसँग गरिने संवाद कविता हो, त्यसैले कवि लेखनमा जहिले पनि इमानदार हुनुपर्छ। यो नै सबैभन्दा ठूलो आविष्कार पनि हो।’